२० पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदीलाई थप उपचारका लागि भारत लगिने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत उनलाई थप उपचारका लागि आजै भारत लान लागिएको हो ।
उनलाई भारतको दिल्ली लान लागिएको स्रोतले बताएको छ । यद्यपि दिल्लीको कुन अस्पतालमा उपचार गराउने भन्नेबारे खुलाइएको छैन ।
सुवेदीको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि उनलाई गत बिहीबारबाट अस्पताल भर्ना गरिएको थियो ।
उनलाई आजै केहीबेरअघि अस्पतालबाट निकिलिएको हो । प्रधानमन्त्री सुशीला कार्कीका निजी चिकित्सक मन बहादुर केसीले ‘सेकेन्ड ओपिनियन’ खोजेपछि अस्पतालबाट डिस्चार्ज गरिएको एक चिकित्सकले जानकारी दिए ।
ती चिकित्सकका अनुसार, उनमा पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम, रिंगटा लाग्ने लगायतका समस्या उनमा देखिएको थियो ।
यसअघि उनले प्रोस्टेटको शल्यक्रिया गराएका थिए । अहिले संक्रमणका कारण रिंगटा लाग्ने लगायतका समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना भएका हुन् ।
किन हुन्छ पिसाबमा संक्रमण ?
मिर्गौला, पिसाबको थैली, पिसाब नली वा पिसाब बाहिर निस्कने बाटोको जुनसुकै भागमा किटाणुको संक्रमण भएमा त्यसलाई पिसाब नलीको संक्रमण (युरिनरी र्ट्याक्ट इन्फेक्सन वा यूटीआई) भनिन्छ ।
चिकित्सकहरूका अनुसार यो संक्रमण सरसफाईको कमी वा शरीरको अन्य भागबाट रगतको माध्यमद्वारा किटाणु पिसाब नलीमा पुग्दा हुने गर्छ ।
पिसाबको बाटोमा कुनै अवरोध भएमा वा पिसाब राम्ररी बाहिर ननिस्केमा पनि संक्रमणको जोखिम बढ्छ ।
पुरुषहरूमा प्रोस्टेट ग्रन्थी बढ्ने, पिसाब नली साँघुरो हुने वा पिसाब थैलीबाट पिसाब माथि फर्किने स्थितिले संक्रमणको जोखिम झनै बढाउँछ । विशेष गरी वृद्ध पुरुषहरूमा प्रोस्टेटको समस्याले पिसाब नली साँघुरो हुँदै जाने भएकाले यो संक्रमण बारम्बार देखिने चिकित्सकहरू बताउँछन् ।
प्रतिक्रिया 4