+
+
Shares

मल्चिङ प्रविधिसँगै फस्टाउँदै अकबरे खेती (तस्वीरहरू)

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ वैशाख १६ गते १०:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुमको छथर गाउँपालिका-१ मा मल्चिङ प्रविधि अपनाएर किसानहरूले अकबरे खुर्सानी खेतीबाट वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन्।
  • गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले ‘एक टोल, एक उत्पादन’ कार्यक्रममार्फत कृषकलाई मिनी टेलर, प्लाष्टिक पोखरी, टनेल र उन्नत बिउबिजन उपलब्ध गराइरहेको बताए।
  • सडक सञ्जाल विस्तारले छथरका किसानलाई उत्पादन ढुवानी र बजार व्यवस्थापनमा सहजता प्रदान गरी तरकारी निर्यातमा मद्दत गरेको छ।

१६ वैशाख, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका-१ मा पछिल्ला केही वर्षयता देखिएको कृषि रूपान्तरणले गाउँको मुहार मात्र होइन, किसानको जीवनशैली नै परिवर्तन गर्न थालेको छ ।

परम्परागत खेतीबाट सन्तोषजनक आम्दानी नहुँदा निराश बनेका किसानहरू अहिले आधुनिक प्रविधि र व्यावसायिक सोचतर्फ उन्मुख भएका छन्। । यही परिवर्तनको सशक्त उदाहरण बनेका छन-स्थानीय कृषक डिपी भट्टराई ।

धान, मकै र कोदो जस्ता परम्परागत बालीमा सीमित रहेका भट्टराईले समयको माग बुझ्दै अकबरे खुर्सानी खेती तथा बिरुवा उत्पादन सुरु गरे । सुरुका दिनमा लगानीको चुनौती, प्रविधिको अभाव र बजारको अनिश्चितता जस्ता कठिनाइहरू थिए । तर, उनले जोखिम मोलेर प्लाष्टिक मल्चिङ प्रविधि अपनाएपछि उनको खेतीले नयाँ मोड लियो ।

अहिले भट्टराई अकबरे खुर्सानी र बिरुवा बिक्रीबाट मात्रै वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। ‘सुरुमा लगानी अलि बढी लाग्छ, तर एकपटक मल्चिङ गरिसकेपछि मिहिनेत धेरै कम हुन्छ । झारपात कम उम्रिन्छ, पानी बचत हुन्छ र उत्पादन पनि राम्रो हुन्छ’, उनले भने । उनको सफलताले रोजगारीका लागि विदेश नै जानुपर्छ भन्ने सोचलाई समेत चुनौती दिएको छ ।

गाउँमै प्रविधिसँगै मेहनत गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन् । भट्टराईले अर्गानिक रूपमा अकबरे खुर्सानी तथा अन्य तरकारी उत्पादन गर्दै आएका छन् । गाईवस्तुको मूत्र संकलन गरी जैविक विषादी प्रयोग गर्ने उनको अभ्यासले उत्पादनलाई सुरक्षित र गुणस्तरीय बनाएको छ । अकबरे खुर्सानीसँगै गोलभेडा खेतीमा पनि उनले मल्चिङ प्रविधि प्रयोग गर्दै आएका छन् ।

मल्चिङ प्रविधिले माटोको चिस्यान कायम राख्ने, तापक्रम सन्तुलन गर्ने, झारपातको वृद्धि रोक्ने र बालीको उत्पादन वृद्धि गर्ने जस्ता फाइदा दिने भएकाले छथरका किसानहरूका लागि यो प्रविधि प्रभावकारी सावित भएको छ । प्लाष्टिक मल्चिङमा बिरुवा रोपिसकेपछि माटोमाथि प्लाष्टिक बिछ्याइन्छ, जसले आवश्यक वातावरण सिर्जना गरी बालीलाई स्वस्थ र द्रुत रूपमा बढ्न मद्दत गर्छ ।

छथरकै अर्की कृषक हेमकला आचार्यको अनुभव पनि उत्साहजनक छ । परम्परागत खेतीमा धेरै मेहनत लाग्ने, उत्पादन कम हुने र आम्दानी न्यून हुने समस्याले उनी दिक्क थिइन्। तर, मल्चिङ प्रविधि अपनाएपछि उनको खेतीप्रतिको दृष्टिकोण नै बदलिएको छ । ‘पहिले धेरै दु:ख हुन्थ्यो, आम्दानी पनि खासै हुन्थेन’, उनी भन्छिन, ‘अहिले मल्चिङ प्रविधिले काम सजिलो बनाएको छ, उत्पादन राम्रो भएको छ । घरखर्च धान्न मात्रै होइन, व्यवहार चलाउन समेत सजिलो भएको छ ।ु

गाउँमा युवाहरूको बढ्दो वैदेशिक पलायन र श्रमिक अभावका बीच यस्तो प्रविधिले किसानलाई ठूलो राहत दिएको छ । कम जनशक्तिमा पनि प्रभावकारी रूपमा खेती सञ्चालन गर्न सकिने भएकाले धेरै किसानहरू आधुनिक कृषि अभ्यासतर्फ आकर्षित भइरहेका छन् । स्थानीय सरकारले पनि यस परिवर्तनलाई थप गति दिन विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाका अनुसार किसानलाई मिनी टेलर, प्लाष्टिक पोखरी, टनेल, उन्नत बिउबिजन लगायतका सामग्री उपलब्ध गराइँदै आएको छ । ‘हामीले कृषकका समस्यालाई मध्यनजर गर्दै ‘एक टोल, एक उत्पादन’ कार्यक्रम अघि बढाएका छौं’, उनले भने, ‘एउटै टोलमा एउटै बाली उत्पादन हुँदा बजारीकरणमा सहज हुन्छ भन्ने उद्देश्य हो ।’

यस अभियानले छथरमा कृषि उत्पादन मात्र होइन, बजार व्यवस्थापनलाई पनि व्यवस्थित बनाउँदै लगेको छ । यहाँ उत्पादन हुने अकबरे खुर्सानीसँगै आलु, बन्दा, काउली, मटर, मुला, गाजर र गोलभेडा जस्ता तरकारीहरू स्थानीय बजारका साथै पूर्वी तराईका विभिन्न शहरहरूमा निर्यात हुँदै आएका छन् ।

सडक सञ्जालको विस्तारले पनि किसानलाई ठूलो राहत दिएको छ । गाउँ–गाउँसम्म सडक पुगेपछि उत्पादन ढुवानी गर्न सहज भएको छ भने राम्रो मूल्य पाइने हुँदा व्यापारीहरू किसानकै घरसम्म पुग्ने गरेका छन्। छथर गाउँपालिका तरकारी उत्पादनको उर्भरभूमिका रूपमा परिचित बन्दै गएको छ ।

यहाँका किसानहरूले अपनाएको मल्चिङ प्रविधि र व्यावसायिक सोचले कृषि पेशालाई सम्मानजनक र आकर्षक बनाउँदै लगेको छ । यसरी हेर्दा, मल्चिङ प्रविधिले छथरको कृषि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको छ ।

परम्परागत सोचबाट बाहिर निस्केर आधुनिक प्रविधि अंगाल्दा कृषि पेसा केवल जीविकोपार्जनको माध्यम मात्र नभई समृद्धिको आधार बन्न सक्छ भन्ने उदाहरण दिएको छ ।

   

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?