+

फोक्सोको वृत्तान्त : यो कस्तो हुन्छ, कसरी काम गर्छ ?

२०८२ फागुन  ४ गते ११:१३ २०८२ फागुन ४ गते ११:१३

स–साना संक्रमण वा चोटबाट फोक्सोमा भएको क्षति आफैं ठीक हुन सक्छ तर धूम्रपान, प्रदूषण वा दीर्घकालीन रोगहरूबाट भएको क्षति स्थायी हुन सक्छ

Shares
फोक्सोको वृत्तान्त : यो कस्तो हुन्छ, कसरी काम गर्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फोक्सो हाम्रो श्वासप्रश्वास प्रणालीको मुख्य अंग हो र शरीरमा अक्सिजन पुर्‍याउने तथा कार्बन डाइअक्साइड बाहिर निकाल्ने काम गर्छ।

तपाईंले एक मिनेटमा कति पटक सास फेर्नुहुन्छ ? सेकेन्डमा ? सायदै गन्ती गर्नुभएको छ । तपाईं सास नफेरी कति अवधिसम्म बाँच्न सक्नुहुन्छ ? यसबारे पनि सायदै सोधीखोजी गर्नुभएको छ ।

किनभने सास लिने र छाड्ने एक स्वचालित प्रक्रिया हो, जसका लागि तपाईं हामीले अतिरिक्त प्रयास गर्नुपर्दैन । तर, त्यही सास अचानक रोकिए के होला ? यसको जवाफ त तपाईंसँग पक्कै छ ।

जीवनका लागि नभई नहुने मात्र होइन, हरक्षण चाहिने सास अर्थात अक्सिजन लिन र छाड्नमा फोक्सोको मूख्य भूमिका हुन्छ ।

छातीभित्र स्पन्जजस्तै नरम संरचनामा फैलिएको फोक्सोले शरीरलाई अक्सिजन आपूर्ति गरेर ऊर्जा दिन्छ र विषाक्त कार्बन डाइअक्साइड बाहिर निकाल्छ ।

अक्सिजन भित्र्याउनेदेखि कार्बन डाइअक्साइड बाहिर निकाल्नेसम्मको निरन्तर प्रक्रियामा फोक्सोले कस्तो भूमिका खेल्छ ? दुईवटा फोक्सो किन आवश्यक छन् ? धूम्रपानले कति क्षति पुर्‍याउँछ ?

फोक्साको काम के हो र यसको संरचना कस्तो हुन्छ ?

फोक्सो हाम्रो श्वासप्रश्वास प्रणालीको मुख्य अंग हो । यो स्पन्ज जस्तो नरम र लचिलो तन्तुबाट बनेको हुन्छ र छातीको भित्र मुटुको वरिपरि रहेको हुन्छ । फोक्सोको बाहिरी भागमा पातलो झिल्ली हुन्छ जसले यसलाई सुरक्षा दिन्छ । यो दुई भागमा विभाजित छः दाहिने फोक्सो ‘अपर, मिडल र लोअर’ गरी तीन भाग हुन्छन् । देब्रे फोक्सोमा दुई ‘अपर र लोअर’ गरी हुन्छन् । देब्रे फोक्सो अलि सानो हुन्छ किनकि मुटुले देब्रेतिर बढी स्थान ओगट्छ ।

श्वासप्रश्वास प्रणाली नाक वा मुखबाट सुरु हुन्छ । हावा घाँटी हुँदै श्वासनलीमा प्रवेश गर्छ । त्यसपछि यो दुई भागमा बाँडिन्छ । दाहिने र देब्रे फोक्सोका लागि छुट्टाछुट्टै रूपमा हामीले भित्र तानेको हावा प्रवेश गर्छ। फोक्सोभित्र पुगेपछि श्वासनलीहरू रुखको हाँगाजस्तै २३ पटक विभाजित हुँदै स-साना नलीहरूमा पुग्छन् र ‘एल्भियोली(हावा थैलीहरू)मा पुगेर टुंगिन्छन् ।

एल्भियोली अंगुरको झुप्पाजस्ता पातला झिल्लीयुक्त तन्तुहरू हुन्, जसको वरिपरि मुटुबाट आएका रक्तनलीहरू माकुराको जालोजस्तो फैलिएका हुन्छन् । एक वयस्क व्यक्तिमा ३० करोड देखि ६० करोडसम्म एल्भियोली हुन्छन् ।

यदि फोक्सोलाई पूर्ण रूपमा फैलाएर हेर्ने हो भने, यसको सतहको क्षेत्रफल टेनिस कोर्ट जत्रो ७०–१०० वर्ग मिटर हुन्छ । फोक्सोको तौल १ देखि १.२ किलोग्राम हुन्छ । दाहिने अलि ठूलो र गह्रुंगो हुन्छ । फोक्सो शरीरको एक मात्र अंग हो, जुन पानीमा तैरिन सक्छ, किनकि यसभित्र सधैं हावा भरिएको हुन्छ । सास पूर्णरूपमा बाहिर पालिसकेपछि पनि करिब १ लिटर हावा यसभित्र रहन्छ ।

यसको मुख्य कार्य के हो ?

