News Summary
Generated by OK AI. Editorially reviewed.- हाइपरड्रोसिसमा शरीरका पसिना ग्रन्थी अत्यधिक सक्रिय भएर आवश्यकता भन्दा धेरै पसिना उत्पादन गर्छन्।
- प्राइमरी हाइपरहाइड्रोसिस किशोरावस्था वा युवावस्थामा सुरु हुन्छ र हात, खुट्टा, काँखी र अनुहारमा सीमित हुन्छ।
- हाइपरहाइड्रोसिसको उपचारमा औषधि, बोटक्स इन्जेक्सन, आयोनटोफोरेसिस र गम्भीर अवस्थामा सर्जिकल प्रक्रिया प्रयोग गरिन्छ।
हातमा पसिना आउनु सामान्य कुरा हो । गर्मी लाग्दा, डर लाग्दा वा तनाव हुँदा पसिनाले हात भिज्नु स्वाभाविक हो । तर, चिसो हावामा बस्दा पनि हात सधैं भिजिरहन्छ भने यसलाई सामान्य मानिँदैन । यस्तो अवस्थालाई चिकित्सकीय भाषामा ‘हाइपरड्रोसिस’ भनिन्छ ।
हाइपरहाइड्रोसिसमा शरीरका पसिना ग्रन्थी अत्यधिक सक्रिय हुन्छन् र आवश्यकता भन्दा धेरै पसिना उत्पादन गर्छन् । यसले दैनिक जीवन, आत्मविश्वास र सामाजिक व्यवहारमा समेत असर पार्न सक्छ ।
हाइपरहाइड्रोसिस कस्तो समस्या ?
सामान्यतया शरीरले तापक्रम सन्तुलन राख्न पसिना निकाल्छ । तर हाइपरहाइड्रोसिसमा शरीरलाई त्यति आवश्यकता नहुँदा पनि पसिना ग्रन्थी अत्यधिक सक्रिय भइदिन्छन् । यसको कारणले हात सधैं भिजेको, चिप्लो वा चिसो महसुस हुन्छ । यसले दैनिक जीवनमा असहजता मात्र होइन, आत्मविश्वासमा पनि असर पुर्याउन सक्छ, जस्तै कसैसँग हात मिलाउँदा लाज लाग्नु, कागज समाउँदा भिज्नु वा मोबाइल प्रयोग गर्दा समस्या हुनु ।
हाइपरहाइड्रोसिस दुई प्रकारको हुन्छ, प्राइमरी र सेकेन्डरी ।
प्राइमरी हाइपरहाइड्रोसिस प्रायः किशोरावस्था वा युवावस्थामा सुरु हुन्छ र स्पष्ट रोगबिना देखिन्छ । यो प्रायः हात, खुट्टा, काँखी र अनुहारमा सीमित हुन्छ । सेकेन्डरी हाइपरहाइड्रोसिस भने कुनै अन्य स्वास्थ्य समस्या, हर्मोन असन्तुलन वा औषधिको प्रभावका कारण हुन्छ । यसमा शरीरका ठूला भागमा समेत पसिना आउन सक्छ । सही प्रकार पहिचान गर्न चिकित्सकको परामर्श आवश्यक हुन्छ ।
हातमा धेरै पसिना आउनुका सम्भावित कारण
हातमा अत्यधिक पसिना आउनुका विभिन्न कारण हुन सक्छन् । सबैभन्दा सामान्य कारण पसिना ग्रन्थीको अत्यधिक सक्रियता हो, जसले शरीरको तापक्रम सामान्य भए पनि पसिना उत्पादन गरिरहन्छ ।
वंशाणुगत कारण पनि महत्वपूर्ण हुन्छ । परिवारका सदस्यमा यस्तो समस्या भएमा अर्को पुस्तामा पनि देखिन सक्छ । मानसिक तनाव, चिन्ता, सामाजिक डर वा ‘स्टेज फियरले सिम्पेथेटिक नर्भस सिस्टम’ सक्रिय पार्छ, जसले तुरुन्तै हात चिसो र पसिनायुक्त बनाउँछ ।
मधुमेह भएका व्यक्तिमा रगतमा चिनीको स्तर घट्दा चिसो पसिना आउन सक्छ । थाइराइड ग्रन्थीको अत्यधिक सक्रियता (हाइपरथाइराइडिज्म) हुँदा शरीरको मेटाबोलिज्म बढ्छ र पसिना बढी आउँछ ।
रजोनिवृत्ति अर्थात् महिनावारी सुक्ने समयमा महिलामा हर्मोन परिवर्तनले पनि हात र शरीरमा पसिना बढाउन सक्छ । मोटोपना, मुटुसम्बन्धी समस्या, स्नायु प्रणालीको गडबडी तथा केही औषधिको साइड इफेक्टले पनि यस्तो समस्या निम्त्याउन सक्छ ।
कहिले चिन्तित हुने ?
हातमा पसिना आउनु सधैं गम्भीर रोगको संकेत नहुन सक्छ । तर केही अवस्थाहरूमा यसलाई गम्भीर रूपमा लिन आवश्यक हुन्छ । यदि अचानक अत्यधिक पसिना सुरु भयो, राति सुत्दा पनि हात भिजिरह्यो, वा दैनिक काम गर्न असहज हुने गरी समस्या बढ्यो भने चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ ।
विशेषगरी पसिनासँगै तौल घट्नु, मुटुको धड्कन तीव्र हुनु, अत्यधिक थकान, चक्कर आउनु वा हात काँप्नु जस्ता लक्षण देखिएमा थप जाँच आवश्यक हुनसक्छ । यदि छाती दुखाइ, श्वास फेर्न गाह्रो हुनु र चिसो पसिना एकैसाथ आयो भने यो आपतकालीन अवस्था पनि हुन सक्छ ।
मधुमेह भएका बिरामीमा अचानक पसिना आउनु लो ब्लड सुगरको संकेत हुन सक्छ, जसलाई तुरुन्त नियन्त्रण गर्नुपर्छ । बालबालिकामा अत्यधिक पसिना देखिएमा पनि बालरोग विशेषज्ञसँग सल्लाह लिनु उचित हुन्छ । समयमै जाँच गराउँदा गम्भीर समस्या भए पनि प्रारम्भिक चरणमै नियन्त्रण गर्न सकिन्छ ।
उपचार के–के छन् ?
हाइपरहाइड्रोसिसको उपचार समस्या कति गम्भीर छ भन्ने आधारमा फरक–फरक हुनसक्छ । सामान्य अवस्थामा चिकित्सकले पसिना ग्रन्थीको सक्रियता घटाउने औषधि प्रयोग गर्न सल्लाह दिन सक्छन् ।
यदि यसले काम नगरेमा केही औषधि दिइन्छ, जसले नर्भ सिग्नललाई नियन्त्रण गरी पसिना कम गर्छ । तर औषधि चिकित्सकको निगरानीमा मात्र लिनुपर्छ ।
बोटक्स इन्जेक्सन अर्को प्रभावकारी विकल्प हो । यसले पसिना उत्पादन गर्ने नर्भ सिग्नललाई अस्थायी रूपमा रोक्छ र केही महिनासम्म राहत दिन सक्छ ।
‘आयोनटोफोरेसिस’ नामक विधिमा हल्का विद्युत् प्रवाह प्रयोग गरेर हातको पसिना घटाइन्छ । अत्यन्त गम्भीर अवस्थामा सर्जिकल प्रक्रियाबाट पसिना नियन्त्रण गर्न नर्भलाई काटिन्छ, तर यो अन्तिम विकल्प हो ।
उपचार सुरु गर्नुअघि कारण पहिचान गर्नु अत्यन्त जरुरी हुन्छ, किनकि सेकेन्डरी कारण भए मूल रोगको उपचार गर्नुपर्ने हुन्छ ।
जीवनशैली परिवर्तन
जीवनशैली सुधारले हातको पसिना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । सास फेर्न मिल्ने हल्का कपडा लगाउनु, अत्यधिक मसलेदार खाना, क्याफिन र तातो पेय पदार्थ कम गर्नु उपयोगी हुन्छ ।
नियमित व्यायामले तौल नियन्त्रणमा राख्न मद्दत गर्छ र हर्मोन सन्तुलनमा सहयोग पुर्याउँछ । तनाव कम गर्न ध्यान, योग, गहिरो श्वास अभ्यास तथा पर्याप्त निद्रा आवश्यक हुन्छ।
यी उपायहरू अस्थायी राहतका लागि मात्र हुन् ।
दीर्घकालीन वा गम्भीर समस्या भएमा विशेषज्ञ चिकित्सकको सल्लाह लिनु नै सबैभन्दा सुरक्षित र प्रभावकारी उपाय हो ।
प्रतिक्रिया 4