+
+
Shares
रघुवीर महासेठसँग वार्ता :

‘मधेशमा एमाले नेतृत्वको सरकार बनाउनु गल्ती थियो’

‘बालेन अदृश्य शक्तिको बलमा झापा गए, मधेश र कोशी प्रदेशमा रास्वपाको खाता पनि खुल्दैन’

प्रधानमन्त्री हाम्रै पार्टीको हुनुहुन्थ्यो। जुन स्तरको ‘इन्क्वायरी’ (खोजतलास र अनुसन्धान) हुनुपर्ने थियो, त्यो हुन सकेन। यो प्रधानमन्त्रीको कमजोरी हो र यसलाई आंशिक गल्ती मान्नैपर्छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १०:५७

८ फागुन, धनुषा । चुनावको देशव्यापी अभियानअन्तर्गत उम्मेदवारहरू भोट माग्न घरदैलोमा व्यस्त छन्। यसै क्रममा धनुषा क्षेत्र नम्बर ४ मा पनि चुनावी सरगर्मी छ। प्रतिनिधिसभा सदस्य निर्वाचन दुई पटक लगातार जितेका रघुवीर महासेठ फेरि एमालेबाट प्रतिस्पर्धामा उत्रिएका छन्।

चुनावी अभियानकै क्रममा रहेका एमालेका उपमहासचिवसमेत रहेका महासेठसँग अनलाइनखबरका दुर्गा खनालले जनकपुरमा गरेको कुराकानीको सम्पादित अंश:

तपाईं लगातार तेस्रो पटक चुनावी मैदानमा हुनुहुन्छ। यहाँका जनताले तपाईंलाई फेरि पनि किन भोट दिने ?

यो प्रश्नको जवाफ त तपाईंले मसँग भन्दा पनि यहाँका जनतासँग सोध्नुभएको भए अझ राम्रो हुन्थ्यो। किन उहाँहरू रघुवीर महासेठलाई भोट दिनुहुन्छ? स्वाभाविक रूपमा, म जनतामैत्री व्यक्ति हुँ। एमालेले मलाई विश्वास गरेर चौथो पटक (उपचुनावसहित) यो क्षेत्रबाट टिकट दिएको छ। मलाई यो क्षेत्र वा जिल्लाको मात्र होइन, समग्र मधेशकै जनताले विश्वास गरेको व्यक्तिको रूपमा मैले बुझेको छु।

म यहाँको इन्चार्ज हुनुभन्दा अघि मधेशमा एमालेको अवस्था कमजोर थियो, हामीले जम्मा दुई सिट जितेका थियौँ र पाँचौँ दलको रूपमा थियौँ। तर, इन्चार्जको जिम्मेवारी सम्हालेपछि अहिले हामी सङ्घ र प्रदेश दुवैमा पहिलो शक्तिका रूपमा स्थापित भएका छौँ। त्यसैले जनतामा एउटा बलियो विश्वास छ– एमाले वा रघुवीर महासेठले जे भन्छ, त्यो गर्छ।

तपाईं पार्टीको निर्वाचित उपमहासचिव पनि हुनुहुन्छ। तर, पछिल्लो आन्दोलनपछि एमालेमाथि धेरै प्रश्न उठेका छन्। आन्दोलनका बेला एमाले नेतृत्वकै सरकार थियो। के अहिलेको चुनावमा एमाले रक्षात्मक अवस्थामा पुगेको हो ? 

हामी एकदमै ‘अफेन्सिभ’ (आक्रामक) छौँ भनेर पनि म भन्दिनँ। तर, युवा पुस्ताको ‘जेनजी’ आन्दोलनले देश एउटा सङ्क्रमणकालीन स्थितिमा छ। यस्तो बेला चुनावी परिणाम के हुन्छ भनेर अहिले नै ठोकुवा गर्न गाह्रो छ।

देशमा पछिल्लो समय विदेशी हस्तक्षेप र सामाजिक सञ्जालको प्रभाव बढेको देखिन्छ। अहिले देशमा जुन प्रकारको वैदेशिक हस्तक्षेप भइरहेको छ, त्यो निकै गम्भीर विषय हो। हामी एकदमै ‘अफेन्सिभ’ छौँ त म भन्दिनँ, तर क्रियाशील दलहरूमध्ये हामी नै अगाडि छौँ।

