News Summary
Generated by OK AI. Editorially reviewed.- रगतमा रक्तचिल्लोको गडबडीलाई चिकित्सकीय भाषामा डिसलिपिडिमिया भनिन्छ जसले मुटु, नसाहरू र अन्य अंगहरूमा समस्या ल्याउँछ।
- डिसलिपिडिमियाका कारणमा पारिवारिक इतिहास, उमेर, उच्च तौल, निष्क्रिय जीवनशैली, मधुमेह, हाइपोथाइराइडिजम, धूम्रपान र मद्यपान समावेश छन्।
- डिसलिपिडिमिया नियन्त्रणका लागि तौल कम गर्ने, नियमित व्यायाम गर्ने, उपवास बस्ने, फलफूल तथा तरकारी खाने, धूम्रपान र मद्यपान त्याग्ने उपायहरू अपनाउनुपर्छ।
रगतमा भएको रक्तचिल्लो (ब्लड लिपिडहरू) जस्तैः संयुक्त कोलेस्टेरोल, काइलोमाइक्रोन, एलडीएल कोलेस्टेरोल, भिएलडिएल कोलेस्टेरोल, एचडीएल कोलेस्टेरोल र ट्राइग्लिसराइडको रक्तस्तर सामान्य भन्दा ज्यादा वा कम भएको अवश्थालाई चिकित्सकीय भाषामा रक्तचिल्लोको गडबडी वा डिसलिपिडिमिया भनिन्छ ।
लक्षणहरूः
१. हिँड्दा वा उभिँदा खुट्टा दुख्ने
२. छाती दुख्ने वा छातीमा असहज महसुस हुने
३. दम बढ्ने
४. अपच, अजीर्णता र एसिडिटी
५. निन्द्रामा समस्या
६. चक्कर लाग्ने
७. सामान्य अवस्थामा मुटु चलेको महसुस हुने
८. चिसो पसिना आउने
९. वाकवाकी आउने वा वान्ता हुने
१०. हातगोडा, पेट वा घाटीका नसाहरू सुन्निने
११. बहोसी
नोट : यस्ता लक्षणहरू व्यायाम र तनावको अवस्थामा झनै बढ्ने गर्दछ
कारणहरू:
१.पारिवारिक इतिहास
२.उमेर : विशेषगरी ३० वर्षपछिको उमेर
३.लिंग : महिनावारी सुकेका महिलाहरू
४.उच्च तौल र मोटोपन
५.भुँडी लाग्ने समस्या वा कोमल अंगमा बोसो जम्ने समस्या ।
६.निष्क्रिय जीवनशैली
७.टायप–२ मधुमेह
८.हाइपोथाइराइडिजम
९.मद्यपानको कुलत
१०.धूम्रपान वा सुर्तीको कुलत
११.जथाभावी औषधि सेवन
१२.यौन सम्पर्कबाट सर्ने रोगहरू
१३.दीर्घकालीन मिर्गौला रोग
१४.दीर्घकालीन कलेजो रोग
१५.मेटाबोलिक सिण्ड्रोम
१६.पोलिसिष्टिक ओभरियन सिन्ड्रोम
१७.ट्रान्स फ्याट, सेचूरेटेड फ्याट र अन्य चिल्लोको अधिक सेवन
१८.कडा किसिमको संक्रमण
१९.अपच, अजीर्णता, आन्द्राको रोगहरू
प्राकृतिक उपचारका उपायहरू
१. तौल कम गर्ने
तौल बढेका हरूलाई डिसलिपिडिमियाले औघि सताउने हुँदा आफ्नो उचाइअनुसारको तौल कायम राख्नुहोस् ।
२. नियमित शारीरिक व्यायाम गर्ने
शरीरिक व्यायाम र श्रमबाट पन्छिने वा भनौ निस्क्रिय जीवनशैली भएका हरूलाई पनि डिसलिपिडिमियाले सताउने हुँदा शारीरिक व्यायामलाई आफ्नो दिनचर्याको हिस्सा बनाउने गरौं । नियमित रूपमा व्यायाम गर्दा एचडिएल कोलोस्टेरोलको रक्त स्तर बढ्ने र संयूक्त कोलेस्टेरोल, एलडिएल कोलेस्टेरोल र ट्राइग्लिसिराइडको रक्तस्तर बढ्ने गर्दछ । दैनिक कम्तीमा ३० मिनेट वा हप्ताको पाँच दिन एरोविक व्यायाम (दम बढ्ने र श्वास फूल्ने किसिमको) गर्दा डिसलिपिडिमीयाको समस्यालाई चाँडै नियन्त्रणमा लिन सकिन्छ।
३. उपवास बस्ने
उपवासलाई डिसलिपिडिमियाको सन्दर्भमा परम औषधि नै मान्नु पर्नेहुन्छ । उपवास धेरै तरिकाले गर्न सकिन्छ । दैनिक १६ घण्टा भोकै बसेर र ८ घण्टाभित्र खाना खाएर गरिने आवधिक उपवासलाई अन्य भन्दा सरल र सहज मानिएको छ । उपवासको यथोचित प्रयोगले उच्च रक्त कोलेस्टेरोललाई कम गर्न राम्रो भूमिका खेल्दछ ।
४. फलफूल तथा हरियो तरकारी प्रशस्त सेवन गर्ने
रक्त कोलेस्टेरोललाई नियन्त्रण गर्नका लागि दिनको दुई पटक आफ्नो शारीरिक तौलको एक प्रतिशत तौल बराबरका पाँच किसिमको फलफूल नियमित खानुपर्ने हुन्छ । उदाहरणका लागि यदि तपाईंको तौल ७० किलो छ भने तपाईले दैनिक ७०० ग्राम फलपूल बिहान ९ बजे र दिउँसो ३ बजेतिर पनि सोही मात्रामा फलफूल खानुपर्ने हुन्छ ।
५. जिरो आयल पाक विधि अपनाउने
कोलेस्टेरोल बढ्नुको एउटा मूख्य कारण तेल, घ्यू, बोसो, माछा, मासु, अण्डा जस्ता उच्च मात्रामा चिल्लो भएका खानेकुराहरूको अध्यधिक सेवन पनि हो । कोलेस्टेरोल घटाउन आवश्यक हुनेले तेल, घ्यू नहाली पकाइने जिरो आयल पाककला सिक्नुपर्ने हुन्छ । तेल–घ्यूरहित खानेकुराहरू खानुपर्ने हुन्छ । शरीरलाई चाहिने चिल्लो पूर्तिका लागि काजु, बदाम, आलसको बियाँ, फर्सीको बियाँ, सूर्यमुखीको बियाँ, नरिवल आदिको सेवन गर्नुपर्ने हुन्छ । रक्त चिल्लोको गडबडी भएर कोलेस्टेरोल र ट्राइग्लिसिराइड बढेकाहरूले तेल, घ्यू र अन्य प्राणीबाट प्राप्त चिल्लो जस्तै चीज, पनिर, बटर, माछा, मासु, अण्डा आदि पनि खानु हुँदैन।
६.धूम्रपान त्याग्ने
धूम्रपान गर्नेहरूमा डिसलिपिडिमिया आम समस्या हो । त्यसमा पनि खराब कोलेस्टेरोल तथा ‘एलडीएल’ बढ्दछ । राम्रो कोलेस्टेरोल एचडीएल घट्दछ । यसैगरी धूम्रपानको धुँवाले प्लास्म लो–डेन्सिट–लिपोप्रटिन–कोलेस्टेरोलको अक्सिडेसन प्रक्रिया बढाइदिने हुँदा रक्तनलीको भित्री पत्र इण्डोथेलियमको क्रियालाई पनि गडबड गर्दछ ।
७.मद्यपान त्याग्ने
रक्सी सेवन गर्नेहरूमा पनि डिसलिपिडिमिया आम समस्या हो । रक्सीले विशेषगरी ट्राइग्लिसराइड बडाउने र एचडीएल काग गर्ने गर्दछ । यसका अतिरिक्त कलेजोको खराबी, मुटुका मांशपेशीहरूको खराबी लगायत अन्य थुप्रै समस्याहरू थोपरिदिने हुँदा समग्र स्वास्थ्यमा समेत असर पुर्याउँछ ।
८.चिनी र प्रशोधित कार्बोहाइड्रेट्स नखाने
रक्त चिल्लोको गडबडी भएकाहरूले चिनी र प्रशोधित कार्बोहाईड्रेट्सको सेवन गर्नुहुँदैन । यस्ता खानेकुराको सेवनले कलेजोलाई उत्तेजित बनाएर कोलेस्टेरोलको उत्पादन ज्यादा गर्दछ ।
९.ट्रान्स फ्याट र हाइड्रोजेनेटेड फ्याटको त्याग
डालडा घ्यू वा वनस्पति घ्यूको नामले प्रशिद्ध हाईड्रोजेनेटेड फ्याट र माछा, मासु, अण्डा जस्ता जंङ्गम श्रोतका खानेकुराहरूमा पाईने ट्रान्सफ्याटको सेवनले रक्तचिल्लो गडबड गरेर मुटु एवं रक्तनलीको जोखिम बढाउदछ । यसैगरि प्राकृतिक तेल एवं घ्यूलाई पनि बारबार तलाउने गर्दा तेल शिस रूपबाट ट्रान्स रूपमा बदलिएर हानिकारक बन्दछ ।
१०.फाइबरयुक्त खानेकुराको प्रयोग
फाइबरयुक्त खानाको यथोचित प्रयोग गर्ने गर्दा मुटु तथा रक्तनलीका रोगहरू, हृदयघात, मस्तिष्कघात, उच्चरक्तचाप, मधुमेह, मोटोपन, अपच, अजीर्ण, अग्निमान्ध्य जस्ता पेटका रोगहरूलाई पनि राम्रो गर्दछ भने रक्तचिल्लोको गडबडी भएर ट्राइग्लिसराइड र कोलेस्टेरोल, एलडीएल कोलेस्टेरोल बढ्ने, एचडीएल कोलेस्टेरोल घट्ने समस्यालाई समेत ठिक गर्न मद्दत गर्दछ ।
घुलनशील र अघुलनशील फाइबरयुक्त दुवैले कलेजोबाट उत्सर्जन बाइल एसिडलाई सानो आन्द्राबाट अवशोषित गरी दिशाबाट उत्सर्जित गरिदिने गर्दछ । यसरी बारबार बाइल एसिडको क्षय हुँदा कलोजोले बारबार रक्त कोलेस्टेरोलको उपयोग गरेर बाइल एसिड बनाइरहन्छ र रक्त कोलेस्टेरोलको मात्रा कम गर्न मद्दत गर्दछ ।
११.आमेगा–३ फ्याट्टी एसिडको सेवन
आमेगा–३ फ्याट्टी एसिडको सेवनले ट्राइग्लिसराइड र नन्एचडीएल कोलेस्टेरोल घटाउन विशेष मद्दत गर्दछ ।
१२.लसुनको सेवन
लसुनलाई लिपिड लोअरिङ एजेण्टको रूपमा परापूर्वक कालदेखि प्रयोग गरिँदै आइएको हो । लसुनको सेवनले ट्राग्लिसराइड र ननएचडीएल कोलेस्टेरोल घटाउनुको साथै रक्तचाप पनि कम गर्न मद्यत गर्दछ । लसुनमा रहेको विभिन्न फाइटो केमिकलहरूले कोलेस्टेरोलको संश्लेषण रोक्ने र एलडिएलको अक्सिडेसन पनि रोक्ने गर्दछ।
१३.मेथीको सेवन
मेथीको नियमित सेवनले पनि रक्तमा कोलेस्टेरोल कम गर्न विशेष भूमिका खेल्छ । मेथीको सेवनले कोषहरूमा एलडीएल रिसेप्टारहरूको संख्या बढाइदिने र मेथीमा विद्यमान ४–हाइड्रोअक्सी–आइसोल्यूसीनले बोसो जम्मा हुने दरलाई कम गरिदिने गर्दछ ।
१४.अदुवाको सेवन
२०१८ मा गरिएको एउटा अनुसन्धानले देखाएअनुसार दैनिक ५ ग्राम अदुवाको शेवनले तीन महिनामा १७.४ प्रतिशतसम्म एलडीएल कोलेस्टेरोल घटाएको पाइएको छ।
१५.जडिबुटीको सेवन
कोलेस्टेरोलको उपचारमा परंम्परागत चाइनिज पद्धतिले उपयोगमा ल्याएको विविध प्रकारका जडिबुटिरू जस्तैः लसुन, मेथी, अदुवा, त्रिफला (हर्रो–बर्रो–अमला), गुग्गुलु, अर्जुन, तुलसी, हल्दी, हरियो चिया, फ्ल्याक्स सिड (तिसीको बीउ), गुडुची, करेला, अमला, निम, जिङ्गसिङग, केराको बियाँ, दालचिनी आदिको प्रयोगले गर्दा प्रभावकारी रूपमा कोलेस्टेरोल घटाउन मद्दत पुग्छ ।
१६.धानको भुसको तेल सेवन
धानको भुसबाट निकालिएको तेलको सेवनले पनि रक्त कोलेस्टेरोललाई घटाउन मद्यत गर्दछ । धानको भुसको तेलमा ३८ प्रतिशत मोनोअनसेचूरेटेड, ३७ प्रतिशत पोलिअनसेचूरेटेड र २५ प्रतिशत सेचूरेटेड फ्याट पाइन्छ। यसैगरी उच्च एण्टिअक्सिडेण्ट गुण भएको गामा–आराइजानोल, भिटामिन–ई र फाइटोस्टेरोल पनि पाइने हुदाँ पनि पोषणको दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छ । धानको भुसको तेलको सेवन गर्नाले नराम्रो कोलेस्टेरोल घट्ने, राम्रो कोलेस्टेरोल बढ्ने र ट्राइग्लिसीरोइड पनि घट्ने गरेको पाएएको छ।
१७.तनाव व्यावस्थापन गर्ने
मानसिक तनावमा परेकाहरूलाई पनि कोलेस्टेरोल र ट्राइग्लिसराइड बढ्ने समस्या हुन्छ । यसर्थ कोलेस्टेरोल कम गर्दा तनाव व्यावश्थापनलाई पनि ध्यान दिनुपर्छ ।
१८. प्रशस्त पानी पिउने
प्रशस्त मात्रामा पानी नपिउनेहरूमा पनि कोलेस्टेरोलको समस्या आउन सक्छ । यसर्थ कोलेस्टेरोल बढ्न नदिनका लागि प्रशस्त मात्रामा पानी वा पानी धेरै भएका फलफूल, तरकारी, ग्रीन टी, आदि खानुपर्ने हुन्छ ।
प्रतिक्रिया 4