१३ माघ, काठमाडौं/सियोल (दक्षिणकोरिया) । कोरियाको युनिफिकेसन चर्चबाट बाहिरिएका गोप्य पत्रहरूले विश्वभर राजनीतिक र सञ्चारमाध्यममा प्रभाव जमाउन चर्चको व्यापक संलग्नता रहेको खुलासा गरेका छन् । यस खुलासामा नेपालका राजनीतिक दल र पूर्व प्रधानमन्त्रीहरूसँगको सम्बन्ध देखाउने सूचना समेत समावेश छ ।
कोरियन सेन्टर फर इन्भेस्टिगेटिभ जर्नालिज्म (न्युजटापा) ले प्राप्त गरेका कागजातहरूमा उक्त विवादास्पद धार्मिक अभियानका तर्फबाट भएका पत्राचारहरू समावेश छन् । उक्त अभियानकी नेतृ ८२ वर्षीया हाक जा हान हुन् ।
उनी कुख्यात पूर्व राष्ट्रपति युन सुक येओलकी पत्नी र उनका निकट सहयोगीहरूलाई घुस दिएको आरोपमा सियोलमा मुद्दा सामना गरिरहेकी छन् ।
अनुसन्धानमा उल्लेख गरिएका पत्र र प्रत्यक्ष सन्देशहरूमा नेपालका तीन पूर्व प्रधानमन्त्रीहरूको नाम जोडिएको छ । जसमा नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराई छन् ।
न्युजटापाले प्राप्त गरेका कागजातहरूमा युनिफिकेसन चर्च (युनिफिकेसन पिस फेडरेसन) ले नेपाल परिवार दल र त्यसका संस्थापक अध्यक्ष एकनाथ ढकाललाई दिंदै आएको भनिएको आर्थिक सहयोग सम्बन्धी विस्तृत विवरण छ । ढकालले २०७४ सालदेखि एमालेसँग अविच्छिन्न चुनावी गठबन्धन गर्दै आएका छन् ।
आगामी २१ फागुनको निर्वाचनका लागि उनले माघ ४ गते चारबुँदे सहमति गरिसकेका छन् । सहमतिमा भनिएको छ– ‘नेकपा एमालेले उपर्युक्त समयमा नेपाल परिवार दलको प्रतिनिधित्व संघीय संसद् तथा प्रदेश सभामा गराउन सहयोग गर्ने ।’
२०७९ को निर्वाचनमा ढकाललाई एमालेले खस आर्य क्लस्टरबाट समानुपातिक सांसद बनाएको थियो ।
नेपालसँग सम्बन्धित बाहिरिएका यी पत्राचारहरू सन् २०१७ को आम निर्वाचनदेखि २०२२ को चुनावसम्मका हुन् । यसमा ढकाल र युनिफिकेसन चर्चका एसिया क्षेत्रीय अध्यक्ष योङ जोङ शिक बीच चुनावी प्रचारप्रसार र एमालेलाई सहयोग गर्न आकस्मिक बजेट माग गरिएका इमेलहरू छन् ।
रिपोर्टमा उल्लेख भएअनुसार योङलाई पठाइएको एउटा सन्देशमा भनिएको छ, ‘फन्डिङको हकमा म क्षमाप्रार्थी छु, तर न्यूनतम पाँच लाख डलर आवश्यक छ । साथै, निर्वाचन ७ डिसेम्बर २०१७ का लागि तय भएकाले मैले यो रकम जतिसक्दो चाँडो प्राप्त गर्न सके निकै आभारी हुनेथिएँ । शुरुको पाँच लाख डलर समग्र चुनावी खर्चमा प्रयोग भयो र थप पाँच लाख डलर परिवार दलको चुनावी गतिविधि र प्रमुख नेताहरूलाई सहयोग गर्नका लागि हो ।’
यो इमेलबाट ढकालले सवा सात करोड (पाँच लाख डलर) रुपैयाँ प्राप्त गरिसकेको र थप त्यति नै रकम माग गरेको बुझ्न सकिन्छ । त्यति मात्र होइन नेपाल परिवार दलको व्यवस्थापन खर्च र २०२२ को निर्वाचनको तयारीका लागि भन्दै प्रति महिना थप २९ लाख रुपैयाँ (२० हजार डलर) माग गरिएका पत्रहरू पनि छन् ।
यी आरोपहरूका बारेमा प्रतिक्रिया माग्दा नेपाल परिवार दलका एक नेताले विरोधीहरूले आफ्नो पार्टीलाई अनाहकका विवादमा तान्न खोजेको दाबी गरे । नेपाल परिवार दलका कोषाध्यक्ष गोविन्दनाथ मिश्रले राम्रो काम गर्ने जुनसुकै पार्टीलाई विदेशी शक्तिसँग जोडेर अफवाह फैलाउने गरेको उनको भनाइ छ ।