हाम्रो मुख्य चिन्ताको विषय, अचेल सामाजिक सञ्जालमार्फत एउटा कृत्रिम वातावरण बनाउने प्रयास भइरहेको छ। विशेष गरी ‘फेक आइडी’ हरू बनाएर एमालेमाथि नियोजित आक्रमण भइरहेको छ, जसतर्फ हाम्रो ध्यान गएको छ। अहिले कांग्रेसको मारमा पनि हामी छौँ। मधेशी दलको मारमा पनि हामी छौँ। कांग्रेस होस् वा मधेशी दल, देशी–विदेशी शक्तिहरूलाई पनि एमाले एउटा राष्ट्रवादी शक्ति हो भन्ने थाहा छ। एमाले राष्ट्रको हितका अगाडि कहिल्यै झुक्दैन। चुनाव लड्दा परिणाम जेसुकै आओस्, त्यसलाई हामी आत्मसात् गर्छौँ । हाम्रा लागि पार्टीभन्दा पहिले राष्ट्र सधैँ माथि रहन्छ।

एमालेका धेरै नेताहरूले यी विषयलाई विदेशी षड्यन्त्र र राष्ट्रवादसँग मात्र जोडेर हेर्ने गर्नुहुन्छ। तर, जेनजी आन्दोलनमा सुशासन, भ्रष्टाचार र तपाईंहरूकै शासनकालमा भएका अव्यवस्थाका विरुद्ध पनि त आवाज उठेका थिए नि ? युवा पुस्ताले उठाएका ती जायज मुद्दालाई पनि ‘षड्यन्त्र’ कै आँखाले मात्र हेर्न मिल्छ र ?

हेर्नुस्, नेपालमा यो पुस्ता अझै सङ्गठित भइसकेको छैन। यदि यो पुस्ता सङ्गठित भएको भए वा कुनै नयाँ पार्टीको रूपमा दर्ता भएर आएको भए बेग्लै कुरा हुन्थ्यो। तर, अहिले त्यस्तो स्थिति छैन। केवल भावना र असन्तुष्टिको भरमा मात्र सबै कुरा परिवर्तन भइहाल्ने देखिँदैन।

सबैभन्दा ठूलो कुरा, हामीले हाम्रै छिमेकी बङ्गलादेशको हालैको स्थितिबाट सिक्नुपर्छ। हिजोसम्म त्यहाँ जे भइरहेको थियो, आज अर्कै मोडमा पुगेको छ। हामी यस्तो देशका नागरिक हौँ, जो अहिलेसम्म कसैको गुलाम भएका छैनौँ। तर, अब हामी बिस्तारै त्यो दिशामा जाँदै छौँ। हामी बिस्तारै त्यतैतिर धकेलिँदै छौँ कि भन्ने आभास भइरहेको छ। हाम्रै देशभित्रका केही शक्तिहरू नेपाली सेना, प्रहरी र हाम्रो परराष्ट्र नीतिलाई कमजोर बनाउन लागिपरेका छन्। हामीले यसलाई निकै गम्भीरताका साथ लिएका छौँ।

जहाँसम्म सरकारको कुरा छ, म सरकार पूर्णतः निर्दोष छ भन्दिनँ। भदौ २३ र २४ गतेका घटनाहरू कुनै आकस्मिक आन्दोलन थिएनन्, ती त एक वर्षदेखिको योजनाबद्ध तयारीका उपज थिए। नेपालमा धेरै यस्ता कुरा भइरहेका छन्, जुन आम नेपालीलाई थाहा छैन। विदेशी दूतावासहरूले यहाँ कसरी सक्रियता बढाइरहेका छन् भन्ने कुरा आजको मात्र होइन, १० वर्षदेखि भइरहेको रहेछ। त्यो त हामीलाई पनि थाहा थिएन।

सरकार हुँदा र स्वयं अध्यक्ष प्रधानमन्त्री हुँदा यी कुराहरू किन थाहा भएनन् त? कि सुरक्षा निकायले सूचना दिएनन्, कि प्रधानमन्त्रीले ती सूचनालाई ‘बकवास’ ठानेर नजरअन्दाज गर्नुभयो ?

