News Summary
Generated by OK AI. Editorially reviewed.- चिनियाँ अन्तरिक्ष स्टेशनमा गएको एउटा पोथी मुसाले अन्तरिक्षमै गर्भाधारण गरी ९ वटा स्वस्थ बच्चा जन्माएको छ।
- शेनझोउ-२१ मिसनअन्तर्गत ४ वटा मुसा ४०० किलोमिटर माथि रहेको स्पेस स्टेशनमा दुई हप्ता बसेका थिए।
- वैज्ञानिकहरूले अन्तरिक्षमा गर्भाधारण सफलताले मानव जातिको अन्तरिक्ष बसोबास सपनामा महत्वपूर्ण संकेत दिएको बताएका छन्।
चिनियाँ अन्तरिक्ष स्टेशनमा गएको एउटा पोथी मुसाले अन्तरीक्षमै गर्भाधारण गरी पृथ्वीमा फर्किएपछि ९ वटा स्वस्थ बच्चा जन्माएको छ । यो घटना अन्तरिक्षमा बसोबास गर्ने मानव जातिको सपनालाई यथार्थमा परिणत गर्ने सोचमाथिको महत्वपूर्ण संकेतका रूपम हेरिएको छ ।
छोटो अवधिको अन्तरिक्ष यात्राले स्तनधारी जीवहरूको प्रजनन क्षमतामा कुनै पनि नकारात्मक असर नपर्ने वैज्ञानिकहरूले दावी गर्दै आएका थिए । यस घटनाले यसअघिको दावीलाई पुन:पुष्टि गरेको वैज्ञानिकहरूको भनाइ छ ।
अन्तरिक्षमा मुसाको गर्भाधारण कथा
यो प्रयोग चीनको शेनझोउ २१ मिसनको हिस्सा थियो ।
गत अक्टोबर ३१ म चीनले शेनझोउ-२१ अन्तरिक्षयानबाट ४ वटा मुसालाई आफ्नो तियाङगोङ्ग स्पेस स्टेशनमा पठाएको थियो ।ती मुसाहरूको नामाकरण संख्यामा गरिएको थियो, जसको नाम ६, ९८, १५४ र १८६ राखिएको थियो ।
ती मुसाहरू पृथ्वीबाट करीब ४०० किलोमिटर माथि रहेको स्पेस स्टेशनमा दुई हप्ता बसे । त्यहाँ उनीहरूले माइक्रोग्रेभिटी (सुक्ष्म गुरुत्वाकर्षण), अन्तरिक्ष विकिरण तथा अन्तरीक्षका अन्य विभिन्न विषम अनि विशेष खालका स्थितिहरूको सामना गरे ।
दुई हप्ता अन्तरिक्षमा बिताएर नोभेम्बर १४ मा पृथ्वीमा फर्काइएका ती मुसामध्ये एउटा पोथी मुसाले गत डिसेम्बर १० मा ९ वटा स्वस्थ बच्चा जन्मायो । सो पोथीले अन्तरिक्षमै बस्दा आफूसँगै रहेको भाले मुसासँग संसर्ग गरी गर्भाधारण गरेको थियो ।

उक्त मुसाले जन्माएका ९ मध्ये मध्ये ६ वटा बच्चा हालसम्म पनि जीवित छन् । उनीहरूलाई मुसाले राम्रोसँग दूध खुवाइरहेको छ, बच्चाहरू सक्रिय छन् र शरीरको राम्रो विकास भइरहेको छ ।
मुसाको अन्तरिक्ष बसाइका चुनौती
चीनको उक्त मुसा गर्भाधारण मिसन सजिलो थिएन । शेनझेउ-२० अन्तरिक्षयानको प्रक्षेपणमा केही ढिलाइ हुँदा ती मुसाहरू तय गरिएको समयभन्दा बढी अन्तरिक्षमा बस्नुपरेको थियो । त्यसो हुँदा ती मुसाहरूलाई खानाको अभाव हुने खतरा बढ्यो ।
त्यसपछि पृथ्वीमा रहेको टिमले बिस्कुट, मकै, नट्स तथा सोया मिल्क लगायतका विभिन्न खानेकुराहरू परीक्षण गर्यो ताकि अन्तरिक्षमा रहेका मुसाहरूलाई सुरक्षित रुपमा खुवाउन सकियोस् । उक्त परीक्षणबाट सोया मिल्क मुसालाई दिनका लागि सबैभन्दा सुरक्षित ठानियो ।
अन्तरिक्षमा मुसालाई राखिएको वासस्थानमा बिहान ७ बजे बत्ती बालिन्थ्यो र बेलुकी ७ बजेर बत्ती निभाएर अँध्यारो बनाइन्थ्यो । यसो गर्दा उनीहरूले पृथ्वीमा जस्तै दिन-रात चक्रको महसुस गर्न पाउँथे ।
मुसाको खाना पौष्टिक थियो तर कडा थियो, किनकि मुसाको दाँतलाई कडा वस्तु चपाइरहनु आवश्यक हुन्थ्यो । हावाको बहावले रौँ र फोहोरलाई छुट्टै भाँडोमा लगिदिन्थ्यो । साथै एआई प्रणालीबाट मुसाका क्रियाकलाप, खानपान तथा निद्राको निगरानी गरिन्थ्यो ।
यो प्रयोग किन छ महत्वपूर्ण ?
मुसा जेनेटिक रूपमा मानिससँग धेरै मिल्दोजुल्दो हुन्छ। यसले छिटै बच्चा पैदा गर्दछ । तनावको अवस्थामा यसले मानिसले जस्तै प्रतिक्रिया दिन्छ ।
यदि अन्तरिक्षमा गर्भाधारण अर्थात् प्रजननमा कुनै ठूलो समस्या हुन्थ्यो भने त्यो पहिले मुसामै देखिने थियो । चिनियाँ मुसाले सफलतापूर्वक अन्तरिक्षमा भालेसँगको समागमबाट गर्धाधारण गर्यो र पृथ्वीमा आएर सामान्य ढंगले बच्चा जन्मायो ।
अब वैज्ञानिकहरूले अन्तरिक्षमा गर्भाधारण गरेका ती मुसाका बच्चाहरूको निगरानी गर्नेछन् । उनीहरूको वृद्धि विकास तथा प्रजनन क्षमतामा अध्ययन हुनेछ । साथै मातापिताको अन्तरिक्ष बसाइ र अन्तरिक्षमा भएको प्रजननले बच्चा तथा आगामी पुस्तामा कुनै लुप्त असर पो हुन्छ कि भन्ने विषयमा समेत गहन अध्ययन गरिनेछ ।
वास्तवमा यो प्रयोग सबै मानिसकै भविष्यका लागि गरिएको हो । मंगल ग्रहमा लामो यात्रा वा चन्द्रमामा स्थायी बस्ती बसाउनुअघि यो जान्नु जरुरी हुन्छ कि आखिर कम गुरुत्वाकर्षणमा गर्भ रहने, वृद्धि हुने तथा बच्चा जन्मिने प्रक्रिया सामान्य हुन्छ कि हुँदैन ? अन्तरिक्षका विकिरणहरूले डिम्ब तथा शुक्रकीटलाई कुनै असर पार्दछन् कि पार्दैनन् भन्ने कुरा पनि थाहापाउनु आवश्यक छ ।
हुनत एउटा मुसाले अन्तरिक्षमा गर्भाधारण गरी आमा बनेको कुराले मात्रै सबै प्रश्नको जवाफ दिँदैन । तर यसले अन्तरिक्षमा मानव प्रजनन पनि सम्भव रहेको कुरामा आशा जगाएको छ । यो मानव जातिको चन्द्रमा तथा अन्य ग्रहमा बसोबास गर्ने सपनाका लागि अहम् कदम मानिएको छ ।
एजेन्सी
प्रतिक्रिया 4