जोर्नीहरुबीच तरल पदार्थ हुन्छ, जसले हड्डीलाई चलायमान राख्न र सुरक्षा दिने काम गर्छ । कुनै कारणवश हड्डीमा दबाब बढेमा वा खिइन थालेमा हड्डी वरिपरिका स्नायु ढाक्ने तह (माइलिन सिथ)मा क्षति पुग्छ ।
हड्डी वा जोर्नीमा क्षति पुगेपछि त्यहाँ रहेको तरल पदार्थ बाहिरिएर नजिकैबाट जाने नसाहरुमा असर पुर्याउन थाल्छ । जसले त्यसमा भागमा दुखाइ बढाउँछ । यस्तो अवस्थालाई नसा च्यापिएको भनिन्छ ।
नसा च्यापिने समस्या कतिको जटिल समस्या हो ?
सुरुवाती चरणमै नसा च्यापिएको पहिचान भई उपचार भएमा ठूलो समस्या आउँदैन । सुरुवाती चरण भन्नाले तरल पदार्थ धेरै नबगेको अवस्था हो ।
तर नसा च्यापिएकै कारण जो ढाड, कम्मर, हातखुट्टा दुखेको लामो समयसम्म पनि सहेर उपचार नगराई बसेको अवस्थामा नसामा पुगेर समस्या जटिल बनाउँछ ।
त्यस्तो तरल पदार्थ धेरै मात्रामा बाहिर बगेर नसालाई ढाक्ने ‘खोल’ माइलिन सिथलाई खराब पार्दै जान्छ । लामो समयसम्म माइलिन सिथलाई खराब पार्दै गएपछि नसा बाहिरै देखिन थाल्छ । र, समस्या जटिल बन्छ ।
नसा च्यापिएको सुरुवातको अवस्थामै केही लक्षण देखाउँछ ?
खुट्टाको वा ढाडको नसा च्यापिएको छ भने सुरुवातमा खुट्टा झमझमाउने, धेरै समय हिंडेमा गल्ने, खुट्टा भतभती पोलेर औंलासम्म पुग्ने, घुँडा, नितम्बको क्षेत्र वरपर बढी दुख्ने हुन्छ । किनकि त्यस्तो नसाले तिघ्रादेखि खुट्टासम्म स्पर्शको सूचना आदानप्रदान गर्ने भूमिका निभाइरहेको हुन्छ ।
यदि घाँटीको नसा च्यापिएको छ भने हात र औंलाहरु दुख्न, पोल्न थाल्छ ।
को बढी प्रभावित हुन्छ ?
३५ वर्षको उमेरपछि हड्डी खिइने प्रक्रिया बिस्तारै सुरु हुन्छ । यस्तोमा लामो समयसम्म एकै आसनमा ढाड कुप्राएर बस्दा, हड्डी भाँचिंदा, चोटपटकले हड्डीमा धेरै असर पुर्याएर कमजोर बनाइदिंदा, पटकपटक भारी सामान उठाउँदा, धुम्रपान गर्ने बानीका कारण हाड तथा जोर्नीमा अक्सिजनको मात्रा घट्दा हड्डी छिटो खिइन थाल्छ ।
लामो समयसम्म एकै आसनमा ढाड कुप्राएर बस्दा नसा च्यापिन सक्छ । शरीरको बनावट अनुसार बस्दा पनि मेरुदण्ड सिधा राखेर बस्नुपर्छ ।
तर एकैठाउँमा धेरै समय बस्दा ढाड कुप्रो पार्ने बानी नै बसिसकेको हुन्छ । यसरी बस्दा जोर्नीबीचको तरल पदार्थ पछाडि धकेलिंदै जान्छ र नसा ढाक्ने तहमा पनि दबाब पर्दै जाँदा कमजोर हुन्छ ।
कुनै सानो काम गर्दा अचानक ढाडको हड्डी भाँचिएको जस्तो अनुभव भयो भन्ने धेरै सुनिन्छ । तर यो अचानक नभएर लामो समयसम्म दबाब परी तरल पदार्थ त्यस भागबाट निस्किएर नसा छुनाले त्यस्तो हुन्छ ।
बसेर काम गर्दा अपनाउन पर्ने सावधानी
यसको रोकथामको लागि कुर्सीमा बसेर काम गर्दा ढाड पछाडि सिरानी वा कुसनको प्रयोग गर्न सकिन्छ । यसले बसाइको आसनलाई सन्तुलनमा राख्न मद्दत गर्छ । प्रत्येक पटक बढीमा ४५ मिनेटसम्मको बसाइपछि उभिएर शरीर तन्काउने गर्नुपर्छ । लामो समयसम्म बस्नु परेको खण्डमा बजारमा लामो बेल्ट पाइन्छ । जसले ढाड सोझो बनाइ मेरुदण्डलाई केही हदसम्म टेवा दिन्छ ।
