+

बालबालिकालाई कस्तो योगाभ्यास गराउने ?

बालबालिकाको शरीर होस् वा मस्तिष्क निकै संवेदनशील हुन्छ । यो उमेरमा नै शारीरिक तथा मानसिक विकासक्रम हुने भएकाले तुलनात्मक रुपमा हुर्किंदै गरेका बालबालिकाको लागि वयस्क र वृद्धभन्दा बढी योग जरुरी हुन्छ ।

यो उमेरमा उनीहरुमा हार्मोनल, मानसिक तथा भावनात्मक परिवर्तन पनि सँगै भइरहेका हुन्छन् । त्यससमय योग सिकाएर बानी बसाल्न सकियो भने उनीहरुको सन्तुलित विकासमा सहयोग पुग्छ ।

Advertisement

कस्तो योगाभ्यास सिकाउने ?

बालबालिकालाई खेलमा आधारित सिकाउनुपर्छ, जसले उनीहरुमा योग गर्ने चाहना बढोस् र मनोरञ्जन पनि लिन सकुन् ।

१. भुजंगासन

यो योगाभ्यास बालबालिकाको विकासको लागि राम्रो हुन्छ । सर्पको आकृतिमा बसेर गरिने यो अभ्यासले मेरुदण्डलाई लचिलो बनाउँछ । पाचन क्षमता र श्वासप्रश्वास प्रणालीलाई पनि भुजंगासनले फाइदा पुर्‍याउँछ ।

२. वृक्षासन

वृक्षासन बालबालिकाले मनोरञ्जन लिन सक्ने उपयोगी योगाभ्यासमध्ये पर्छ । यसले शारीरिक, मानसिक सन्तुलन कायम गरेर मानसिक एकाग्रताको क्षमता विकास गर्छ ।

३. सर्वाङ्गासन र हलासन

यी दुई आसन शरीरलाई उल्टो बनाएर गरिने अभ्यास हुन् । अर्थात्, टाउको तल, खुट्टामाथि । यी दुवै आसनमा रक्तसञ्चारको प्रवाह टाउकोतर्फ पुग्छ, जसले मानसिक स्वास्थ्यलाई सुधार गर्छ । र, दिमागलाई शान्त राख्छ ।

४. सूर्य नमस्कारको चक्र

बालबालिकालाई १२ आसन भएको सूर्य नमस्कार गराउन सकिन्छ । यसले शरीरको सम्पूर्ण विकासमा भूमिका खेल्छ । जस्तै, जोर्नी, मांसपेशी, उनीहरुका अंगहरुको बनावटलाई आवश्यक कसरत दिन्छ । सूर्य नमस्कारमा मन्त्र पनि छ । मन्त्रले मानसिक विकास र चक्रले शारीरिक विकास गर्छ ।

५. प्राणायाम

बालबालिकालाई सानैदेखि प्राणायाम जरुरी हुन्छ । हिजोआज प्रदूषणले गर्दा शरीरले स्वस्थ ऊर्जा प्राप्त गर्न नसक्ने हुँदा प्राणायाम आवश्यक छ, जसले मानसिक क्षमता, मनोबल, एकाग्रता बढाउँछ । यसले रोगसँग लड्ने तागत पनि दिन्छ ।

प्राणायाममध्ये पनि बालबालिकाको सबैभन्दा राम्रो भ्रामरी र शीतकारी प्राणायाम हो । भ्रामरी प्राणायामले इन्द्रियहरुलाई स्वस्थ राख्छ । यो प्राणयाम गराउँदा धेरै सास नरोकी अनुलोमविलोमको अभ्यास गराउनु फाइदाजनक हुन्छ ।

६. ध्यान

बालबालिकालाई कुनै कुराप्रति एकाग्र बनाउन ध्यान गराउन सकिन्छ । मूर्ति, उदाउँदै गरेको घाम, खुला आकाश, कुनै संगीतको धुन, गायत्री मन्त्र सहज ध्यान गराउन सकिन्छ ।

यस्ता किसिमको ध्यानले उनीहरुको पढाइमा हुने तनाव, मानसिक उल्झन, रिस र क्रोधलाई हटाउन सक्छ । मानसिक र आध्यात्मिक ध्यानले पनि ठूलो योगदान दिन्छ ।