आजभोलि धेरैलाई ढाड दुख्ने, हातखुट्टा झमझमाउने, गर्दन दुख्ने समस्याले सताएको सुन्न र देख्न सकिन्छ । यो एउटा साझा समस्या नै बनेको छ । यसको समयमै उपचार भए ठूलो समस्या झेल्नु पर्दैन ।
शरीरमा विभिन्न कुरकुरे हड्डी हुन्छन् । ती हड्डीको बीच र वरपर भागबाट नसाहरु अन्य ठाउँमा गइरहेका हुन्छन् । कुनै कारणवश कुरकुरे हड्डी थिचिन्छ, जसले गर्दा छेउबाट गएको नसा च्यापिन्छ । जसलाई हामी सामान्य भाषामा नसा च्यापिएको भन्ने गर्छौं ।
नसा च्यापिने समस्यालाई प्राय:ले ढाड दुख्ने, गर्दनको नसा च्यापिने समस्या भन्ने आम बुझाइ छ । तर त्यति मात्र होइन, नसा च्यापिने समस्या हातखुट्टामा पनि देखिन्छ ।
कारण
बढ्दो उमेर, भारी काम गर्ने, कुनै संक्रमण, ढाडको भागमा क्षयरोग, बाथरोग, आकस्मिक चोटका कारण गर्दनको कुरकुरे हड्डी थिचिएर नसा च्यापिन सक्छ । भारी काम गर्दा त्यसको भारले कुरकुरे हड्डी दबिएपछि नसा थिचिन्छ । त्यस्तै मधुमेह, बाथ र थाइराइड हुँदा हातको बीच र कुइनोको भागमा नसा च्यापिने सम्भावना हुन्छ । जसले रातको समय दुखाइ बढी गराउँछ । बिस्तारै हातले काम नै गर्न कम गर्दै लैजान्छ ।
नसा च्यापिने समस्या वयस्कदेखि वृद्ध उमेरमा देखिन्छ । ढाडमा चोटपटक वा कुनै संक्रमण भएमा भने कलिलो उमेरमा पनि नसा च्यापिने समस्या हुन सक्छ ।
लक्षण
यसको लक्षण शरीरको कुन भागमा नसा च्यापिएको छ । त्यही अनुसारको लक्षण देखिन्छ । नसा च्यापिएपछि त्यसको दुखाइ पनि शरीरका अन्य भागमा सर्दै जान्छ । जस्तै, ढाडको तल्लो भागमा नसा च्यापिएपछि त्यसको दुखाइ सर्दै खुट्टासम्म पुग्छ । ढाड पछाडिको नसा च्यापिएको छ भने ढाड अत्यन्त दुख्छ । ढाडको दुखाइ खुट्टातर्फ सर्ने र यसले खुट्टा लाटो बनाउने, पोल्ने, झमझमाउने र निहुँरिंदा दुख्छ ।
गर्दनमा नसा च्यापिएमा हाततिर दुखाइ सर्दै जान्छ । गर्दनको नसा च्यापिएमा गर्दन दायाँबायाँ मोड्दा दुख्ने, गर्दन पछाडि लगातार दुख्ने, त्यसको दुखाइ हाततर्फ सर्ने गर्छ । यसले हातमा झट्का हानेजस्तो हुने, पोल्ने र लाटो हुने गर्छ ।
त्यस्तै हातमा नसा च्यापिंदा हातको औंलाहरु कमजोर हुने वा लाटो हुने हुन्छ । सानो-सानो वस्तु समाउन समेत कठिन हुन्छ । खुट्टामा नसा च्यापिंदा खुट्टा पोल्ने, लुलो हुने र झमझमाउने गर्छ ।
नसा च्यापिएको कसरी थाहा हुन्छ ?
हातखुट्टा झमझमाउने धेरै कारण हुन सक्छन् । यस्तोमा नसा च्यापिएका कारण झमझम गरेको हो भन्ने थाहा पाउन कठिन हुन्छ । यदि नसा च्यापिएको कारणले हो भने त्यो भाग र त्यससँगै नसा प्रवाह भएको भाग मात्र झमझमाउँछ । तर भिटामिन, मधुमेहका कारण हुने नसारोगको कारणले हो भने पूरै शरीर नै झमझमाउने हुन्छ ।
कति बेला अस्पताल जाने ?
गर्दन, ढाड वा हातखुट्टा दुखेको छ भने एक-दुई दिन औषधि खाँदा पनि ठीक नभएमा अस्पताल जानुपर्छ । कहिलेकाहीं शरीर सामान्य कारणले पनि दुख्छ तर दुखाइ निरन्तर भइरहेमा भने गम्भीर समस्या पनि हुन सक्छ ।
पहिचान
नसा च्यापिएको समस्या पहिचान गर्न सबैभन्दा अघि लक्षण हेरिन्छ । त्यसको आधारमा एक्सरे, सिटिस्क्यान वा एमआरआई गरिन्छ । कुन नसा च्यापिएको भन्ने पत्ता लगाउन नर्भस कन्डकसन स्टडी पद्दतिबाट परीक्षण हुन्छ । कुनै केसमा रगतको पनि केही विशेष परीक्षणको आवश्यक पर्न सक्छ ।
