+

चिकित्सक संघ निर्वाचन : एकताको उत्सव र साझा स्वास्थ्य दृष्टिकोण

२०८२ पुष  २० गते १५:५८ २०८२ पुष २० गते १५:५८

एकता, भ्रातृत्व र सेवा- यी शब्द नारा मात्र होइनन्, आजको नेपालका लागि आवश्यक व्यवहारिक मूल्यहरू हुन् ।

Shares
चिकित्सक संघ निर्वाचन : एकताको उत्सव र साझा स्वास्थ्य दृष्टिकोण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चिकित्सक संघको आगामी निर्वाचनलाई केन्द्रमा राख्दै देशभर स्वास्थ्य प्रणालीको यथार्थ अवस्था र सुधारका सम्भाव्य मोडलहरू पहिचान गर्ने प्रयास भइरहेको छ।

आगामी नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनलाई केन्द्रमा राख्दै हामी देशका विभिन्न भूगोलमा पुगिरहेका छौं । तर यो यात्रा केवल मत माग्ने अभियान होइन । यो नेपाल बुझ्ने, स्वास्थ्य प्रणालीको यथार्थ अवस्था नजिकबाट हेर्ने र सुधारका सम्भाव्य, व्यावहारिक मोडलहरू पहिचान गर्ने साझा प्रयास हो ।

नेपालका हिमाल, पहाड र तराई- सबै ठाउँमा समस्या फरक-फरक देखिए पनि पीडा उस्तै छ । दुर्गम क्षेत्रमा सेवा पहुँचको अभाव छ, शहरी क्षेत्रमा भीड र अव्यवस्था छ । सबै ठाउँमा स्वास्थ्यकर्मी थकान र अनिश्चित भविष्यको चापमा छन् । तर यसका बीचमा एउटा अर्को सत्य पनि छ- सीमित स्रोत हुँदाहुँदै पनि सम्भावनाका बीउहरू देशभर छरिएका छन् ।

यात्राका क्रममा हामीले देखिरहेका छौँ कि, जहाँ संस्थागत सोच स्पष्ट छ, सेवा प्रणाली योजनाबद्ध छ र स्वास्थ्यकर्मीलाई सम्मान गरिन्छ, त्यहाँ गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छ । समस्या केवल स्रोतको अभाव मात्र होइन, नीति, प्राथमिकता र इमानदार कार्यान्वयनको कमी हो भन्ने कुरा अझ स्पष्ट हुँदै गएको छ ।

विशेष गरी युवा चिकित्सकहरू आज गम्भीर निराशामा छन् । बढ्दो शुल्क, निर्वाह भत्ताबिनाका तालिम, असुरक्षित करियर मार्ग र व्यवसायीकरणले चिकित्सा पेशाको मूल आत्मालाई चुनौती दिइरहेको छ । यदि आजको पुस्तालाई सुरक्षित र सम्मानजनक भविष्य दिन सकिएन भने भोलिको स्वास्थ्य प्रणाली झन् कमजोर हुनेछ ।

यही सन्दर्भमा एनएमएको भूमिका झन् महत्वपूर्ण हुन्छ । एनएमए कुनै समूह वा व्यक्तिको संस्था होइन- यो सम्पूर्ण नेपाली चिकित्सकहरूको साझा आवाज हो । त्यसैले आगामी निर्वाचनलाई हामी प्रतिस्पर्धाको मात्र होइन, एकताको उत्सवका रूपमा मनाउन चाहन्छौँ ।

एकता, भ्रातृत्व र सेवा- यी शब्द नारा मात्र होइनन्, आजको नेपालका लागि आवश्यक व्यवहारिक मूल्यहरू हुन् । एक-अर्काविरुद्ध उभिने होइन, एक-अर्काको हात समातेर अघि बढ्ने आँट आजको आवश्यकता हो।

विभाजनले होइन संवादले, आरोपले होइन समाधानले, निराशाले होइन आशाले नेपाल चिकित्सक संघ अघि बढ्नुपर्छ ।

यो अभियान त्यसैको प्रतिबिम्ब हो- सचेतना जगाउने, नीति-निर्मातासँग संवाद गर्ने, र सबै चिकित्सकलाई एउटै साझा यात्रामा जोड्ने प्रयास।

नेपालका विभिन्न कुनामा राम्रो काम भइरहेका छन् । ती सकारात्मक उदाहरणहरू उजागर गर्नु, सिक्नु र देशभर फैलाउनु आजको दायित्व हो।

एनएमए निर्वाचनलाई परिवर्तनको सुरुवात, एकताको सन्देश र सेवा भावको उत्सव बनाऔँ।

चिकित्सक संघ निर्वाचन
डा. अरुण शाही
लेखक
डा. अरुण शाही
क्यान्सररोग विशेषज्ञ

डा. शाही हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस, एमडी मेडिकल अन्कोलोजी (बंगलादेश) र महामारी विज्ञानमा एमपीएच गरेका छन् । साथै भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबाट मेडिकल अन्कोलोकीको तालिम लिएका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर  १०९५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय