News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली चलचित्रका दिग्गज अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा शनिबार बिहान नर्भिक अस्पतालमा हृदयघातबाट निधन भयो।
- पोस्टमार्टम रिपोर्टअनुसार उनको मृत्युको मुख्य कारण मुटुको मुख्य नसा (कोरोनरी आर्टरी) मा ब्लकेज भएर आएको साइलेंट हार्टअट्याक हो।
- विशेषज्ञहरूले साइलेंट हार्टअट्याकमा सामान्य लक्षण नदेखिन सक्ने र नियमित स्वास्थ्य परीक्षणले मात्र जोखिम कम गर्न सकिने बताएका छन्।
काठमाडौं । नेपाली चलचित्र जगतका एक दिग्गज अभिनेता सुनिल थापाको शनिबार बिहान निधन भयो । ६८ वर्षीय थापालाई अचेत अवस्थामा थापाथलीस्थित नर्भिक अस्पतालमा लगियो ।
अस्पतालका अनुसार इसीजी परीक्षणले मृत्यु पुष्टि गरेको थियो ।
परिवारको अनुरोधमा पोस्टमार्टम पनि भयो ।
आइतबार आएको रिपोर्टले स्पष्ट पारेको छ, मृत्युको मुख्य कारण मुटुको मुख्य नसा (कोरोनरी आर्टरी) मा ब्लकेज भएर आएको हृदयघात ।
यो कस्तो समस्या ? कसरी यो मृत्युको कारण बन्न सक्छ ?
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको पोस्टमार्टम रिपोर्टअनुसार थापाको मृत्यु हृदयघातबाट भएको हो, जसमा मुटुको मुख्य रक्तनली (कोरोनरी आर्टरी) मा ब्लकेज मुख्य कारण देखियो । यो ब्लकेजले मुटुको मांसपेशीमा रगत र अक्सिजन आपूर्ति नै रोकियो ।
मुटुरोग विशेषज्ञ डा. अशोक श्रेष्ठले यसलाई ‘साइलेंट हार्टअट्याक’ भनेका छन् । यसको अर्थ हो, विना कुनै संकेत देखिने ‘मौन हृदयघात ।’
उनी भन्छन्, ‘धेरैजसो केसमा हृदयघातले स्पष्ट लक्षण देखाउँदैन । बिरामीले सामान्य थकान, हल्का छातीको असजिलो वा पेटको समस्या ठान्छन् । सुनिल थापाजस्ता सक्रिय व्यक्तिमा पनि यो ‘साइलेंट’ रूपमा विकास हुनसक्छ । पोस्टमार्टमले पुष्टि गरेको ब्लकेज देखाउनुको मतलब लामो समयदेखि प्लाक जम्मा भइरहेको थियो, तर उहाँलाई थाहा भएन ।’
स्नायुरोग विशेषज्ञ डा. राजीब झाकाले यस घटनाको सन्दर्भमा भने, ‘अचानक अचेत हुनु हृदयघात वा स्ट्रोक दुवैको लक्षण हुनसक्छ । तर पोस्टमार्टमले हृदय सम्बन्धी समस्या पुष्टि गरेको छ । हृदयघातले धड्कनको लय अनियमित भएपछि मस्तिष्कमा अक्सिजन पुग्न रोक्छ, जसले अचेत अवस्था निम्त्याउँछ । उनको केसमा पनि यही भएको हो ।’
‘मौन हृदयघात’ के हो ?
