News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा आयोडिनयुक्त नुनले विगतमा गलगाँड र क्रेटिनिज्म घटाएको छ, तर अहिले आयोडिनको अत्यधिक सेवनले थाइराइड समस्या बढेको छ।
- २०२२ को अध्ययनले घरेलु नुनमा मीडियन आयोडिन ५३.९ पीपीएम देखाएको छ, जुन विश्वस्वास्थ्य संगठनको सिफारिसभन्दा बढी छ।
- विशेषज्ञहरूले नुनमा आयोडिनको मात्रा ४० पीपीएमसम्म घटाउन र नियमित थाइराइड जाँच गर्न सुझाव दिएका छन्।
के तपाईंलाई थाहा छ ? हामीले साँझ–बिहान खाने नुनमा आयोडिन मिसाइएको हुन्छ । नुन आफैंमा आयोडिनको प्राकृतिक स्रोत होइन, तर नियमित खाइने भएकाले यसमा आयोडिन थपिएको हो ।
नुनमा आयोडिन किन मिसाइएको हो ?
आयोडिन शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व हो । यसको कमीले विभिन्न समस्या निम्त्याउँछन्, जसमध्ये प्रमुख हो- गलगाँड । विगतमा नेपालका पहाडी र हिमाली क्षेत्रमा यो रोग निकै सामान्य थियो । घाँटी फुलेका मानिस देख्नु अस्वाभाविक थिएन ।
गर्भावस्थामा आयोडिन कमीले बच्चामा बौद्धिक विकास कमजोर हुने, उचाइ नबढ्ने, बोल्न–हिँड्न ढिलो हुने जस्ता समस्या व्यापक थिए । यही समस्यालाई सम्बोधन गर्न आयोडिनयुक्त नुन कार्यक्रम सुरु गरियो, जुन नेपालको सफल जनस्वास्थ्य हस्तक्षेपमध्ये एक मानिन्छ ।
तर अहिले अवस्था उल्टिएको छ । आयोडिन कमीबाट मुक्त भएको नेपाल अब आयोडिनको अत्यधिक सेवनको चुनौतीतर्फ उन्मुख छ । चिकित्सक, पोषणविद् र अनुसन्धानकर्ताहरूले अतिरिक्त आयोडिनलाई थाइराइड समस्या बढ्नुको एक सम्भावित कारण मानेका छन् ।
आयोडिन के हो र किन आवश्यक छ ?
आयोडिन थाइराइड ग्रन्थीले उत्पादन गर्ने थाइराइड हर्मोन बनाउन अनिवार्य हुन्छ । यी हर्मोनले मेटाबोलिज्म, ऊर्जा उत्पादन, मस्तिष्क विकास, वृद्धि र शरीरको तापक्रम नियमन गर्छन् ।
सामान्य वयस्कलाई दैनिक १५०–३०० माइक्रोग्राम आयोडिन चाहिन्छ । गर्भवती र स्तनपान गराइरहेकी महिलालाई २२०–२५० माइक्रोग्राम आवश्यक पर्छ, किनकि यसले शिशुको मस्तिष्क विकासमा प्रत्यक्ष असर पार्छ ।
समुद्र नजिकका देशमा माछा, समुद्री सागसब्जीबाट प्राकृतिक आयोडिन प्राप्त हुन्छ । तर नेपाल जस्तो भित्री देशमा माटो र पानीमा आयोडिन कम हुने भएकाले नुनलाई मुख्य स्रोत बनाइएको हो ।
थाइराइड ग्रन्थी र आयोडिनको भूमिका
थाइराइड गर्दनमा रहेको पुतली आकारको ग्रन्थी हो, जसले थाइरोक्सिन र ट्राइआयोडोथाइरोनिन उत्पादन गर्छ । आयोडिन यिनको मुख्य घटक हो । कमी हुँदा ग्रन्थीले पर्याप्त हर्मोन बनाउन सक्दैन, जसले गलगाँड निम्त्याउछ ।
विपरीत, अधिक आयोडिनले ग्रन्थीको कार्य असन्तुलित बनाउँछ-जसलाई वुल्फ–चाइकोफ प्रभाव भनिन्छ, जसमा हर्मोन उत्पादन अस्थायी रूपमा रोकिन्छ ।
नेपालमा नुनमा ३०–४० पीपीएम आयोडिन पर्याप्त मानिन्छ, तर उत्पादनमा ५०–६० पीपीएम राखिन्छ । अन्तर्राष्ट्रिय अध्ययनले दैनिक ५०० माइक्रोग्रामभन्दा बढी आयोडिनले अटोइम्युन थाइराइडाइटिस बढाउने देखाएका छन् ।
नेपालमा आयोडिन कमीको इतिहास
१९६०–७० को दशकमा ४०–५० प्रतिशत जनसंख्यामा गलगाँड थियो । आयोडिनयुक्त नुनले यो दर घटाएर १५–३५ प्रतिशतमा झार्यो । क्रेटिनिज्म (गम्भीर कमीले हुने बौद्धिक अपाङ्गता) पनि घट्यो ।
हालको समस्या : अधिक आयोडिन
उत्पादनमा उच्च पीपीएम, सहज वितरण र फास्ट फुड तथा प्रशोधित खानाको बढी प्रयोगले आयोडिनको सेवन चाहिने भन्दा बढी भइरहेको छ । नेपालीहरू दैनिक २.५–५ ग्राम नुन खान्छन् । युरिन आयोडिन परीक्षणले अधिकता देखाएको छ ।
अधिक आयोडिनले हर्मोन उत्पादन ढिलो हुने, थाइराइडाइटिस, एन्टिबडी बढ्ने, हाइपोथाइराइडिज्म, गाँठो र क्यान्सरको जोखिम बढाउँछ ।
नेपाली अध्ययन
वरिष्ठ वैज्ञानिक, काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सेसका डा. वसन्त गिरी नेतृत्वको २०२२ अध्ययनले घरेलु नुनमा मीडियन आयोडिन ५३.९ पीपीएम देखायो । एनल्स अफ दी न्यूयोर्क एकेडेमी अफ साइन्सेजमा प्रकाशित उक्त अध्ययनअनुसार ८३.९ प्रतिशत नमुनामा अत्यधिक आयोडिन थियो ।
यो विश्वस्वास्थ्य संगठनको सिफारिसभन्दा अधिक हो । ९८.१ प्रतिशत घरमा आयोडिनयुक्त नुन प्रयोग हुन्छ, तर त्यो चाहिने भन्दा बढी हुँदा अटोइम्युन थाइराइडाइटिस बढाउने खतरा छ ।

चीन, कोरिया जस्ता देशमा पनि आयोडिन फोर्टिफिकेशनपछि अधिकताले हाइपोथाइराइडिज्म र अटोइम्युन समस्या बढाएको देखिएको अध्ययनहरूले देखाएका छन् ।
वैज्ञानिक गिरी भन्छन्, ‘अधिक आयोडिनले साइटोकाइन स्टर्म–इन्ड्यूस्ड ऑक्सिडेटिभ ड्यामेज, लिपिड ऑक्सिडेशन र थाइराइडाइटिस निम्त्याउँछ ।’
एक पोडकास्टमा उनीले नीति पुनरावलोकनको आवश्यकता जोड दिएका छन्, किनकि जिल्ला र मौसम अनुसार भिन्नता छ । अध्ययनले ९८.१ प्रतिशत घरमा आयोडिनयुक्त नुन प्रयोग भएको देखाएको छ, तर अधिकताले अटोइम्युन थाइराइडाइटिस बढाउने खतरा छ । उनी नीति निर्माताहरूलाई आयोडिन स्तर समायोजन गर्न सुझाव दिन्छन् ।

अन्तर्राष्ट्रिय अध्ययनले के भन्छ ?
आयोडिनको अत्यधिक सेवनले थाइराइड समस्याहरू निम्त्याउन सक्छ भन्ने विषयमा विभिन्न अन्तर्राष्ट्रिय अध्ययन भएका छन् ।
यो विषयमा मुख्य रूपमा एसियाली देशहरू जस्तै चीन र कोरियामा भएका अध्ययनहरू बढी छन्, किनकि त्यहाँ नुनमा आयोडिन मिसाउने कार्यक्रम पछि आयोडिनको अधिकता देखिएको छ ।
न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन, २००६ मा प्रकाशित एक अध्ययनमा चीनमा आयोडिनको हल्का कमी, पर्याप्त र अत्यधिक सेवनको तुलना गरिएको थियो । नतिजाले अत्यधिक सेवन भएका क्षेत्रमा हाइपोथाइराइडिज्म, सबक्लिनिकल हाइपोथाइराइडिज्म र अटोइम्युन थाइराइडाइटिस बढेको देखायो ।
एन्डोक्राइन रिभ्युज (२०२४) अनुसार आयोडिनयुक्त कन्ट्रास्ट माध्यमबाट अत्यधिक आयोडिन प्रवेश हुँदा हाइपोथाइराइडिज्म र हाइपरथाइराइडिज्मको जोखिम बढ्छ । अमेरिका र ताइवानका अध्ययनहरूले पनि यस्तै जोखिम देखाएका छन् ।
विशेषज्ञहरूको मत
अब नुनमा मिसाइने आयोडिनको मात्रा घटाउन जरुरी भइसकेको त्रिवि शिक्षण अस्पतालका मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. नरेश पराजुली बताउँछन् । ‘अधिक आयोडिनले अटोइम्युन ट्रिगर गर्छ, ‘उनी भन्छन्, ‘उत्पादनमा पीपीएम ४० सम्म घटाउनु, युरिन आयोडिन मापन नियमित गर्नु र ठूला ट्रायल आवश्यक छ ।’
व्यक्तिगत रूपमा नुन कम खाने, प्रशोधित खानेकुरा घटाउने र थाइराइड जाँच गराउन डा. पराजुलीको सुझाव छ ।

आफूहरूले गरेको अध्ययनले घरघरमा प्रयोग भइरहेको नुनमा अत्यधिक आयोडिन देखाएको डा. वसन्त गिरी बताउँछन् । यो विषयलाई नीतिगत रूपमा गम्भीरतापूर्वक लिनु आवश्यक रहेको उनको भनाइ छ ।
‘अब नुनमा मिसाइने आयोडिनको मात्रा पुनरावलोकन गरी वैज्ञानिक प्रमाणका आधारमा नयाँ मापदण्ड तय गर्नुपर्छ’ डा. गिरी भन्छन्, ‘नियमित युरिन आयोडिन मापन नगरी समस्या ठ्याक्कै बुझ्न सकिँदैन ।’
आयोडिन कमीबाट अधिकताको समस्या पुग्नुले नीति पुनरावलोकनको आवश्यकता देखाउने वरिष्ठ पोषणविद् भुपाल बानियाँ बताउँछन् ।
‘अधिक आयोडिनले वुल्फ–चाइकोफ प्रभाव, थाइराइडाइटिस र अटोइम्युनिटी ट्रिगर गर्छ’ उनी भन्छन्, ‘उत्पादनमा ४० पीपीएम पर्याप्त छ ।’ नुन सेवन कम गरेर थाइराइड र समग्र स्वास्थ्य सुधार्न गर्न सकिने उनको भनाइ छ ।

सरकारी प्रतिक्रिया
स्वास्थ्य मन्त्रालयले यो समस्यालाई गम्भीर रूपमा लिएको मन्त्रायको पोषण शाखा प्रमुख लिला विक्रम थापाले बताए । सानो अध्ययनका आधारमा निर्णय लिनुभन्दा राष्ट्रिय स्तरको तथ्यांक आवश्यक हुने उनको भनाइ छ ।
उनका अनुसार अहिले सूक्ष्म पोषक तत्वबारे सर्वेक्षण भइरहेको छ । यसको नतिजाका आधारमा नुनमा आयोडिनको मापदण्ड परिमार्जन गर्न सकिने उनले बताए । आम नागरिकले भने ‘थोरै नुन खानु’ भन्ने सन्देशलाई दैनिक व्यवहारमा उतार्नुपर्ने थापाको सुझाव छ ।
नुनमा आयोडिनको मात्रा न्यूनतम यति हुनुपर्छ भनेर सरकारले एउटा मापदण्ड तोकेको छ । मापदण्ड नियमन गर्ने काम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हो ।
तर पछिल्लो केही अध्ययनले नुनमा आयोडिनको मात्रा बढी भएको देखाएसँगै नुनमा आयोडिनको अधिकतम मात्रा पनि कति हुनुपर्छ भनेर तोक्ने भनेर छलफल भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले जानकारी दिए ।
२०७७ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न रिपोर्टका आधारमा नुनमा आयोडिन मिसाउने विषयमा पुनरावलोकन गर्नुपर्ने बताएको थियो ।
तर आयोडिनको मात्रा कम र बढीमा कति हुनुपर्छ भन्ने कुरा अहिलेसम्म छलफल मात्र भइरहेको तर कार्यान्वयन हुन भने बाँकी रहेको श्रेष्ठ बताउँछन् ।
समाधानका सुझाव
नेपालमा आयोडिन कमीबाट अधिकताको समस्या पुग्नु नीति सफलता र चुनौती दुवै हो । विभिन्न अध्ययनहरूले अधिक आयोडिनले थाइराइड विकार बढाउने पुष्टि गर्छन् । यस्तोमा नुनमा आयोडिनको मात्रा घटाउन सरकारी स्तरबाट नीति नियम बनाउनु पर्ने देखिन्छ ।
डा. नरेश पराजुली सुझाउँछन्, ‘आयोडिन कमी रोक्न सुरु गरिएको कार्यक्रम अत्यन्त सफल भयो, तर अहिले अवस्था फेरिएको छ । अब उत्पादन स्तरमै नुनमा मिसाइने आयोडिनको मात्रा घटाउन जरुरी भइसकेको छ । वितरण प्रणाली सुधार भएकाले ५०–६० पीपीएम राखिरहनुपर्ने अवस्था छैन, ४० पीपीएमसम्म पर्याप्त हुन्छ ।’
उनका अनुसार नेपाली खानपान शैलीलाई आधार मान्ने हो भने दैनिक आवश्यकता पूरा गर्न ३०–४० पीपीएम आयोडिन पर्याप्त छ। अहिले घरभित्र र बाहिर दुवै ठाउँमा आयोडिनयुक्त नुन प्रयोग हुँदा मात्रा बढेको छ । समाधान भनेको आयोडिनयुक्त नुन बन्द गर्नु होइन, नुन नै कम खानु हो । अचार, प्याकेट खाना र प्रोसेस्ड फुड घटाउँदा आयोडिन र सोडियम दुवै नियन्त्रणमा आउँछ ।
डा. वसन्त गिरी थप्छन्, ‘हाम्रो अध्ययनले घर-घरमा प्रयोग भइरहेको नुनमा अत्यधिक आयोडिन देखाएको छ । यो विषयलाई नीतिगत रूपमा गम्भीरतापूर्वक लिनु आवश्यक छ । अब नुनमा मिसाइने आयोडिनको मात्रा पुनरावलोकन गरी वैज्ञानिक प्रमाणका आधारमा नयाँ मापदण्ड तय गर्नुपर्छ । नियमित युरिन आयोडिन मापन नगरी समस्या ठ्याक्कै बुझ्न सकिँदैन ।’
सानो अध्ययनका आधारमा निर्णय लिनुभन्दा राष्ट्रिय स्तरको तथ्यांक आवश्यक हुने पोषण शाखा प्रमुख लिला बिक्रम थापा बताउँछन् । उनका अनुसार अहिले सूक्ष्म पोषक तत्व सर्वेक्षण भइरहेको छ । र, यसको नतिजाका आधारमा नुनमा आयोडिनको मापदण्ड परिमार्जन गर्न सकिन्छ । आम नागरिकले भने ‘थोरै नुन खानु’ भन्ने सन्देशलाई दैनिक व्यवहारमा उतार्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया 4