हाम्रै पार्टी नेतृत्वको सरकार हुँदा कि त सुरक्षा र अनुसन्धान निकायले सही सूचना दिएनन्, कि त सूचना पाएर पनि त्यसलाई गम्भीरताका साथ लिइएन। यो कमजोरी कतै न कतै भएकै हो।

यस्तो अस्थिर अवस्था सिर्जना हुनुमा तपाईंहरूको शासन सञ्चालन शैली पनि त जिम्मेवार छ नि। जस्तै, मधेशमा एमाले पहिलो शक्ति बनेर सरकार बनायो, तर त्यसको हालत के भयो ? वाम गठबन्धन र पार्टी एकता भएर बनेको शक्तिशाली सरकार बीचमै ढल्यो। अहिले कांग्रेससँगको गठबन्धन सरकारले पनि जनताले चाहेजस्तो प्रदर्शन गर्न सकिरहेको छैन। यस्तै राजनीतिक अस्थिरता र असफलताले गर्दा नै अहिलेको असामान्य परिस्थिति आएको होइन र ?

मैले अघि पनि स्पष्ट पारिसकेँ, सरकारमा रहँदा हामीबाट आंशिक रूपमा केही गल्तीहरू भएका छन्, त्यो स्वीकार गर्नैपर्छ। जहाँसम्म मैले एक वर्षको अवधिको कुरा गरेँ, त्यो धेरै लामो समय त होइन, तर पर्याप्त थियो।

त्यतिबेला हामी नेपाली कांग्रेससँगको गठबन्धनमा थियौँ। म कांग्रेसलाई मात्र दोष दिन्नँ, किनभने सत्ताको मुख्य शक्ति त हामी नै थियौँ, प्रधानमन्त्री हाम्रै पार्टीको हुनुहुन्थ्यो। जुन स्तरको ‘इन्क्वायरी’ (खोजतलास र अनुसन्धान) हुनुपर्ने थियो, त्यो हुन सकेन। यो प्रधानमन्त्रीको कमजोरी हो र यसलाई आंशिक गल्ती मान्नैपर्छ।

तर अर्को पक्ष, जुन प्रकारले एमाले र हाम्रा अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै ‘टार्गेट’ गरियो, त्यो सर्वथा गलत थियो। एउटा कुरा म चुनौतीका साथ सोध्न चाहन्छु– यो देशमा चाहे स्वर्गवासी भइसकेका नेता हुन् वा अहिलेका, केपी ओलीले जस्तो राष्ट्र र जनताका लागि दह्रो अडान लिएर बोल्ने अर्को कुनै नेता तपाईंले देख्नुभएको छ ?

मैले त देखेको छैन। जहाँसम्म मधेशको कुरा गर्नुभयो, एमालेले जसरी मधेशमा एमालेको सरकार बनायौँ, त्यो गल्ती थियो। त्यसमा पार्टीले गल्ती गरेकै हो।

त्यसमा तपाईंको केही पनि भूमिका थिएन ?

मैले अध्यक्षलाई कुनै पनि हालतमा हामी यहाँ सरकार नबनाऔँ भनेको थिएँ। केपी शर्मा ओलीले यस्ता विषयमा आफ्ना सहकर्मीहरूसँग पनि सल्लाह गर्नुभयो। उहाँलाई कसैले प्रेसर (दबाब) पनि दियो होला।

अहिलेको अवस्थामा अध्यक्षलाई प्रेसर दिन सक्ने एमालेमा कोही छ र ?

हेर्नुस्, दबाबभन्दा पनि उहाँले सल्लाह त लिनुहुन्छ नै। जहाँसम्म मेरो विचारको कुरा छ, मधेशमा एमालेको नेतृत्वमा जुन प्रकारको सरकार बन्यो, त्यो गलत थियो। एमाले जस्तो शक्तिले क्षणिक स्वार्थका लागि कुनै व्यक्तिलाई बोकेर हिँड्नु पार्टीको ठूलो भूल थियो। यसमा म प्रस्ट छु।

जेन–जी आन्दोलनपछि सबै राजनीतिक दलहरूमा नेतृत्व परिवर्तन र रूपान्तरणको चर्को माग उठ्यो। केही दलले नेतृत्व फेरे पनि। एमालेमा पनि महाधिवेशन भयो, धेरैको पद ‘घटुवा–बढुवा’ भयो, तर मूल नेतृत्व (अध्यक्ष) फेरिएन। आज फेरि केपी ओलीकै ‘फेस’ लिएर जनताकोमा भोट माग्न जाँदा कत्तिको गर्व महसुस गर्नुहुन्छ ?

यसमा हामीलाई कुनै सङ्कोच छैन। आज युवा पुस्ताले जेनजीको नाममा गरेको आन्दोलन एउटा क्षणिक र ‘घुसपैठिया’ आन्दोलन थियो।

अहिलेको समयको माग नेतृत्व परिवर्तन मात्र होइन। मुख्य माग त देशलाई कसरी अहिलेको सङ्कटबाट जोगाउने र सही दिशामा अघि बढाउने भन्ने हो।

अहिले पनि जताततै ‘परिवर्तन, परिवर्तन’ को नारा लगाइँदै छ। तर मेरो प्रश्न छ– ७४ वर्षको केपी ओलीलाई हटाएर ७३ वर्षकी सुशीला कार्कीलाई ल्याउनु चाहिँ कसरी परिवर्तन भयो र ? के यसैलाई परिवर्तन भन्ने ?

परिवर्तन भनेको उमेरले मात्र हुने कुरा होइन। यो त मान्छेको सोच, विचार र दीर्घकालीन दृष्टिकोणमा भर पर्ने कुरा हो। आज संसारका शक्तिशाली नेताहरूलाई हेरौँ न। चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन; उहाँहरू सबैको उमेर ७४ वर्षभन्दा माथि नै छ। मलेसियाका महाथिर मोहम्मदले त ९३ वर्षको उमेरमा पनि प्रधानमन्त्री भएर देश राम्रै चलाउनुभयो। त्यसैले उमेर आफैँमा समस्या होइन।

अहिले पनि केपी ओलीमा जुन ऊर्जा छ, त्यो तपाईंहरू आफैँ महसुस गर्नुस् न। उहाँको शारीरिक अवस्थाका बारेमा धेरै कुरा काटिन्छन्, तर उहाँको इच्छाशक्ति कस्तो छ भन्ने कुरा उहाँको हिँडाइ, बोलाइ र सक्रियताले नै पुष्टि गर्छ। एउटा युवाले गर्नुपर्ने जति काम त उहाँले गरिरहनुभएकै छ ।

तपाईंहरूको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसमा त नेतृत्व तहमा एउटा ठूलो रूपान्तरण र पुस्तान्तरणको प्रयास देखियो । तपाईं त केपी ओलीभन्दा पछिल्लो पुस्ताको नेता हुनुहुन्छ। यदि तपाईंहरूले पनि पार्टीभित्र त्यस्तै खालको रूपान्तरणको अभ्यास गरेको भए, आज जनतामा भोट माग्न जाँदा अझ बढी सहज र नैतिक बल पुग्थ्यो कि भन्ने लाग्दैन ?

अहिलेको समयको माग नेतृत्व परिवर्तन मात्र होइन। मुख्य माग त देशलाई कसरी अहिलेको सङ्कटबाट जोगाउने र सही दिशामा अघि बढाउने भन्ने हो। हाम्रो पार्टीभित्रको यथार्थ भन्नुहुन्छ भने, मभन्दा पनि बढी जोस र जाँगर केपी ओलीमा छ।

म दाबीका साथ भन्छु– उहाँको शरीरले साथ दिँदासम्म हामी युवा नेताहरूभन्दा पनि अगाडि हुनुहुन्छ। शरीर हो, कहिलेकाहीँ अस्वस्थ हुनु स्वाभाविक हो। तर सबै दोष केपी ओलीको टाउकोमा थुपारेर उम्किन मिल्दैन। पार्टीभित्र उहाँका केही कमजोरी नै छैनन् भनेर म भन्दिनँ, तर उहाँको ऊर्जा अझै पनि अनुकरणीय छ।