डा. श्रेष्ठका अनुसार साइलेन्ट हार्ट अट्याक भनेको त्यस्तो हृदयघात हो, जसमा सामान्य हार्ट अट्याकका तीव्र लक्षणहरू जस्तैः छातीमा तीव्र दुखाइ, सास फेर्न गाह्रो बनाउने, चिसो पसिना आउने हुँदैन, जसले गर्दा बिरामीलाई थाहै हुँदैन कि मुटुमा क्षति पुगेको छ ।
‘प्लाक फुटेर रगत जम्दा (थ्रोम्बस) नसा पूर्ण वा आंशिक रूपमा बन्द हुन्छ । मुटुको मांसपेशी (मायोकार्डियम)मा रगत र अक्सिजन पुग्न छोड्छ । यसलाई चिकित्सकिय भाषामा ‘मायोकार्डियल इन्फार्क्सन’ भनिन्छ । सुनिल थापाको जस्तै सक्रिय व्यक्तिमा पनि लामो समयदेखि प्लाक जम्मा भइरहेको हुन सक्छ, ’उनी भन्छन् ।
यो मौन वा साइलेंट भए पनि मुटुको मांसपेशीमा रक्तप्रवाह रोकिएर क्षति पुग्छ, जसलाई पछि इसीजी जाँचले मात्र पत्ता लाग्छ ।
यो मौन वा साइलेंट भए पनि मुटुको मांसपेशीमा रक्तप्रवाह रोकिएर क्षति पुग्छ, जसलाई पछि इसीजी जाँचले मात्र पत्ता लाग्छ ।
अध्ययनअनुसार करिब २०–४५ प्रतिशत हृदयघात साइलेंट हुन्छन् । यो विशेषगरी मधुमेह भएकाहरूमा बढी देखिन्छ । किनकि, स्नायु क्षति हुँदा यसले दुखाइ महसुस गर्न दिँदैन । उमेर बढ्दै जाँदा, महिलाहरूमा रजोनिवृति र उच्च रक्तचाप भएकाहरूमा पनि जोखिम उच्च हुन्छ ।
सुनिल थापाको केसमा जस्तै, व्यक्ति सक्रिय र व्यस्त जीवन बिताइरहेको हुनसक्छ । कलाकारको जीवनमा तनाव, अनियमित खाना, यात्रा र अनिद्रा सामान्य हुन्छ, जसले यो समस्या प्रत्यक्षरुपमा बाहिर आउँदैन ।
कसरी यो हृदयघात मृत्युको कारण बन्नसक्छ, भन्ने प्रश्नमा डा. अशोकको जवाफ यसरी दिन्छन् ।
यो प्रक्रिया यस्तो क्रममा अघि बढ्छ,
मुटुको मुख्य नसामा प्लाक फुट्छ र रगत जमेर पूर्ण वा आंशिक ब्लकेज बन्छ । यसले मुटुको मांसपेशीमा रगत र अक्सिजन पुग्न रोकिन्छ । मुटुको कोषहरू मौन रूपमा मर्न थाल्छन् ।
क्षतिग्रस्त मुटुले अब शरीरमा पर्याप्त रगत पम्प गर्न सक्दैन । रक्तचाप तल झर्छ र कार्डियोजेनिक शक सुरु हुन्छ । मुटुको पम्पिङ क्षमता निकै कमजोर भएपछि शरीरका सबै भागमा रगतको प्रवाह घट्छ ।
मुटुको विद्युतीय प्रणाली बिग्रिन थाल्छ । धड्कन अनियमित हुन्छ (भेन्ट्रिकुलर फिब्रिलेसन जस्ता घातक एरिदमिया) वा मुटु अचानक रोकिन्छ । यस अवस्थामा मस्तिष्कमा अक्सिजन पुग्न छोड्छ र व्यक्ति अचेत हुन्छ । मुटुले रगत पम्प गर्न नसक्दा शरीरका सबै अंगमा अक्सिजनको अभाव (हाइपोपरफ्युजन) सुरु हुन्छ ।
मस्तिष्क ४–६ मिनेटमै स्थायी क्षति पुग्न थाल्छ । मिर्गौलाले पिसाब बनाउन छोड्छ । कलेजोमा विषाक्त पदार्थ जम्मा हुन्छ । फोक्सोमा पानी जम्मा भएर सास फेर्न गाह्रो हुन्छ । आन्द्रा, छाला लगायत अन्य अंग पनि क्रमशः फेल हुन्छन् । यो अवस्थालाई मल्टि–अर्गान डिसफंक्शन सिन्ड्रोम भनिन्छ ।
एक अंग फेल हुँदा अरू अंगमा थप बोझ पर्छ र यो चक्र झन् छिटो चल्छ । मुटु पूर्ण रूपमा रोकिन्छ, रगत प्रवाह शून्य हुन्छ र मृत्यु हुन्छ ।

किन हुन्छ साइलेंट हृदयघात ? जोखिममा को ?
