+
+
Shares

आफ्नै खर्चमा दुई पटक अन्तरिक्ष पुग्ने अर्बपति बने नासाको नयाँ प्रमुख

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्बपति उद्यमी जेरेड आइज्याकम्यानलाई अमेरिकी सिनेटले ३० का विरुद्ध ६७ मतले नासाको प्रमुखमा नियुक्त गरेको छ।
  • आइज्याकम्यानले आफ्ना कम्पनीहरूको जिम्मेवारीबाट राजीनामा दिएर नासाको नेतृत्व निष्पक्ष रूपमा गर्ने बताएका छन्।
  • नासाले सन् २०२८ सम्म चन्द्रमामा पुनरागमन गर्ने लक्ष्य राखेको छ र निजी अन्तरिक्ष कम्पनीहरूको भूमिका बढाउने योजना छ।

अर्बपति उद्यमी जेरेड आइज्याकम्यान अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रमुखमा नियुक्त भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको उनको नियुक्तिलाई बुधबार सिनेटले ३० का विरुद्ध ६७ मतले अनुमोदन गर्‍यो । यससँगै अर्बपति उद्यमी, पाइलट तथा निजी अन्तरिक्ष यात्रीसमेत रहेका आइज्याकम्यान नासाको १५औँ प्रमुख बनेका हुन्।

४२ वर्षीय जेरेड सिफ्ट फोर पेमेन्ट नामक कम्पनीका प्रमुख हुन् । साथं उनी स्पेस एक्स कम्पनीको इन्स्पिरेशन-४ तथा पोलारिस डन अन्तरिक्ष मिसनका कमाण्डर समेत रहिसकेका छन्।

अर्बपति एलन मस्कसँग निकट रहेका आइज्याकम्यान विभिन्न चर्चा र विवादका बीच नासाको प्रमुख प्रशासकमा नियुक्त भएका हुन्।

व्यवसायीबाट नासाको नेतृत्वसम्म

डिजिटल भुक्तानी प्रोसेसिङ कम्पनी ‘सिफ्टफोर पेमेन्ट’ का संस्थापक रहेका इज्याकम्यानले सन् १९९९ मा १६ वर्षको उमेरमै उक्त कम्पनी स्थापना गरेका थिए । उनले व्यवसायिक सफलतासँगै निजी अन्तरिक्ष यात्रा पनि गरेका छन् । एलन मसक्को कम्पनी स्पेसएक्सले सञ्चालन गरेका दुई अन्तरिक्ष मिसन ‘इनइपाइरेसन ४’ तथा ‘पोलारसि डाउन’ मिशनमा उनले कमाण्डरको भूमिका निभाएका थिए।

व्यवसायिक अन्तरिक्षयात्रीबिना आम सर्वसाधारण सहभागी भएको विश्वकै पहिलो अन्तरिक्ष मिशनमा पनि उनी सहभागी थिए । साथै पैदल यात्रा अर्थात् स्पेस वाक गर्ने पहिलो निजी अन्तरिक्षयात्री पनि हुन् आइज्याकम्यान।

अन्तरिक्ष क्षेत्रमा पारम्परिक सरकारी आबद्धता र पृष्ठभूमिबिना नासाको उच्चतम नेतृत्वमा पुगेर उनले सबैलाई आश्चर्यमा पारिदिएका छन् ।

व्यक्तिगत जीवन

एक सफल उद्यमी, कुशल पाइलट तथा व्यवसायिक अन्तरिक्षयात्री रहेका आइज्याकम्यानको जन्म सन् १९८३ मा अमेरिकाको न्यूजर्सीमा भएको थियो । माध्यमिकस्तरको पढाइपश्चात् उनले सन् १९९९ मा शिफ्ट फोर नामक भुक्तानी कम्पनी खोलेका थिए । यो कम्पनी अहिले भुक्तानी प्रोसेसिङको क्षेत्रमा ठूलो नाम हो र यसले होटल, रेष्टुरेन्ट तथा रिटेल व्यवसायका लागि वर्षेनी अर्बौँ डलर भुक्तानी प्रक्रियाको व्यवस्थापन गर्दछ।

आइज्याकम्यानको कूल सम्पत्ति डेढदेखि दुई अर्ब डलरसम्म रहेको छ।

उनी एक निकै पोख्त पाइलट पनि हुन् र हजारौँ घण्टा जहाज उडाएका छन् । उनीसँग सैनिक जहाज उडाउने लाइसेन्स पनि छ । सन् २०१२ मा उनले ड्रेकन इन्टरनेसनल कम्पनी सुरु गरेका थिए । उक्त कम्पनीले अमेरिकी तथा नेटो देशका वायुसेनालाई तालिम दिन्छ।

उनी आफ्नै पैसा खर्च गरेर दुई पटक अन्तरिक्षमा पुग्ने व्यक्ति हुन् ।

सन् २०२१ मा सम्पन्न इन्सपरेसन फोर मिसन विश्वकै पहिलो आम सर्वसाधरण संलग्न भएको अन्तरिक्ष मिसन थियो । स्पेस एक्सको क्रू ड्रयागन क्याप्सुलमा जेरेड सहितका चारजना व्यक्ति पृथ्वीको कक्षमा तीन दिनसम्म घुमेका थिए ।

