News Summary
Generated by OK AI. Editorially reviewed.- वीर अस्पतालमा सुजनकी आमालाई मेलानोमा स्किन क्यान्सरको उपचारका क्रममा पाँच शल्यक्रिया गरियो ।
- अस्पतालले क्यान्सरको पूर्ण जानकारी र उपचारबारे स्पष्ट जवाफ नदिँदा परिवारमा आर्थिक र मानसिक तनाव बढेको छ।
गत दशैँको टीकाको भोलिपल्टको सुजन थामी बिहान ८ बजे आमालाई लिएर वीर अस्पताल पुगे । दशैं विदाको कारणले अस्पतालमा खास चहलपहल थिएन । डाक्टर र नर्स पनि सीमित थिए ।
भर्ना हुन आउँदा पिसाब र रगत जाँचका रिपोर्टहरू ल्याउन भनिएको थियो, तर अस्पतालका ल्याबहरू बन्द थिए । आमालाई भर्ना गरे । राति ८ बजेतिर अचानक ‘रगत र औषधि’ ल्याउन भनियो ।
सुजन आमालाई छोडेर रगत लिन गए, भृकुटीमण्डपस्थित ब्लड बैंक । त्यहाँ रगत लिनेको लामो लाइन थियो । जब उनको पालो आयो अनि थाहा पाए, रगत बोक्ने भाँडो चाहिने रहेछ, त्यो उनीसँग थिएन । अनि अस्पताल फर्किएर भाँडो लिएर फेरि प्रदर्शनीमार्ग पुगी लाइन बसे ।
रगतपछि अब औषधिको जोहो गर्नुपर्ने भयो । लाइन बसे । बल्लतल्त पालो आयो तर औषधि पाइएन । वीरबाट ट्रमा सेन्टर पुगे रगत र औषधिको जोहो गर्दैमा आधा रात बित्यो । भोलिपल्ट आमाको खुट्टाको शल्यक्रिया थियो।
खुट्टाको सानो कालो दाग
सुजनकी ५२ वर्षीया आमा लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेकी थिइन् । थाइराइडको समस्या थियो, जसलाई औषधिले नियन्त्रण गरिरहेकी थिइन् । उमेर बढ्दै जाँदा अन्य स्वास्थ्य समस्याहरू थपिए ।
कम्मर दुख्ने, पाठेघरबाट रगत बग्ने समस्याका लागि पनि औषधि खाइरहेकी थिइन् । एक–डेढ वर्षअगाडि धुलिखेल अस्पतालमा पित्तथैलीको अपरेशन पनि गरिएको थियो । वीर अस्पतालमै नियमित जाँच गराउँथिन् ।
२ वर्षअघिबाट कुर्कुच्चामा कालो दाग देखिएको थियो । नदुख्ने त्यो दागलाई सामान्य ठानेर ढुंगाले घोटेर हटाउन खोजिन् । पछि त्यो ठाउँमा बिस्तारै पोल्ल थाल्यो ।
एलर्जी भएको होला भन्ने ठानेर त्यसलाई कम गर्न सन्चो लगाउँथिन् । तर, समस्या कम भएन, बढ्दै गयो ।
त्यसपछि परिक्षणका लागि वीर अस्पताल पुगिन् । थाइराइडकै समस्याले एलर्जी भएको होकि भनेर सुरुमा थाइराइड डाक्टरलाई भेटिन् ।
त्यहाँबाट छालाको डाक्टरकहाँ सिफारिस गरियो । डर्माटोलोजिस्टले प्लास्टिक सर्जरी गर्न सिफारिस गरे । दशैं अगाडि भदौतिर कुर्कुच्चाको कालो दाग काटेर बायोप्सी गरियो । रिपोर्ट आउन १४ दिन लाग्यो, जसले समस्या गम्भीर भएको देखायो ।
डाक्टरले तुरुन्त अप्रेसन गर्न सिफारिस गरे । तर, दशैँको बेला भएकोले घरमा टीका लगाएर टीकाको भोलिपल्ट भर्ना हुन आउने गरी मिलाइदिन उनले चिकित्सकसमक्ष अनुरोध गरिन् । त्यही अनुसार टीकाको भोलिपल्ट भर्ना हुने कुरा तय भएको थियो । त्यही अनुसार अस्पताल पुगेका थिए ।
शल्यक्रियाको शृंखला
पहिलो शल्यक्रियामा कुर्कुच्चाको कालो दाग भएको भाग काटियो । रिपोर्ट आउन १४ दिन लाग्यो । रिपोर्ट आएपछि दोस्रो शल्यक्रिया गर्नुपर्यो । ‘यसमा क्यान्सर देखिएको रहेछ तर परिवारलाई भनिएन’ सुजन सुनाउँछन् ।
