अचानक चक्कर आउने समस्या भएमा जोकोही आत्तिन सक्छ । मनमनै के भयो होला भनेर अनेकौं सोच्न आउँछ । चक्कर आउने समस्या सुरु भएपछि एकैछिनमा ठीक हुँदैन । निको हुन समय लाग्ने हुँदा चिन्ता थप बढाउँछ ।
उठ्दा, बस्दा र हिंड्डुल गर्दा दिनमा तीन-चार पटक यस्तो अनुभव भयो भने मानसिक अवस्थालाई आक्रान्त पार्ने गर्छ । शरीर भित्रभित्रै ठूलो रोग लागिसकेको हो कि भनेर जिज्ञासा लिएर अस्पताल आउने थुप्रै हुन्छन् ।
चक्कर आउनुको कारण
कुनै कारण विना चक्कर आउनु
कहिलेकाहीं चक्कर आउँछ तर कुनै लक्षण छैन भने यो सामान्य अवस्था भएको बुझिन्छ । ९० प्रतिशतभन्दा माथि कहिलेकाहीं मात्र चक्कर आउँछ भने यो सामान्य हो ।
पानी कम हुनु
पानी कम पिउनु पनि चक्कर आउनुको एक कारण हुनसक्छ । शरीरमा पानी कम हुँदा रक्तचाप कम भएको हुनसक्छ । यदि चक्करका साथै थकान अनुभव हुने, अनुहार मलिन हुने, पिसाब कम र गाढा पहेंलो आएको छ भन्ने पानी कम हुनुको संकेत हुनसक्छ । यस्तोमा पानी थोरै थोरै मात्रामा गरी पटक-पटक पिउँदा आफैं ठीक हुनसक्छ । साथै, झोलिलो खानेकुरा पनि खानु फाइदाजनक हुन्छ ।
जुरुक्क उठ्ने बानी
बस्ने वा सुत्ने स्थितिको तुलनामा मुटुले उठ्दा शरीरमा रगत पम्प गर्न थप कडा मेहनत गर्नुपर्छ । होमियोस्टेसिस कायम राख्न रक्तचाप स्वाभाविक रूपमा परिवर्तन हुन्छ । होमियोस्टेसिस भनेको शरीरमा सन्तुलनको एक अवस्था हो जसले शरीरको प्रणालीहरूलाई ठीकसँग काम गर्न मद्दत गर्छ ।
जब शरीर निश्चित स्थितिमा काम गरिरहेको हुन्छ तब अचानक शारीरिक स्थितिमा आएको परिवर्तनले सो प्रणालीलाई झट्का लग्न सक्छ । जसले गर्दा मस्तिष्कले एक क्षणको लागि रगत प्राप्त गर्न सक्दैन र उभिंदा रगत शरीरको तल्लो भागमा जम्मा हुन्छ र मिलाउन केही सेकेन्ड लाग्न सक्छ ।
यस्तोमा सुतिरहेको अवस्थामा सिधा जुरुक्क उठ्दा रगत शरीरको बाँकी भागमा बग्न थाल्छ । जसले रक्तचाप अस्थिर भई चक्कर लाग्छ ।
कानमा समस्या
कानको काम भनेको आवाज सुन्नु मात्र होइन । कानमा हुने तरल पदार्थले दिमागलाई पनि नियन्त्रित गर्छ । यो समस्या हुँदा कानभित्र रहेको क्याल्सियमको सानो टुक्रा आफ्नो स्थानबाट सरेर अर्को ठाउँमा सर्छ ।
यस स्थितिमा दिमागलाई गलत संकेत मिल्छ, जसकारण रिंगटा लाग्छ । यो समस्या त्यति गम्भीर हुँदैन । आफैं ठीक हुन्छ ।
आवाजलाई सन्तुलन बनाएर राख्नु पनि हो । भित्री कानमा समस्या हुँदा चक्कर लाग्छ भने यसलाई चिकित्सकीय भाषामा बीपीपीभीको समस्या भन्ने गरिन्छ ।
मदिरा सेवन
मदिराले रक्तनलीहरूलाई क्षति गरी साँघुरो बनाउँछ । यसले रगतको प्रवाहलाई पनि असर गर्छ र शरीरले रक्तचापलाई सामान्य राख्न कडा मेहनत गर्नुपर्छ । नतिजा, बसिरहेको ठाउँबाट उठ्दा र हिंड्दा चक्कर लागेको अनुभव हुनसक्छ ।
रक्त सञ्चारमा कमी
मस्तिष्कमा अक्सिजन निरन्तर आपूर्ति हुनुपर्छ । दिमागसम्म अक्सिजन नपुगेको खण्डमा चक्कर लागेर बेहोस हुनसक्छ । कहिलेकाहीं एन्टीबायोटिक्स जस्ता औषधिले पनि चक्कर लाग्न सक्छ । यस्तो अनुभव भएमा तुरुन्त अस्पताल जानुपर्छ ।
मस्तिष्कको नसामा असर
शरीरबाट मस्तिष्कमा जाने थुप्रै नसा हुन्छन्, जसमा रगत बग्ने गर्छ । यदि तीमध्ये कुनै नसामा असर पर्यो वा साँघुरियो भने रगत जमेर रक्त सञ्चार हुन पाएन भने चक्कर लाग्न सक्छ । यस्तो परिस्थितिमा ती सम्बन्धित नसाहरुको अवस्था हेरेर कारण पत्ता लगाउनुपर्ने हुन्छ ।
अन्य कारण
रगतमा सुगरको मात्रा कम हुनु, मन अत्यधिक आत्तिनु, रक्तअल्पता भई शरीरमा रगतको कमी हुनु, टाउकोमा कुनै प्रकारको चोट लाग्नु, हर्ट ब्लकेज तथा मुटुको धड्कन असामान्य हुनु, आँखाको दृष्टि कमजोर हुनु चक्कर लाग्नुका अन्य कारण हुन् ।
चक्कर लाग्ने लक्षण
– टाउको चर्किनु, शरीर अनियन्त्रित भएको अनुभूति, आँखा धमिलो देख्नु, अँध्यारो छाउनु, अनुहार फिका हुनु, शरीर चिसो हुनु ।
चक्कर लागेमा के गर्ने ?
– चक्कर आउनासाथ आरामसाथ बस्नुपर्छ । सुविधा हुनासाथ ओछ्यानमा सुत्ने र आँखा बन्द गर्ने गर्नुपर्छ ।
– पटक-पटक चक्कर आउँछ भने घर बाहिर एक्लै नहिंड्ने । अग्लो-होचो, अँध्यारो स्थानमा हिंडडुल नगर्ने ।
– चक्कर आयो भने बिस्तारै बिस्तारै गहिरो सास लिने ।
– मोटरसाइकल, गाडी, स्कुटर नचलाउने ।
– चक्कर आउनासाथ कुनै शारीरिक गतिविधि नगर्ने । किनभने त्यसले उच्च रक्तचाप बढ्छ ।
कति बेला अस्पताल जाने ?
यदि लामो समयसम्म उभिंदा चक्कर आई स्वास्थ्य वा दैनिक जीवनमा असर गरिरहेको छ भने चिकित्सकलाई सम्पर्क गर्नुपर्छ । चिकित्सकलाई कुनै पनि रोग वा औषधिपछि चक्कर आउनेबारे पनि उल्लेख गर्नुपर्छ ।
यदि कुनै स्वास्थ्य अवस्था छैन तर उभिएपछि बेहोस हुने, टाउको दुख्ने वा सधैं भित्ता वा वस्तुमा सहारा लिनुपर्ने भएमा यसलाई हल्का रूपमा नलिई तुरुन्तै चिकित्सक कहाँ जानुपर्ने हुन्छ ।
प्रतिक्रिया 4