त्यसैगरी सन् २०२४ को पोलारिस डन मिसनमा जेरेडले आफ्नो पहिलो स्पेशवाक गरेका थिए । त्यो अन्तरिक्ष इतिहासकै पहिलो प्राइभेट स्पेस वाक थियो।

आर्टेमिस, मंगल र अन्तरिक्ष दौड

नयाँ प्रमुख आइज्याकम्यानले नेतृत्व सम्हाल्दै गरेको यस समयमा नासाले चन्द्रमामा पुनः मानव अवतरण गराउने तयारी गरिरहेको छ । सन् २०२६ अघि आर्टेमिस दोश्रो मिसनमार्फत् चन्द्रमाको कक्षमा अन्तरिक्षयात्रीलाई पुनः पठाउने लक्ष्य नासाले राखेको छ । त्यसपछिको मिसन आर्टेमिस तेश्रोमा चाहिँ अन्तरिक्षयात्रीलाई चन्द्रमाको सतहमै अतवरण गराइनेछ।

आइज्याकम्यानले भने नासाले चन्द्रमालाई प्राथमिकता दिँदै मंगल ग्रहतर्फ पनि अग्रसर हुने बताएका छन् । साथै उनले चीनसँगको अन्तरिक्ष प्रतिस्पर्धामा अमेरिका सदैव अगाडि रहनुपर्ने मत पनि राख्दै आएका छन्।

विवाद र प्रष्टिकरण

नासामा आइज्याकम्यानको नियुक्तिका सम्बन्धमा विभिन्न सकारात्मक, नकारात्मक चर्चा भइरहेको छ। खासगरी एलन मस्क र स्प्स एक्ससँगको उनको घनिष्ट सम्बन्धलाई धेरैले आंशका रूपमा हेरेका छन् ।

स्पेसएक्सले हाल स्टारशीप आधारित मून ल्याण्डर निर्माण जस्ता नासाका ठूला र महंगा ठेक्काहरू प्राप्त गरेको छ । नासाको नेतृत्वमा आइज्याकम्यानको आगमनले नासा र स्पेसएक्सको व्यवसायिक स्वार्थको मिलन हुनसक्ने र त्यसले आर्थिक मिलेमतो हुनसक्ने कतिपयको आशंका छ ।

सिनेट सत्रका क्रममा केही सांसदहरूले नासामा उनको नियुक्तिलाई स्वार्थको द्वन्दको रूपमा लिएका छन् । साथै उनीहरूले नासामा वित्तीय खुलासा सम्बन्धी थप पारदर्शीताको माग गरेका छन्।

उनले ट्रम्पको चुनावी राजनीतिक अभियानका लागि २० लाख डलर चन्दा दिएका कारणले पनि उनको आलोचना हुने गर्छ।

संसदमा सुनुवाइका क्रममा आइज्याकम्यानले अब आफूले आफ्ना कम्पनीहरूको जिम्मेवारीबाट राजीनामा दिएर निष्पक्ष रूपमा काम गर्ने बताएका थिए।

स्मरण रहोस् गतवर्ष समेत नासाको प्रमुखमा नियुक्त हुने चर्चाबीच ट्रम्प प्रशासनले उनको नाम फिर्ता लिएको थियो । त्यसबेला राष्ट्रपति ट्रम्प र एलन मस्कबीच विवाद चलिरहेको थियो । तर पछिल्लो समय ट्रम्प-मस्क मिलापपश्चात् आइज्याकम्यानको नाम पुनः अघि सारियो र नियुक्ति भयो ।

नासाको नयाँ अध्याय र प्राथमिकताहरू

यसै वर्ष जारी भएको अमेरिकी अन्तरिक्ष नीति निर्देशनमा उल्लेख भएअनुसार सन् २०२८ सम्ममा पुनः चन्द्रमामा पुनरागमन गर्नु नासाको प्रमुख प्राथमिकताका रूपमा रहेको छ। यसका लागि स्पेस एक्ससहित निजी अन्तरिक्ष कम्पनीहरूको भूमिका अझै सशक्त गरिने रणनीति तय गरिएको छ।

नयाँ प्रशासकका रूपमा आइज्याकम्यानले स्पेसएक्स र ब्लु ओरिजिन बीच चन्द्रमामा अवतरण गर्ने यान अर्थात मून ल्यान्डर विकासको प्रतिस्पर्धालाई समर्थन गर्ने संकेत पनि दिएका छन् । यसले उद्यमशीलतालाई जोड दिने नीतिलाई बल प्रदान गरेको विश्लेषण गरिएको छ।

आइज्याकम्यानले नासाको मिशनलाई मानव अन्वेषण, आर्थिक आविष्कार र विज्ञानको सीमा विस्तारको रूपमा हेर्ने बताएका छन् । यसले निजी–सरकारी साझेदारी, नयाँ प्रविधि र व्यापक अन्तरिक्ष अन्वेषणलाई जोड दिने उनको भनाइ छ।

तर आलोचकहरू भने आइज्याकम्यानको नीतिले नासाको वैज्ञानिक खोजमा विशिष्टता घटाउन सक्ने टिप्पणी गर्दछन् । विशेष गरी जलवायु विज्ञान र आधारभूत अनुसन्धानमा कटौती आउने उनीहरूको चिन्ता छ ।

(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?