जोर्नी दुखाइका विभिन्न कारणमध्ये बाथरोग पनि एक हो । बाथरोग लाग्दा जोर्नी दुखाइमा मात्र सीमित नहुन सक्छ । तर जोर्नी दुखाइ बाथरोगको एउटा प्रमुख लक्षण हो । बाथरोग स्वप्रतिरक्षक (अटोइम्युन) खालको रोग हो ।
अटोइम्युन भन्नाले आफ्नै शरीरको रोगप्रतिरोधात्मक क्षमतामा गडबडी हुँदा आफ्नै शरीरका कोषिकाहरुलाई जस्तै जोर्नीलाई पनि असर पुर्याउन सक्छ, जसकारण बाथरोगजन्य जोर्नीको समस्या देखा पर्छ । कतिपय अवस्थामा जोर्नीको दुखाइ वंशाणुगत कारणले पनि हुन्छ ।
कसैलाई निमोनिया, क्षयरोग, टाइफाइड लगायत अन्य संक्रमण भयो भने त्यो संक्रमण निको भइसकेपछि पनि फेरि बल्झिएर तिनको रोगप्रतिरोधात्मक क्षमता कमजोर भएर बाथरोग हुनसक्छ । हर्मोनको उतारचढावका कारण पनि बाथरोग हुनसक्छ ।
बाथरोगको लक्षण
यसमा शरीरका जोर्नीहरू दुख्ने वा सुन्निने जस्ता लक्षण देखा पर्छ । बाथरोगको जोर्नी दुखाइ अन्य रोगको जोर्नी दुखाइ भन्दा फरक हुन्छ । यसको दुखाइ आराम गरेको बेलामा बढी हुन्छ । जस्तो राति र बिहान उठ्ने बेला दुखाइ बढी हुन्छ, दिउँसो सक्रिय भएको बेला दुखाइ कम हुन्छ ।
साथै कम्मर दुख्ने, ढाड दुख्ने, हातका औंला दुख्ने वा सुन्निने, पिंडौला दुख्ने वा करकर खाने, खुट्टाका बूढी औंला र औंला वरिपरि रातो भएर टेक्न असजिलो हुने, कुर्कुच्चा दुख्ने, आँखा रातो हुने, पैताला पोल्ने वा झमझमाउने, घुँडा सुन्निने वा दुख्ने जस्ता लक्षण देखा पर्छ । बिहान उठ्ने बित्तिकै हातखुट्टा अररो हुने, गोली गाँठो दुख्ने वा सुन्निने, ढाड दुख्ने वा अररो हुने, ढाड कडा हुने हुनसक्छ ।
बाथले फोक्सोमा असर पुर्याएको अवस्थामा स्वाँ–स्वाँ बढ्ने, खोकी लाग्ने, दम बढ्ने तथा मुटु वरिपरि पानी जमेमा मुटुको ढुकढुकी बढ्ने, रक्तचाप बढ्ने, मिर्गौलाबाट प्रोटिन जान थालेको अवस्थामा मिर्गौलामा समस्या आउने, गोडाहरू सुन्निने हुनसक्छ ।
युरिक एसिडले बाथरोग हुने हो ?
धेरैजसो बिरामीले सोध्ने गर्छन्- युरिक एसिड र बाथरोग एउटै हो ? बाथरोग २०० भन्दा बढी प्रकारका छन् । त्यसमध्ये युरिक एसिड बाथको एक प्रकार मात्र हो ।
नेपालमा युरिक एसिड धेरै देखिने बाथमा पर्छ । साथै गठिया, मेरुदण्डको बाथ, लुपस जस्ता बाथरोगहरू हुने गर्छन् । युरिक एसिड हुँदैमा बाथरोग हुँदैन । तर केही व्यक्तिमा मात्र युरिक एसिड बाथ हुन्छ ।
खुट्टाको बूढी औंलामा दुख्ने, सुन्निने र रातो हुने भयो भने युरिक एसिडको बाथ भयो भनेर बुझ्नुपर्छ । अन्यथा शरीरमा युरिक एसिडको मात्रा बढ्दैमा युरिक एसिड बाथ हुँदैन ।
निदान कसरी गर्न सकिन्छ ?
धेरैजसो बाथरोग सामान्य रगत जाँचको क्रममा ‘इएसआर’ र ‘सिआरपी’बाट नै पत्ता लाग्छ । रगतमा यिनीहरूको मात्रा बढ्दै गएको छ र जोर्नी दुखाइ पनि छ भने बाथरोग हो भनेर निदान गर्न सकिन्छ । कुन बाथरोग हो भनेर पत्ता लगाउन अन्य अटोइम्युन टेस्टहरू गर्नुपर्ने हुन्छ । कहिलेकाहीं एमआरआई, अल्ट्रासाउन्ड गरेर पनि कुन बाथ हो भनेर पत्ता लगाइन्छ ।
उपचार
बाथको उपचार औषधि र जीवनशैली परिवर्तन दुई तरिकाले हुन्छ । बिरामी दुखाइ लिएर आएका छन् भने सबैभन्दा पहिले दुखाइ कम गर्ने औषधि दिइन्छ । बाथरोगलाई नियन्त्रण गर्न औषधि दिइन्छ ।
बाथरोगका लागि रोगप्रतिरोधात्मक क्षमतालाई सन्तुलन मिलाउने औषधि दिने गरिन्छ । बाथरोगका औषधि सामान्य रूपमा भन्नुपर्दा २-३ थरीका छन् । एउटा खाने औषधि र अर्को सुईबाट चलाउने औषधि हुन्छ । सामान्यतया बाथको औषधि रोगको प्रकृति अनुसार फरक हुन्छ ।
बाथरोगको औषधि जीवनभर खानुपर्छ ?
धेरैजसो बाथरोग दीर्घकालीन हुन्छन् । कतिपय बिरामी ढिलो उपचारको पहुँचमा पुग्छन्, जसले गर्दा उनीहरूको अरू अंगमा असर गरेको हुन्छ । यस्तो अवस्थामा त दीर्घकालीन रुपमा नै औषधि सेवन गर्नुपर्ने हुन्छ । तर सुरुवाती चरणमा नै बाथरोग पत्ता लाग्यो र उपचार सुरु गरियो भने केही महिना औषधि खाएर औषधि बन्द गर्न सकिन्छ ।
ध्यान दिनुपर्ने कुरा
बाथ कस्तो रोग हो, औषधि किन खानुपर्छ, कसरी खाने, खाइएन भने के हुन्छ भन्ने कुरा बिरामीलाई राम्ररी बुझाउनुपर्छ ।
औषधिसँगै जीवनशैली परिवर्तनको कुरा पनि सिकाउनुपर्छ । बिरामीको तौल बढी छ भने त्यसलाई नियन्त्रणमा राख्नुपर्छ, किनकि तौल बढी हुँदा बाथको समस्या बल्झिने हुन्छ । चिसोमा बाथको समस्या बल्झिने हुन्छ, त्यसैले चिसोबाट बच्नुपर्छ र दैनिक घाम ताप्नुपर्छ ।
दैनिक रुपमा व्यायाम गरेर पनि बाथलाई नियन्त्रण गर्न सकिन्छ । जुन-जुन जोर्नीमा दुखाइ छ त्यसको विशेष थेरापी वा व्यायाम गरेर नियन्त्रण गर्न सकिन्छ । धुम्रपान, मद्यपान गर्ने बानी छ भने त्यसलाई छोडेर पनि बाथलाई नियन्त्रण गर्न सकिन्छ ।
बाथ र खानपान
धेरैजसो बाथरोगमा खानपान बार्नु पर्दैन । तर युरिक एसिड बाथमा खानपानमा पनि ध्यान दिनुपर्ने हुन्छ । धेरै गुलियो खानेकुरा कोक, फन्टा तथा चिनीबाट बनेको खानेकुराले बाथ बढाउन सक्छ । त्यसैले यस्ता खानेकुरा एकदमै कम खानुपर्छ । धुम्रपान, मद्यपान गर्नुहुँदैन ।
रातो मासु र मासु खाँदा जनावरको भित्री अङ्ग कलेजो, फोक्सो, गिदी, आन्द्रा खानै हुँदैन । बट्टामा प्याक भएको खानेकुरा, सामुन्द्रिक माछा, नुन र चिनी बढी प्रयोग भएका जंकफुडबाट सकेसम्म टाढा रहनुपर्छ ।
तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4