बजारमा सजिलै पाइने प्याकेट बन्द खानेकुरा हाम्रो खानाको मुख्य हिस्सा भएको छ । तर ग्राहकहरूले त्यस्ता प्याकेटबन्द खाद्यवस्तु किन्दा प्रायः त्यसको म्याद सकिने मिति र यसको मूल्य हेर्छन् । खाद्यवस्तुको प्याकेटको पछाडिको भागमा धेरै महत्त्वपूर्ण जानकारी हुन्छन्, त्यसलाई भने कमैले मात्र पढ्छन् ।
प्याकेटबन्द खानेकुराको पछाडि भागमा लेखिएको जानकारीलाई फुड लेबल भनिन्छ । लेबल भन्नाले बिक्रीको लागि राखिएको वा परिवहन भइरहेको कुनै पदार्थको आवरणमा लेखिएको, छापिएको विवरण वा संकेत हो ।
प्याकेटबन्द खानेकुरा किन्दा फुड लेबल हेर्न जरुरी
प्याकेटबन्द खानेकुराको लेबल हेरेर भित्रको खानाको गुणस्तर मूल्यांकन गर्न सकिन्छ । कुनै चीज खरिद गर्ने आधार भनेको यसमा केही मात्रामा भिटामिन वा मिनरल्स हुन्छ । साथै अन्य तत्त्वको मात्रा स्वास्थ्यका लागि हानिकारक नहुने खालको छ भन्ने कुरा थाहा भयो भने त्यो खानेकुरा किन्दा ढुक्क हुन सकिन्छ ।
लेबलिङ मार्फत उपभोक्ताहरूलाई थाहा हुन्छ कि खानामा कुन पोषक तत्व कति मात्रामा छन् । यी पोषक तत्वहरूको दैनिक मात्रा तिनीहरूका लागि उपयुक्त छ र प्रत्येक खपतले कति पोषण प्रदान गर्छ । यस्तो जानकारी लेबलिङ मार्फत थाहा पाउन सकिन्छ ।
खाद्य पदार्थको लेबलमा समावेश हुने कुराहरु
नामसम्बन्धी जानकारी
प्याकेटबन्द खानेकुरामा सर्वप्रथम खाद्य पदार्थको नाम उल्लेख भएको हुनुपर्छ । यदि एक मात्र वस्तुबाट बनेको भए सोको नाम उल्लेख गर्नुपर्छ । जस्तै- चना प्याक गरिएको भए चना भनेर लेख्ने तर दुई वा सो भन्दा बढी पदार्थबाट बनेको भए प्रचलित नाम उल्लेख गर्ने । दालको मिश्रण भए मिक्स दाल भनी उल्लेख गर्ने र समिश्रणमा मिसाइएका दालको नाम उल्लेख हुनुपर्छ ।
उत्पादक र आयातकर्ताको नाम र ठेगाना
खाद्य पदार्थको बिक्री वितरणका लागि उत्पादन वा प्याकेजिङ गर्ने व्यवसायीको पूरा नाम र ठेगाना स्पष्टसँग उल्लेख भएको हुनुपर्छ । यदि तेस्रो मुलुकबाट कुनै व्यापारीले आयात गर्छ भने सो आयतकर्ताको पूरा नाम र ठेगाना समेत उल्लेख गर्नुपर्छ ।
खाद्य पदार्थको तौलसम्बन्धी व्यवस्था
प्याक गरिएको पदार्थको खुद तौल वा नापको परिमाण उल्लेख गर्नुपर्छ र उल्लेख गरेको परिमाण भन्दा कम भएको हुनु हुँदैन । यदि प्याकेटभित्र अन्य स-साना खुद्रा प्याक छन् भने तिनको न्यूनतम संख्या समेत उल्लेख गर्नुपर्छ ।
उत्पादन मिति, प्याकेजिङ मिति
उत्पादन मितिले सो खाद्य पदार्थ कुन मितिमा उत्पादन भएको जानकारी गराउँछ भने प्याकेजिङ मितिले सो खाद्य पदार्थ कुन मितिमा प्याकिङ गरिएको भन्ने जानकारी दिन्छ । त्यसैले प्याकेटबन्द खाद्य पदार्थमा उत्पादन तथा प्याकिङ मिति समावेश हुनुपर्छ ।
उपभोग्य समय
उपभोग्य समयले उक्त खाद्य पदार्थ कति समयभित्रसम्म उपभोग गर्दा उच्च गुणस्तरको हुन्छ भन्ने समयावधिलाई जनाउँछ । यसलाई जनाउने विभिन्न अंग्रेजी शब्दको प्रयोग गरिन्छ, जस्तै ‘बेस्ट बिफोर’ ।
ब्याच नम्बर
ब्याच नम्बर उत्पादक आफैंले बुझ्ने गरी राख्दा हुन्छ । यसले खाद्य वस्तुमा केही समस्या भएको खण्डमा सो लट वा ब्याचको खाद्य पदार्थ बजारबाट फिर्ता गर्नमा सहयोग गर्छ ।
खाद्य पदार्थको समिश्रणसम्बन्धी जानकारी
खाद्य पदार्थको तयारी गर्ने क्रममा मिसाइएको सम्पूर्ण पदार्थको विवरण स्पष्टसँग खुलाउनुपर्छ । जस्तै- मिक्स दाल छ भने कुन-कुन दाल मिसाइएको छ विवरण स्पष्टसँग उल्लेख गर्नुपर्छ ।
लेबल विवरणमा लेखिने भाषा
खाद्य पदार्थको लेबलमा अनिवार्य नेपाली वा अंग्रेजी वा दुवै भाषामा हुन्छ । जसले गर्दा त्यहाँ लेखिएको सम्पूर्ण जानकारी ग्राहकले सजिलै पढ्न सकुन् । उत्पादकले चाहेमा यस भाषामा थप गरेर अन्य भाषामा पनि विवरण तयार गर्न सक्छन् ।
लेबल विवरणमा दाबी गरिने पोषणसम्बन्धी जानकारी
खाद्य पदार्थको लेबलमा पौष्टिक तत्वको मात्रा नखुलाई पौष्टिक तत्व छ भनेर दाबी गर्न पाइँदैन । विज्ञापनजन्य सामग्रीमा पनि पौष्टिक तत्वको मात्रा नखुलाई पौष्टिक तत्व भएको कुरा उल्लेख गर्न पाँदैन । विभिन्न दाबी गरिएका पौष्टिक तत्वहरु नेपाल सरकारले तोके बमोजिमको इकाईमा स्पष्ट उल्लेख भएको हुनुपर्छ । जस्तै खनिज तत्व पोटासियमलाई मिलिग्राम इकाईमा लेखिएको हुन्छ ।
फुड लेबलको हुने अन्य जानकारी
उद्योग विभाग वा घरेलु तथा साना उद्योग कार्यालयद्वारा प्रदान गरिएको उद्योग दर्ता नम्बर उल्लेख हुन्छ ।
वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने अधिक्तम बिक्री मूल्य (एमआरपी) एवं वस्तु उपभोगबाट हुनसक्ने नकारात्मक प्रभाव जस्तै कतिपय खाद्य पदार्थले हुने एलर्जीसम्बन्धी जानकारी पनि उल्लेख हुनुपर्छ ।
(लिम्बू खाद्य अनुसन्धान अधिकृत हुन् ।)
प्रतिक्रिया 4