News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको फ्लोरिडास्थित हारुन स्नीडले आफ्नो कम्पनीलाई १५ जना एआई एजेन्टमार्फत मानव कर्मचारीविहीन बनाएका छन्।
आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले गर्दा पछिल्लो समयमा विश्वका सानाठूला सबै प्रकारका प्रविधि कम्पनीहरूले कर्मचारी कटौती गरिरहेका छन् । धेरैजना मानिस कर्मचारी खटिएर गर्नुपर्ने त्यस्ता कामहरू एआईले सजिलो बनाइदिएको छ । यसले कामको गति धेरै गुणाले बढाएको मात्र हैन कम्पनीहरूको खर्च पनि उल्लेखनीय रूपमा घटाइरहेको छ ।
प्रविधि उद्योगमा एआईले मानव कर्मचारीलाई नै प्रतिस्थापन गरिरहेको परिप्रेक्षमा अमेरिकामा एउटा अनौठो अभ्यास भएको छ । अमेरिकाको फ्लोरिडास्थित प्रतिरक्षा प्रविधि उद्यमी हारुन स्नीडले यस क्षेत्रमा नयाँ प्रयोग गरेका छन् । स्नीडले आफ्नो कम्पनीलाई मानव कर्मचारीविहीन बनाएका छन् र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्टमार्फत काम गराएका छन् । उनले आफ्नो कम्पनीका मानव संसाधन, आपूर्ति श्रृंखला, कानुनी तथा गुणस्तर नियन्त्रणजस्ता महत्वपूर्ण विभागहरूको जिम्मेवारी फरक–फरक एआई एजेन्टहरूलाई सुम्पिएका छन् ।
१५ जना एआई एजेन्टको भर्चुअल टोली
स्नीडले यस प्रणालीलाई ‘द काउन्सिल’ नाम दिएका छन् । यसमा करिब १५ जना विशेष रूपमा प्रशिक्षित एआई एजेन्टहरू समावेश छन् । यस टोलीको केन्द्रमा एउटा ‘चीफ अफ स्टाफ’ एआई एजेन्ट छ, जसले प्राथमिकताहरू निर्धारण गर्छ र सुरक्षा तथा कानुनीजस्ता गम्भीर विषयहरू सबैभन्दा पहिले समाधान हुने कुरा सुनिश्चित गर्छ ।
स्नीडका अनुसार यस प्रणालीले हरेक हप्ता करिब २० घण्टाको समय बचत गरिदिन्छ । यसले गर्दा एक्लै संस्थापक भएर पनि व्यवसाय सञ्चालन गर्न धेरै सहज भएको उनी बताउँछन् ।
चाकडी नगर्ने डिजिटल कर्मचारी
यी एआई एजेन्टहरूको सबैभन्दा ठूलो विशेषता के हो भने तिनीहरू केवल आदेश मान्नका लागि होइन कमी कमजोरी खोज्नका लागि डिजाइन गरिएका छन् । हारुन स्नीडका अनुसार, एआई एजेन्टहरूलाई यसरी प्रशिक्षित गरिएको छ कि उनीहरू सधैं हजुर–हजुर भनेर चाकडी गर्दैनन् । कार्यस्थलमा भएका विभिन्न गल्तीहरू औँल्याइदिन्छन् र कम्पनी मालिक हारुनका विचारलाई समेत कहिलेकाहीँ चुनौती दिन्छन् ।
ओपन एआई र एनभिडियाको प्रविधिमा आधारित यी एजेन्टहरूले आपसमा भर्चुअल राउन्डटेबल बैठक गर्छन् र कुनै पनि प्रस्तावमाथि गहिरो छलफल गर्छन् ।
के मानिस पूरै प्रतिस्थापित हुन्छन् ?
एउटा पूरै कम्पनी एआई एजेन्टले चलाउन सम्भव देखिएता पनि यस्ता एआई एजेन्टहरू मानव मस्तिष्क र अनुभवको पूर्ण विकल्प भने हुन नसक्ने हारुन बताउँछन् । हारुनका अनुसार उनको लिगल एआई एजेन्टले कानुनी कागजात तयार गर्न त सक्छ तर जटिल कानुनी मामिलामा अन्तिम निर्णय लिन आज पनि उनलाई मानव वकिलको आवश्यकता पर्छ ।
त्यसैले स्नीड यसलाई हाइब्रिड भविष्यका रूपमा हेर्छन् । जहाँ एआईले मानिसलाई थकान हुने र दोहोरिरहने खालका कामहरू सम्हाल्नेछ जबकि मानिसले चाहिँ रणनीति निर्माण तथा जटिल समस्याको समाधानमा ध्यान केन्द्रित गर्न सक्नेछन् ।
एजेन्सी
प्रतिक्रिया 4