सामान्य ढाड दुखाइ र नसा च्यापिएपछिको ढाड दुखाइमा फरक
सामान्य ढाड दुखाइ र नसा च्यापिएपछिको ढाड दुखाइमा लक्षण भिन्न हुन्छ । जसकारण अनुमान गर्न त्यति कठिन हुँदैन । सामान्य ढाड दुखाइ छ भने त्यो ढाडमै सीमित हुन्छ । तर नसा च्यापिएको कारण दुखाइ हो भने सरेर तिघ्रा, खुट्टा र त्यसको औंलासम्म पुग्न सक्छ ।
सो अनुमानलाई पुष्टि गर्न यसका लागि मेडिकल परीक्षण पनि हुन्छ । त्यसका लागि बिरामीलाई सुताइन्छ । सिधाबाट ३० डिग्रीमाथि खुट्टा उचाल्न लगाउँदा दुखाइ हुने र झमझमाउने गुनासो गर्छ । जसले ढाडमा नसा च्यापिएको संकेत गर्छ ।
अन्य परीक्षण
नसा च्यापिएको लक्षणको स्पष्ट रुपमा एमआरआई परीक्षणबाट थाहा पाउन सकिन्छ । यसले कुन ठाँउको तरल पदार्थ कति मात्रामा निस्किएको छ ? कति नसामा छोएको छ भनेर स्पष्ट रुपमा देखाउँछ । यसले सोही अनुसारको उपचार गर्न मद्दत गर्छ ।
उपचार
नसा च्यापिएको उपचारमा औषधि र फिजियोथेरापी प्रभावकारी हुन्छ । नसा च्यापिएको अवस्थामा अंगहरु सुन्निएको हुन्छ । सो सुन्निएको भाग बसाउन सुजननाशक (एन्टीइन्फालमेटरी) औषधि दिइन्छ । तरल पदार्थलाई सुरक्षा दिने क्षति भएको माइलिन सिथ तहलाई निको पार्न नसाको औषधि दिइन्छ । साथै, दुखाइ कम गर्न दुखाइ निवारक औषधि दिइन्छ । दुखाइ कम भएपछि मात्र फिजियोथेरापीको उपचार सुरु हुन्छ ।
चिकित्सकको सल्लाहअनुसार फिजियोथेरापीको अभ्यास घरमा गर्ने तथा नसा च्यापिन सक्ने जोखिमबाट सावधानी अपनाउने हो भने यो समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ । फिजियोथेरापीबाट निको हुने सम्भावना ९९ प्रतिशतसम्म रहन्छ ।
कतिपय अवस्थामा यो समस्या यति जटिल बनिसकेको हुन्छ कि शल्यक्रिया मात्र निको हुने विकल्प रहन्छ । जस्तो कि नसा च्यापिएर दिसा-पिसाबको संकेत र नियन्त्रण गर्ने क्षमतासम्म आभास हुँदैन भने यस्तोमा शल्यक्रिया आवश्यक हुन्छ । नसा च्यापिएर हिंड्न समेत नसक्ने अवस्थामा पनि फिजियोथेरापीले मात्र सम्भव नभएर शल्यक्रिया आवश्यक पर्न सक्छ ।
नसा च्यापिन नदिन के गर्ने ?
– बसेर गर्ने काम गर्दा ढाड सोझो बनाउन कुसन राखेर बस्ने र बसको ४५ मिनेटपछि शरीरलाई आराम दिन एकछिन हिंड्डुल गर्ने ।
– चोटपटक पहिला लागेको इतिहास भए चिकित्सकलाई देखाउने ।
– शरीरको क्षमता भन्दा बढी भार पर्ने गरी कुनै क्रियाकलाप नगर्ने ।
– पौष्टिक खानपान गर्ने, धुम्रपान र मदिरा सेवन नगर्ने ।
– हड्डीको घनत्व घट्न नदिन, मांसपेशी तथा जोर्नीमा लचकता कायम राख्न दैनिक आधा घण्टा हिंड्डुल गर्ने ।
– बिहान उठ्ने बित्तिकै भारी काम वा सामान उठाउनु हुँदैन । किनभने रातको समयदेखि नै शरीर दुरुस्त हुँदैन । जुन उठेको केही समयसम्म त्यसको प्रभाव पर्छ । त्यसैले हिंड्डुल र केही खानेकुरा खाएपछि शरीर तयार हुन्छ । अनि मात्र सक्रिय रुपले काम गर्नुपर्छ ।
(गजुरेल नयाँ बानेश्वरस्थित आयुष अस्पतालमा कार्यरत छिन्)
भिडियो : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4