पूर्व मन्त्री समेत रहेका एकनाथ ढकालले पनि आफ्नो पार्टी र एमाले बीचको आबद्धतामा युनिफिकेसन चर्चको अनुदानसँग कुनै सम्बन्ध नभएको भन्दै खण्डन गरेका छन् । उनले सन् २०१६ मा ‘नेपाली टाइम्स’ अङ्ग्रेजी साप्ताहिकलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए, ‘युनिफिकेसन मुभमेन्टसँग जस्तै यो पार्टीको सम्बन्ध सबै धर्महरूसँग छ । नेपाल परिवार दल एक प्रकारको कन्जरभेटिभ पार्टी हो, जसको घोषणापत्रले पारिवारिक मूल्य-मान्यता, अन्तरधर्म संवाद र सद्भावलाई प्रोत्साहन गर्छ । प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने ११ वटा राजनीतिक दलहरू छन्। नेपाल परिवार दल तीमध्ये एउटा मात्र हो ।’
योङलाई पठाएको अर्को इमेलमा ढकालले २०१७ को एमालेको चुनावी अभियानलाई ‘निकै सफलतापूर्वक अघि बढिरहेको’ र ‘एमालेले ठूलो विजय हासिल गर्ने निश्चित देखिएको’ उल्लेख वर्णन गरेका छन् । ढकालले प्रत्यक्ष चुनाव लडेका थिएनन्, एमालेको समानुपातिक सूचीमा बसेका थिए ।
पछि २०७२ मा तत्कालीन प्रधानमन्त्री ओलीले ढकाललाई शान्ति तथा पुनर्निर्माण मन्त्री नियुक्त गरे ।
२०७४ मा समानुपातिकतर्फ एमालेको बन्दसूचीमा ढकालको नाम खस आर्य पुरुष क्लस्टरको पाँचौं नम्बरमा थियो । एमालेबाट समानुपातिकमा ४१ जना निर्वाचित हुँदा खस आर्यतर्फ एक नम्बरमा रहेका मुकुन्द न्यौपाने मात्र परे, ढकाल परेनन् ।
त्यसपछि ढकालले लेखेका थिए, ‘महिला उम्मेदवारहरूको अभावका कारण म समानुपातिक तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुने निश्चित छ । मैले मेरो निर्वाचनको सम्भावनाबारे पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेको छु । दुवैले आवश्यक परेमा मलाई समानुपातिक सूचीको पाँचौं स्थानबाट पहिलो वा दोस्रो स्थानमा सार्न सकिने कुरामा सहमति जनाउनुभएको छ ।’
२०७४ को निर्वाचन अघि नै एमाले र माओवादीले चुनावी तालमेल गरेका थिए । दुई दलले भारी बहुमत ल्याएपछि संयुक्त सरकार चलाए । २०७४ मा पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो ।
आफ्नो कार्यकालमा ढकालले काठमाडौंमा ‘एशिया-प्यासिफिक समिट २०१८’ आयोजना गरे, जसको अध्यक्षता युनिफिकेसन चर्च र युनिभर्सल पिस फेडरेशनका संस्थापक रेभरेन्ड सन म्योङ मूनकी पत्नी हाक जा हानले गरेकी थिइन् । यस अभियानमा यी दम्पतीलाई ‘ट्रू प्यारेन्ट्स’ भनिन्छ र हाक जा हानलाई ‘ट्रू मदर’ भनेर सम्बोधन गरिन्छ ।
काठमाडौंमा भएको उक्त सम्मेलनलाई ओलीले सम्बोधन गरेका थिए । यस सम्मेलनमा बर्मेली नेतृ आङ सान सुची र कम्बोडियाली प्रधानमन्त्री हुन सेन लगायत १५०० प्रतिनिधिहरू सहभागी थिए । उक्त भेला धर्म प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको भन्दै व्यापक आलोचना भएपछि ओलीले हाक जा हानबाट ‘आशीर्वाद’ लिने समारोहमा सहभागी हुन अस्वीकार गरेका थिए ।
