News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा अचानक मृत्यु हुने मुख्य कारण मस्तिष्कमा हुने सबएराक्नोइड हेमरेज हो, जसले सेकेन्डभित्रै मानिसलाई बेहोस वा मृत्यु गराउँछ।
- यो रोग जन्मजात एन्युरिजम फुट्दा हुन्छ र उच्च रक्तचाप, तनाव, धूम्रपान, मदिरा सेवनले यसको जोखिम बढाउँछन् भन्ने डा. राजीव झाले बताउनुभयो।
- समयमै अस्पताल पुगेर उपचार गरेमा ५० प्रतिशत बिरामी बाँच्न सक्छन्, तर नेपालमा धेरै बिरामी अस्पताल पुग्न नपाउँदै मर्छन् ।।।
केही घण्टाअघि पूर्णरूपमा स्वस्थ र सामान्य देखिएका मानिसहरू अचानक ढल्छन् । अस्पतालसम्म पुग्न नपाउँदै उनीहरूको मृत्यु हुन्छ । यो नेपालमा मात्र होइन, विश्वभर नै बारम्बार दोहोरिने दुःखद घट्ना हो ।
यसको एक प्रमुख कारण मस्तिष्कमा हुने रक्तस्राव हो, जसलाई ‘सबएराक्नोइड हेमरेज’ भनिन्छ । यो रोग यति छिटो र घातक हुन्छ कि बिरामीले आफूलाई बचाउने मौका नै पाउँदैनन् ।
नेपालका अनुभवी न्यूरोसर्जन डा. राजीव झाले अस्पतालमा आउने यस्ता बिरामी र तिनका परिवारलाई सम्झाउँदै भन्ने गर्छन्, ‘जसरी हावा परिएको बेलुनमा थोरै दबाब पर्दा क्षणभरमै फुट्छ, त्यसैगरी दिमागभित्र एउटा सानो र लुकेको ‘बेलुन’ जस्तो संरचना फुट्दा सेकेन्डभित्रै जीवन समाप्त हुन सक्छ ।’ केही नभएको व्यक्ति अचानक मृत्यु हुने मुख्य कारणहरू मध्ये मस्तिष्कको यो सबएराक्नोइड हेमरेज पनि प्रमुख रहेको डा.झा बताउँछन् ।
सयौं एन्युरिजमका केसहरूको सफल उपचार गरिसकेका डा. झाका अनुसार यो रोग जन्मजातै हुनसक्छ, तर यसलाई फुटाउने ट्रिगर चाहिन्छ । समयमा अस्पताल नपुगेपछि धेरै बिरामी बाटोमै वा घरमै मर्छन् ।
यो रोग कसरी सुरु हुन्छ ?
दिमागमा रगत बोक्ने ठूला नसाहरू सामान्य अवस्थामा बलियो पाइप जस्ता हुन्छन् । तर कसैमा जन्मजातै वा अन्य कारणले नसाको भित्ता कमजोर हुन्छ । निरन्तर रगतको दबाबले त्यो कमजोर भाग बिस्तारै फुल्दै जान्छ, जसरी बेलुनमा हावा भर्दा फुल्छ । यो फुलेको भागलाई एन्युरिजम भनिन्छ । डा. राजीव झा सरल भाषामा व्याख्या गर्दै भन्छन, ‘एन्युरिजम भनेको दिमागको नसामा भएको एउटा बेलुन जस्तो फुलेको भाग हो, जुन कुनैपनि बेला फुटेर रक्तस्राव निम्त्याउन सक्छ ।’
उनका अनुसार यो एन्युरिजम धेरैजसो दिमागको आधार भागमा हुन्छ, जहाँ ठूला–ठूला नसाहरू जोडिन्छन् । सानो हुँदा कुनै समस्या देखाउँदैनन् । बिरामी सामान्य जीवन बिताइरहेको हुन्छ । तर जब यो फुट्छ, रगत दिमाग वरपरको पातलो झिल्ली (एराक्नोइड मेम्ब्रेन)को मुनिको स्पेसमा बग्छ । यो स्पेसलाई सबएराक्नोइड स्पेस भनिन्छ ।
रगतले दिमागमा तत्कालै ठूलो दबाब सिर्जना गर्छ, यो दबाबले कमजोर बनेको भित्ताका तहहरू फुल्दै जान्छ, यसले वरपरको मांसपेशीहरूलाई ठेल्छ र च्यातिन्छ । त्यसैले, यो समस्या हुँदा सेकेन्डभित्रै मानिसलाई बेहोस गराउँछ । कसैको तत्काल मृत्यु हुनसक्छ ।
मेड स्केपमा प्रकाशित एक अध्ययन अनुसार यो समस्या भएका १०–१५ प्रतिशत बिरामी अस्पताल पुग्नै पाउँदैनन्, घट्नास्थल वा बाटोमै उनीहरूको मृत्यु हुने गर्छ ।
यो समस्या किन हुन्छ ?
