+

कसरी हुन्छ अल्सर, के छ उपचार ?

पाचन प्रणालीको भित्री सतहमा एक प्रकारको घाउ वा क्षति हुनुलाई चिकित्सकीय भाषामा ‘अल्सर’ भनिन्छ । पेटमा म्युकस नामक गाढा तरल पदार्थ हुन्छ, जसले पेटमा उत्पादन हुने ‘हाइड्रोक्लोरिक एसिड’बाट पेट वरपरको भित्तालाई जोगाउँछ ।

यसको मात्रा बढी भए वा म्युकससँग सन्तुलन बिग्रिए पेट वा आन्द्रामा घाउ बन्छ । त्यसैलाई, अल्सर भनिन्छ ।

Advertisement

अल्सर कसरी हुन्छ ?

यसको मुख्य कारण पेटमा उत्पादन हुने हाइड्रोक्लोरिक एसिड हो । यो ग्यास्ट्रिक रसमा हाइड्रोक्लोरिक एसिड, सोडियम क्लोराइड र पोटासियम क्लोराइड मिसिएको हुन्छ । यो एसिडले खाना पचाउने, ब्याक्टेरिया नष्ट गर्ने र प्रोटिन पचाउने ईन्जाइम सक्रिय बनाउँछ ।

तर, जब यो एसिडको मात्रा धेरै हुन्छ, यसले पेट वा सानो आन्द्राको भित्तालाई हानि पुर्‍याउँछ, जसले घाउ बनाउँछ ।

अर्को कारण, हेलिकोब्याक्टर पाइलोरी (एच. पाइलोरी) ब्याक्टेरिया हो । यो ब्याक्टेरियालाई डा.वारेन र मार्शलले पत्ता लगाएका थिए । यो पेटमा रहेर ग्यास्ट्रिकको मात्रा बढाउँछ, जसले म्युकस तहलाई कमजोर बनाउँछ ।

सुरुमा पेटमा रातो घाउ जस्तो देखा पर्छ । जुन बिस्तारै बिमिरा बन्छ र अन्तमा अल्सर हुन्छ । यो ब्याक्टेरिया दूषित खाना वा पानीबाट सर्छ। सबैमा यो ब्याक्टेरियाले अल्सर निम्त्याउँदैन तर जोखिम बढ्छ । लक्षण हल्का भएकाले सुरुमा पहिचान गाह्रो हुन्छ ।

यसबाहेक दुखाइ कम गर्ने औषधिहरू, जस्तै आइबुप्रोफेन वा एनएसएआईडीजको लामो प्रयोगले ग्यास्ट्रिक र अल्सर निम्त्याउछ । धूम्रपान, अत्यधिक मदिरापान, चिल्लो वा मसलेदार खाना, खाली पेट बस्ने र मानसिक तनावले ग्यास्ट्रिक सुरु हुन्छ । यस्ता समस्यालाई बेवास्ता गरे आन्द्रामा घाउ बन्छ ।

लक्षण

सामान्य लक्षणमा पेट दुखाइ (विशेषगरी खाली पेटमा), वान्ता, पेट फुल्ने वा भारी हुने, छाती पोल्ने हुनसक्छ ।

गम्भीर अवस्थामा रक्तअल्पता (एनिमिया), गाढा वा कालो दिसा, दिसा वा वान्तामा रगत र मुखबाट रगत आउने हुन्छ । क्यान्सर भए खाना नरुच्ने, थोरै खाएर अघाउने, तौल घट्ने, दिशामा लुकेको रगत देखिन्छ ।

अल्सरको उपचार

अल्सरको उपचार यसको प्रकार, स्थान र गम्भीरतामा निर्भर गर्छ । समयमै पहिचान भए पूर्ण निको हुन्छ । यदि एच.पाइलोरी ब्याक्टेरियाले अल्सर भएको हो भने एन्टिबायोटिक्स र एसिड घटाउने औषधि (जस्तै ओमेप्राजोल) १–२ हप्ता खाँदा निको हुन्छ ।

ग्यास्ट्रिक अल्सर भए एन्टासिड्स वा एच२ ब्लकर (रेनिटिडिन) ले एसिड नियन्त्रण गर्छ । इन्फ्लेमेटरी बाउल डिजिज (आईबीडी) भए मेसालामिन, एजाथियोप्रिन, मोनोक्लोनल एन्टिबडी वा इम्युनोमोडुलेटर औषधि प्रयोग हुन्छ ।

टिबी भए ६ देखि ९ महिनाको यसको औषधि खानुपर्छ । लिम्फोमा भए केमोथेरापीले पूर्ण निको हुन्छ । गम्भीर अवस्थामा, जस्तै रक्तस्राव, आन्द्रा फुट्ने वा क्यान्सर भए, शल्यक्रिया आवश्यक हुन्छ ।

अल्सर निकाल्ने वा प्रभावित भाग काटिन्छ । क्यान्सर समयमै पत्ता लागे सर्जरी, केमोथेरापी वा रेडियोथेरापीले निको हुन्छ, तर ढिलो भए फैलिएर उपचार गाह्रो हुन्छ । उमेर बढी भएका र रगत आउने केसमा भने निको हुने सम्भावना कम हुन्छ, तर युवामा नतिजा सकारात्मक हुन्छ ।