त्यतिबेलादेखि नै नेपालको राजनीतिक शब्दकोशमा ‘होलीवाइन’ शब्द प्रवेश गर्यो जुन अहिले पनि यसमा संलग्न नेताहरूलाई व्यङ्ग्य गर्न प्रयोग गरिन्छ ।

एमालेले यी आरोपहरू सत्य नभएको जनाएको छ । एमाले प्रचार विभागका संयोजक मीनबहादुर शाहीले चुनावको मुखमा आफ्नो पार्टीलाई बदनाम गर्न खोजेको बताएका छन् ।
‘हाम्रो पार्टी र पार्टी अध्यक्ष ओलीको यस्तो कुरामा संलग्नता कल्पना पनि गर्न नसकिने कुरा हो’ शाहीले अनलाइनखबरसँग भने, ‘एमाले जस्तो लोकप्रिय पार्टीलाई बदनाम गर्ने षडयन्त्र शिवाय केही होइन ।’
एकनाथ ढकाल दुई पटक परिवार दल र एक पटक एमालेबाट सांसद बनेको प्रसंग उल्लेख गर्दै कोषाध्यक्ष मिश्रले भने, ‘स्थापना कालदेखि नै एमाले पार्टी र नेताहरूसँग हाम्रो पार्टीको राम्रो सम्बन्ध छ । त्यही सम्बन्धलाई निरन्तरता दिन फेरि सहमति गरेका हौं ।’
यसपटक भने आफ्नो पार्टीबाट कोही सांसद नबन्ने मिश्रले जानकारी दिए ।
युनिफिकेसन चर्चले भने यी बाहिरिएका कागजातहरू आधिकारिक नभएको र चर्चका अन्तर्राष्ट्रिय मुख्यालयका पूर्व महानिर्देशक युन योङ होले ‘आफ्नो प्रभाव देखाउन’ बनाएका अनौपचारिक रेकर्डहरू मात्र भएको बताइएको छ ।
युनिफिकेसन चर्चको जापानी शाखाले यसै हप्ता जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘प्रश्न उठाइएका रिपोर्टहरू भनिएका कागजात अध्ययन गर्दा, हामीले त्यसमा गलत तथ्यहरू थपिएको वा सामग्री परिमार्जन गरिएको पाएका छौं।’
नेपाल परिवार दलकी सह-महामन्त्री तथा दोस्रो संविधानसभाकी सभासद मिलनकुमारी राजवंशीले आफ्नो पार्टीले कुनै बाह्य स्रोतबाट आर्थिक सहयोग लिएको कुरा अस्वीकार गरिन् । अध्यक्ष ढकाल र अरू कसै बीच भएको भनिएको पत्राचारबारे आफूलाई जानकारी नभएको बताइन् ।
एमालेसँगको सहमति गर्दा उपस्थित राजवंशीले भनिन्, ‘गत भदौको विद्रोहपछि जेनजी लगायत विभिन्न दलसँग छलफल गरेका हौं । विचार र मुद्दा मिल्ने भएकाले एमालेसँगै सहमति भयो ।’
राजवंशीले झापा-५ मा केपी ओलीको पक्षमा चुनावी प्रचार गर्ने बताइन् ।
न्यूजतापाले सार्वजनिक गरेको विवरण अनुसार ढकाल र युनिफिकेसन चर्चले २०१७ को निर्वाचनलाई प्रभाव पार्न पर्दा पछाडिबाट काम गरेका थिए । ढकालको एउटा इमेलमा यसलाई संकेत गर्दै भनिएको छ, ‘हामीले आगामी वर्षको आम चुनावमा बहुमत सुरक्षित गर्न सक्यौं भने… हाम्रो चाहना सन् २०२० सम्म सबै सांसदहरूलाई दुई वर्षसम्म शिक्षित गराउने र ‘चोन इल गुक’ मा केन्द्रित संविधान बनाउने हुनेछ।’
‘चोन इल गुक’ को अर्थ ‘एक ईश्वरीय राज्य’ हुन्छ। यो सन म्योङ मून र उनको युनिफिकेसन चर्चले परिकल्पना गरेको एक आध्यात्मिक राष्ट्रको अवधारणा हो, जसले ‘ईश्वरीय अभिभावक’ मातहत विश्व एकताका लागि व्यक्तिगत स्वतन्त्रता भन्दा पारिवारिक मूल्य-मान्यतामा जोड दिन्छ।
