नेपालको रैथाने खानामा जिब्रोलाई स्वादिलो पार्ने एउटा परिकारको नाम लिनुपर्यो भने निर्धक्क लिन सकिने नाम हो, तामा मिसाइएको परिकार । यसको परिकार बन्दा भान्छा बास्नाले मगमग हुन्छ । तरकारीको कुरा गर्ने हो भने यो अत्ति नै स्वादिष्ट हुन्छ ।
हामीमध्ये कतिपयलाई तामा स्वादकै लागि मात्र खाइन्छ भन्ने लाग्न सक्छ । तर त्यस्तो पक्कै होइन । तामामा औषधीय गुण हुने भएकाले तामा खाँदा स्वास्थ्यलाई फाइदा उत्तिकै पुग्ने गर्छ ।
यसमा के कस्ता तत्त्व पाइन्छ ? ती तत्वले के कति काम गर्छ ? भन्ने विषयमा पछिल्लो समय भएका अध्ययनहरुले पनि यस कुराको पुष्टि गरेको छ ।
बाँसको कलिलो मुनालाई तामा भनिन्छ । विश्वव्यापी रुपमा एक हजार ७०० बाँसका प्रजातिमध्ये एक सय प्रजातिको मुना खानयोग्य मानिन्छ । खानयोग्य भन्नुको अर्थ हो, स्वादिष्ट स्वादका साथै शरीरका लागि पनि हितकारी हुनु ।
अधिकांश बाँसको प्रजातिमा आफ्नै किसिमको गन्ध हुन्छ । त्यो गन्ध साइएनोजेनिक ग्लाइकोसाइड भन्ने तत्वमा क्यानाइड उत्सर्जन भएर आउँछ । जुन हाइड्रोजनको रुपमा बसेको हुन्छ । जुन विषालु हुन्छ ।
यसकै कारणले तामामा पिसाब जस्तो गन्ध हुन्छ । यो गन्ध वा विषाक्त हटाउनलाई उमालेर वा फर्मेन्टेसन गरेर मात्र खानयोग्य मान्न सकिन्छ । काँचै खाँदा यसले सासको गति असमान्य रुपमा बढाउने, रक्तचाप घटाउने र टाउको दुखाउने जस्ता साइड-इफेक्ट देखाउँछ ।
तामा नेपालको प्राय: सबै भूभागमा पाइन्छ । नेपालमा लगायत भारत, इन्डोनेसिया, चीन, कोरिया लगायत एसियाली देशहरुमा प्रख्यात छ । बच्चादेखि वृद्ध समेतलाई तामाको परिकारले लोभ्याउँछ ।
तामामा के कस्तो तत्त्व पाइन्छ ?
यो बाहेक तामामा फाइटोस्टेरोल, फेनोल, फलाभोनोइड, क्युआरइन, कार्बोहाईड्रेट, प्रोटिन, फ्याट, भिटामिन बी१ बी२ बी३ बी५ बी६, सी र ई तथा आइरन, म्यागनिज, पोटासियम र जिंक लगायत पौष्टिक तत्त्व पाइन्छ ।
फाइटोस्टेरोलले रगतमा कोलेस्टेरोलको मात्रालाई कम गर्छ । पक्षाघात र ह्रदयघात हुनबाट जोगाउँछ । नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार यसमा हुने फाइटोस्टेरोलले दैनिक उचित मात्रामा खाएमा सदाबहार युवाको जस्तो फूर्तिलो अनुभव गराउने, खेलाडीको जस्तो जोस र दीर्घायु बनाउँछ ।
फेनोल भन्ने तत्वले एन्टिअक्सिडेन्टको काम गर्छ । यसले छालाको कोषिकालाई फ्रि-रेडिकलको प्रभावबाट बचाउँछ । डीएनए हुनबाट सुरक्षा गर्छ ।
फलाभोनोइड यसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्ने भएकाले विशेषगरी टाइप-२ मधुमेह भएकाहरुका लागि फाइदाजनक मानिन्छ । यसमा इन्फालमेटरी गुण हुन्छ । जसले कुनै अंग सु्न्निएको छ भने निको पार्छ । ब्लड प्रेसरलाई पनि नियन्त्रणमा राख्छ ।
तामामा हुने काउमारिनले क्यान्सरसँग लड़ते क्षमता बढाउँछ । साथै यसले नसा र धमनीमा अति हुनबाट जोगाउँछ ।
यो मुटुमैत्री खाद्य हो । यसले कोलेस्ट्रोल नियन्त्रण गर्छ । यसमा फ्याट र सुगर अति नै कम हुनाले यसले कोलेस्ट्रोलको ‘एलडीएल’ स्तर र ‘लिपिड्स’ गर्छ । रक्तचाप कम गराउने कार्य गर्छ भने सापोनिन्ज र प्रोटिनले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, एमिनो एसिड, खनिज, भिटामिन बी१ बी२ बी३ बी५ बी६ , सी र ई तथा आइरन, म्यागनिज, पोटासियम र जिंकले शरीरको सम्पूर्ण स्वास्थ्य अवस्था सुधार गर्न मद्दत पार्छ । यसमा अति न्यून क्यालोरी हुनाको कारण यसले शरीरको ‘फ्याट लस’ वा बोसो घटाउनमा ठूलो सहयोग पुर्याउँछ ।
के कस्ता परिकार बन्छ ?
तामाको अचार, तामाको तरकारी र सुपको रुपमा खान सकिन्छ । विशेषगरी आलु र बोडीको झोलमा तामा पनि मिसाएर बनाउने तरकारीको स्वादले धेरैको जिब्रो लोभ्याउँछ । नेपालीको जिब्रोलाई यति लोभ्याएको छ, कि ‘आलु बोडी तरकारी तामा’ भनेर गीत समेत प्रख्यात छ ।
त्यसैगरी यसलाई सुक्खा भुटेर वा अचार बनाएर पनि खान सकिन्छ । तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ । खानाको सुरुवाती अर्थात् ‘एप्पिटाइजर’ सलादका रूपमा समेत यो उपयोगी गरिंदै आएको छ । हाम्रो भान्छादेखि नेपाली खाना पाक्ने ठूला-ठूला रेस्टुरेन्टमा यसको प्रयोग हुन्छ ।
तामामा हुने टनिन् हानिकारक
टानिनमा यो पौष्टिक आहारको रुपमा खान उपयुक्त छैन । किनकि यसले प्रोटिनलाई थिग्राउँछ । र, शरीरमा इन्जाइम बन्न रोक्छ । यसले भिटामिन र खनिजको कार्य क्षमतामा ह्रास ल्याउँछ । यसले गाला र आन्द्राको क्यान्सर निम्त्याउने पछिल्लो अध्ययनमा उल्लेख छ ।
तामा, आलु र बोडीको झोलले त धेरैको जिब्रो लोभ्याउँछ । त्यसैगरी यसलाई सुक्खा भुटेर वा अचार बनाएर पनि स्वाद फेर्न सकिन्छ । बाँसको तामालाई पारम्परिक खाद्य पदार्थको रुपमा उपयोग गर्न सकिन्छ ।
हानिकारक रासायनिक मिसाइँदैन
बाँसको तामा मात्र यस्तो तरकारी हो । जसमा कुनै रासयनिक मलखाँद, विषादी मिसाउन जरुरी छैन । अर्थात् यो शुद्ध, ताजा र पूर्ण जैविक हुन्छ ।
किनभने बाँसका लागि अतिरिक्त मल र विषादी चाहिंदैन । न सिंचाई गर्नुपर्ने झन्झट हुन्छ ।
तामा कस्तो ठाउँमा उब्जिन्छ ?
यो जुनसुकै ठाउँमा पनि सजिलै हुर्कने वनस्पति हो । पहाडी भेगमा पाइने तामा बहुउपयोगी र स्वादिष्ट हुन्छ । बाँस छिट्टै बढ्ने प्रजातिमा पर्छ । त्यसैगरी यसले वायुमण्डल शुद्धीकरणमा पनि खास भूमिका खेल्छ ।
२५ सय वर्षअघि नै तामा खाने प्रचलन थियो । जसको सुरुवात चीनबाट भएको पाइन्छ । भनिन्छ, खानाको अभाव भएपछि खोज्दै जाँदा बाँसको तामाको प्रगोग गरी हेर्दा स्वादिलो लागेपछि खान सुरु गरिएको थियो । बिस्तारै चिनियाँले स्वादका साथै औषधीय प्रभाव पनि यसमा हुने पत्ता लगाए ।
करिब दुई हजार वर्षदेखि आजका दिनसम्म पनि पारम्परिक चिनियाँ औषधीय सामाग्रीको रुपमा तामा प्रयोग गरिंदै आएको पाइन्छ । तिब्बती चिकित्सा पद्धतिमा यसलाई ‘तवाशीर’ भनिन्छ ।
प्रतिक्रिया 4