फोक्सोको मुख्य कार्य भनेको शरीरमा अक्सिजन पुर्‍याउने र कार्बन डाइअक्साइड बाहिर निकाल्ने हो, जसलाई ग्यास एक्सचेन्ज भनिन्छ । यो एल्भियोली र रक्तनलीहरूबीचको पातलो झिल्लीबाट सम्भव हुन्छ ।

बाहिरबाट आएको हावाबाट अक्सिजन सोसिएर रक्तसञ्चार प्रणालीमा प्रवेश गर्छ र शरीरका विभिन्न कोशिकाहरूमा पुगेर ऊर्जा प्रदान गर्छ । यसैगरी, शरीरका अंगहरूबाट उत्पादित कार्बन डाइअक्साइड विषाक्त ग्यास रक्तनलीहरू हुँदै एल्भियोलीमा आउँछ र श्वास छोड्दा बाहिर निस्कन्छ । यो प्रक्रिया निरन्तर चलिरहन्छ । फोक्सोले हावा फिल्टर गर्ने काम पनि गर्छ, जसले शरीरलाई संक्रमणबाट जोगाउँछ ।

यसमा कफ उत्पादन हुन्छ जसले धुलो, कीटाणु र प्रदूषकलाई फसाउँछ र खोक्दा बाहिर निकाल्छ । हामीले हरेक दिन ८ हजारदेखि ९ हजार लिटर हावा सास फेर्छौं, तर शरीरले यो हावाबाट अक्सिजनको मात्र ५ प्रतिशत मात्र प्रयोग गर्छ । फोक्सो मुटुसँग नजिकै जोडिएको हुन्छ, त्यसैले मुटुका समस्याहरूले पनि फोक्सोलाई असर पार्न सक्छ।

मानिसमा दुईवटा फोक्सो किन हुन्छ ? एउटा फोक्सो बिग्रियो भने के हुन्छ ?

दुईवटा फोक्सो हुनुको मुख्य कारण शरीरको सन्तुलन र सुरक्षा हो । दुवै फोक्सोले अलग–अलग काम गर्छन् तर एकअर्कालाई सहयोग गर्छन् । यदि एउटा फोक्सोमा समस्या जस्तै क्यान्सर वा संक्रमण आयो भने अर्कोले दुवैको भार वहन गर्छ, जसले जीवन बचाउन मद्दत गर्छ । यसले मुटु र अन्य अंगहरूसँग मिलेर बस्न सजिलो बनाउँछ ।

यदि एउटा फोक्सो पूर्ण रूपमा हटाइयो भने पनि मानिस जीवित रहन सक्छ, तर पूर्ण क्षमतामा होइन । बिग्रेको फोक्सोले संक्रमण, फोका जम्मा हुने वा रगत आउने जस्ता समस्या निम्त्याउन सक्छ, र यसको संक्रमण अर्को फोक्सोमा सर्न सक्छ किनकि दुवैबीच कुनै अवरोध हुँदैन ।

प्रदूषण वा अन्य बाह्य कारकहरूले दुवैलाई समान असर पार्छन्, तर केही रोगहरूले एकपट्टिमात्र असर गर्न सक्छन् । यदि बिग्रेको फोक्सोले धेरै समस्या दियो भने यसलाई शल्यक्रिया गरी हटाउनुपर्ने हुन सक्छ।

फोक्सोले कसरी हावा लिन्छ र फ्याँक्छ ?

हावा लिने प्रक्रियालाई श्वासप्रश्वास भनिन्छ, जसमा दुई चरण हुन्छन्– ‘इनहेलेशन’ हावा भित्र तान्ने र ‘एक्सहेलेशन’ हावा बाहिर फाल्ने । यो प्रक्रियालाई मस्तिष्कले नियन्त्रण गर्छ र प्रतिमिनेट १२–२० पटक हुन्छ ।

इनहेलेशनमा नाक वा मुखबाट हावा घाँटी हुँदै ट्राकिया हुँदै ब्रोन्काइमा विभाजित भएर फोक्सोका स–साना नलीहरू हुँदै एल्भियोलीमा पुग्छ । डायाफ्राम मसल तल झरेर छातीको ठाउँ बढाउँछ, जसले हावा भित्र तानिन्छ । एकपटक श्वास फेर्दा करिब आधा लिटर हावा भित्रिन्छ ।

एक्सहेलेशनमा डायाफ्राम माथि उठ्छ, छाती साँघुरो हुन्छ र फोक्सोबाट हावा बाहिर निस्कन्छ । यो प्रक्रियालाई भेन्टिलेसन पनि भनिन्छ । फोक्सोका दीर्घकालीन रोगहरूमा यो प्रभावित हुन्छ, जसलाई रेस्पिरेटरी फेलियर भनिन्छ । अचानक हुने समस्याहरू जस्तै: श्वासनलीमा खानेकुरा अड्किनु वा ट्युमरले पनि यसलाई प्रभावित पार्न सक्छ ।

फोक्सो बिग्रियो भने रिकभर हुने सम्भावना हुन्छ कि हुँदैन ? यसमा धूम्रपानको प्रभाव कस्तो पर्छ ?