इमेलहरूले के खुलासा गर्छन् भने चर्चले माधवकुमार नेपाल र केपी ओलीलाई मनाएर गठबन्धनका सबै १५० सांसदहरूलाई आफ्नो धार्मिक विश्वासबारे जानकारी दिन बैंकक् लैजाने योजना बनाएको थियो। त्यो भ्रमण सफल हुन सकेन, तर चर्चले यसअघि नै २० जना कम्युनिष्ट सांसदहरूलाई ‘सिद्धान्त शिक्षा’ (principle education) का लागि फिलिपिन्स र थाइल्याण्ड लगिसकेको थियो।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कोरिया जाने–आउने विषयलाई कुनै धार्मिक संस्थासँग जोडेर प्रचार गर्नु गलत भएको बताए । उनले अनलाइनखबरसँग भने, ‘कोरिया जाँदा युनिफिकेसन चर्चसँग जोड्नेले मुस्लिम देशमा जाँदा मुस्लिम भयो भन्ला, अर्को देशमा जाँदा बुद्धिस्ट भयो भन्ला त्यस्तो कुराको पछि लाग्नुहुँदैन ।’
योङ जोङ शिकलाई पठाइएको अर्को इमेलमा ढकालले प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईलाई ‘कम्युनिष्ट विचारधाराबाट मोहभंग भएको’ व्यक्तिका रूपमा चित्रित गरेका छन् र उनले ‘सबै साना दलहरूलाई एकीकृत गरी परिवार दलमा आबद्ध गराउने’ प्रस्ताव राखेको उल्लेख गरेका छन् । भट्टराई प्रधानमन्त्री भएका बेला ढकाल गरिबी निवारण तथा सहकारी मन्त्री भएका थिए ।

प्रगतिशील लोकतान्त्रिक पार्टीकी नेतृ तथा डा. भट्टराईकी छोरी मानुषी यमी भट्टराईले एकनाथ ढकालले आफ्नो बाबाको नाम दुरुपयोग गरेको हुनसक्ने दाबी गरिन् । उनले भनिन्, ‘एकनाथ ढकालले पूर्व प्रधानमन्त्रीज्यूको नाम दुरुपयोग गरेको हुनसक्छ । बाबाको संलग्नताको कुरा त कल्पना पनि गर्न सकिंदैन ।’
नेपालका कम्युनिष्टहरूसँग सम्बन्ध भए तापनि युनिफिकेसन चर्च विश्वभर ‘द वाशिङ्गटन टाइम्स’ जस्ता सञ्चारमाध्यमहरूको स्वामित्व मार्फत अनुदारवादी (कन्जरभेटिभ) राजनीतिलाई सहयोग गर्नका लागि चिनिन्छ।
संस्थापक सन म्योङ मून कोरियाली एकताको पक्षमा गहिरो गरी लागेका थिए र यस चर्चले उत्तरकोरियासँग सम्बन्ध भएका एशियाली मुलुकहरूसँग मिलेर काम गर्दै आएको छ।
कागजातहरूले देखाए अनुसार युनिफिकेसन चर्चले तत्कालीन एमाले अध्यक्ष माधवकुमार नेपाललाई प्योङयाङ लैजाने प्रयास गरेको थियो। तर, दक्षिण कोरियाली, जापानी र अमेरिकी राजदूतहरूको दबाबका कारण नेपाल सरकारले उनलाई सो भ्रमण रद्द गर्न लगाएको थियो। माधवकुमार नेपालले किम जोङ उनलाई भेट्ने अडान राखेका थिए, तर उत्तर कोरियाली पक्षले भने त्यो सम्भव नभएको बताएको थियो।
तर तर २०७८ मा एमाले विभाजित भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएपछि, उनले कोरियाली एकताका लागि काम गर्ने उद्देश्यले भ्रमणको योजना बनाउन एकनाथ ढकालको उपस्थितिमा उत्तर कोरियाली राजदूतलाई भेटेका थिए । सन् २०१७ मा नेपाल, ढकाल, सांसदहरू र एक जना पत्रिका प्रकाशक सम्मिलित ११ सदस्यीय टोलीले उत्तर कोरियाको भ्रमण गरेको थियो।
एकीकृत समाजवादी र माओवादी केन्द्र मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक रहेका पूर्व प्रधानमन्त्री नेपालले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन् । नेपालले भने, ‘मेरो सम्बन्धमा जति कुरा आएका छन् सबै हावादारी हुन् । यस्तो आरोपको कुनै अर्थ छैन ।’

पत्राचारको एउटा अंशले पूर्व प्रधानमन्त्रीको युनिफिकेसन चर्चसँगको सम्बन्धलाई यसरी प्रस्ट्याउँछ, ‘माधवकुमार नेपाल… हामीसँग धेरै नजिकको सम्बन्ध राख्नुहुन्छ र जुनसुकै बेला फेरि प्रधानमन्त्री बन्न सक्नुहुन्छ । पूर्व प्रधानमन्त्री माधव नेपालले जति हामीलाई बुझ्ने वा ‘ट्रू प्यारेन्ट्स’ लाई सम्मान गर्ने अरू कोही छैन… उहाँ साँचो मातापितालाई ईश्वर जस्तै मान्ने व्यक्ति हुनुहुन्छ।’
पूर्व प्रधानमन्त्री नेपालले आफू राम्रो काम जसले गरे पनि सम्मान र गलत प्रवृत्तिको निन्दा गर्ने प्रवृक्तिको व्यत्ति भएको बताए । उनले हावादारी आरोपमा कुनै सत्यता नभएको बताए।
न्युजतापाले प्राप्त गरेका युनिफिकेसन चर्चका आन्तरिक कागजातहरूलाई ‘टीएम विशेष रिपोर्ट’ भनिएको छ र यो हाक जा हानका लागि तयार पारिएको देखिन्छ । तीन हजार २१२ पृष्ठको यो दस्तावेजले अन्तर्राष्ट्रियस्तरमा चर्चले नेताहरूलाई कसरी परिचालन गर्यो, चन्दाको व्यवस्थापन कसरी भयो र आफ्ना सञ्चारमाध्यमहरू मार्फत राजनीतिक प्रभाव कसरी फैलाउने भन्ने योजनाहरूको कालक्रमिक विवरण दिन्छ।
यो दस्तावेज युनिफिकेसन चर्चको अन्तर्राष्ट्रिय मुख्यालयका पूर्व महानिर्देशक तथा संगठनका दोस्रो वरीयताका व्यक्ति युन योङ होले संकलन गरेको एउटा विस्तृत अभिलेख हो।
यसले चर्चका गतिविधिहरू सिधै हाक जा हानलाई रिपोर्ट गरिने गरेको संकेत गर्छ। कोरियन अनुसन्धानकर्ताहरू अहिले हानले यी रिपोर्टहरू प्राप्त मात्र गर्थिन् वा त्यसकै आधारमा विशेष निर्देशनहरू पनि दिन्थिन् भन्ने कुरामा केन्द्रित छन्।

सियोलमा भइरहेको अदालती सुनुवाइका क्रममा युनले बयान दिएका छन् कि चर्चका क्षेत्रीय नेता र स्थानीय साझेदारहरूले दैनिक रूपमा फिल्ड रिपोर्ट पठाउँथे, जसलाई उनले ‘विशेष रिपोर्ट’ को ढाँचामा समेटेर हानलाई मौखिक जानकारी (ब्रिफिङ) दिने गर्थे।
त्यसैले, हाक जा हान व्यक्तिगत रूपमै चर्चका सूक्ष्म अपरेसनहरूमा संलग्न भएको हुनसक्ने देखिन्छ। कोरियाली विशेष सरकारी वकिलहरूले यी कागजातहरूलाई उनको मुद्दामा राजनीतिक लबिइङमा प्रत्यक्ष संलग्नता प्रमाणित गर्ने महत्वपूर्ण प्रमाणका रूपमा हेरिरहेका छन्।
गत हप्ता हाक जा हानको घुस प्रकरणको सुनुवाइका क्रममा चर्चका एक क्षेत्रीय नेताले उक्त दस्तावेजमा समावेश ‘ट्रु प्यारेन्ट्स करेस्पोन्डेन्स रिपोर्ट’ का केही खण्डहरू आफैंले लेखेको स्वीकार गरेका थिए।
यो ‘टीएम विशेष रिपोर्ट’ आन्तरिक कागजातहरूलाई पुन: प्रशोधन गरी एउटै फाइलमा बनाइएको संकलन जस्तो देखिन्छ, जसमा इमेल र प्रत्यक्ष सन्देशहरू समावेश छन् । केही समयका विवरणहरू यसमा हराएका छन्, जसले गर्दा घटनाक्रमको सिलसिला टुटेको छ । यसले रिपोर्टका केही विशेष अंशहरू जानाजानी छानिएका वा हटाइएका हुनसक्ने सम्भावनालाई बढाएको छ ।
(न्युजटापा, नेपाली टाइम्स र दुनियाँ एसियासँगको सहकार्य तयार पारिएको)
प्रतिक्रिया 4