दोस्रो शल्यक्रियाको १५ दिनपछि तेस्रो शल्यक्रिया भयो । तेस्रो शल्यक्रियाको १०–१५ दिनमा शल्यक्रिया गरेको ठाउँमा संक्रमण भएछ । त्यसम संक्रमण हुनसक्छ भन्ने कुरा पनि डाक्टरले भनेनन् ।
डाक्टर राउन्डमा आएको बेला इन्फेक्सन भएको थियो तर निको भइसक्यो भनी आश्वसन दिएको उनी बताउँछन् ।
चौथो शल्यक्रिया पिँडौलाको पछाडि भागको गरियो । बीचमा सामान्य शल्यक्रियाहरू पनि भइरहे ।
असोजदेखि मंसिरसम्म तीन महिनामा ५ वटा शल्यक्रया भए, ३ लाख खर्च भयो ।
पाँचौं शल्यक्रियामा अपरेसन थिएटर भित्रबाट बोलाइयो । सुजन भित्र गए । त्यसपछि डाक्टरले भने, ‘शल्यक्रिया त भयो तर निको हुन्छ वा हुँदैन केही भन्न सक्दैनौं ।’
डाक्टरले त्यस्तो भनेपछि परिवारमा चिन्ता बढ्यो । शंका बढ्यो । यसपछि परिवारका सदस्यहरू गम्भीर भए र आफन्तहरूसँग सल्लाह लिन थाले ।
अनि सुजनले अस्पतालले दिएका रिपोर्टलाई अन्य माध्यममार्फत पनि भेरिफाइ गराए । आमालाई क्यान्सर भएको रिपोर्टले देखायो ।
एक दिन अस्पतालमा गाउँको दिदी भट्न आइन् । दिदीले रिपोर्ट हेरेर क्यान्सर भएको बताइन् र उपचारको लागि सरकारबाट सहायता पाइने कुरा सुनाइन् ।
अब त चिकित्सकलाई आँट गरेर सोध्नै पर्यो भनेर सुजनले सोधे ‘आमाको क्यान्सरको भाग हटाइयो कि अझै बाँकी छ ?’
चिकित्सकले जवाफ दिइन् ‘क्यान्सर प्रभावित भाग फालिसक्यौं, घोप्टो पारेर राख्नुस्’ । त्यो भन्दा अरू केही भनिनन् ।
अब फेरि आमालाई अस्पतालको बेडमा डेढ महिना घोप्टो पारेर सुताइयो । दिसा, पिसाब, खाना सबै घोप्टो नै । यो निकै कठिन थियो । क्यान्सर थाहा भएपछि परिवार निकै पीडामा थियो । तर, त्यो भन्दा कठिन अस्पातलको बसाइ र त्यहाँको व्यवहार थियो।
आर्थिक, भावनात्मक संघर्ष
पाँच ओटा शल्यक्रिया भयो । तीन लाख भन्दा बढी खर्च भइसक्यो तैपनि उनीहरूले चिकित्सकको परामर्श पाएनन् । आमालाई ठ्याक्कै के भएको हो ? यो पूर्णरूपमा निको हुन्छ कि हुँदैन ? केही पनि भनिएको छैन ।
क्यान्सर भएका बिरामीलाई सरकारले एक लाख रुपैयाँ दिन्छ कुरा उनले आफन्त र साथीभाइबाट थाहा पाए । तर, क्यान्सर भएको भनेर कागजात कहाँबाट बनाउने थाहै थिएन । त्यसका लागि निकै संघर्ष गर्नुपर्यो
सिफारिस भए सहायता मिल्छ कि भनेर डाक्टरहरूलाई सोध्दा हुँदैन भन्ने जवाफ आयो । त्यसपछि अस्पतालका निर्देशकसँग भेटेर आर्थिक तथा मानसिक तनावको कुरा राख्दा पनि कुनै सहयोग भएन ।
घर लैजाने बेलामा कागजात बनाउन जाँदा सामाजिक सुरक्षा विभागका चारवटै कोठामा सोध्दा ‘हामीसँग हुँदैन’ मात्र भनियो, जबकि वडाले अनुसूची २ बमोजिमको फर्म मागेको थियो ।
गाउँपालिका अध्यक्षलाई कल गर्दा पनि समाधान भएन । ‘पछि फलोअपमा बुझ्दै जाँदा अस्पतालकै वार्डमा फर्म हुन्छ भन्ने थाहा भयो, तर यो झन्झटिलो प्रक्रियाले हामीलाई धेरै हैरान पार्यो’ सुजन भन्छन् ।
अन्ततः डिस्चार्ज हुँदा साइन त भयो, तर पैसा उपचारमै काटिने हो वा नगद पाइने हो भन्ने अझै स्पष्ट छैन, जसले सहायताको उद्देश्य नै अधुरो जस्तो लाग्छ उनलाई ।
अझै बाँकी छ आशा
क्यान्सर भएको कुरा आमालाई नभनी राखियो, तर उनी घर जान इच्छुक थिइन् । एक दिन राउन्डमा आएका चिकित्सकले पनि भने अब घर लगेर उतैबाट फलोअप गर्दा हुन्छ ।
घर जाने दिनमा डाक्टरले सुजनलाई मात्र भित्र बोलाएर भने- यो मेलानोमा क्यान्सर हो । यो जटिल प्रकारको क्यान्सर हो । जति फाल्यो त्यति बढ्दै जान्छ । डिस्चार्ज भएर घर जाने दिनमा मात्र चिकित्सकले औपचारिक रूपमा क्यान्सर भएको जानकारी दिए।
तीन–चार हप्ताको फरकमा दुई वर्षसम्म इम्युनोथेरापी दिनुपर्ने सुनाए । जसको लागत निकै हुन्छ । यसले पनि पूरा निको हुन्छ भन्न नसकिने पनि चिकित्सकले बताए ।
यसपछि आमाको इच्छा पूरा गर्न अध्यारोमा लगियो । कीर्तिपुरमा रहेको डेरा पुग्दा राति ९ बजिसकेको थियो । डिस्चार्जपछि शुक्रबार फलोअपमा फर्कदा डाक्टरले बिरामीलाई चाँडै बाहिर पठाएर थप कुरा गरेनन् ।
केही दिनअघि साथीहरूको सिफारिसमा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुदिप श्रेष्ठलाई भेट्न गए । उनले क्यान्सर प्रारम्भिक चरणमै भएको बताए । त्यति धेरै पटक किन अप्रेसन गरियो भनेर उनी अचम्ममा परे । अप्रेसन किन गरेको भन्दै प्रश्न गरे ? त्यसको उत्तर सुजनसँग थिएन ।
डा. सुदिपले पनि इम्युनोथेरापी नै चाहिने र महँगो हुने बताए । तर आर्थिक अवस्था गर्दा उपचारमा कठिन भइरहेको छ ।
डिस्चार्जपछि फलोअपहरू जारी छन्, तर आर्थिक बोझ र अनिश्चितताले परिवारलाई थकित बनाएको छ । कहीँ कतैबाट उपचारमा राहत पाए आमाको उपचार राम्ररी हुन्छ कि भन्ने आशा रहेको सुजन बताउँछन् ।
के भन्छन् उपचारमा संलग्न चिकित्सक ?
वीर अस्पातलका प्लाष्टिक सर्जन डा. पियुष दाहालका अनुसार शान्ति थामी वीर अस्पतालमा कुर्कुचाको दागको उपचार गर्न भनी आएकी थिइन् । त्यसपछि स्किन क्यान्सर (मेलानोमा) भएको पत्ता लाग्यो । सुरुमा डाइग्नोसिस, त्यसपछि ‘वाइड लोकल एक्सिजन’ गरेर क्यान्सर फैलिएको ठाउँ नियमअनुसार काटियो ।
बायोप्सी रिपोर्ट ढिला आउने प्रणालीका कारण अप्रेसन र निर्णयहरू चरण–चरणमा भएको र बायोप्सी रिपोर्टले क्यान्सर समाप्त भएको पुष्टि नगरेसम्म घाउ बन्द गर्न नपाइने अवस्था थियो।
पछि अर्को खुट्टामा पनि कालो दाग देखिएकाले पुनः बायोप्सी र अप्रेसन गर्नु परेको दाहालले जानकारी दिए । स्किन क्यान्सरमध्ये मेलानोमा गम्भीर प्रकृतिको क्यान्सर हो । बिरामी र आफन्तलाई क्यान्सरको प्रकृति र उपचारबारे आफूले स्पष्ट रूपमा भनेको दावी डा.दाहालको छ ।
‘कतिपय जानकारी सिनियरले प्रारम्भमा दिने र जरुरी परेमा जुनियरले थप व्याख्या गर्ने चलन छ’ डा.दाहालले भने, ‘आफन्तले राखेको गुनासो मैले ‘फिडब्याक’का रूपमा लिएको छु र समूहमा पनि समीक्षा गरी सुधारतर्फ ध्यान दिनेछु ।’
प्रतिक्रिया 4