२० पुस, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट हप्ताको चार दिन नियमित हवाई उडान सञ्चालन हुँदै आएको छ । नेपाल एअरलाइन्सको जहाजमार्फत आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भइरहेका छन् ।
रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार पछिल्लो समय अधिकांश उडान तालिकाअनुसार सञ्चालन भइरहेका छन् । लामो समयसम्म उडान अनियमित हुँदा समस्या भोग्दै आएका जिल्लावासीका लागि अहिलेको नियमितताले हवाई यात्रामा उल्लेखनीय सहजता ल्याएको छ ।
गत शनिबार जहाज निर्धारित समयभन्दा केही ढिलो गरी बिहान ११ बजेर २९ मिनेटमा रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । नियमित तालिकाअनुसार काठमाडौंबाट बिहान ६:३० बजे र गुल्मीबाट काठमाडौंतर्फ बिहान ७:४५ बजे उडान हुने व्यवस्था छ ।
नियमित हवाई सेवाले जिल्लाको व्यापार, पर्यटन तथा समग्र सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने रेसुङ्गा नगरपालिका–१० का पूर्व वडाध्यक्ष पदमप्रसाद अर्यालले बताए ।
काठमाडौंसहित अन्य स्थानसँग गुल्मीलाई हवाई मार्गबाट जोड्ने उडानले सर्वसाधारण, बिरामी, सरकारी तथा निजी क्षेत्रका कर्मचारी र व्यवसायीहरूलाई ठूलो राहत मिलेको छ ।
विशेषगरी आकस्मिक उपचारका लागि राजधानी जानुपर्ने बिरामीहरूका लागि हवाई उडान जीवनरक्षक साधनका रूपमा रहेको स्थानीयको भनाइ छ ।
हाल काठमाडौं–रेसुङ्गा हवाई भाडा ७ हजार ५ सय रुपैयाँ र रेसुङ्गा–काठमाडौं ७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
दिउँसोको समयमा हावा चल्ने सम्भावना बढी हुने भएकाले सुरक्षालाई ध्यानमा राख्दै उडानहरू बिहानै सञ्चालन गरिँदै आएको छ ।
प्रतिक्रिया 4