अनुसन्धानहरुले देखाएका छन्, कुनै पनि ग्राहकले खाद्यवस्तुको प्याकेट किन्न ६ देखि १० सेकेन्ड मात्र लिन्छन् । ग्राहकहरूले खाद्यवस्तु किन्दा प्रायः त्यसको म्याद सकिने मिति र यसको मूल्य हेर्छन् ।
खाद्यवस्तुको प्याकेटको पछाडिको भागमा धेरै महत्त्वपूर्ण जानकारी हुन्छन्, जुन पढ्न जानियो भयो भने सायद तपाईंले त्यो प्याकेटफुड किन्नु हुँदैन । तर त्यहाँ त्यो जानकारी यसरी लेखिएको हुन्छ कि ग्राहकले बुझ्न सक्दैनन्, कि यो वास्तवमै स्वास्थ्यको लागि राम्रो छ कि छैन भनेर ।
प्याकेटमा पोषण तथ्यहरू हेरेर भित्रको खानाको गुणस्तर मूल्यांकन गर्न सकिन्छ । कुनै चीज खरिद गर्ने आधार भनेको यसमा केही मात्रामा भिटामिन वा मिनरल्स हुन्छ । साथै अन्य तत्त्वको मात्रा स्वास्थ्यका लागि हानिकारक नहुने खालको छ भने मात्र फाइदा हुन्छ ।
खानाको लेबलिङ मानिसको आहार दुई हजार किलो क्यालोरी हो भन्ने मानेर गरिन्छ । यसलाई मापदण्डका रूपमा लिई प्रत्येक खाद्य प्याकेटमा सिफारिस गरिएको आहार मात्रा तोकिएको छ ।
सिफारिस गरेको आहार मात्रा
निर्देशनअनुसार कार्बोहाइड्रेटको सिफारिस गरिएको आहार मात्रा प्रतिदिन १३० ग्राम हो । मानौं तपाईंले प्रशोधित बदाम ३० ग्रामको एउटा प्याकेट खानुभयो भने लेबलअनुसार यसमा २४ प्रतिशत कार्बोहाइड्रेट समावेश हुन्छ । सिफारिस गरिएको आहार मात्राको यो १८ प्रतिशत हो ।
यसको अर्थ तपाईंले प्रशोधित बदामको एक मुठ्ठी प्याकेटबाट १८ प्रतिशत कार्बोहाइड्रेट पाउनुभयो । यदि तपाईंले १०० ग्राम बदाम खानुभयो भने दिनको ८० प्रतिशत कार्बोहाइड्रेट खानुभयो । यस्तोमा यदि तपाईंले दिनभरि कार्बोहाइड्रेट भएका अन्य चीजहरू खानुहुन्छ भने दैनिक रुपमा खानुपर्ने कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ ।
प्याकेटको पछाडि ‘सर्भिङ साइज’ लेबल लेखिएको हुन्छ । अन्य सबै जानकारी त्यो सर्भिङ साइजमा आधारित हुन्छ । खानाको प्याकेट लेबलहरूमा प्रति १०० ग्राम पोषक तत्त्व लेखिएको हुन्छ । यदि तपाईं एक पटकमा १०० ग्राम भन्दा बढी खाँदै हुनुहुन्छ भने त्यति नै मात्रामा पोषक तत्त्व शरीरमा प्रवेश गर्छ ।
खानामा जति पनि तत्त्वहरू हुन्छन्, त्यसलाई घट्दो क्रममा लेबलमा रेकर्ड गरिन्छ । अर्थात् जुन तत्त्व बढी मात्रामा हुन्छ त्यो पहिले लेखिन्छ, जुन तत्त्व सबैभन्दा कम मात्रामा हुन्छ त्यो अन्तिममा लेखिएको हुन्छ ।
प्योकटमा लेखिने कम्पोनेन्टहरू के हुन् ?
सबै खाद्य प्याकेटहरूमा यसको कम्पोनेन्ट र तिनीहरूको मात्राको बारेमा जानकारी दिनु आवश्यक हुन्छ । त्यहाँ भएको चारवटा कम्पोनेन्टमा धेरै ध्यान दिनुपर्छ । कुल फ्याट, स्याचुरेटेड फ्याट, नुन सोडियम र चिनी । यी तत्त्वहरूले तौल र रक्तचापमा परिवर्तन ल्याउन सक्छ, जसले हृदयरोग र स्ट्रोकको जोखिम पनि बढाउँछ ।
चिनी
चिनीमा कार्बोहाइड्रेट बाहेक अन्य कुनै पोषक तत्त्व हुँदैन । धेरै मात्रामा चिनीको सेवनले शरीरमा क्यालोरी बढ्छ र भोक लाग्दैन, जसले गर्दा स्वास्थ्य खानाको सेवन कम हुन्छ । साथै रगतमा चिनीको मात्रा सही राख्ने शरीरको क्षमता पनि प्रभावित हुन्छ ।
त्यसैले चिनी, मह, गुड, ब्राउन सुगर, फलफूलको जुस, जस्ता खानेकुरा कम खानुपर्छ । यीमध्ये कुनै पनि चिनी शरीरका लागि फाइदाजनक हुँदैन ।
जस्तै, एउटा जुसको प्याकेट लिनुहोस् । प्याकेट एक लिटरको छ भने लेबलमा जानकारी प्रति १०० एमएल लेखिएको हुन्छ । यसमा थप चिनी ८.३ ग्राम पनि हुन्छ, जुन शरीरको लागि आवश्यक छैन ।
विश्व स्वास्थ्य संगठनका अनुसार एक स्वस्थ वयस्क व्यक्तिले दैनिक २५ ग्रामभन्दा बढी चिनी खानु हुँदैन । यो लगभग ६ चम्चा चिनी बराबर हुन्छ । यसको मतलब एक सानो गिलास जुसबाट दैनिक सेवन गर्ने आधा चिनी प्राप्त हुन्छ ।
जुसको प्याकेटमा १८ मिलिग्राम भिटामिन सी हुन्छ र भिटामिन सीको आवश्यकता प्रतिदिन ४० मिलिग्राम हुन्छ । भिटामिन सीको लागि जुस पिउँदै हुनुहुन्छ भने चिनीले गर्ने हानि एउटा सानो गिलासबाट नै धेरै हुन्छ ।
नुन
उच्च रक्तचापको जोखिम कम गर्न सोडियमको मात्रा कम भएको खाना खानुपर्छ । नुनको मात्रा नभएको जस्तो लाग्ने खानेकुरा केक, बिस्कुट, पाउरोटी लगायतका खानामा पनि थप नुनको प्रयोग भएको हुन्छ । एक वयस्कले प्रतिदिन ५-६ ग्राम भन्दा बढी नुन खानु हुँदैन । यो लगभग एक चम्चा बराबर हुन्छ ।
केही उत्पादनमा नुनको सट्टा तिनीहरूको लेबलमा सोडियम हुन्छ । यदि यस्तो लेबल छ भने नुनको मात्रा थाहा पाउन सोडियमको मात्रालाई २.५ ले गुणन गर्नुपर्छ । सोडियमको मात्रा प्रतिदिन २३ सय मिलिग्राम वा २.३ ग्राम भन्दा कम हुनुपर्छ ।
विश्व स्वास्थ्य संगठनको भर्खरैको प्रतिवेदनले भारतमा १८ करोड ८० लाख मानिसलाई उच्च रक्तचाप भएको देखाएको छ, तर ३७ प्रतिशतले मात्रै यसको बारेमा थाहा पाउँछन् । तीमध्ये ३० प्रतिशतले मात्रै उपचार गरिरहेका छन् ।
फ्याट
खाद्य प्याकेटहरूमा स्याचुरेटेड फ्याट र ट्रान्स फ्याटको मात्रा पनि हेर्नुपर्छ । स्वस्थ आहारका लागि स्याचुरेटेड फ्याट कम गर्नुपर्छ र ट्रान्स फ्याटको सेवनबाट पूर्णतया बच्नुपर्छ ।
स्याचुरेटेड फ्याट जस्तै बटर, नरिवल तेल आदि । जैतुनको तेल, तोरीको तेल भने अनस्याचुरेटेड फ्याट हुन् । उदाहरणका लागि चिप्सको १०० ग्रामको प्याकेटमा ५५५ किलो क्यालोरी हुन्छ । ५१ ग्राम कार्बोहाइड्रेट र ३५ ग्राम फ्याट हुन्छ । यदि तपाईं दिनभरिमा दुई हजार किलो क्यालोरी आहार लिनुहुन्छ भने त्यसमा २०–३५ प्रतिशत फ्याट अर्थात् ४४–७८ ग्राम बोसोको मात्र हुनुपर्छ । अब हेर्नुहोस्, चिप्सको एउटा प्याकेटबाट तपाईँले ५५५ किलो क्यालोरी र ३५ ग्राम फ्याट पाउनुभयो ।
विश्व स्वास्थ्य संगठनका अनुसार शरीरमा अत्यधिक बोसो जम्मा हुँदा धेरै रोगको जोखिम बढ्छ । जस्तै १३ प्रकारका क्यान्सर, मधुमेह, मुटु र फोक्सोसँग सम्बन्धित रोग र कहिलेकाहीं मृत्युको कारण पनि बन्ने गरेको छ । गत वर्ष मोटोपनका कारण विश्वभर २८ लाखको मृत्यु भएको थियो ।
फाइबर
एक सर्भिङमा ५०० ग्राम फाइबर भएको खानेकुरा खानुपर्छ । यदि १०० ग्राम उत्पादनमा ६ ग्राम भन्दा बढी फाइबरको मात्रा छ भने त्यो बढी हुन्छ । त्यसकारण जब तपाईं खानाको प्याकेट किन्न जानुहुन्छ, त्यसको लेबल पढ्न केही समय निकाल्नुहोस् ताकि तपाईंले आफ्नो र आफ्नो परिवारको लागि सही छनोट गर्न सक्नुहुन्छ ।
बीबीसीबाट
प्रतिक्रिया 4