+

युट्युबमा भनेअनुसार तौल घटाउन भन्दै ‘बोरेक्स’ खाँदा किशोरीको ज्यान गयो

२०८२ माघ  २२ गते १३:०३ २०८२ माघ २२ गते १३:०३
युट्युबमा भनेअनुसार तौल घटाउन भन्दै ‘बोरेक्स’ खाँदा किशोरीको ज्यान गयो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तमिलनाडुको सेलुरकी १९ वर्षीया किशोरी कलैयारसीले युट्युबमा भेटिएको बोरेक्स सेवन गरेपछि स्वास्थ्य बिग्रिएर ज्यान गुमाएकी छन्।

युट्युबमा भेटिएको तौल घटाउने टिप्सलाई विश्वास गर्दा एक किशोरीको ज्यान गएको छ । घटना भारतको हो । भारतीय मिडियामा आएको खबरअनुसार तमिलनाडुकी १९ वर्षीया किशोरीले बोरेक्स पाउडर सेवन गर्दा ज्यान गुमाएकी हुन् ।

ज्यान गुमाउने किशोरी तामिलनाडुको सेलुर मीनाम्बलपुरम निवासी कलैयारसी हुन् । उनका बुबाआमाले ज्याला मजदुरी गरी परिवारको गुजारा चलाउँदै आएका थिए । कलैयारसी एक निजी कलेजमा पढ्थिन् । केही मोटो भएकाले उनी शरीरको तौल घटाउने उपाय खोजी गरिरहन्थिन् ।

गत जनवरीको दोस्रो साता उनले युट्युबमा आफूले खोजेको जस्तै एक भिडियो भेटिन् । बोरेक्स खाँदा यसले शरीरको बोसो पलाग्ने र छिट्टै स्लीम  बनाउने कुरा उक्त भिडियोमा बताइएको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार त्यसको भोलिपल्टै १७ जनवरीमा कलैयारसीले युट्युबमा दिइएको सुझाबअनुसार नजिकैको औषधि पसलमा गएर बोरेक्स किनेर खाइन् । त्यो खाएको एकछिनपछि देखि उनलाई बान्ता हुने, पखाला लाग्ने जस्ता समस्या देखिन थाल्यो । उनकी आमाले तुरुन्तै एक निजी अस्पताल लगिन् । त्यहाँ उपचार गरेर उनलाई घर ल्याइयो ।

साँझदेखि उनको स्वास्थ्य झन बिग्रिदै गयो । बेस्सरी पेट दुख्ने, पखाला लाग्ने र दिसामा रगत देखिने समस्या भयो । बान्ता हुने र दिसा लाग्ने क्रम निरन्तर चलिरह्यो । उनी सिथिल भइसकेकी थिइन् । राति ११ बजेतिर परिवारका सदस्यले उनलाई अस्पताल पुर्‍याए । तर अस्पताल पुग्दा उनको प्राण गइसकेको थियो ।

के हो बोरेक्स ?

यो एकखालको मसिनो सेतो पाउडर हो । यसलाई सोडियम बोरेटको नामले पनि चिनिन्छ । डिर्टजेन्ट जस्ता सरसफाइका सामग्री तथा कीराहरू नियन्त्रण गर्ने कीटनाशकहरूमा समेत यसको प्रयोग गरिन्छ । केही परम्परागत औषधिहरूमा थोरै मात्रामा बोरेक्स मिलाइन्छ । तर यो मात्रै त्यत्तिकै सेवन गर्नु भने मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

क्षारीय तथा अम्लीय तत्व समेत पाइने बोरेक्स कसैले झुक्किएर  सेवन गरेमा जतिसक्यो छिटो अस्पताल जान चिकित्सकको सुझाव छ ।

तौल बोरेक्स विषाक्त
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय