+

अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?

२०८२ माघ  २० गते १२:५१ २०८२ माघ २० गते १२:५१

कोठी हटाएपछि ५ देखि ७ दिन घामबाट बच्नुपर्छ त्यसका लागि सनस्क्रिनको प्रयोग गर्नुपर्छ ।

Shares
अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनुहारमा आउने अनावश्यक कोठीले सौन्दर्य र आत्मविश्वासमा असर पुर्‍याउँछन् ।
  • कोठी हटाउन लेजर उपचार, शल्यक्रिया र क्रायोथेरापी विधिहरू प्रयोग गरिन्छ, जसमा लेजर सबैभन्दा लोकप्रिय र कम साइड इफेक्ट हुने विधि हो।
  • घरेलु उपाय जस्तै टुथपेस्ट वा एसिड प्रयोगले छालामा जलन र संक्रमण हुन सक्छ, त्यसैले छाला विशेषज्ञसँग परामर्श लिनुपर्छ।

अनुहारको सौन्दर्यलाई लिएर महिलाहरूमा विभिन्न खालका चिन्ता उत्पन्न भइरहेको हुन्छ । यसमध्ये सबैभन्दा बढी दुःख दिने समस्या हो, अनुहारमा आउने अनावश्यक कोठी । यी स–साना देखिने कोठीले समग्र अनुहारको सुन्दरतालाई प्रभावित गर्छन् र आत्मविश्वास घटाउँछन् ।

धेरैजसो कोठी हानिरहित हुन्छन्, तर कतिपय अवस्थामा यिनीहरूले छालाको क्यान्सर ‘मेलानोमा’को संकेत पनि हुन सक्छन् । त्यसैले कोठीको प्रकार थाहा पाउन छाला विशेषज्ञसँग जाँच गराउनु अत्यन्त महत्वपूर्ण छ ।

कोठी के हो र किन आउँछ ?

मानिसको छालामा आउने काला वा अन्य रङका दानालाई कोठी भनिन्छ । कोठी छालामा ‘मेलानोसाइट’ भनिने कोषहरूको समूह हो, जसले रङ उत्पादन गर्छ । यी जन्मजात हुन सक्छन् वा जीवनको क्रममा हर्मोन, घामको परावैजनी किरणको प्रभाव वा वंशाणुगत कारणले पछि पनि आउन सक्छन् ।

कति प्रकारका हुन्छन् ?

कोठीहरू धेरै प्रकारका हुन्छ । समान्यतया वंशाणुगत कोठी, कुनै पछि मात्र आउने कोठी हुन्छ, कुनै माथिल्लो सतहमा देखिने कोठी कुनै भित्री भागमा गएर बाहिर रौं पलाउने कोठी हुन्छ । कुनै युवावस्थामा घाँटीको वरिपरि र छातीको माथिल्लो भागमा देखिने कोठी हुन्छ, जुन युवकहरूमा बढी देखिन्छ । त्यस्तै रातो कोठी हुन्छ जुन उमेर ढल्केपछि शरीर तथा अनुहारमा देखिन थाल्छ । शरीरमा आउने कोठी एउटै हुन्छन् ।

कोठी हटाउन सकिन्छ ?

अनुहार वा शरीरको जुनसुकै भागमा आएका कोठीलाई विभिन्न विधिबाट हटाउन सकिन्छ । स–साना र हानिरहित कोठीलाई औषधि क्रिमबाट पनि कम गर्न सकिन्छ, तर ठूला, उठेका वा गहिरा कोठीका लागि यो पर्याप्त हुँदैन ।

कोठी हटाउने विधिहरू:

लेजर उपचार

यो सबैभन्दा लोकप्रिय र धेरै साइड इफेक्ट नहुने विधि हो । लेजरले कोठीका कोषहरूलाई लक्षित गरी नष्ट गर्छ, जसले दाग कम छोड्छ र रिकभरी छिटो हुन्छ । सामान्यतया एक वा दुई सिटिङमा सकिन्छ ।

शल्यक्रिया

ठूला वा शंकास्पद कोठीमा यो विधि प्रयोग गरिन्छ, जसमा कोठीलाई काटेर निकालिन्छ र आवश्यक परे बायोप्सी गरिन्छ । यसले दाग छोड्न सक्छ तर क्यान्सर जाँचका दृष्टिले प्रभावकारी हुन्छ ।

क्रायोथेरापी वा अन्य

कहिलेकाहीँ क्रायोथेरापी जस्ताे फ्रिजिङ विधि पनि प्रयोग हुन्छ । लेजर वा शल्यक्रियाबाट हटाउँदा साइड इफेक्ट न्यून हुन्छन् । सामान्य लक्षणहरूमा हल्का दुखाइ, रातोपन, सुन्निनु, घाउबाट रगत आउनु, दाग बस्नु वा संक्रमण हुन सक्छ । यी धेरैजसो केही दिनमा हराउँछन्, तर राम्रो क्लिनिक र अनुभवी चिकित्सक रोज्दा जोखिम कम हुन्छ ।

घरेलु उपाय नअपनाउने

इन्टरनेटमा टुथपेस्ट, चुना, एपल साइडर भेनेगर, लसुन वा एसिड लगाउने सल्लाह धेरै पाइन्छ, तर यी पूर्ण रूपमा हानिकारक छन् । यस्ता पदार्थले छालामा जलन, एलर्जी, दाग, संक्रमण वा स्थायी निशान पार्न सक्छन् । कोठी हट्नुको सट्टा छालालाई थप क्षति पुर्‍याउँछन् । त्यसैले यस्ता घरेलु प्रयोगबाट टाढा रहनुहोस् र सधैं छाला विशेषज्ञसँग परामर्श लिनुपर्छ ।

कति लाग्छ खर्च ?

नेपालमा कोठी हटाउने खर्च क्लिनिक, कोठीको आकार, स्थान र विधिमा निर्भर गर्छ । केही क्लिनिकमा एकैपटक धेरै कोठी हटाउँदा प्याकेजमा छुट पनि हुन्छ । कुनै कोठी एक सिटिङमा हट्छ भने कुनैमा दुई–तीन पटक लाग्न सक्छ । खर्च थाहा पाउन स्थानीय छाला क्लिनिकमा सोध्नु उत्तम हुन्छ ।

फेरि दोहोरिएर आउँछ कि आउँदैन ?

कोठीलाई ठीक तरिकाले जडसहित हटाइयो भने फेरि आउँदैन । तर, वंशाणुगत कारण वा हर्मोनल परिवर्तनको कारण भविष्यमा नयाँ कोठी भने आउन सक्छ । हटाएको उही कोठी प्राय फर्कंदैन तर नयाँ बन्ने सम्भावना रहन्छ।

कोठी हटाएपछि ५ देखि ७ दिन घामबाट बच्नुपर्छ त्यसका लागि सनस्क्रिनको प्रयोग गर्नुपर्छ । घाउको पाप्रालाई आफैँ झर्न दिनुपर्छ, कोट्याएर निकाल्नु हुँदैन । सथै डाक्टरले सिफारिस गरेको क्रिम नियमित लगाउनुपर्छ ।

कोठी आउन नदिन वा कम गर्न के गर्ने ?

जन्मजात कोठीलाई रोक्न सकिँदैन, तर नयाँ आउने वा बढ्ने जोखिमलाई कम गर्न सकिन्छ । पछि निस्कने कोठीबाट बच्न घाममा कम निस्किनुपर्छ । विशेष गरी १० बजे देखि ४ बजेको बीचमा ।

बाहिर निस्किँदा एसपिएफ ३०+ को ब्रोड–स्पेक्ट्रम सन्सक्रिन अनिवार्य लगाउनुपर्छ । साथै लामो समय घाममा नबस्ने, टोपी, छाता वा पूरै छाला कभर गर्ने लुगा प्रयोग गर्नुपर्छ ।

समय–समयमा आफ्नो छाला जाँच्ने र वर्षमा कम्तीमा एकपटक डर्माटोलोजिस्टसँग स्किन चेकअप गराउनुपर्छ ।

अनुहारमा कोठी हटाउनु सौन्दर्यका लागि मात्र नभई स्वास्थ्यका लागि पनि महत्वपूर्ण हुन सक्छ । यदि कोठीले चिन्ता दिइरहेको छ भने ढिलो नगरी योग्य छाला विशेषज्ञसँग सल्लाह लिनुपर्छ । सुरक्षित र प्रभावकारी उपचारबाट अनुहार स्वच्छ र आत्मविश्वासपूर्ण बन्न सक्छ ।

अनुहार कोठी छाला
डा. सुयोग मैनाली
लेखक
डा. सुयोग मैनाली
वरिष्ठ प्लास्टिक कस्मेटिक तथा लेजर सर्जन

मेडिकल काउन्सिल दर्ता नम्बर : ७६८० अध्ययन : एमबीबीएस,एमएस (प्लास्टिक सर्जरी) काठमाडौंस्थित सुयोग काठमाण्डु क्लिनिक अफ कस्मेटिक सर्जरीका संस्थापक, हाल सोही संस्थामा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय