+
+
Shares

वाल्ट डिज्नी : जीवन, संघर्ष र सिर्जनात्मकता

रोचक कुरा, डिज्नीका पात्रहरू पर्दामा मात्र सीमित रहेनन् । मिकी, डोनाल्ड र स्नो ह्वाइटजस्ता पात्रका खेलौना, किताब र अन्य सामग्री बजारमा आए ।

मनिषा थापा मनिषा थापा
२०८२ फागुन ७ गते ११:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाल्ट डिज्नीले सन् १९२८ मा मिकी माउस पात्र सिर्जना गरी 'स्टीमबोट विली' फिल्ममार्फत एनिमेसन क्षेत्रमा क्रान्ति ल्याए।
  • उनले आफ्ना भाइ रोय डिज्नीसँग मिलेर वाल्ट डिज्नी कम्पनी स्थापना गरी विश्वकै ठूलो मनोरञ्जन कम्पनी बनाएका छन्।
  • सन् १९५५ मा उनले क्यालिफोर्नियामा डिज्नील्यान्ड पार्क निर्माण गरी थीम पार्कको नयाँ युग सुरु गरे।

वाल्ट डिज्नी एक प्रसिद्ध अमेरिकी एनिमेटर, फिल्म निर्माता, निर्देशक, उद्यमी तथा भ्वाइस एक्टर थिए । उनले एनिमेसन क्षेत्रमा ठूलो क्रान्ति ल्याए । सन् १९२८ मा मिकी माउस पात्र सिर्जना गरे, जसले सिन्क्रोनाइज्ड साउन्डसहितको छोटो फिल्म ‘स्टीमबोट विली’ मार्फत ठूलो सफलता हासिल गर्‍यो । उनले पहिलो लामो फिल्म ‘स्नो व्हाइट एण्ड द सेभेन ड्वार्फ्स’ निर्माण गरे ।

अन्य प्रमुख फिल्महरूमा पिनोकियो, फान्टासिया, सिन्ड्रेला, म्यारी पोपिन्स लगायत छन् ।

उनले आफ्ना भाइ रोय डिज्नीसँग मिलेर वाल्ट डिज्नी कम्पनी स्थापना गरे, जुन आज विश्वको सबैभन्दा ठूलो मनोरञ्जन कम्पनी बनेको छ । उनले डिज्नील्यान्ड पार्क (१९५५) निर्माण गरे, जसले थीम पार्कको नयाँ युग सुरु गर्‍यो । वाल्ट डिज्नी वर्ल्डको योजना पनि उनले नै सुरु गरेका थिए ।

उनको कल्पनाशीलता र नवीनताले विश्वभरि लाखौंलाई मनोरञ्जन मात्र होइन, प्रेरणा पनि दियो ।

कथा यसरी सुरु हुन्छ

सन् १९२७ को फेब्रुअरी महिनाको चिसो साँझ । वाल्ट डिज्नी न्यूयोर्कको एउटा सानो होटेलको कोठामा बसिरहेका थिए । उनको मन एकदम भारी र उदास थियो । मनमा अनेकौं कुरा खेलिरहेका थिए ।

यो विचलनको कारण थियो– काम गरे पनि हात खाली हुनु । वर्षौंदेखि मेहनत गरेर बनाएको उनको आफ्नो सबैभन्दा सफल पात्र ‘ओसवाल्ड द लकी र्‍याबिट’ को मूल्यांकन उनले पाएनन् ।

यो विचलनको कारण थियो– काम गरे पनि हात खाली हुनु । वर्षौंदेखि मेहनत गरेर बनाएको उनको आफ्नो सबैभन्दा सफल पात्र ‘ओसवाल्ड द लकी र्‍याबिट’ को मूल्यांकन उनले पाएनन् ।

उनी त्यसरात पैसा माग्न जाँदा वितरक चार्ल्स मिन्ट्जले कडा स्वरमा भने, ‘वाल्ट, तिम्रो स्टुडियोका सबै कलाकार मैले भर्ती गरिसकें । ओसवाल्ड पनि अब मेरो हो । तिमीले यसको नयाँ एपिसोड बनाउन पाउँदैनौ ।’

यो पात्र यूनिभर्सिटीका लागि बनाइएको थियो र वितरक चार्ल्स मिन्ट्जसँग सम्झौता गरिएको थियो । वाल्टलाई लाग्यो, संसार एकछिनमा तहसनहस भयो । उनले बनाएको पात्र, उनको सपना, सबै एकैपटक खोसियो ।

मिन्ट्जले ओसवाल्डको सर्वाधिकार यूनिभर्सललाई दिएको थियो, र वाल्टका धेरैजसो एनिमेटरहरूलाई आफ्नो स्टुडियोमा लगेका थिए । यो सरसर्ती हेर्दा चोरी जस्तो लाग्थ्यो, तर कानुनी रूपमा मिन्ट्ज सही थिए । किनभने सम्झौतामा पात्रको सार्वधिकार वितरकसँग थियो ।

वाल्टलाई भने यो ठूलो धोका लाग्यो । वर्षौंको मेहनत अचानक शून्यजस्तो देखियो ।

त्यसपछि मन गरुंगो बनाउँदै ट्रेनमा क्यालिफोर्निया फर्कँदै गर्दा वाल्ट झ्यालबाट बाहिर हेर्दै थिए । उदास मनले भरिएको थियो, तर हातमा एउटा सानो स्केचप्याड थियो ।

उनले भारी दिमाग, कल्पना शून्य बनाएर केही नसोची एउटा चित्र कोरे । चित्रको आकृति मुसाको बन्यो– गोलो कान, ठूलो मुस्कान, जिज्ञासु आँखा ।

उनकी श्रीमती लिलियनले त्यसलाई हेरेर हाँसिन् र भनिन्, ‘यो मोरटिमर माउसजस्तो देखियो, यसलाई एउटा राम्रो नाम राखौं ।’

उनले सोचेर नाम राखिन्– मिक्की माउस ।

उनको मुखबाट फुत्किएको त्यो नाम अहिले संसारभर चर्चित छ, जो लाखौं बच्चाका लागि रमाइलो पात्र बनेको छ ।

गरिबीमा बित्यो बाल्यकाल

वाल्ट डिज्नीको जन्म ५ डिसेम्बर १९०१ मा अमेरिकाको शिकागोमा भयो । उनको परिवार धनाढ्य थिएन । बुबा एलियास डिज्नी कडा अनुशासित, मेहनती र धार्मिक थिए । उनी क्यानाडाबाट अमेरिका आएका आप्रवासी थिए । परिवारमा पाँचजना बच्चा थिए, जसमा वाल्ट चौथो सन्तान थिए ।

वाल्ट चार वर्षको हुँदा परिवार मिसौरीको मार्सेलाइन नामको सानो गाउँमा सर्‍यो । उनी बाल्यकालदेखि चित्र कोर्थे । उनी दिनभर घुम्थे, गाई, घोडा, चराचुरुङ्गी हेर्थे र स्केच बनाउँथे ।

उनले चित्र कोरेको देखेर एक स्थानीय चिकित्सकले उनलाई घोडाको चित्र बनाइदिन लगाए । त्यसबापत पैसा पनि पाए । यो उनको जीवनको पहिलो कमाइ थियो । त्यही सानो घटनाले उनलाई थाहा भयो– चित्र बनाएर पनि पैसा कमाउन सकिन्छ ।

सन् १९११ मा परिवार मिसौरीबाट क्यान्सास सिटी सर्‍यो । वाल्ट र उनका दाजु रोय बिहान ३:३० बजे उठेर अखबार फोल्ड गरेर वितरण गर्थे । यसले वाल्टको कक्षा समय प्रभावित भयो र ग्रेड खस्कियो ।

स्कूलपछि वाल्ट क्यान्सास सिटी कला संस्थानमा शनिबार कक्षा लिन्थे । त्यहाँ उनले औपचारिक कला सिके ।

घाइते सैनिक हँसाउन चित्र बनाउथे

सन् १९१७ मा उनको परिवार शिकागो फर्कियो । वाल्टले हाइस्कूलमा कार्टुन बनाउँथे र स्कूल पत्रिकामा प्रकाशित गर्थे ।

पहिलो विश्वयुद्धले जीवन तहसनहस बनायो । वाल्ट अमेरिकी रेडक्रस एम्बुलेन्स कोरमा १७ वर्षको उमेरमा भर्ती भए । उनले १९१८ सेप्टेम्बरमा फ्रान्स पुगेर युद्धका घाइतेलाई मद्दत गरे ।

एम्बुलेन्स चलाउँदै गर्दा उनले युद्धको भयानक दृश्य देखे । त्यस समयमा उनले घाइते सिपाहीहरूलाई हँसाउन कार्टुन पात्रहरू बनाए । यो अनुभवले वाल्टलाई बाल्यकालदेखि नै वयस्क बनायो ।

पहिलो स्टुडियोको झट्का

सन् १९१९ मा वाल्टले क्यान्सास सिटीमा पेसमेन–रुबिन कमर्शियल आर्ट स्टुडियोमा काम गरे । त्यहाँ पत्रको हेडिङ, विज्ञापन, थिएटर कार्यक्रम र क्याटलग डिजाइन गर्थे ।

क्रिसमसपछि व्यवसाय कम भयो र स्टुडियोले वाल्ट र उबलाई जागिरबाट निकालिदियो । त्यसपछि दुवैले सन् १९२२ मा लाफ–ओ–ग्राम फिल्म्स सुरु गरे ।

तर मेहेनतको मूल्य कम थियो । वाल्टसँग जम्मा ४० डलर बाँकी थियो । स्टुडियो असफल भएपछि उनले सोचे, ‘मेरो सपना क्यान्सासमा मर्न सक्दैन ।’

मिक्की माउसको जन्म

मिक्की माउसको सिर्जना डिज्नीको जीवनको कठिन समयमा भयो ।

मिक्कीको पहिलो फिल्म प्लेन क्रेजी र ग्यालोपिन गाउचो आवाजविहीन थिए, किनभने त्यो सन १९२७ सम्म संसारमा ध्वनिसहितको भिडियो प्रविधि आविष्का भएकै थिएन ।

तेस्रो स्टीमबोट विली (१९२८ नोभेम्बर १८) ले ध्वनि थपेर क्रान्ति ल्यायो । वाल्टले मिक्कीको आवाज पनि दिए ।

Copyright for original Mickey Mouse persona to run out 1 January 2024 | Walt Disney Company | The Guardian

एनिमेसनमा क्रान्ति

मिक्की माउसपछि वाल्ट डिज्नीले ‘सिली सिम्फोनिज’ नामक नयाँ श्रृंखला सुरु गरे । यस श्रृंखलामा उनले संगीत र रङीन एनिमेसनलाई जोड्दै नयाँ प्रयोग गरे ।

‘फ्लावर्स एन्ड ट्रीज’ नामक छोटो एनिमेसनले पहिलो रङीन कार्टुनका रूपमा एकेडेमी अवार्ड जित्यो र एनिमेसनको सम्भावनालाई अझ फराकिलो बनायो ।

तर वाल्टको सपना अझ ठूलो थियो, लामो अवधिका एनिमेटेड चलचित्र बनाउने । सन् १९३४ मा उनले ‘स्नो व्हाइट एण्ड द सेभेन ड्र्वाफ्स’ निर्माणको घोषणा गरे । ९० मिनेट लामो कार्टुन फिल्म बनाउने कुरा सुनेर हलिउडका धेरैले हाँसे, ‘यति लामो कार्टुन कसले हेर्छ ?’

वाल्टको सपना अझ ठूलो थियो, लामो अवधिका एनिमेटेड चलचित्र बनाउने । सन् १९३४ मा उनले ‘स्नो व्हाइट एण्ड द सेभेन ड्र्वाफ्स’ निर्माणको घोषणा गरे । ९० मिनेट लामो कार्टुन फिल्म बनाउने कुरा सुनेर हलिउडका धेरैले हाँसे, ‘यति लामो कार्टुन कसले हेर्छ ?’

बजेट करिब १५ लाख डलर थियो, जुन त्यतिबेला अकल्पनीय रकम मानिन्थ्यो । यसका  लागि उनले आफ्नै घर धितो राखे । तीन वर्षसम्म करिब ७५० कलाकारले काम गरे । वाल्ट आफैं हरेक दृश्य अभिनय गरेर देखाउँथे । स्नो ह्वाइटको डर, सात बौनेहरूको हाँसो । यही क्रममा उनले मल्टिप्लेन क्यामेरा प्रयोग गरे, जसले एनिमेसनमा गहिराइ र जीवन्तता थप्यो । १९३७ डिसेम्बर २१ मा फिल्म प्रदर्शन भयो । दर्शकले ताली मात्र बजाएनन्, भावुक भएर रोए पनि ।

फिल्मले ८ करोड डलर कमायो । यो सफलताले एनिमेसनलाई गम्भीर कलाका रूपमा स्थापित गरायो । त्यसपछि ‘पिनोकियो’, ‘डम्बो’, ‘बाम्बी’ र फान्टासिया जस्ता फिल्म आए, जहाँ संगीत, भावना र प्रविधिको अद्भुत मिश्रण देखियो ।

पिनिकियो, काठको केटोको साहस र इमानदारीको कथा थियो । डम्बो, एउटा सानो हात्तीको उड्ने सपना ।

बाम्बी, प्रकृतिको सुन्दरता र जीवनको कठोर सत्य । हरेक फिल्ममा वाल्टको करुणा थियो ।

रोचक कुरा, डिज्नीका पात्रहरू पर्दामा मात्र सीमित रहेनन् । मिकी, डोनाल्ड र स्नो ह्वाइटजस्ता पात्रका खेलौना, किताब र अन्य सामग्री बजारमा आए । यसरी कल्पनाशीलता, प्रविधि र भावनाको संयोजनले वाल्ट डिज्नीले एनिमेसनलाई विश्वव्यापी क्रान्तिमा रूपान्तरण गरे ।

उनले बालबालिकाको मनोविज्ञान बुझेर सामग्री बनाउने कुरामा विशेष ध्यान दिए । बालबालिका केवल हाँस्ने–खेल्ने कथा मात्र होइन, भावना बुझ्ने संवेदनशील दर्शक हुन् भन्ने उनले बुझेका थिए ।  उनी भन्थे, ‘म बच्चाहरूका लागि फिल्म बनाउँदिनँ, सबैमा रहेको बच्चाका लागि बनाउँछु ।’

त्यसैले, उनका कथामा मित्रता, इमानदारी, साहस, करुणा र आशा जस्ता मूल्य समावेश हुन्थे ।

पात्रहरू डराउँथे, रोउँथे, फेरि उठ्थे, जसले बालबालिकालाई जीवनका भावनात्मक उतारचढावसँग परिचित गराउँथ्यो ।

एनिमेसनले बालबालिकालाई मनोरञ्जन मात्र दिएन, आत्मविश्वास र कल्पनाशीलता गराउने क्षमता पनि दियो । हरेक कथामा कठिनाइपछि आशा आउने सन्देश हुन्थ्यो, जसले साना दर्शकलाई सकारात्मक सोच दिन्थ्यो ।

यही कारण उनका सिर्जनाले बालबालिकाको भावनात्मक विकासमा पनि गहिरो प्रभाव पारे ।

प्रकृतिप्रतिको प्रेमबाट जन्मिएको ‘एनीमेसन’ थिम

प्रकृतिप्रतिको गहिरो प्रेम र जनावरप्रतिको आत्मीयताबाट वाल्ट डिज्नीको एनीमेसन संसारको थिम जन्मिएको मानिन्छ । उनी ग्रामीण परिवेशमा हुर्किए, जहाँ खेतबारी, वनस्पति र विभिन्न जनावरहरूसँग उनको बाल्यकाल बित्यो ।

घर वरिपरि रहेका घोडा, कुकुर, गाई, कुखुरा र वन्यजन्तुलाई उनले केवल हेरेनन्, उनीहरूको चाल, स्वभाव र भावनालाई सूक्ष्म रूपमा अवलोकन गरे । यही अनुभवले उनको कलात्मक दृष्टिलाई फराकिलो बनायो ।

डिज्नीका लागि जनावर केवल कथाका पात्र थिएनन्, उनीहरू भावनाले भरिएका जीव थिए ।

उनले विश्वास गर्थे, जनावर पनि खुसी, दुःख, डर र माया महसुस गर्छन् । यही भावनालाई उनले आफ्नो एनीमेसनमा मानवीय रूप दिए ।

यसले दर्शकलाई जनावर पात्रसँग सजिलै जोडिन मद्दत गर्‍यो । उदाहरणका रूपमा, मिकी माउस, बाम्बी वा डोनाल्ड डकजस्ता पात्रहरू केवल मनोरञ्जनका साधन मात्र होइनन्, मित्रता, संघर्ष र आशाका प्रतीक बने ।

त्यो समयको विश्व परिवेशमा, मानिस–केन्द्रित कथा भन्दा जनावरमार्फत कथा भन्नु बढी सार्वभौमिक र सहज थियो । जनावर पात्रले कुनै भाषा, जाति वा देशको सीमामा बाँधिनु पर्दैनथ्यो । यसले बालबालिका मात्र होइन, वयस्क दर्शकलाई पनि समान रूपमा आकर्षित गर्‍यो ।

यही कारण, उनका एनीमेसनहरू समयसँगै पुराना भए पनि भावनाले कहिल्यै पुराना भएनन् । प्रकृतिप्रतिको संवेदनशीलता र जनावरप्रतिको करुणाले नै उनको एनीमेसनलाई आजसम्म जीवित र मनछुने बनाएको छ ।

डिज्नीका एनीमेसन विश्वव्यापी कसरी भयो ?

वाल्ट डिज्नी, एनीमेसन विश्वभर लोकप्रिय हुनुको एउटा मुख्य कारण थियो, भाषाविहीन तर सबैले बुझ्ने प्रस्तुति ।

उनका प्रारम्भिक एनीमेसनहरूमा संवाद कम र दृश्यात्मक अभिव्यक्ति बढी हुन्थ्यो । पात्रहरूको हाउभाउ, आँखाको भाव, संगीत र गति नै कथा भन्नका प्रमुख माध्यम थिए । यसले गर्दा अंग्रेजी नबुझ्ने दर्शकले पनि कथाको भाव सजिलै बुझ्न सके ।

डिज्नीले बुझेका थिए कि भावना व्यक्त गर्न भाषा अनिवार्य हुँदैन । हाँसो, आँसु, डर, प्रेम र आशा जस्ता अनुभूति विश्वव्यापी हुन्छन् । जब मिक्की माउस मुस्कुराउँथ्यो वा कुनै पात्र दुःखी हुन्थ्यो, त्यो अनुभूति संसारका जुनसुकै देशका दर्शकले महसुस गर्न सक्थे ।

यही दृश्यात्मक कथन शैलीले उनको एनीमेसनलाई सीमाना पार गरायो ।

त्यो समय विश्वका धेरै देशमा अंग्रेजी नबुझ्ने दर्शक थिए । तर डिज्नीका एनीमेसन हेर्दा भाषा बाधा बनेन ।

संगीत, गति र दृश्यको संयोजनले कथा आफैं बोलेजस्तो लाग्थ्यो । यसले बालबालिकादेखि वृद्धसम्मलाई समान रूपमा आकर्षित गर्‍यो ।

यसरी, शब्दभन्दा भावनालाई प्राथमिकता दिने शैलीका कारण डिज्नीका एनीमेसन विश्वव्यापी बने । भाषा नबुझे पनि कथा बुझिने भएकाले उनका सिर्जना संसारभरका दर्शकको साझा अनुभव बने ।

डिज्नी ल्यान्ड

वाल्ट डिज्नी केवल कार्टुन निर्माता मात्र होइनन्, कल्पनालाई वास्तविक संसारमा उतार्ने स्वप्नदृष्टा पनि थिए ।

डिज्नील्याण्ड बनाउने प्रेरणा उनको व्यक्तिगत अनुभव, पारिवारिक भावना र युद्धपछिको निराशाजनक वातावरणबाट आएको मानिन्छ । दोस्रो विश्वयुद्धको समय अमेरिकासहित विश्वभर निराशा, थकान र भयको वातावरण थियो ।

युद्धका कारण मानिसहरू मानसिक रूपमा थाकेका थिए । वाल्ट डिज्नी पनि यस वातावरणबाट अछुतो थिएनन् । युद्धकालमा उनले आफ्ना स्टुडियोमार्फत सैनिकहरूको मनोबल बढाउने एनिमेसन र प्रचार सामग्री निर्माण गरे ।

युद्धको कठोरता र मानिसहरूको अनुहारमा देखिएको उदासीले उनलाई गहिरो रूपमा छोयो । उनलाई लाग्यो, ‘मानिसलाई हाँसो, आशा र परिवारसँग बिताउने खुसीको स्थान आवश्यक छ ।’

युद्धपछि समाजलाई मनोरञ्जन र आशाको खाँचो थियो । यही अवस्थाले उनलाई एउटा यस्तो ठाउँ बनाउने सोच दियो जहाँ मानिसहरूले केही समयका लागि दुःख, तनाव र युद्धको सम्झनाबाट टाढा हुन सकून् ।  यही कुरा उनको मनमा खेल्दै थियो,  त्यतिबेला उनले आफ्ना छोरीहरूलाई पार्क घुमाउन लैजाँदा अर्को प्रेरणा पाए ।

छोरीहरू खेलिरहेको बेला उनी बेन्चमा बसिरहन्थे र सोच्थे, ‘किन यस्तो ठाउँ नहोस् जहाँ बालबालिका र अभिभावक दुवै रमाउन सकून् ?’ र, यस्तो पार्क बनाउने घोषणा गरे । यो घोषणा गर्दा उनले ठूलो संघर्ष सामना गरे ।

लगानीकर्ताहरूले उनको विचारलाई अव्यावहारिक भन्दै अस्वीकार गरे । धेरैले भने, ‘कार्टुन बनाउने मान्छेले पार्क बनाउँछ ?’

पैसा जुटाउन उनले आफ्नो सम्पत्ति धितो राखे, टेलिभिजन कार्यक्रम बनाएर योजना प्रचार गरे, र ऋण लिनुपर्‍यो । आर्थिक दबाब र आलोचनाबीच पनि उनले सपना छोडेनन् । निर्माणको क्रममा पनि चुनौती कम थिएन ।

पार्कको डिजाइन सामान्य पार्कभन्दा फरक—कथाभित्र प्रवेश गरेजस्तो अनुभव दिने हुनुपर्थ्यो ।

वाल्ट आफैं निर्माण स्थलमा पुगेर साना–साना विवरणमा ध्यान दिन्थे । लागत बढ्नु, काम ढिलाइ हुनु र प्राविधिक समस्या आउनु सामान्य थियो । उद्घाटनको दिन पनि भीड अत्यधिक भयो, केही संरचना पूर्ण रूपमा तयार थिएनन् ।
तर,  उनले हार मानेनन् ।

अन्ततः सन् १९५५ मा क्यालिफोर्नियामा डिज्नील्यान्ड बनाई छाडे । यो खुलेपछि संसारले एउटा नयाँ अनुभव पायो, जहाँ मानिसहरू केही समयका लागि वास्तविक संसारको चिन्ता बिर्सेर कल्पनाको संसारमा हराउन सक्थे ।

डिज्नील्याण्ड केवल मनोरञ्जन पार्क थिएन ,  युद्धपछि थाकेको समाजलाई खुसी, आशा र पारिवारिक समय दिने वाल्ट डिज्नीको उपहार थियो ।

यस्ता छन्, उनका  केही एनिमेटेड फिल्म…

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?