मानव उपभोगका लागि तयार गरिएका खाद्यवस्तुले उपभोक्तालाई सन्तुष्टि दिन्छ । कुनै प्रकारको प्रतिकूल असर गर्दैन भन्ने मान्यताको सुनिश्चितता हुनु नै खाद्य स्वच्छता हो । खाद्यवस्तु स्वच्छ बनाउन उत्पादन, प्रशोधन, प्याकेजिङ, भण्डारण, वितरण र सेवनको क्रममा जोखिम तत्व जस्तै भौतिक, रासायानिक र जैविक संक्रमणबाट जोगाउनुपर्छ । स्वच्छ खाद्यवस्तुले खाद्य तथा पोषण सुरक्षामा योगदान गर्नुका साथै राष्ट्रिय अर्थतन्त्र, व्यापार र पर्यटन विकासमा सहयोग गर्छ ।
आजको आधुनिक समाजमा खाद्य प्रशोधन उद्योग, खाद्य श्रृंखलाको महत्वपूर्ण अंगको रुपमा रहेको छ । वर्तमान समयमा दैनिक प्रयोग हुने खाद्यवस्तुहरु खाद्य प्रशोधन उद्योगबाट उत्पादन भई बजारबाट उपभोक्ताको थालीसम्म पुग्छ । उद्योगबाट उत्पादित खाद्यवस्तु अस्वच्छ भएमा समाजकै स्वास्थ्यमा असर पुर्याउँछ ।
गुणस्तरीय खाद्यवस्तु उत्पादनका लागि खाद्य उद्योगले ध्यान पुर्याउनुपर्ने कुरा
उद्योग वरपरको वातावरण तथा किट नियन्त्रण
उद्योगभित्र र वरपरको वातावरणको स्वच्छतामा ध्यान दिनुपर्छ । साङ्गला,झिंगा, मुसा आदिको प्रवेश रोक्न झ्याल-ढोकामा जाली लगाउने, मुख्य प्रवेशद्वारमा एयर कर्टन वा प्लास्टिक कर्टन प्रयोग गर्न सकिन्छ । कीट नियन्त्रणका चार सिद्धान्तको पालना गर्नुपर्छ । प्रवेशमा रोक लगाउने, खाना उपलब्ध नगराउने (प्रशोधनका क्रममा भुईंमा खसेको वा लतपतिएको खाद्य वस्तु), कीटको बासस्थान जस्तै कुनाकाप्चा, दुलो बन्द गर्ने र विभिन्न माध्यम प्रयोग गरी कीट नष्ट गर्ने ।
प्रशोधन कक्ष तथा भण्डारभित्र कीट मार्न रासायनिक विषको प्रयोग नगर्ने अन्य माध्यम जस्तै पासो प्रयोग गर्नुपर्छ ।
उद्योगको भुईं र भित्ता सम्बन्धी
भुईं र भित्ता पानी नसोस्ने वस्तुबाट बनेको हुनुपर्ने, टाइल्सको बीचमा ग्याप नभएको, चिसो-तातो पानी, साबुन, डिटर्जेन्ट, केमिकल सहने किसिमको हुनुपर्ने जस्तै- कोटा स्टोन । फल्स सिलिङ राखेमा आगो प्रतिरोधात्मक हुनुपर्ने ।
कोठा विभाजन गर्ने
खाद्य उद्योगमा कच्चा पदार्थ भण्डारण, प्रशोधन, तयारी वस्तु भण्डारण र उपकरण मर्मतका लागि बेग्लाबेग्लै कक्ष छुट्याउनुपर्छ । कच्चा पदार्थ र तयारी खाद्यवस्तु भण्डारण कक्षबीच अधिकतम दूरी राख्ने गर्नुपर्छ । कच्चा पदार्थको प्रवेशद्वार र तयारी वस्तुको प्रस्थानद्वार भिन्दाभिन्दै हुनुपर्छ ।
खाद्यवस्तु उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ सम्बन्धी
गुणस्तरीय कच्चा पदार्थबाट मात्र गुणस्तरीय खाद्यवस्तुको उत्पादन हुन्छ । कच्चा पदार्थ तथा अन्य खाद्य रसायन प्रयोग गर्दा रजिस्टर्ड तथा मिति नगुज्रेको हुनुपर्छ । खाद्य रसायन तोकिएको मात्रा भन्दा बढी प्रयोग गर्नु हुँदैन । मांसाहारी र शाकाहारी कच्चा पदार्थलाई भिन्दाभिन्दै भण्डारण गर्नुपर्छ । मासु तथा दूध तथा दुग्ध पदार्थहरुलाई ४ डिग्रीभन्दा तल भण्डारण गर्नुपर्छ । फ्रोजन कच्चा पदार्थलाई -१८ डिग्रीभन्दा तलको तापक्रममा भण्डारण गर्नुपर्छ ।
उद्योगमा प्रयोग हुने पानी सम्बन्धी
कच्चा पदार्थ धुन, सफा गर्न तथा खाद्यवस्तु तयार गर्दा प्रयोग हुने पानी पिउनयोग्य हुनुपर्छ । मान्यताप्राप्त उद्योगबाट उत्पादित पिउने पानी प्रयोग गर्ने वा उद्योगमै पानी प्रशोधन प्लान्ट जडान गर्न सकिन्छ । सफा तर पिउन अयोग्य पानी उद्योग परिसर, शौचालय सफा गर्न प्रयोग गर्नुपर्छ । पानी भण्डारण गर्ने ट्यांकी स्टेनलेस स्टिलको हुनुपर्छ र समय-समयमा सफा र सेनिटाइज गर्नुपर्छ र यसका लागि क्लोरिन घोलको प्रयोग गर्न सकिन्छ ।
खाद्यवस्तुको उत्पादनमा प्रयोग हुने औजार सम्बन्धी
खाद्यवस्तु तयार गर्न प्रयोग हुने मेसिन तथा औजार स्टेनलेस स्टीलबाट बनेको, डिटर्जेन्ट, केमिकलले सजिलै सफा तथा सेनिटाइज गर्न मिल्ने हुनुपर्छ । मेसिनहरुमा फुड ग्रेड ग्रिज प्रयोग गर्ने, प्रशोधन कक्षमा काठको टेबल,चपिङ बोर्ड, दराज आदिको प्रयोग नगर्ने, काठले पानी सोस्ने र ढुसी पलाउने गर्छ । प्रयोग अघि र पछि डिटर्जेन्टले र अन्त्यमा पिउनयोग्य पानीले सफा गर्नुपर्छ । स्वचालित उपकरणलाई समय-समयमा सीआईपी गर्नुपर्छ । सेनिटाइजेसन कुनै पनि वस्तुमा भएको जीवाणुलाई ताप वा केमिकल जस्तै- ७० प्रतिशत अल्कोहल फुड ग्रेडको प्रयोग गरी नष्ट गर्नुपर्छ ।
उद्योगमा सरसफाइ तथा सेनिटाइजेसन सम्बन्धी
केमिकल, डिटर्जेन्ट, सेनिटाइजर राखिएको भाँडोलाई राम्ररी लेबलिङ गरी खाद्यपदार्थबाट टाढा राख्नुपर्छ । कुचो, पोचा आदि स्टोर गर्न छुट्टै कक्ष प्रयोग गर्ने, शौचालय र बाथरुममा नराख्ने । औजारको तीन चरणमा सफाइ गर्ने- साबुन पानीसँग धुने, सफा पानीले धुने र सेनिटाइज गर्ने । सरसफाइ गर्ने कपडा सफा हुनुपर्छ र प्रयोगपछि तातो पानीमा १० मिनेट उमालेर निर्मलीकरण गर्नुपर्छ । कार्यतालिका बनाएर निश्चित कर्मचारीलाई जिम्मेवारी दिई दैनिक रुपमा सरसफाइ गर्ने र कामकफ अभिलेख राख्ने ।
उद्योगमा कलर कोडिङ र खाद्य स्वच्छता
शौचालय र प्रशोधन कक्ष सरसफाई गर्ने औजार जस्तै पोचा, बाल्टिन एकै हुनु हुँदैन । औजारहरुलाई कलर कोङ्गिग गरी छुट्याउने, प्रशोधन कक्षमा प्रयोग हुनेलाई हरियो र शौचालयमा प्रयोग हुनेलाई रातो रङको कोडिङ गर्ने साथै अन्य क्षेत्रमा अन्य रङ्गको कोडिङ गरिएको औजार प्रयोग गर्ने । प्रशोधन कक्षमा समान एक रङको जुत्ताको प्रयोग गर्ने र प्रशोधन कक्ष बाहेक बाहिर नलगाउने । प्रशोधन कक्षमा छिर्नुअघि जुत्ताको सोल भागलाई क्लोरिन सोलुसनमा डुबाउने गर्नुपर्छ ।
कर्मचारीको व्यक्तिगत सरसफाइ सम्बन्धी
खाद्य उद्योगमा काम गर्ने सबै कर्मचारीले व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । दैनिक नुहाउने, सफा कपडा लगाउने, नङ, कपाल, दाह्री काट्ने गर्नुपर्छ । कर्मचारीहरुको सरसफाइका लागि आवश्यक पूर्वाधार जस्तै सफा शौचालय, चेन्जिङ रुम हुनुपर्छ । कुनै कर्मचारीलाई सरुवा रोग वा छालारोग लागेमा काममा नलगाउने, प्रशोधन स्थलमा कसैले पनि सिसा जडित गहना जस्तै चुरा, पोते, मालाको प्रयोग गर्नु हुँदैन । शौचालय प्रशोधन स्थलबाट निश्चित दूरीमा हुनुपर्छ र हात धुनलाई साबुन र सफा पानीको व्यवस्था हुनुपर्छ ।
लाइटिङ र भेन्टिलेसन
प्रशोधन कक्षमा राम्रो लाइटको व्यवस्था हुनुपर्छ । सिसाबाट बनेको बल्ब फुट्ने र खाद्यवस्तुमा मिसिन सक्ने भएकाले प्रयोग गर्नु हुँदैन । प्रशोधन कक्षमा हावाको सर्कुलेसन हुन आवश्यक हुन्छ, साथै त्यहाँबाट उत्पन्न हुने तातो हावा, धुवाँ बाहिर जान भेन्टिलेसनको व्यवस्था गर्नुपर्छ । फ्राइङ तथा बेकिङ गर्ने उद्योग जहाँ धुवा र तेलको बाफ उत्पादन हुन्छ त्यस्ता उद्योगहरुले फ्राइङ मेसिन तथा ओभनलाई छुट्टै पार्टेसन गरेर राख्नुपर्छ ।
स्टोर सम्बन्धी
खाद्य स्टोर र जनरल स्टोर भिन्दाभिन्दै हुनुपर्ने, एउटै कक्षमा भए पार्टेसन गर्ने । स्टोर सफा, भेन्टिलेसन भएको, पानी नचुहिने तथा कीरा-मुसा आदिको प्रवेश सहज नहुने प्रकारको हुनुपर्छ । खाद्यवस्तु भण्डारण गर्दा प्लास्टिकको क्रेट वा फलामको र्याकको प्रयोग गरी जमिन भन्दा १५ सेमी वा ६ इन्चमाथि भण्डारण गर्ने, र्याक र भित्ताबीच न्यूनतम २० सेमी ग्याप हुनुपर्छ । फर्स्ट इन फर्स्ट आउटको सिस्टम पालना गर्ने, जुन सामान पहिले इन्ट्री हुन्छ त्यही पहिले प्रयोग गर्ने ।
फोहोर तथा ड्रेन व्यवस्थापन सम्बन्धी
प्रशोधन कक्षबाट निस्कने फोहोरलाई सुक्खा र गिलोमा विभाजन गर्ने, फरक-फरक डस्टबिनमा कलर कोडिङ गरेर राख्ने गर्नुपर्छ । खाद्य प्रशोधन कक्षमा खुट्टाले खोल्न मिल्ने डस्टबिनको प्रयोग गर्ने, प्रशोधन कक्षबाट फोहोर तथा पानी निकासका लागि ड्रेनको व्यवस्था गर्ने, ड्रेनलाई हटाउन मिल्ने फलामको जालीले छोप्नुपर्छ ।
ड्रेन पानी नजम्ने, ब्याक फ्लो नहुने, सफा गर्न मिल्ने, थोरै ओरालो हुनुपर्छ । बेसिन वा ड्रेनको मुखमा साङ्ला आदिलाई छेक्न कक्रोच ट्रयापको प्रयोग गर्ने, फोहोर पानीलाई निष्कासन गर्ने व्यवस्था गर्नुपर्छ ।
प्रयोगशाला सम्बन्धी
कच्चा पदार्थ र तयारी खाद्यवस्तुलाई प्रयोग तथा बजारीकरण गर्नुअघि प्रयोगशालामा जाँच गरी तोकेको मापदण्ड अनुरुपको भए नभएको जाँच गर्नुपर्छ । मापदण्ड अनुरुप भएमा मात्र बिक्री वितरण गर्नुपर्छ । प्रयोगशाला नभए नेपाल सरकार अन्तर्गत वा मान्यताप्राप्त प्रयोगशालाबाट समय-समयमा आफ्नो उत्पादनको जाँच गरी अभिलेख राख्नुपर्छ ।
लेबल लगाउने
प्याक गरिएका प्रशोधित खाद्यवस्तुलाई नेपाल सरकारले तोके बमोजिम विवरण खुल्ने गरी लेबल लगाउनुपर्छ । लेबलमा हुनुपर्ने अनिवार्य विवरण- खाद्यवस्तुको नाम, तौल, परिमाण, सम्मिश्रण, उत्पादन मिति, ब्याच नम्बर, उपभोग्य मिति, मूल्य, उत्पादकको पूरा ठेगाना, खाद्य अनुमति पत्र नम्बर हुनुपर्छ । यस बाहेक अन्य ऐच्छिक विवरण जस्तै प्रयोग विधि आदिको बारेमा समेत जानकारी दिन सकिन्छ ।
(लिम्बू खाद्य अनुसन्धान अधिकृत हुन् ।)
प्रतिक्रिया 4