फोक्सो बिग्रिने सम्भावना क्षतिको प्रकार र स्तरमा निर्भर गर्छ । फोक्सोमा केही हदसम्म पुनर्जीवन गर्ने क्षमता हुन्छ । स–साना संक्रमण वा चोटबाट यो आफैं ठीक हुन सक्छ, जस्तै फ्लु वा निमोनियाबाट भएको क्षति समयसँगै निको हुन सक्छ यदि उपचार र आराम गरियो भने । तर धूम्रपान, प्रदूषण वा दीर्घकालीन रोगहरू जस्तै सिओपिडी, फाइब्रोसिस वा क्यान्सरबाट भएको गम्भीर क्षति स्थायी हुन सक्छ र पूर्णरूपमा रिकभर नहुन सक्छ । यस्तो अवस्थामा चिकित्सकीय उपचार, औषधि वा सर्जरी आवश्यक पर्न सक्छ ।

धूम्रपान फोक्सोका लागि घातक छ । यसले श्वासनलीका मसिना रौँहरू र झिल्लीहरूलाई बिगार्छ, जसले धुलो, धुवाँ वा भाइरसहरूलाई फोक्सोभित्र पुग्न सजिलो बनाउँछ । यसबाट निमोनिया वा अन्य संक्रमणको जोखिम बढ्छ । धूम्रपान गर्नेहरूको फोक्सो कालो/खैरो, सूजनयुक्त र क्षतिग्रस्त हुन्छ । तर, धूम्रपान छोडेमा फोक्सोमा सकारात्मक प्रभाव पर्छ । फोक्सोमा विभिन्न डिफेन्स मेकानिजमहरू जस्तै नाकका रौँहरू हुन्छन्, जसलाई धूम्रपानले बिगारे पनि छोडेपछि धेरै हदसम्म मर्मत हुन्छ ।

पूर्ण रूपमा पुरानो अवस्थामा नफर्किए पनि, संक्रमणको जोखिम घट्छ र स्वास्थ्य सुधार्छ । जुनसुकै उमेरमा ९० वर्षसम्म पनि धूम्रपान छोडेमा फाइदा हुन्छ । स्वस्थ जीवनशैली, व्यायाम र प्रदूषणबाट बच्नेले रिकभरको सम्भावना बढाउँछ, तर यो व्यक्तिगत स्वास्थ्यमा निर्भर गर्छ । यदि समस्या छ भने डाक्टरसँग सल्लाह लिनु राम्रो हुन्छ ।

फोक्सोमा देखा पर्ने मुख्य समस्याहरू के–के हुन् ? र फोक्सोको स्वास्थ्य कसरी राख्ने ?

फोक्सोमा तत्कालीन समस्या जस्तै रुघाखोकी, नाक बन्द हुने, घाँटी खसखस गर्ने, ज्वरो, छाती दुख्ने, श्वासनलीमा समस्या देखिएर खोकी लाग्ने वा घ्यारघ्यार हुने हुन्छन् । दीर्घकालीनमा निमोनिया फोक्सोको इन्फेक्सन, दम अस्थमा, फोक्सो फाइब्रोसिस र फोक्सोको क्यान्सर मुख्य छन् । नेपालमा फोक्सोको संक्रमण, दम र क्यान्सर बढी देखिन्छन् । दमजस्ता रोगहरू बढ्दै गएपछि फोक्सोको क्षमता घट्छ, जसले दैनिक जीवन प्रभावित पार्छ ।

फोक्सोको स्वास्थ्य दैनिक हावाको गुणस्तर, खानपान र जीवनशैलीमा निर्भर हुन्छ । स्वस्थ फोक्सो गुलाबी रंगको हुन्छ । यसलाई स्वस्थ राख्न धूम्रपान पूर्ण रूपमा छोड्नुपर्छ, नियमित व्यायाम गर्नुपर्छ जसले फोक्सोको क्षमता बढाउँछ ।

प्रदूषणबाट बच्न मास्क लगाउनुहोस्, स्वच्छ हावा लिनुहोस्, सन्तुलित आहार र पर्याप्त पानी पिउनुपर्छ । यदि सास फेर्न गाह्रो, खोकी वा छाती दुख्ने समस्या भए तुरुन्त डाक्टरसँग जाँच गराउनु पर्छ । फोक्सो मुटु र अन्य अंगहरूसँग जोडिएको भएकाले समग्र स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ ।

(सुमित्रा लुइटेलसँगको कुराकानीमा आधारित)

फोक्सो हावा
डा. राजु पंगेनी
लेखक
डा. राजु पंगेनी
छातीरोग तथा सघन उपचार विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४४५१ एमडी, डीएम हाल काठमाडौं धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम