जोर्नीहरूमा कुरकुरे हड्डी हुन्छ । जसलाई सुरक्षात्मक कवच जस्तै कार्टिलेजको तहले सुरक्षा दिएको हुन्छ । त्यस तहमा कुनै कारणवश खिइँदै गई हड्डी एकअर्कामा ठोक्किएर खिइनुलाई हड्डी खिइनु वा ओस्टियोआर्थराइटिस भनिन्छ ।
यो समस्याबाट विश्वको दुई करोड ५० लाखभन्दा बढी मानिस पीडित छन् । विज्ञहरुका अनुसार विश्वभर ६० वर्षभन्दा बढी उमेरका ९.६ प्रतिशत पुरुष र १८ प्रतिशत सो उमेरका महिलामा छ ।
यसले तुलनात्मक रुपमा महिलामा बढी यो समस्या पाइने देखाउँछ । तर यसको मूल कारण भने पत्ता लागिसकेको छैन । यो समस्या लिएर अस्पताल आउने पीडित एकदमै ढिलो आउँछन् । यसको कारण हो, अस्पताल जानुअघि नै यस रोगबारे फैलिएको अनेकौं गलत भ्रममा विश्वास गर्नु ।
ओस्टियोआर्थराइटिस केही यस्ता भ्रम समाजमा व्यापक छन् ।
भ्रम : औंला पड्काउँदा जोर्नी खिइन्छ ।
– हातखुट्टा बलियोसँग थिच्दा वा औंला पड्काउँदा एक किसिमको आवाज आउँछ । यसरी पड्काउँदा हड्डी खिइने, औंलालाई हानि गर्छ भन्ने गलत धारणा हो । यदि नियमित रूपमा गरिन्छ भने यसले टेन्डन र लिगामेन्टमा क्षति भने पुर्याउन सक्छ ।
वास्तवमा, हामीले आफ्नो औंलाहरू पड्काउँदा सुन्ने आवाज भनेको जोर्नीहरूमा रहेको तरल पदार्थ फुट्नु हो । हाम्रो जोर्नीहरूका बीचमा साइनोभियल फ्लुइड हुन्छ, जसले जोर्नीहरूलाई सहज रूपमा काम गर्न मद्दत गर्छ ।
जोर्नीहरूमा रहेको यो तरल पदार्थमा स-साना फोका हुन्छ । जुन औंलाहरू पड्काउँदा फुट्छ । यस्तो किसिमको पड्काइले जोर्नी र हाड खिइँदैन ।
भ्रम : ओस्टियोआर्थराइटिस र बाथरोग एउटै रोग हो ।
– यी दुवै जोर्नीमा हुने समस्या हुन् तर यो हुनुको कारण बेग्लाबेग्लै छ । ओस्टियोआर्थराइटिस बुढ्यौली र अन्य चोटपटकका कारण हाड तथा जोर्नी खिइँदै जान्छ ।
जबकि बाथरोग एक अटो इम्युन रोग हो । अर्थात् प्रतिरोध शक्तिले शरीर विरुद्ध नै काम गर्ने गर्छ । जुन बाल्यकालदेखि नै देखिन सक्छ र वंशाणुगत पनि हुनसक्छ ।
ओस्टियोआर्थराइटिसले जोर्नीहरूलाई असर गर्छ भने रुमेटोइड बाथले मुटु र श्वासप्रश्वास प्रणाली सहित शरीरको लगभग सबै प्रणालीलाई असर गर्छ ।
ओस्टियोआर्थराइटिसले घुँडा र पछाडि जस्ता प्रमुख जोर्नीहरूलाई असर गर्छ भने बाथले मुख्यतया हातको साना जोर्नीहरूमा देखिन्छ ।
भ्रम : अग्लो हिलको चप्पल लगाएर हड्डी खिइन्छ हुन्छ ?
– अग्लो हिल भएको जुत्ता कुनै पनि हिसाबले शरीरको पोइस्चरको लागि राम्रो होइन । यसले शरीरको आफ्नै बायोमेकानिक्सलाई हानि पुर्याउँछ । खुट्टाको मांसपेशीहरूलाई असर गर्छ तर ओस्टियोआर्थराइटिससँग यसको प्रत्यक्ष सम्बन्ध छैन । कहिलेकाहीं हिल लगाउँदा फरक पर्दैन । तर नियमित रूपमा लगाउने बानी छ भने पक्कै पनि नोक्सानी गर्छ ।
भ्रम : धेरै व्यायाम गर्दा हड्डी खिइँदा हुने लक्षण बढ्छ ।
– व्यायाम गर्दा हड्डीको समस्या बढ्ने नभई घट्छ । व्यायाम र फिजियोथेरापी ओस्टियोआर्थराइटिसका लागि मात्र दीर्घकालीन उपचार हो ।
भ्रम : यो समस्यामा प्रयोग हुने औषधिको काम भनेको दुखाइ मात्र कम गर्नु हो ।
– उपयुक्त औषधिले बढिरहेको समस्यालाई थप बढ्नबाट रोक्न सक्छ । एन्टिइन्फ्लेमेसन, मांसपेशी आराम र दुखाइ राहत प्रदान गर्नुका साथै केही भिस्कोसप्लिमेन्टेसन एजेन्टहरू छन् ।
भ्रम : ओस्टियोआर्थराइटिसको व्यवस्थापनमा खानपानको कुनै भूमिका छैन ।
– खानपानले लागिसकेको रोग निको हुँदैन । तर यसका लक्षणबाट मुक्ति पाउन सकिन्छ । ओस्टियोआर्थराइटिस भएकाहरुमा भिटामिन ए, सी र ईको नियमित सेवनले जोर्नीको क्षतिलाई कम गर्छ ।
भ्रम : सानै उमेरदेखि शारीरिक रूपमा सक्रिय भएमा ओस्टियोआर्थराइटिसको जोखिम हुँदैन ।
– सक्रिय हुँदा यसबाट पक्कै जोगिन सकिन्छ । तर शतप्रतिशत ग्यारेन्टी भने हुँदैन । वास्तवमा, खेलकुदमा चोटपटक लाग्ने वा कुनै दुर्घटनाले पनि ओस्टियोआर्थराइटिस नहोला भन्न सकिन्न ।
भ्रम : बाबुआमा दुवैमा भए सन्तानलाई पनि हुन्छ ।
– बाबुआमामा भए सन्तानमा पनि हुनसक्छ । तर निश्चित रुपमा हुन्छ नै भन्ने हुँदैन । यसबाट बच्न स्वस्थ जीवनशैली, खानपान र तौल नियन्त्रण गरेर जोखिमबाट आफूलाई बचाउन सकिन्छ ।
भ्रम : क्याल्सियमको कमीले ओस्टियोआर्थराइटिस हुन्छ ।
– ओस्टियोआर्थराइटिससँग यसको कुनै प्रत्यक्ष सम्बन्ध छैन । न त ओस्टियोआर्थराइटिस हड्डी हानि गर्ने कारक हो ।
प्रतिक्रिया 4