News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी तरकारी बजारमा रायो सागमा ९९.०८ प्रतिशतभन्दा बढी अर्गानोफस्फेट विषादी भेटिएको पुष ८ गते रिपोर्टले पुष्टि गरेको छ।
- अर्गानोफस्फेट विषादीले लामो समयसम्म सेवन गर्दा स्नायु प्रणालीमा असर गरी स्मरणशक्ति, ध्यान र व्यवहारमा नकारात्मक प्रभाव पार्ने चिकित्सकहरूले बताएका छन्।
- सरकारले २७ खतरनाक विषादीहरू प्रतिबन्ध लगाएको भए पनि कार्यान्वयन कमजोर र किसानलाई तालिमको अभावले विषादीको दुरुपयोग बढाएको कृषि मन्त्रालयका विशेषज्ञले बताएका छन्।
काठमाडौं । चिकित्सक भन्छन्, ‘स्वस्थ्य रहन सागपात खानुहोस्’
प्रयोगशालाको रिपोर्ट भन्छ, ‘सागपातमा विषादीको मात्रा बढी छ ।’
उपभोक्ता द्विविधामा छन् । सागपात खाएर स्वास्थ्य भइन्छ कि रोगी ? यसले फाइबर, भिटामिनलगायत सुक्ष्म पोषण मिल्छ कि स्वास्थ्यलाई हानि गर्ने विकार ?
सागपात खाएर ढुक्क हुने अवस्था छ ?
यसको जवाफ भने त्यती सन्तोषजनक छैन । देशकै ठूलो तरकारी थोक बजार कालीमाटीमा विक्रीका लागि ल्याइएका तरकारीहरूमा अत्यधिक विषादी भेटिने तथ्यांकले यसमा शंसय पैदा गरिदिएको छ ।
पछिल्ला दिनमा रायोको सागमा धेरै विषादी भेटिएको खबर आइरहेका छन् । स्वास्थ्य राम्रो बनाउनका लागि नियमित खानुपर्ने सागपातमै बारम्बार विषादी भेटिनु जनस्वास्थ्यका लागि गम्भीर चुनौती भएको जनस्वास्थ्यविद्हरु बताउँछन् ।

तथ्यांकले के भन्छ ?
पुष ८ गते कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको अनुगमन टोलीको रिपोर्टमा रायोको सागमा ९९.०८ प्रतिशतभन्दा बढी अर्गानोफस्फेट विषादी भेटिएको पुष्टि गर्यो ।
त्यसको हप्ता दिन नबित्दै समितिको पुष ११ गतेको अर्को रिपोर्टमा रायो सागमा ७४.७२ प्रतिशत बढी अर्गानोफोस्फेट विषादी रहेको सूचना सार्वजनिक भयो । यसअघि पनि ब्रोकाउली, तितेकरेला लगायतका तरकारीमा उच्च विषादी भेटिएको खबर पटक-पटक आइरहेको थियो ।

२०२५ मा प्रकाशित एक समीक्षाले नेपालका फलफूल र तरकारीहरूमा विषादी अवशेषको अनुगमनलाई विश्लेषण गरेको छ । यसमा हाल भइरहेको विषादी प्रयोग, अनुगमनका प्रयासहरू र नियामनमा देखिएको ढिलासुस्तीलाई गहन विश्लेषण गरिएको छ ।
३५ प्रतिशतभन्दा कम अवशेषलाई सुरक्षित मानिन्छ । जबकि ३५ देखि ४५ प्रतिशत बीचको स्तरहरूलाई प्रतीक्षा अवधिपछि मात्र उपभोगयोग्य मानिन्छ । तर नेपालमा यो सीमा बारम्बार उल्लंघन भइरहेको छ ।
यी तथ्यांकहरूले कालीमाटी बजारलाई यस्तो हब बनाएको देखाउँछ, जसबाट उपत्यकाभर तरकारी पुग्छ र अन्ततः उपभोक्ताको थालमा विष पुगिरहेको छ ।
सीमित अनुगमन र अनियन्त्रित विषादी प्रयोग
सीमित अनुगमन र अनियन्त्रित विषादी प्रयोगले यो समस्या बढाएको देखिन्छ । कृषि मन्त्रालयका अवकाशप्राप्त सहसचिव तथा विषादी विशेषज्ञ डा. दिल्लीराम शर्माका अनुसार विषादी आवश्यक छ, विश्वभर यसको प्रयोग हुन्छ । तर नेपालमा दुरुपयोग बढी छ ।
‘जापानमा प्रतिहेक्टर १२ किलो प्रयोग हुँदा स्वास्थ्य असर कम छ, किनकि उनीहरूले ‘ग्रेस पिरियड’ (छर्केपछि यति दिनपछि टिप्ने र कति हाल्ने भन्ने नियम) पालना गर्छन्’ डा. शर्मा भन्छन्, ‘हाम्रोमा आज छर्केर भोलि टिप्ने चलन छ ।’
यही कारण अहिले काठमाडौंबासीले खाने सागपात अयोग्य छ भनेर दाबी गरिने अवस्था रहेको उनी बताउँछन् ।
आफूले २०७३–७४ मा कालीमाटीमा अनुगमन सुरु गरेको र त्यसको उद्देश्य किसानहरूलाई सजक गराउनु रहेको डा. शर्मा बताउँछन् । तर अहिले आफू रिटार्यड भएपछि तालिम दिने काममा निरन्तरता नदेखिएको उनको गुनासो छ ।
अहिले अनुगमन देखावटी मात्रै बनेको उनको गुनासो छ । ‘उतिबेला हाम्रो उद्देश्य विषादीको मात्र कति हाल्ने भनेर तालिम दिनु थियो’ डा.शर्मा भन्छन्, ‘तर किसानलाई सिकाउने उद्देश्य हराएको छ ।
सरकारले स्थानीय निकायमार्फत तालिम दिनुपर्छ ।’ उनका अनुसार किसानहरूले छिटो र सस्तोमा कीरा नियन्त्रण गर्न अत्यधिक विषादी प्रयोग गर्छन् । बजारमा राम्रो मूल्य पाउन अन्तिम समयमा पनि छर्कने प्रवृत्ति छ ।
के विषादी नहाली तरकारी फल्दै नफल्ने हो ?
तरकारीमा विषादी भेटिएको खबर सुन्दा उपभोक्तालाई तरकारी किन्नै डर लाग्ने अवस्था बनेको छ । जलवायु परिवर्तनका कारण विषादी प्रयोग नगरी तरकारी फलाउनै कठिन हुने शर्मा बताउँछन् ।
तरकारीमा नयाँ-नयाँ कीराहरूले आक्रमण गरिरहेको हुन्छ । ती कीरा मार्नलाई मनलाग्दी विषादी हाल्ने गर्दा समस्या हुने उनको भनाइ छ । किसानहरूमा ज्ञान नहुँदा सामान्य विषादीले मर्ने कीराका लागि पनि कडा विषादी प्रयोग गर्ने गरेको उनी सुनाउँछन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार विकासोन्मुख देशहरूमा विषादीको सुरक्षित प्रयोग र भण्डारणको ज्ञान अभावले समस्या बढाएको छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको तथ्यांकअनुसार नेपालमा विषादी आयात वर्षेनी बढिरहेको छ । हालैका वर्षहरूमा नेपालले ११०० टनभन्दा बढी विषादी आयात गरेको छ, जसको ठूलो हिस्सा तरकारीमा प्रयोग हुन्छ । २०२३–२४ मा ११८३ टन आयात भएको तथ्यांक छ ।
सरकारी ल्याबले अर्गानोफस्फेट चिन्छ, अरू विषादी चिन्दैन
हालको सतहमा देखिएको अर्गानोफस्फेट मात्र हो । धेरै यस्ता विषादी हुनसक्छन्, जो हाम्रो आँखा बाहिर रहेको शर्मा बताउँछन् । उनका अनुसार कालीमाटीको मेसिनले अर्गानोफस्फेट र कार्बामेट मात्र जाँच गर्छ ।
कार्बामेट विषादी नेपालमा अहिले आउँदैन । पहिले विषादी प्रयोग गर्ने मध्ये ७० प्रतिशतले अर्गानोफस्फेट हाल्थे । तर अहिले यो दर घटेर २५-३० प्रतिशत पुगेको छ । त्यो बाहेक अहिले देखिएको नयाँ विषादी सरकारको मेसिनले नचिन्ने उनले स्पष्ट पारे ।
९९ प्रतिशत विषादी देखियो भन्नुको अर्थ के हो ?
शर्माका अनुसार ९९ प्रतिशत भनेको विषादीको मात्रा होइन, रेसिड्यू स्तर अर्थात् विषादीमा रहेको अवशेष हो । ३४ प्रतिशतसम्म सुरक्षित र ४५ प्रतिशतमाथि यी विषादी मेसिनले देखाउँछ भने त्यो अयोग्य मानिन्छ ।
३० प्रतिशत भन्दा बढी देखिएको नयाँ विषादी हुन् । त्यसैले, अरू पनि विषादी होलान जुन शरीरका लागि हानिकारक छन् भन्ने सन्देश हो । विषादी जाँच गर्नेसूत्र छ, ३४ प्रतिशतसम्म खानयोग्य, ४५ प्रतिशत भए ७ दिनपछि खान मिल्छ, त्यो भन्दा माथि देखिए अयोग्य भनिन्छ ।
किसानलाई तालिम हुँदैन, अनुगमन मात्रै
किसानले तरकारीमा जथाभावी विषादी प्रयोग गर्नुको मुख्य कारण त्यसबारे राम्रो ज्ञान नहुनु नै रहेको शर्मा बताउँछन् । किसानलाई राम्रो तालिम दिनु आवश्यक नभएपछि अनुगमन मात्रै गर्ने प्रवृत्तिले समाधान नदिने उनको भनाइ छ ।
आफूले जाँदा गर्ने बेलामा जुन भेगको तरकारीमा विषादी देखिन्छ, त्यही ठाउँको कृषकलाई विषादी प्रयोगको तालिम दिने व्यवस्था गर्ने गरेको शर्माले सुनाए । ‘यी सबै हराउँदै गए । त्यसैले, अहिले विषादी जाँच्ने र चुप लागेर बस्न, झारा टार्ने काम मात्रै भइरहेको छ’ उनी भन्छन् ।
नेपालमा विषादी व्यवस्थापनका लागि विभिन्न कानुनहरू छन् । विषादी ऐन, २०४८ ले विषादीको आयात, निर्यात, उत्पादन, प्रयोग, खरिद र विक्रीलाई नियमन गर्छ । यसमा सूचीबद्ध भएका बाहेक विषादीहरू आयात र प्रयोग गर्न निषेध छ ।
सरकारले २७ खतरनाक विषादीहरू प्रतिबन्ध लगाएको छ, तर कार्यान्वयन कमजोर छ । नियमनमा तदारुकता देखिँदैन । विषादी दर्ता प्रक्रिया कमजोर छ, र किसानहरूलाई तालिमको अभाव छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले कार्य गर्छ, तर पर्याप्त ल्याबहरू नभएको शर्मा बताउँछन् ।
के भन्छन् चिकित्सक ?
नेपालमा तरकारीमा पाइने विषादीको स्तरले जनस्वास्थ्यमा ठूलो खतरा निम्त्याउने चिकित्सकहरू बताउँछन् । विषादीयुक्त तरकारी भनेको सुस्त विष नै भएको उनीहरूको भनाइ छ ।
यसले स्वास्थ्यलाई क्रमिकरूपमा क्षति पुर्याउँछ । बालबालिकामा यो जोखिम दोब्बर हुन्छ ।
वीर अस्पतालका न्यूरोसर्जन प्रा.डा. राजीव झाका अनुसार यस्ता विषादी लामो समयसम्म खाँदा छोटो समयको प्रभावमा टाउको दुख्ने, वाकवाकी लाग्ने, पखाला, चक्कर लाग्ने, छाला र आँखा पोल्ने जस्ता लक्षण देखिन्छन् । लामो समयको सम्पर्कमा भने स्नायुदेखि अन्य भागमा असर गर्छ ।
‘अर्गानोफस्फेट विषादी लामो समयमा हामी खाइरहन्छौं भने ‘एसिटाइलकोलिन’ इन्जाइम रोक्छन्’ डा. झा भन्छन्, ‘एसिटाइलकोलिन भनेको हाम्रो स्नायुमा सन्देशवाहक पदार्थलाई नियन्त्रणमा राख्ने इन्जाइम हो । यो इन्जाइम रोकिँदा स्नायु प्रणाली अत्यधिक सक्रिय हुन्छ र मस्तिष्क तथा शरीरमा समस्या देखिन्छ । यही कारणले स्नायु प्रणाली अत्यधिक उत्तेजित हुन्छ र मस्तिष्कमा असर पर्छ ।’
उनका अनुसार लामो समयको सम्पर्कले स्मरणशक्ति, ध्यान, व्यवहार र स्नायुविकासमा नकारात्मक असर पार्ने देखाएका छन् । बालबालिकामा सिकाइ समस्या र वयस्कमा न्युरोडिजेनेरेटिभ रोगको जोखिम बढ्ने प्रमाण पनि उपलब्ध छ । न्युरोडिजेनेरेटिभ रोग भन्नाले मस्तिष्क र स्नायु तन्त्रका कोष क्रमशः नष्ट हुने रोग हो ।
अर्का न्यूरोलोजिस्ट डा. विवेक सिंह पनि यसमा सहमति जनाउँछन् ।
डा. सिंहका अनुसार अर्गानोफोस्फेटले स्नायु प्रणालीमा असर गरी टाउको दुख्ने, वाकवाकी लाग्ने, चक्कर, लाग्ने, मांसपेशी कमजोर हुने, झट्का लाग्ने, सन्तुलन बिग्रने, दृष्टि र संवेदनशीलता कम हुने, निद्रा समस्या, मानसिक तनाव, सम्झनाशक्ति र ध्यानमा कमी जस्ता समस्या ल्याउने हुनसक्छ।
लामो समयसम्म उपभोग गर्दा अल्जाइमर लगायत मस्तिकसम्बन्धी रोगको जोखिम बढाउने डा. सिंह बताउँछन् । उनका अनुसार अमेरिकाको क्यालिफोर्नियामा ४ हजार बच्चाहरूमा गरिएको एउटा अध्ययनले कीटनाशकले बच्चाहरूमा दमको जोखिम धेरै बढाएको पाइयो ।
‘त्यो मात्र होइन, श्वासप्रश्वासमा समस्या, मांसपेशी कमजोर हुने, दीर्घकालीन प्रभावमा हर्मोन असन्तुलन, प्रजनन समस्या र बालबालिकामा विकासमा बाधा पुग्ने गर्छ’ उनी भन्छन्, ‘त्यसैले, सरकारले चाडो भन्दा चाडो यो कुरामा ध्यान दिनुपर्छ।’
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार यस्ता विषादीले स्नायु क्षति, किड्नी फेल, फोक्सोको रोग, मानसिक समस्या र क्यान्सरसमेत निम्त्याउन सक्छन् । विशेष गरी बालबालिका, गर्भवती महिला र किसानहरू जोखिममा पर्छन् ।
