+

बाथ रोगबारे डाक्टरलाई ६ प्रश्न र सजिलो उत्तर

२०८२ पुष  २१ गते १३:३१ २०८२ पुष २१ गते १३:३१

बाथ पूर्णरूपमा रोक्न गाह्रो छ, किनभने यो वंशाणुगत र प्रतिरक्षा प्रणालीसँग जोडिएको छ । तर, सही समयमा निदान र उपचारले जटिलता रोक्न सकिन्छ ।

बाथ रोगबारे डाक्टरलाई ६ प्रश्न र सजिलो उत्तर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाथ रोग शरीरको जोर्नी दुख्ने, सुन्निने र बिहान उठ्दा कक्रक्क हुने समस्या हो जसलाई मेडिकल भाषामा रुम्याटिज्म भनिन्छ।
  • बाथ रोग वंशाणुगत र रोग प्रतिरोधात्मक प्रणालीसँग सम्बन्धित अटोइम्युन रोगहरूको समूह हो र जुनसुकै उमेरमा लाग्न सक्छ।
  • बाथ रोग पूर्णरूपमा निको हुँदैन तर औषधि र जीवनशैली परिवर्तनले नियन्त्रण गर्न सकिन्छ, साथै सन्तुलित खानपान र व्यायाम आवश्यक छ।

जोर्नी दुख्ने, सुन्निने, बिहान उठ्दा हातखुट्टा कक्रक्क पर्ने र हातखुट्टा चलाउन गाह्रो हुने समस्यालाई धेरैले बेवास्ता गर्ने गर्छन् । कतिले यसलाई बढ्दो उमेरको असर ठान्छन् भने कतिले केही खानेकुराले बाथ ‘उत्तेजित’ गराएको विश्वास गर्छन् ।

समाजमा अझै पनि बाथ रोग भनेको रातो मासु, दाल वा तरकारी खानाले मात्र हुने भन्ने धारणा व्याप्त छ । तर चिकित्सकीय हिसाबले बाथ रोग केवल खानपानसँग सीमित छैन । यो शरीरको आफ्नै रोग प्रतिरोधात्मक प्रणालीसँग गहिरो सम्बन्ध राख्ने अटोइम्युन रोगहरूको समूह हो । यसले बच्चादेखि युवा, वृद्धसम्म जो–कसैलाई पनि असर गर्न सक्छ ।

बाथ रोग के हो ? कसलाई बढी लाग्छ ? पूरै निवारण हुन्छ कि हुँदैन ? खानपानले कस्तो भूमिका खेल्छ ? बाथ नियन्त्रणका उपाय के छन् ? यसबारे बाथ रोग विशेषज्ञ डा. प्रयुश शर्मसँग गरिएको कुराकानी :

१. बाथ रोग भनेको के हो ?  यो कसरी हुन्छ ?

बाथ भनेको शरीरको कुनै पनि जोर्नी दुख्ने, सुन्निने, बिहान उठ्दा जाम हुने वा कक्रक्क पर्ने समस्या हो । यसले हात, घुँडा, मेरुदण्डलगायत कुनै पनि जोर्नीमा असर गर्छ । जोर्नी दुख्छ, रातो हुन्छ, सुन्निन्छ वा बिहान उठ्दा चलाउन गाह्रो हुन्छ । यी सबै लक्षणलाई समग्रमा बाथ भनिन्छ । मेडिकल भाषामा यसलाई रुम्याटिज्म भनिन्छ, जसमा २०० भन्दा बढी प्रकारका स्वास्थ्य समस्याहरू हुन्छन् ।

बाथ मुख्यतया वंशाणुगत कारणले हुन्छ । वातावरणीय कारकहरू जस्तै: शहरीकरण, नयाँ संक्रमण र जीवनशैली परिवर्तनले पनि भूमिका खेल्छ । बाथ हाम्रो रोग प्रतिरोधात्मक प्रणाली अर्थात् ‘इम्युन सिस्टम’ सँग सम्बन्धित छ । रोग प्रतिरक्षा प्रणालीले रोगसँग लड्नका लागि एक खालको तत्त्व उत्पादन गरेको हुन्छ । कसै-कसैमा ती रोग प्रतिरोधी तत्त्वहरूले झुक्किएर आफ्नै शरीरका विभिन्न भाग तथा जोर्नीहरूमा आक्रमण गर्न पुग्छन् । यही कारण बाथ हुन्छ ।

२. बाथ रोगका मुख्य लक्षणहरू के–के हुन् ?

बाथमा शरीरका जोर्नीहरू दुख्ने वा सुन्निनेजस्ता लक्षण देखा पर्छ । साथै कम्मर दुख्ने, ढाड दुख्ने, हातका औँला दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हातखुट्टा अररो हुने, गोली गाँठो दुख्ने वा सुनिने, ढाड दुख्ने वा अररो हुने, बिहान ढाड कडा हुने, पिँडौला दुख्ने वा करकर खाने, खुट्टाका बुढी औँला र औँला वरिपरि रातो भएर टेक्न असजिलो हुने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने, हात, खुट्टा वा जिउ अररो हुने, घुँडा सुनिने वा दुख्नेजस्ता लक्षण देखा पर्छन् ।

३. यो रोग कसलाई बढी लाग्छ ? के यो उमेरसँग सम्बन्धित छ ?

बाथ जुनसुकै उमेरमा हुन सक्छ, बच्चादेखि वृद्धसम्म । यो उमेरसँग मात्र सम्बन्धित छैन । तर, ओस्टियोआर्थ्राइटिस (जोर्नी खिइने समस्या) ५० वर्षपछि बढी देखिन्छ, विशेष गरी धेरै काम गर्ने व्यक्ति वा बढी शारीरिक कसरत गर्नेपर्ने खेलाडी आदिमा यस्तो समस्या हुन्छ । यो उमेरसँगै जोर्नीको घर्षणले हुन्छ ।

थाइरोइड वा उच्च रक्तचाप भएका व्यक्तिमा पनि यो बढी हुन्छ । रूम्येटोइड आर्थ्राइटिस जस्ता बाथ २० देखि ४० वर्षका महिलामा बढी देखिन्छ । लुपस जसमा जोर्नी दुख्ने, छालामा रातो दाग, घाममा समस्या, थकान हुने, यो युवा महिलामा बढी हुन्छ ।

४. बाथ रोग निको हुन्छ कि हुँदैन ? यसको उपचार कसरी गरिन्छ ?

बाथ रोग पूर्णरूपमा निको हुँदैन । यसलाई औषधिले नियन्त्रण गर्न सकिन्छ । त्यसैले यसको लागि लक्षण देखिएको अवस्थामा चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ । कुन किसिमको बाथ रोग लागेको छ, सोहीअनुसार यसको उपचार गरिन्छ । उपचारसँगै जीवनशैली परिवर्तन पनि गर्नुपर्छ । दैनिक व्यायाम गर्ने, सन्तुलित खानपानमा ध्यान दिएमा यसबाट हुने जटिलतालाई कम गर्न सकिन्छ ।

५. बाथ रोग हुनबाट बच्न के–के गर्न सकिन्छ ?

बाथ पूर्णरूपमा रोक्न गाह्रो छ, किनभने यो वंशाणुगत र प्रतिरक्षा प्रणालीसँग जोडिएको छ । तर, सही समयमा निदान र उपचारले जटिलता रोक्न सकिन्छ । बाथलाई नियन्त्रण गर्न बिहान १५–३० मिनेट फ्री ह्यान्ड हात, खुट्टा, ढाडको जोर्नी केन्द्रित व्यायाम गर्नुपर्छ । जोर्नी सुन्निएको अवस्थामा दुखाइको औषधि लिएर मात्र व्यायाम सुरु गर्नुपर्छ ।

सन्तुलित खानपानमा विशेष ध्यान दिनुपर्छ । घरको खाना, सागसब्जी बढी मात्रामा खानुपर्छ भने बाहिरको प्याकेट बन्द खाना, जंक फुड कम गर्नुपर्छ । साथमा फिजियोथेरापी, हिट÷कोल्ड थेरापी लिन सकिन्छ । नियमित फलोअप र औषधि अनुशासन पनि महत्वपूर्ण हुन्छ ।

६. बाथ रोगसँग खानपानको सम्बन्ध कस्तो छ ?

अहिलेसम्म संसारमा करिब २०० प्रकारका बाथ पत्ता लागेका छन् । यसमा युरिक एसिडबाहेक अरूमा खानपानको कडा बन्देज छैन । रातो मासु, गोलभेँडा, गेडागुडी खान हुँदैन भन्ने धेरै भ्रम छन्, तर यी कुरा युरिक एसिडबाहेकका बाथमा लागू हुँदैन ।

प्रशोधित खानेकुराहरू, रक्सी, चुरोट सबै बाथमा हानिकारक हुन्छन् । पेटको ब्याक्टेरिया असन्तुलनले पनि बाथ बढाउन सक्छ, त्यसैले स्वस्थ खानपान महत्त्वपूर्ण छ ।युरिक एसिडमा भने केही खानेकुरा बन्देज छन् । रातो मासु, जनावरको भित्री अङ्ग कलेजो, आन्द्राभुँडी, बियर, सबै प्रकारको रक्सी, कोल्ड ड्रिंक्स र हाइ फ्रुक्टोज कर्न सिरपयुक्त पेय÷खानेकुरा युरिक एसिडको समस्या भएकाले खान हुँदैन ।

कफी, कम चिल्लो भएका दुग्ध उत्पादनहरू जस्तै: दूध, चिज, ताजा फलफूल, तरकारी, भिटामिन सी र डी युक्त खानेकुरा अन्य भिटामिन सी युक्त फलफूल खानु बाथमा राम्रो हुन्छ ।

बाथरोग
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

फेरि आफ्नै खुट्टामा उभिएर देशका लागि योगदान दिन चाहन्छु

फेरि आफ्नै खुट्टामा उभिएर देशका लागि योगदान दिन चाहन्छु

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा

बाथ रोगबारे डाक्टरलाई ६ प्रश्न र सजिलो उत्तर

बाथ रोगबारे डाक्टरलाई ६ प्रश्न र सजिलो उत्तर

कोलेस्टेरोल घटाउने प्राकृतिक तरिकाबारे जानौं

कोलेस्टेरोल घटाउने प्राकृतिक तरिकाबारे जानौं

अहिलेकै अवस्थामा चिकित्सक संघको निर्वाचन नगर्न अदालतको आदेश

अहिलेकै अवस्थामा चिकित्सक संघको निर्वाचन नगर्न अदालतको आदेश

नेपाल दृष्टि विशेषज्ञ संघको अध्यक्षमा दिपक कुमार साह निर्वाचित

नेपाल दृष्टि विशेषज्ञ संघको अध्यक्षमा दिपक कुमार साह निर्वाचित