+
+
Shares

सिंहदरबारबाट कुकुर नहटाउने निर्णय, मानवीय व्यवस्थापन गर्ने प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १४:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंहदरबार परिसरबाट रैथाने कुकुरहरू हटाउने निर्णय रोकिएको छ र मानवीय व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइएको छ।

८ फागुन, काठमाडौं । सिंहदरबार परिसरबाट रैथाने कुकुरहरू हटाउने निर्णय रोकी मानवीय व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइएको छ ।

त्यहाँ कार्यरत अधिकृतलाई ‘कुकुरले टोकेको’ भन्दै मुख्यसचिव सुमनराज अर्यालको नेतृत्वमा महानगरसँग समन्वय गरी कुकुरहरू हटाउने तयारी भएको थियो । तर, पशु अधिकारकर्मीहरूले यो निर्णय अमानवीय, अव्यवहारिक र कानुनविपरीत भएको भन्दै विरोध जनाएपछि निर्णय परिवर्तन भएको हो ।

पशुअधिकारकर्मी विना पन्तका अनुसार मुख्यमन्त्री तथा गृह मन्त्रालयमा भएको छलफलमा सामुदायिक कुकुरहरूलाई सिंहदरबारबाट नउठाउने विषयमा मानवीय व्यवस्थापनका लागि आवेदन दिइएको थियो ।

उनले भनिन् ‘गृह सचिवले यस निर्णयलाई रोक्ने प्रतिबद्धता जनाएका छन् भने उनका पीएले कुकुरलाई खाना खुवाउनका लागि पासको व्यवस्था गर्ने बताएका छन् ।’

टोक्ने प्रवृत्तिका कुकुरहरूलाई भने आफ्नो सेल्टरमा लैजाने र मानिसप्रति माया गर्ने कुकुरहरूलाई परिसरमै राख्ने कुरा भएको विनाले जानकारी दिइन् । ‘गृह मन्त्रालयका सचिवले पनि सिंहदरबारबाट कुकुर नहटाउने स्पष्ट धारणा राखेका छन्’ उनले भनिन् ।

पशु अधिकारकर्मी लक्ष्मी खत्री, सुशिला सुब्बा लगायतले यसलाई सकारात्मक कदमको रूपमा लिएका छन् । उनीहरूका अनुसार सिंहदरबारमा रहेका करिब १५० रैथाने कुकुरहरूमध्ये धेरैजसो बन्ध्याकरण गरिएको छ । सुत्केरी तथा अपांगलाई जन्मेको ठाउँबाट विस्थापित गर्नु कानुनविपरीत र जोखिमपूर्ण हुन्छ ।

‘क्याप्चर–न्युटर–भ्याक्सिन–रिलिज’ मोडललाई नै निरन्तरता दिनुपर्छ भन्ने उनीहरूको माग छ ।

यो निर्णयले सिंहदरबारलाई पशुअनुकूल र मानवीय व्यवस्थापनको नमुना बनाउने अवसर प्रदान गरेको अभियन्ताहरूले बताएका छन् । सरकारी निकायहरूबाट बजेट छुट्याएर खाना, पानी, स्वास्थ्य र बन्ध्याकरणको व्यवस्था गर्न सकिने उनीहरूको सुझाव छ ।

एक महिनाको पास व्यवस्थापछि पनि स्थिति कायम रहने वा थप कदम चालिने भन्ने विषयमा निरन्तर अनुगमन आवश्यक छ । पशु अधिकारकर्मीहरूले यसलाई सफल बनाउन सरकारी सहयोगको अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?