क्यान्सरको जोखिम
डा. सिंहका अनुसार यस्ता विषादी क्यान्सर गराउने विभिन्न कारणमध्ये एक हो । तरकारीमा प्रयोग हुने कीटनाशकलाई आर्षेनिक, इथाइलिन ओक्साइड र लिन्डेन समूह १ कार्षिजनहरूको दर्जा दिइएको छ । कार्षिजन भन्नाले क्यान्सर गराउन सक्ने सम्भावना रहेको वस्तु भन्ने बुझिन्छ ।
अर्गानोफस्फेट विषादीहरू (मालाथियन, डाइएजिनन, क्लोरपाइरिफस)ले क्यान्सरको जोखिम बढाउन सक्छन् भन्ने कुरा अध्ययनले पनि देखाएका छन् ।
विश्व स्वास्थ्य संगठन अन्तर्गतको आइआरएसीले मालाथियन र डाइएजिननलाई सम्भावित क्यान्सरकारक (ग्रुप२ए) मानेको छ, विशेषगरी यो नन–हज्किन लिम्फोमा र प्रोस्टेट क्यान्सरसँग जोडिएको छ । विषादी भएको तरकारी कसरी छुट्याउने ? डा. शर्माको जवाफ यस्तो छ ।
तरकारीमा विषादी छ कि छैन भन्ने कुरा साधारण तरिकाले छुट्याउन गाह्रो छ, किनकि यो देख्न र गन्धबाट थाहा हुँदैन । तर केही संकेत र उपायहरू छन् जसले हामीलाई सम्भावित जोखिमबाट जोगाउन सक्छ ।
— अस्वाभाविक चम्किलो र ताजा देखिने तरकारीमा शंका गर्नुहोस् । कीराले नखाएको वा दाग नभएको तरकारीमा विषादी बढी हुन सक्छ ।
— पातदार तरकारी (रायो, पालुङ्गो)मा सेतो धुलो जस्तो तह भए शंका गर्नुहोस् ।
विषादी भएको तरकारी कसरी खाँदा सुरक्षित हुन्छ ?
विषादीबिनाको तरकारी अब कल्पना गर्न गाह्रो छ । तर, यसलाई तीन तरिकाले आफैंले पनि विषादीरहित बनाएर खान सकिन्छ।
जस्तो:
— राम्रो बेगसहित आएको धारामा तीन पटक पखाल्ने हो भने ६० प्रतिशत विषादी जान्छ ।
— एक लिटर पानीमा दश ग्राम भेनेगर राखेर १५ मिनेट भिजाएर निकालेर पखालेर खाएमा ८० प्रतिशत विषादी घट्छ ।
— तरकारीको बोक्रा फाल्न मिल्ने छ भने त्यो फाल्दा पनि ८० देखि ९० प्रतिशत विषादी जान्छ । किनकी, अधिकांश विषादी बोक्रामा हुन्छन् ।
— राम्रोसँग धोएर, बोक्रा फालेर वा पकाएर खाँदा केही विषादी नष्ट हुन्छ ।
विषादी नियन्त्रणको उपाय के ?
शर्माका अनुसार प्रतिबन्धित विषादीको आयात र विक्री रोक्न सकिन्छ । नेपालमा अर्गानोफस्फेट समूहका ५०–६० प्रतिशत विषादी प्रतिबन्धित छन्, तर कार्यान्वयन कमजोर छ । थप ल्याब स्थापना गरी सबै प्रदेशमा परीक्षण बढाउन सकिन्छ।
त्यस्तै, कालीमाटी जस्ता बजारमा दैनिक परीक्षण बढाउने, विषादी भएको तरकारी नष्ट गर्ने र दोषीलाई कारबाही गर्ने गरेमा यसबाट मुक्ति पाउन सकिने विज्ञहरूको भनाइ छ ।
समाधानको अर्को मुख्य उपाय भनेको यसबारे किसानलाई सचेत गराउने र विषादीको विकल्प दिनु रहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4