डा. श्रेष्ठका अनुुसार मुख्य कारण कोरोनरी आर्टरी डिजिज हो । मुटुलाई रगत पुर्याउने मुख्य नसा (कोरोनरी आर्टरी)मा कोलेस्ट्रोल, बोसो र अन्य पदार्थ जम्मा भएर ठोस पदार्थको थुप्रो ‘प्लाक’ बन्छ । समयक्रममा यो प्लाक कडा वा फुट्छ, रगत जम्छ (थ्रोम्बस) र नसा ब्लक हुन्छ ।
यो अवरोध गराउने मुख्य तत्व धूम्रपान, मदिरा, अत्याधिक मात्रामा ग्लुकोज हुनु, उच्चरक्तचाप र बढ्दो उमेर हुन् ।
डा. अशोक श्रेष्ठ भन्छन्, ‘ विशेषगरी ५० वर्ष नाघेका पुरुषहरू, अत्याधिक धूम्रपान गर्ने र मदिरा पिउने, लामो समय देखि अनियन्त्रित मधुमेह र उच्च रक्तचाप भएका, रजोनिवृति पछिका महिला र नियमित चेकअप नगर्नेहरूमा यो धेरै देखिन्छ ।’
डा. श्रेष्ठका अनुुसार धूम्रपान र उच्च रक्तचापले मुटुको नसा साँघुरो बनाउनुको साथै ‘कोलेस्ट्रोलको थुप्रो’ जम्मा गराउँछन् र ब्लकेज निम्त्याउँछन्, भने अत्याधिक मदिराले रक्तचाप अझ बढाउँछ र मुटुको धड्किने क्षमता कमजोर बनाउँछ ।
त्यस्तै, मधुमेहले स्नायु क्षति गराउँछ, जसले हृदयघातको सामान्य दुखाइ महसुस नै हुँदैन, त्यसैले यो मौन रूपमा विकास हुन्छ र समयै पत्ता नलाग्ने उनी बताउँछन् ।
‘यी जोखिम कारकहरू एकसाथ भएपछि साइलेंट हृदयघात ‘साइलेंट’ नै रहँदैन र अचानक घातक बन्छ । एकसाथ हुँदा नसा पूर्ण अवरुद्ध भएर मुटुको मांसपेशी मर्छ, धड्कन अनियमित हुन्छ, अचेत अवस्था आउँछ र छिटै मृत्यु हुनसक्छ, ’उनी भन्छन् ।
त्यसोभए, के विना लक्षण उपचार सम्भव हुनसक्दैन ?
साइलेंट हृदयघातको विशेषता नै यसको स्पष्ट लक्षण नदेखिनु हो । धेरैजसो मानिसमा यसले कुनै ठूलो चेतावनी दिदैन, जसकारण समयमै उपचार सम्भव नहुने डा. श्रेष्ठ बताउछन् ।
‘व्यक्ति सामान्य जीवनशैलीमा व्यस्त रहँदा हल्का थकान, हल्का पेटको समस्या वा सामान्य असजिलोलाई त्यति महत्त्व नदिएर बेवास्ता गर्न सक्छन् । तर वास्तविकमा, मुटुको रक्तनलीमा अवरुद्धको गति बढ्दै जान्छ र मांसपेशीमा पर्याप्त अक्सिजन नपुग्दा हृदयाघातको जोखिम तीव्र रूपमा बढ्छ । यस्तो अवस्थामा, व्यक्ति अचेत हुन्छ वा अचानक धड्कन अनियमित हुन्छ, तब मात्र समस्या देखिन्छ । दुर्भाग्यवश, धेरैजसो केसमा यो अवस्था अन्तिम घडीसम्म लक्षणविहीन रहँन्छ, र परिणामस्वरूप मृत्यु नै हुनसक्छ, ‘उनी भन्छन् ।
विशेषज्ञहरूको अनुसार जोखिम कारकहरू भएको व्यक्तिले यदि नियमित स्वास्थ्य परीक्षण, जीवनशैली सुधार, र कार्डियोलोजिस्टको परामर्श अपनाए, भने धेरै जीवन रक्षा गर्न सकिन्छ ।
ख्याल राख्नुपर्ने कुरा
डा. अशोक श्रेष्ठ भन्छन्, ‘मौन हृदयघात प्रायः चेतावनी नदेखिने भएकाले अचानक घातक बन्न सक्छ, तर यदि दीर्घ रोग र ४० वर्ष कटेकाहरुले ६ महिना वा एक वर्षमा मुटु परीक्षण गराउनुको साथै जीवनशैलीमा सुधार ल्यायो भने सम्भावित हृदयघातको जोखिमबाट बच्न सकिन्छ ।’
त्यसैले, सक्रिय जीवन बिताउने व्यक्तिहरूले नियमित कार्डियाक चेकअप, सन्तुलित आहार, व्यायाम, धूम्रपान र मदिराबाट टाढा रहनु अत्यन्त आवश्यक छ ।
प्रतिक्रिया 4