उपचार
नसा च्यापिएका बिरामीको अवस्थालाई मध्यनजर गरेर औषधि दिएर केही समय हेरिन्छ । बाहिरी नसालाई मात्र हलका छोएको छ भने तीनदेखि चार सातासम्म औषधिसँगै फिजियोथेरापी पनि गर्न लगाइन्छ, जसमा केही फाइदाजनक व्यायाम सिकाइन्छ । ढाडमा नसा च्यापिएमा सुई दिएर पनि दुखाइ कम गर्न सकिन्छ । औषधिसँगै फिजियोथेरापी गर्नेहरुमा विस्तारै निको हुँदै जान्छ । तर नसा धेरै नै च्यापिएको छ भने औषधि, भ्याक्सिन र फिजियोथेरापीले पनि काम नगर्न सक्छ । यस्तोमा भने शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
एमआरआई, सिटिस्क्यानबाट हेर्दा मोटो नसा च्यापिएको देखिएमा सिधै शल्यक्रिया गरिन्छ । किनकि उपचारमा ढिलाइ हुँदा अंगले काम नगर्न पनि सक्छ ।
उपचार गरेको कति समयपछि निको हुन्छ भन्ने कुरा नसा कति च्यापिएको छ भन्नेमा भर पर्छ । बाहिर निस्कने नसा च्यापिएमा छिट्टै उपचार भएर निको हुन्छ । तर मोटो नसा च्यापिएको छ भने शल्यक्रियापछि अन्य अंगलाई हानि गर्दै दैनिक कार्य गर्न सक्छ, दुखाइ कम हुन्छ तर पूर्णतया निको हुने सम्भावना न्यून हुन्छ ।
जटिलता
मोटो नसा च्यापिएर समयमा उपचार नहुँदा हातखुट्टाले काम नगर्ने, खुट्टा लत्रिने, हिंडडुल गर्न नसक्ने, दिसापिसाब गर्न कठिन हुने र कतिपय अवस्थामा जीवनभर नै अंगले काम नगर्ने समेत हुन सक्छ । तर दुखाइबाट छुट्कारा पाउन लामो समयसम्म औषधि खाने धेरैको बानी हुन्छ, जुन रोगको समाधान होइन । रोगको पत्ता नलगाई पेन किल्लरजस्ता औषधि खान हतारिंदा दुखाइ र समस्या बढ्दै जान्छ ।
जोगिने उपाय
गह्रौं भारी नउचाल्ने, अग्लो सिरानी नगर्ने, घाँटी जोडसँग नपड्काउने, जिम जानेले कम मात्रामा तौल उठाउने, निहुरिएर धेरै समय काम नगर्ने, ढाड दुख्नेहरुले लो ब्याक स्ट्रेन थेरापी फिजियोथेरापिस्ट वा युट्युबबाट सिकेर गरेमा नसा च्यापिने सम्भावना कम हुन्छ ।
(वरिष्ठ न्युरोलोजिस्ट डा. खरेल काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा कार्यरत छन् । उनीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)
तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर
 
                    










 २०८० साउन  १ गते १०:३९
                        २०८० साउन  १ गते १०:३९                     
                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                                         
                             
                             
                             
                             
                                         
                             
                         
                         
                         
                         
                         
                         
                             
                             
                                         
                             
                                         
                             
                             
                             
                                        
प्रतिक्रिया 4