
३० असोज, काठमाडौं । पछिल्लो समय तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिन थालेको छ ।
आज बिहीबार पनि मुलुककै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा भित्रिएको अकबरे खुर्सानीमा अत्यधिक मात्रामा विषदी भेटिएको छ ।
मकवानपुरका दुई किसानबाट कालीमाटी बजारमा बेच्न ल्याइएका अकबरे खुर्सानीमा अत्यधिक मात्रामा विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
बिहीबार कालीमाटी बजार भित्रिएको अकबरे खुर्सानीमा ४९.०३२ र ५१.४४६ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो । केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।
परीक्षण क्रममा अकबरे खुर्सानीमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त अकबरे खुर्सानी उपभोग गर्न अयोग्य छ । यसअघि सोमबार मात्रै मकवानपुरबाटै ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत विषादी भेटिएको थियो ।
अर्गानोफस्फेटको दर ३५ भन्दा कम हुँदालाई मात्रै सरकारले उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाइएको छ।
यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ । यस्तै गएको बिहीबार (२३ असोज) मा मात्रै कालीमाटी तरकारी बजारमै बेच्न ल्याइएको हरियो फर्सी, काँक्रो र घिरौँलामा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।
यसअघि असार अन्तिम साता पनि पनि रायो साग, घिउसिमी लगायत तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।
प्रतिक्रिया 4