+

दक्षिण भारत : शान्ति, बिरयानी र बैंग्लोर

२०८२ माघ  ७ गते १६:०१ २०८२ माघ ७ गते १६:०१

हैदरावादमा बिरयानी धनी–गरिब सबैको साझा खाना हो । अझ खाना भन्दा यो एक संस्कार नै हो ।

Shares
दक्षिण भारत : शान्ति, बिरयानी र बैंग्लोर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २७ सदस्यीय समूह विश्व संघको शिविरका लागि विराटनगरबाट पूर्णिया हुँदै हैदरावाद पुगेको थियो जहाँ कान्हा शान्ति वनममा अनुशासन र शान्तिको अभ्यास भइरहेको थियो।
  • हैदरावादमा बिरयानी धनी र गरिब दुवैको साझा खाना र संस्कार हो भने तेलंगाना सरकारले महिलालाई सार्वजनिक बसमा नि:शुल्क यात्रा सुविधा दिएको छ।
  • बैंग्लोरमा सरकारी र निजी बस सेवामा जवाफदेहिता र जिम्मेवारीपन देखिएको छ र शहरले व्यवस्थित जीवन र समयको सम्मान सिकाएको छ।

विराटनगरको जाडोले शरीर खुम्च्याइरहँदा, मन भने यात्राको कल्पनाले तातिसकेको थियो । २७ जनाको हाम्रो समूह विश्व संघको शिविरका लागि दक्षिणतिर लाग्दै थियो । हवाई यात्रा सुरु गर्न पूर्णियाको विमानस्थल रोजेका थियौँ । ठूलो समूह भएकाले पूर्णियासम्म बस नै रोज्यौँ । विराटनगरदेखि पूर्णियासम्मको सडक यात्रामा थकान थियो, तर त्यस थकानमा पनि एउटा साझा उत्साह मिसिएको थियो- कुनै साधारण घुमफिर होइन, साधनासँग जोडिएको यात्रा थियो ।

पूर्णियाबाट करिब २ घण्टा १० मिनेटको उडानपछि, जब जहाज हैदरावादको धर्तीमा झर्‍यो, शरीरले मौसमको फरकपन तत्कालै महसुस गर्‍यो । त्यहाँ जाडो थिएन । घाम तिखो थियो, हावा न्यानो थियो । विमानस्थलमा संघका कार्यकर्ताको स्वागत केवल औपचारिक थिएन, त्यसमा अपनत्व थियो । त्यहाँबाट हामीलाई लगियो कान्हा शान्ति वनम । करिब ५० किलोमिटर टाढा, र संसारको कोलाहलबाट पनि धेरै टाढा । बसले शहर छोड्दै जाँदा, मेरो मनले पनि एउटा तह फुकाल्दै थियो- भीड, हतार, आवाजबाट क्रमशः शान्तितर्फ केन्द्रित हुँदै थियो ।

कान्हा शान्ति वनम केवल बस्ने ठाउँ होइन रहेछ । त्यो त अनुशासनमा बाँच्ने अभ्यास रहेछ । मद्यपान निषेध, धुम्रपान निषेध, शुद्धता र सरलता । तर निषेधको कठोरता होइन, स्वतः स्विकारिएको मर्यादा थियो । साँझको ७:३० बजे शिविरस्थलमा पुग्दा, विशाल परिसरमा करिब दुई हजार सहभागीहरू शान्त भावमा देखिन्थे।

रातिको खाना, सुत्ने शय्या, हिँड्ने बाटो सबैमा व्यवस्था भन्दा बढी संवेदनशीलता देखिन्थ्यो । शिविरका सत्रहरू गहिरा थिए । धर्म यहाँ उपदेश थिएन, संवाद थियो । अध्ययन यहाँ बोझ थिएन, अनुभव थियो । मौनता पनि बोल्थ्यो, र बोलाइ पनि मौनजस्तै गम्भीर हुन्थ्यो । महसुस गरियो- विद्वानहरूको मौनता पनि कति शक्तिशाली हुने रहेछ ।

तर मन, मन नै हो । मनले शान्त वनमको गहिराइभित्र पनि हैदरावादको पुरानो शहरले बोलाउँदै गरेको अभास गर्दै थियो । त्यसैले शिविर सुरु हुनुअघि एक बिहान, म र साथीहरू- अरविन्द ठाकुर, जयराम यादव, भीम यादव र राजकुमार मेहता शहरतिर लाग्यौँ । बालाजी मन्दिर, स्ट्याच्यु अफ इक्वालिटी, सम्साबाद क्षेत्र… । त्यो घुमफिर पर्यटकको जस्तो थिएन । त्यो हेर्ने होइन, महसुस गर्ने यात्रा थियो ।

हैदरावादी बिरयानी

शिविर सुरु भएपछि बाहिर निस्कन सजिलो थिएन । तर एक दिन, एक साथीको साथमा बाहिर निस्किएँ । गन्तव्य थियो- चारमिनार । चारमिनार कुनै स्मारक मात्र होइन । त्यो त सास फेर्दै गरेको इतिहास हो । त्यहाँका गल्ली साँघुरा छन्, तर जीवन फराकिलो छ । मोतीका चम्किला पसलहरूसँगै बेच्नेका आँखामा परम्पराको गर्व झल्किन्छ । चुरा, माला, रङ सबैमा समयको लय महसुस गरियो ।

र त्यसपछि… हैदरावादी बिरयानी । पाराडाइज बिरयानीको नाम सुन्नु र हैदरावादमै बसेर खानु, दुई छुट्टाछुटै अनुभव हुन् । नामले जति उत्सुकता जगाउँछ, स्वादले त्योभन्दा धेरै आनन्दित बनाउँछ । प्लेटमा राखिएको त्यो बिरयानी केवल भात र मासु थिएन । त्यसमा शहरको इतिहास मिसिएको थियो, पुस्तौँको श्रम मिसिएको थियो, र सबैभन्दा गहिरो कुरा समानताको स्वाद मिसिएको थियो । हो, बिरयानीबाट नै हैदरावादको विशेषता सुरु हुन्छ भन्दा फरक नपर्ला ।

बिरयानी शब्द फारसी भाषाबाट आएको हो । फारसीमा ‘बिरिंज’ को अर्थ भात हुन्छ । चामललाई तारेरे पकाएकाले बिरयानी भएको हो । यो खानेकुरा मध्य एसियाबाट मुगलहरूले भारतमा भित्र्याएको इतिहास छ । मुगलहरूले सेनालाई चामल र मासु मिसाएर बिरयानी तयार गर्थे । भारतमा अझ विशेष मसलाहरू हालेर स्वाद थपेपछि लोकप्रिय बन्दै गयो । पछिल्ला दिनमा हैदरावाद, लखनउ, कलकत्ता बिरयानीका लागि निकै प्रख्यात छन् ।

हैदरावादमा बिरयानी धनी–गरिब सबैको साझा खाना हो । अझ खाना भन्दा यो एक संस्कार नै हो । जसरी हाम्रोतिर गल्ली–गल्लीमा म:म:, चाउमिन पसलहरू भेटिन्छन्, हैदरावादमा त्यसैगरी बिरयानी त्यहाँका मानिसको दैनिकीसँग जोडिएको छ ।

हामी एयरकन्डिसन रेस्टुरेन्टमा बसेर बिरयानी खाइरहँदा, केही पर सडकछेउका साना भाँडामा पनि उही बिरयानीको बाफ उड्दै गरेको देखिन्थ्यो । त्यहाँ कतै–कतै १० रुपैयाँमा पनि बिरयानी पाइँदोरहेछ । त्यो बिरयानीले कुनै फाइभ–स्टार स्वादको दाबी गर्दैनथ्यो । त्यसले गरिब, मजदुर र यात्रुको पेट भरिरहेको थियो ।

त्यस क्षण मलाई महसुस भयो- यहाँ स्वाद विलास होइन अधिकार हो । हैदरावादले बिरयानीलाई केवल खानाको रूपमा होइन, सामाजिक सेतुको रूपमा जोगाएको रहेछ । एउटै स्वादले धनीको टेबल र गरिबको हात जोडिदिने काम यसले गरेको रहेछ । सायद यही कारण होला, हैदरावादी बिरयानी पेटमा मात्र होइन, मनमा बस्छ ।

चारमिनार र वरपरको क्षेत्र घुमफिरपछि हामी सार्वजनिक बस चढेर फर्कियौँ ।बसमा देयौँ- महिलाहरू नि:शुल्क यात्रा गरिरहेका थिए । तेलंगाना सरकारको महालक्ष्मी योजना अन्तर्गत महिलाहरूलाई दिइएको सुविधा थियो त्यो। महिला यात्रुलाई सुरक्षित र स्वतन्त्र बनाउने नीति—कागजमा होइन, सडकमा लागू गरिएको थियो ।

बैंग्लोरको सयर

यात्रा यहीँ रोकिएन । मलाई बैंग्लोर घुम्ने रहर पनि थियो । त्यहाँका साथी डा. शिवशंकरले धेरै पटक आउन आग्रह गरेको बिर्सेको थिइनँ ।

२८ डिसेम्बरको रात थियो । हैदरावाद अझै निदाएको थिएन, म भने बैंग्लोरतर्फ लाग्दै थिएँ । तेलंगाना सरकारको बस साथीले नै टिकट काटिदिएको । सरकारी बस भन्नेबित्तिकै मनभित्र कतै एउटा सानो शंका पलाएको थियो । सायद पुरानो होला, ढिलो होला, बेवास्ता होला । तर जब बस नजिक पुगेँ, ती सबै पूर्वानुमानले हावा खाए । बस सफा थियो, समयमै आयो र सबैभन्दा महत्त्वपूर्ण कुरा जिम्मेवार थियो ।

त्यो जिम्मेवारी कुनै घोषणा पत्रमा होइन, साना–साना व्यवहारमा देखिन्थ्यो । चालकको आँखामा, कन्डक्टरको स्वरमा, यात्रुप्रतिको व्यवहारमा । त्यो रात मलाई पहिलो पटक महसुस भयो- व्यवस्था भनेको सुविधा मात्र होइन, सम्मान पनि हो ।

दुई दिन बसियो बैंग्लोर । विशाल शहर । अन्तहीन सडक । ट्राफिक जामले कहिलेकाहीँ समय स्थिर भएको जस्तो लाग्ने । हामीले स्कुटरको यात्रा रोज्यौँ । र त्यो यात्रामा सबैभन्दा ठूलो सहारा थिए- मित्र डा. शिवशंकर साह । वर्षौँदेखि बैंग्लोरमा बस्दै आएका, शहरबारे सबै जानकार ।

बैंग्लोर शिक्षा र स्वास्थोपचारका लागि पहिल्यैदेखि प्रसिद्ध शहर हो भन्ने थाहा थियो । तर मैले त्यहाँ अर्को बैंग्लोर देखेँ । ईस्कन मन्दिर, प्रसिद्ध शपिङ कम्प्लेक्सहरू, वायु सेनाको प्रशिक्षण र उपचार केन्द्र लगायत अनेकौँ महत्त्वपूर्ण केन्द्रहरू।

यो शहर केवल व्यापारको केन्द्र होइन, तयारीको शहर रहेछ । भविष्यका लागि मानिस तयार पार्ने शहर । तर एउटा ठाउँबाट अर्को ठाउँ पुग्न कम्तीमा एक घण्टाको यात्रा गर्नुपर्ने । स्थानीयलाई पनि यात्रा गर्न गुगल नक्सा हेर्नुपर्नेसम्मको विशालता । भाषा फरक छ । संस्कृति फरक छ । तर व्यवहारमा एउटा मौन समानता छ- व्यवस्थित जीवनप्रतिको सम्मान । सडक, ट्राफिक प्रहरी र ट्राफिक जामहरू नेपालीपनको अनुभूति दिलाउने खालका थिए । दुई पाङ्ग्रे (स्कुटर, मोटरसाइकल) हरू पेलपाल गरेर निस्किहाल्ने, ट्राफिक प्रहरीले केरकार गरे १००–२०० दिएर सम्हाल्ने चलन यहाँ पनि रहेछ ।

ओरिएन्टल मल । जहाँ दीपिका पादुकोण किनमेल गर्छिन् भन्ने सुनेको थिएँ । त्यही मलमा, आफ्ना परिवारका लागि सामान किन्दा मनमा न्यानो अनुभूति आयो । त्यो क्षण मैले बुझेँ—यात्रा केवल ठाउँ हेर्नका लागि हुँदैन । यात्रा त सम्झना लिएर फर्किनका लागि पनि हुन्छ ।

फर्किने बेला ३० डिसेम्बरको रात निजी कम्पनीको रात्री बस थियो । बैंग्लोर आउँदा चढेको सरकारी बस र यसको तुलना गरेँ । फरक व्यवस्थापन, फरक संरचना तर महत्त्वपूर्ण कुरा साझा थियो- जवाफदेहिता र जिम्मेवारीपन । यात्रुसँग लाइभ–ट्र्याकिङ, फोन गरेर यात्रु चढेको सुनिश्चित गर्ने । कुन स्टपमा चढ्ने, कति समयमा पुग्ने- सबै स्पष्ट । बाटोमा अलमल छैन, अनावश्यक रोक छैन । गन्तव्य समयमै । त्यहाँ अनुशासन भाषणमा होइन अभ्यासमै रहेछ ।

हैदरावाद र बैंग्लोर—दुवै दक्षिण भारतका ठूला शहर हुन् । नक्सामा हेर्दा दुवै महानगर । तथ्यले हेर्दा दुवै विकासका प्रतीक । तर भित्र पस्दा, यी शहरहरू एक-अर्काका प्रतिरूप होइनन्, स्वभावले नै दुई फरक धार हुन् । हैदरावाद स्वादले चिनिन्छ। यो शहर जिब्रोबाट मनमा पस्छ । यहाँ मानिसभन्दा पहिला बिरयानी बोल्छ । सडक, गल्ली, बजार- सबै ठाउँमा एउटै बास्ना । धनीको प्लेट र गरिबको हातमा एउटै परिकार । पुरानो शहरका साँघुरा गल्लीहरू ।

बैंग्लोर चिनिन्छ- संरचनाले । यो शहर आँखाले होइन, घडीले बुझिन्छ । यहाँ समय पैसा होइन, समय नै जीवन हो । गल्लीभन्दा ठूलो यहाँ सडक होइन, नेटवर्क हो । यहाँ मानिसले शहरलाई चलाउँदैनन्, शहरको तालिकामा आफूलाई फिट गर्छन् । हैदरावादमा भाषा भाव हो । उर्दूको मिठास, तेलुगुको लय । बोलाइमा अपनत्व । बैंग्लोरमा भाषा उपकरण हो । कन्नड, अंग्रेजी- कामका लागि, स्पष्टताका लागि । हैदरावादमा महिलालाई बसमा नि:शुल्क यात्रा । नीति सरल छ, तर सन्देश गहिरो विश्वासमा अडेको छ । अनि बैंग्लोरमा महिला स्वतन्त्र देखिन्छिन्, स्कुटरमा, अफिसमा, सडकमा । तर त्यो स्वतन्त्रता अनुशासनको घेराभित्र बाँचिरहेको हुन्छ ।

हैदरावादले भन्यो, ‘बस, खाऊ, स्वीकार गर ।’ अनि बैंग्लोरले भन्यो, ‘हिँड, समय मिलाऊ, अगाडि बढ ।’ यी दुई शहर प्रतिस्पर्धी होइनन् । यी त यात्राका दुई चरण हुन् । एकले मन भर्छ, अर्काले दिशा दिन्छ । सायद त्यसैले होला, हैदरावादबाट निस्किँदा पेट भरिएको थियो । र बैंग्लोरबाट फर्किँदा मन स्पष्ट थियो ।

हैदरावाद, कान्हा शान्ति वनम्, बैंग्लोर—यी सबै ठाउँहरू अलग थिए । तर मलाई एउटै कुरा सिकाए । शहर ठूलो हुनुपर्दैन, सोच ठूलो हुनुपर्छ । सुविधा महँगो हुनुपर्दैन, समावेशी हुनुपर्छ । र यात्रा सफल हुन दूरी होइन, अनुभूति चाहिन्छ ।

बिरयानी बैंग्लोर हैदराबाद
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डा. यशोदा रिजाललाई निलम्बन गर्ने निर्णयमा उच्च अदालतको अंकुश

डा. यशोदा रिजाललाई निलम्बन गर्ने निर्णयमा उच्च अदालतको अंकुश

भारतका स्वास्थ्यकर्मीमा निपाह भाइरस संक्रमण, नेपाल कति सुरक्षित ?

भारतका स्वास्थ्यकर्मीमा निपाह भाइरस संक्रमण, नेपाल कति सुरक्षित ?

सागपातमै विषादीको मात्रा धेरै, कसरी स्वस्थ रहने ?

सागपातमै विषादीको मात्रा धेरै, कसरी स्वस्थ रहने ?

पूर्वस्वास्थ्य मन्त्रीहरू, को कहाँबाट लड्दैछन् चुनाव ?

पूर्वस्वास्थ्य मन्त्रीहरू, को कहाँबाट लड्दैछन् चुनाव ?

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेको राजीनामा स्वीकृत हुँदै, निमित्त पठाउने तयारी

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेको राजीनामा स्वीकृत हुँदै, निमित्त पठाउने तयारी

औषधिको खोलमा किन हुन्छ रातो धर्का ? निर्देशन पालना नगर्नु खतरनाक

औषधिको खोलमा किन हुन्छ रातो धर्का ? निर्देशन पालना नगर्नु खतरनाक