News Summary
Generated by OK AI. Editorially reviewed.- एलन मस्कले स्पेसएक्स र एक्स एआईलाई मर्ज गरी अन्तरिक्षमा स्याटेलाइट डेटा सेन्टर स्थापना गर्ने योजना अघि सारेका छन्।
संसारका सबैभन्दा धनी व्यक्ति तथा प्रविधि उद्यमी एलन मस्क आम मानिसले कल्पना नै नगरेका सपना देख्छन् । उनी सपना मात्र देख्दैनन् त्यसलाई पूरा गर्न लागिपरिहाल्छन् । उनै मस्कले फेरि एकपटक संसारको भविष्यलाई नयाँ दिशातर्फ मोड्ने तयारी गरिरहेका छन् ।
समाचार अनुसार मस्कले आफ्ना दुई प्रमुख कम्पनीहरू स्पेसएक्स र एक्स एआईलाई एकआपसमा मर्ज गरेर अन्तरिक्षमा स्याटेलाइट डेटा सेन्टर स्थापना गर्ने महत्वाकांक्षी योजना अघि सारेका छन् ।
यस कदमको मुख्य उद्देश्य गुगल र मेटा जस्ता दिग्गज प्रविधि कम्पनीहरूलाई एआईको प्रतिस्पर्धामा पछाडि पार्नु हो ।
एआई प्रविधिलाई अझै शक्तिशाली र प्रभावकारी बनाउन त्यसलाई पृथ्वीको सतहबाट माथि अर्थात् अन्तरिक्षसम्मै विस्तार गर्ने मस्कको योजना छ।
अन्तरिक्षणको एआई डेटा सेन्टर के हो ?
अन्तरिक्षमा आधारित डेटा सेन्टर हालसम्म प्रयोगमा नआएको नयाँ अवधारणा हो । यस योजनाअन्तर्गत अन्तरिक्षमा सयौँ सौर्य ऊर्जाबाट चल्ने स्याटेलाइटहरू प्रक्षेपण गरिनेछन्। ती स्याटेलाइटहरूले आपसमा जडित नेटवर्क निर्माण गर्नेछन्, जसले ग्रोक र च्याटजीपीटीजस्ता विशाल र जटिल एआई प्रणालीहरू सञ्चालन गर्न आवश्यक ऊर्जा र कम्प्युटिङ क्षमता उपलब्ध गराउनेछ।
पृथ्वीमा रहेका डेटा सेन्टरहरू सञ्चालन गर्न अत्यधिक विद्युत् आवश्यक पर्छ । त्यसमाथि, शक्तिशाली सर्भरहरू चिसो राख्न ठूलो रकम खर्च गर्नुपर्छ । तर अन्तरिक्षमा अवस्था फरक छ । त्यहाँ २४ सै घण्टा निःशुल्क रूपमा सूर्यको प्रकाश उपलब्ध हुन्छ ।
अनि करिब शून्य डिग्री हुने तापक्रमले मेसिनबाट निस्कने तापलाई प्राकृतिक रूपमा सोसिदिन्छ । यसले कुलिङ खर्च समेत उल्लेखनीय रूपमा घटाउँछ । विज्ञहरूका अनुसार अन्तरिक्षमा डेटा प्रोसेसिङ गर्दा लागत कम हुनुका साथै एआई प्रणालीहरू अझ छिटो र बढी प्रभाकारी बन्न सक्छन् ।
चुनौती र समय सीमा
यद्यपि यो योजना तुरुन्तै कार्यान्वयन हुने सम्भावना भने कम छ । अन्तरिक्ष विज्ञ र इन्जिनियरहरूका अनुसार यसलाई व्यवहारमा उतार्न अझै धेरै वर्ष लाग्नेछ । अन्तरिक्षमा तैरिरहेको फोहोरसँग ठोक्किने जोखिम, हानिकारक विकिरणबाट उपकरणलाई जोगाउने चुनौती र बिग्रिएका मेसिनहरूको अन्तरिक्षमै मर्मत गर्नु अत्यन्तै जटिल कार्य हो । साथै स्याटेलाइट प्रक्षेपणको लागत पनि निकै महँगो छ।
डोयचे बैंकको अनुमानअनुसार सन् २०२७/२८ सम्म परीक्षणका लागि मात्र साना डेटा सेन्टरहरू अन्तरिक्षमा पठाइनेछन् । ती सफल भएमा मात्र सन् २०३० पछि वृहत स्तरमा यो परियोजना सुरु हुन सक्नेछ।
मस्क किन अघि सरे ?
स्पेसएक्स हाल विश्वकै अग्रणी रकेट कम्पनीहरूमध्ये एक हो । स्टारलिंक परियोजनामार्फत उसले हजारौँ स्याटेलाइटहरू सफलतापूर्वक अन्तरिक्षमा पठाइसकेको छ । यही अनुभव र प्राविधिक क्षमताका कारण भविष्यमा एआईलाई अन्तरिक्षबाट सञ्चालन गर्ने दौडमा मस्कको कम्पनी सबैभन्दा बलियो दावेदार मानिन्छ ।
एलन मस्क स्वयम् अन्तरिक्षमा सूर्यको ऊर्जाबाट चल्ने डेटा सेन्टरलाई अत्यन्तै व्यावहारिक र दूरदर्शी कदम ठान्छन् । उनका अनुसार आगामी दुई तीन वर्षमै एआई सञ्चालनका लागि अन्तरिक्ष सबैभन्दा सस्तो विकल्प बन्न सक्छ ।
यो महत्वाकांक्षी योजनाका लागि पूँजीको पनि अभाव हुने देखिँदैन । रोयटर्सका अनुसार स्पेसएक्सले यसै वर्ष आफ्नो आईपीओ ल्याउन सक्छ । त्यसबाट कम्पनीको मूल्यांकन १ ट्रिलियन डलरभन्दा माथि पुग्ने अनुमान छ र यही पूँजी अन्तरिक्षमा आधारित डाटा स्याटेलाइट निर्माणमा लगानी गरिनेछ।
तीव्र प्रतिस्पर्धा
यद्यपि यो दौडमा एलन मस्क एक्लो भने छैनन् । अमेजनका संस्थापक जेफ बेजोसको कम्पनी ‘ब्लु ओरिजिन’ ले आगामी १०-२० वर्षमा अन्तरिक्षका डाटा सेन्टरहरू पृथ्वीभन्दा निकै सस्ता हुने दाबी गरिरहेको छ । एनभिडियाको समर्थन प्राप्त कम्पनी स्टारक्लाउडले शक्तिशाली एआई चिपजडित पहिलो स्याटेलाइटसमेत प्रक्षेपण गरिसकेको छ।
गुगलले पनि ‘प्रोजेक्ट सनक्याचर’ अन्तर्गत सौर्य ऊर्जाबाट चल्ने स्याटेलाइटहरूमा अनुसन्धान गरिरहेको छ । २०२७ सम्म पहिलो मोडेल ल्याउने तयारीमा छ । उता चीनले पनि आगामी पाँच वर्षभित्र आफ्नै स्पेस क्लाउड निर्माण गर्ने घोषणा गरिसकेको छ ।
यसले स्पष्ट संकेत गर्छ कि, भविष्यमा अन्तरिक्ष केवल स्याटेलाइट सञ्चारको माध्यम मात्र नभई एआई प्रविधिको विश्वव्यापी डिजिटल केन्द्र बन्नेछ।
एजेन्सी
प्रतिक्रिया 4