डा. झाको अनुभवमा नेपालमा धेरै केसहरू जन्मजातै हुन्छन्, तर फुट्नलाई उच्च रक्तचाप जस्ता कारकहरूले भूमिका खेल्छन् । यो प्रक्रिया बिस्तारै हुन्छ, तर फुट्ने बेला अचानक हुन्छ, जसले दिमागको चारैतिर रगत फैलाउँछ । यसले दिमागको कार्यलाई अवरुद्ध गर्छ, र यदि समयमा उपचार भएन भने स्थायी क्षति वा मृत्यु हुन्छ ।
अचानक फुट्ने मुख्य ट्रिगरहरू
डा. राजीव झाका अनुसार सबैमा ‘एन्युरिजम फुट्दैन, त्यसलाई फुटाउन कुनै कारकले भूमिका खेल्छ । सामान्य कुराहरूबाट यो समस्या आउँछ ।
उच्च रक्तचाप
सबैभन्दा ट्रिगर गर्ने उच्च रक्तचाप हो । उच्च रक्तचापले नसाभित्रको दबाब बढाउँछ । जसरी बेलुनमा हावा धेरै भरेपछि फुट्छ, त्यसैगरी उच्च दबाबले मस्तिष्को झिल्ली र नसालाई कमजोर बनाई भित्तालाई च्यात्न सक्ने डा. झा बताउँछन् ।
अमेरिकन हार्ट एसोसियसनको २००९ मा प्रकाशित अध्ययन अनुसार सिस्टोलिक ब्लड प्रेसर १३० एमएमएचजीभन्दा माथि हुँदा यो हेमरेजको जोखिम २.३ गुणाले बढ्छ र १७० एमएमएचजी माथि हुँदा ३.३ गुणाले बढ्छ । नेपालमा उच्च रक्तचापको प्रकोप बढ्दो छ, जसले यो हेमरेजलाई थप घातक बनाउँछ ।
‘उच्च रक्तचापले नसाको भित्तालाई कमजोर पार्छ, अनुभव र नेपालमै भएका अध्ययनहरुले पनि देखाएका छन्’ डा. झाले भने ।
अत्याधिक तनाव
धेरैलाई पत्यार नलाग्न सक्छ, लामो समयसम्म कुनै कुराले अत्याधिक तनाव दिँदा पनि यो हेमरेज हुनसक्ने डा. झा बताउँछन् । ‘अत्याधिक तनावले शरीरमा तनाव हर्मोन कोर्टिसोल रिलिज हुन्छ, जसले रक्तचाप अचानक बढाउँछ’ उनी भन्छन्, ‘यो बढेको रक्तचापले कमजोर एन्युरिजममा दबाब दिई फुटाउन सक्छ ।’ डा. झाका अनुसार भावनात्मक तनाव जस्तै रिस वा चिन्ता वा शारीरिक तनाव हुँदा, शरीरले थेग्न नसक्ने तौल बोक्दा पनि सेकेन्डभित्रै रक्तचाप बढेर नसाको भित्ताहरू च्यातिनसक्छ ।
क्युरियस जर्नलमा सन् २०२२ मा प्रकाशित एक केस रिपोर्ट अनुसार एक स्वस्थ महिलामा मनोवैज्ञानिक तनावले यो आघातसम्म पुर्याएको छ । त्यस्तै, नेपालमा पनि युवाहरूमा अत्याधिक तनाव र धुम्रपानको संयोजनले यो हेमरेज बढाएको डा. झाको बुझाइ छ । ‘एकैछिनको तनाव सबैलाई हुन्छ, त्यो स्वभाविक हो, तर कुनै कुराले पलपलमा तनाव दिइरहेको छ, पोलिरहको छ, अत्याधिक सताइरहेको छ भने त्यो तनावसँगै कोर्टिसोल हर्मोन बढाएर रक्तचाप ह्वात्तै बढ्छ र यसले हेमेरज हुनसक्छ’ उनले सुनाए ।
धूम्रपान र मदिरा सेवन
डा. झाका अनुसार नेपालमा धूम्रपान र मदिरा यो रोगको नम्बर एक जोखिम कारक हो । धूम्रपान र मदिरा दुवैले पनि रक्तनलीहरुलाई खुम्च्याउनुको साथै नसाको भित्तालाई कमजोर बनाउँछ । ‘मदिरा र चुरोटको संयोजन झन मस्तिष्क घातलाई ट्रिगर गर्छ । विशेषत पार्टी, भोजभतेरमा गएको व्यक्ति भोलिपल्ट उठ्दा अचानक मृत्यु भयो भन्ने केसमा प्राय यो मस्तिष्कघात भएको पाएका छौं । अत्याधिक रक्सीले रक्तचाप एक्कासी बढाएर यो हेमरेजलाई ट्रिगर गर्नसक्छ, ’उनी भन्छन् ।
चिसो मौसमको प्रभाव
जाडो महिनामा मौसम परिवर्तन हुँदा नसा कडा हुन्छन्, व्यायाम कम हुन्छ, जसले प्रेसर बढाउँछ । शौच गर्दा वा भारी सामान उठाउँदा लाग्ने बलले पनि एन्युरिजम फुटाउन सक्छ । डा. झाका अनुसार नेपालमा युवा उमेरमा यो रोग देखिनुको मुख्य कारण भने तनाव र धूम्रपान हो । यदि परिवारमा यो रोगको इतिहास छ भने, जोखिम दुई गुणा बढ्छ । यस्ता व्यक्तिले समय-समयमा जाँच गर्नु राम्रो हुन्छ ।
जाडो महिनामा यो ट्रिगर बढी सक्रिय हुन्छ, किनकि चिसोले नसा संकुचित हुन्छन्, त्यसै पनि शारीरिक गतिविधि कम छ भने त प्रेसर स्वत बढ्न सक्ने डा. झा बताउँछन् । एक अन्तर्राष्ट्रिय अध्ययनले मौसम परिवर्तनको समयमा यो घट्ना थप बढ्ने देखाउँछ । नेपाल जस्तो देशमा, जहाँ स्वास्थ्य सुविधा सीमित छ, यी ट्रिगरहरूले रोगलाई अझ घातक बनाउँछन् । ‘चुरोट, रक्सी छोड्ने र प्रेसर नियन्त्रणमा राखे धेरै केसहरू रोक्न सकिनेले डा. झाले बताए । ‘यसका ट्रिगरहरू बुझेर त्यसबाट बच्दा रोकथाममा मद्दत गर्छ, र यसले जीवन बचाउन सक्छ’ डा. झा भन्छन्,
लक्षण
‘जीवनकै सबैभन्दा नराम्रो टाउको दुखाइ’
डा. झाका अनुसार सबएराक्नोइड हेमरेजको सबैभन्दा भयानक संकेत हो, अचानक, जीवनमा कहिल्यै अनुभव नगरेको नराम्रो टाउको दुखाइ । ‘बिरामीहरूले टाउकोमा ढुङ्गा हाने जस्तो वा ‘पम्प गरेर फुटेजस्तो अनुभूति भयो भन्ने गर्छन्’ डा. झा सुनाउँछन्, ‘यदि कसैले यो मेरो जीवनको सबैभन्दा खतरनाक टाउको दुखाइ हो भन्छ भने हामी तुरुन्त सबएराक्नोइड हेमरेज सम्झन्छौं।’
यो कडा दुखाइसँगै बारम्बार बान्ता आउने वा वाकवाकी लाग्ने हुन्छ । घाँटी कडा हुन्छ, जसले घाँटी पछाडिको भाग फलाम जस्तो बनाउँछ, र चिउँडो छातीमा छुन गाह्रो हुन्छ । आँखा धमिलो देखिने, वा प्रकाशप्रति संवेदनशीलता बढ्छ । शरीरको एक भागमा पक्षाघात हुन्छ, जसले हात–खुट्टा नचल्ने बनाउँछ । छारे रोग आउन सक्छ, वा बोली लटपटाउने हुन्छ । आंशिक वा पूर्ण बेहोस हुने पनि हुन्छ ।
केही बिरामीमा पहिले १–२ दिन हल्का टाउको दुखाइ र वाकवाकी हुन्छ । यदि नसा सानो मात्रामा फुटेको छ भने । तर अचानक ठूलो फुट्न सक्ने उनी बताउँछन् । नेपालमा यो लक्षणहरू अझ ढिलो पहिचान हुन्छन् । किनकि धेरैले सामान्य टाउको दुखाइ ठानेर बेवास्ता गर्छन् । डा. झाका अनुसार यदि यस्ता लक्षणहरू देखियो भने तुरुन्त न्यूरो सेवा भएको अस्पताल जानुपर्छ । यो लक्षणहरूले दिमागमा भएको दबाबलाई संकेत गर्छ, र यदि समयमा ध्यान नदिए मृत्यु हुन्छ ।
किन धेरै बच्दैनन्, बिरामी ?
समयमै यो समस्या पत्ता लाग्नसक्छ, तर नेपालमा धेरै केसमा नसा फुटिसकेपछि अन्तिम अवस्थामा मात्र पत्ता लाग्ने डा. झा बताउँछन् । ‘एन्युरिजम सानो हुँदा पत्ता लगाउन सकिन्छ, तर नेपालमा धेरैजसो फुटिसकेपछि मात्र थाहा हुन्छ’ डा. झा भन्छन्, ‘टाउको दुख्यो भने सामान्य होला भनेर सिटामोलको भरमा बस्ने प्रवृति छ, समयमा परीक्षण नहुँदा र तत्काल अस्पताल नपुग्दा यो समस्या अझ घातक बन्छ ।
यो केसहरूमा हेर्दा मस्तिष्कघातको ८०–९० प्रतिशत केसहरू फुटेको एन्युरिजमबाट हुन्छन्, र यसको वार्षिक घटना दर १ लाख जनसंख्यामा ७ देखि ९ रहेको डा. झाले जानकारी दिए ।
नेपालमा मात्र होइन, विश्वव्यापी अध्ययन हेर्ने हो भने पनि यसबाट हुने मृत्युदर ३५ देखि ५० प्रतिशत छ । द ल्यासेन्ट न्यूरोलोजीका अनुसार १०–१५ प्रतिशत अस्पताल पुग्नै पाउँदैनन् । पहिलो ७२ घण्टामा ९ देखि १७ प्रतिशतको मृत्यु हुन्छ । डा. झाका अनुसार समयमै अस्पताल पुग्दा बाच्ने सम्भावना ५० प्रतिशत रहन्छ ।
कस्तो हुन्छ, यसको उपचार ?
डा. झाका अनुसार समयमा पुगेपछि सिटीस्क्यान गरिन्छ, जसले रगत देखाउँछ । त्यसपछि एन्जियोग्राम (सिटी एन्जियो, एमआर एन्जियो गरेर एन्युरिजम ठाउँ पत्ता लगाइन्छ । क्लिपिङ अर्थात टाउको खोलेर मेटल क्लिप वा कोइलिङ तारबाट उपचार गरिन्छ ।
उपचार पछि पनि आईसीयूमा राम्रो आराम चाहिन्छ । ‘मेरो वार्डमा अप्रेसनपछि बिरामी भात खाँदै छन्’ डा. झाले सुनाए । नेपालमा यो उपचार उपलब्ध छ, तर समयमा पुग्नु चुनौती छ ।’
‘जोखिम घटाउन सकिन्छ’
यो निकै खतरनाक भए पनि सामान्य बानी परिवर्तन गरेर जोखिम घटाउन सकिने डा. झा बताउँछन् । उच्च रक्तचाप नियन्त्रणमा राख्ने, चुरोट÷रक्सी सेवन नगर्ने, नियमित व्यायाम गर्ने गरेमा यसको जोखिम धेरै हदसम्म कम हुन्छ । परिवारमा कसैलाई यस खालको इतिहास भए तत्काल स्क्रिनिङ गर्नु पनि जोखिम कम गर्ने अर्को महत्वपूर्ण कदम हो ।
यदि अचानक कडा टाउको दुखाइ’ भयो भने तुरुन्त न्यूरो सेन्टर जान डा. झाको सुझाव छ । ‘अचानक मृत्युको ठूलो कारण बन्न सक्छ, तर जागरूकता र छिटो उपचारले धेरै जीवन बचाउँछ’ डा. झा भन्छन् ।
प्रतिक्रिया 4