हामी धनुषा आइसकेपछि यहाँका केही गाउँ र बस्तीहरूमा घुम्दा के सुनिन्छ भने मधेशकै एकजना नेता प्रधानमन्त्रीको उम्मेदवार बन्न खोज्दै हुनुहुन्छ। अर्कोतिर, एमालेबाट भावी प्रधानमन्त्रीका रूपमा फेरि केपी शर्मा ओली झापामा चुनाव लड्दै हुनुहुन्छ र मधेशकै एकजना चर्चित नेता उहाँलाई चुनौती दिन झापा पुग्नुभएको छ। तपाईंले केपी ओलीको स्पिरिट धेरै छ, उहाँ थाक्नुहुन्न भन्नुभयो, तर अहिले त उहाँलाई त्यहाँ निकै धपेडी परिरहेको देखिन्छ नि ? यो प्रतिस्पर्धालाई तपाईंले कसरी हेर्नुभएको छ ?

बालेन शाह जनकपुर (महोत्तरी) कै मान्छे हुनुहुन्छ। उहाँ राजनीतिक व्यक्ति हुनुहुन्न। उहाँलाई तपाईंले पनि २०७९ तिर चिन्नुभएको होला, चिनेको कति नै भयो र? त्यही अढाई–तीन वर्ष त भयो होला। जबकि केपी ओलीको राजनीतिक इतिहास हेर्नुस्, केपी ओली र बालेन शाहलाई तुलना गर्नै मिल्दैन। केपी ओली एउटा राष्ट्रवादी व्यक्ति हुनुहुन्छ, जसले राष्ट्रका लागि ज्यान दिन तयार भएर राजनीति गर्नुभयो।

मधेश र कोशी प्रदेशमा उहाँ (बालेन शाह) आबद्ध रहेको पार्टीले प्रत्यक्षतर्फ खाता खोल्न सक्दैन। समानुपातिकतर्फ पहिलाभन्दा केही बढी मत ल्याउलान्, तर प्रत्यक्षमा जित्ने अवस्था छैन।

बालेन शाहको उहाँसँग तुलना हुनै सक्दैन, यो मैले मात्र होइन, जोसुकैले भन्ने कुरा हो। आज बालेन शाहले जुन स्तरमा खर्च गरिरहनुभएको छ, जसरी हिँडिरहनुभएको छ, के उहाँको पारिवारिक स्थितिले मात्र त्यो सम्भव छ र ? छैन नि ! यसले के बुझाउँछ भने, उहाँको पछाडि कुनै न कुनै शक्तिले काम गरिरहेको छ।

झापा एउटा शिक्षित ठाउँ हो। धनुषा वा जनकपुरजस्तो नहोला, तर झापा चेतनास्तरमा निकै अगाडि छ। त्यहाँ उहाँ कुन बलमा जानुभएको हो ? यहाँ दुइटा कुरा छन्। कि त उहाँको पछाडि ठूलै शक्ति छ, जसको दबाबमा उहाँ झापा जानुभयो। बालेन शाह आफैँ रहरले झापा गएका होइनन्। उहाँ दबाबमै जानुभएको हुनुपर्छ।

अर्को कुरा, जुन पार्टीमा उहाँ भर्खरै (गएको माघ ४ गते) प्रवेश गर्नुभयो, प्रवेश गरेको एक महिना एक दिन भयो। एक महिनाअघि छिरेको पार्टीले उहाँलाई जसरी अगाडि सारेको छ, त्यो देखावटी मात्र हो। उहाँलाई अगाडि सार्नेहरूलाई राम्ररी थाहा छ– केपी ओलीसँग उहाँ हारेपछि अरूको ‘लाइन क्लियर’ हुन्छ।

उहाँलाई जिताउनका लागि होइन, बरु अरूको बाटो खोल्नका लागि त्यहाँ पठाइएको हो। तर, फेरि पनि यो चुनाव हो, परिणामबारे म ठोकुवा गर्न सक्दिनँ। अघि नै भनेँ नि, मेरै स्थिति के हुन्छ वा उहाँको स्थिति के हुन्छ, अहिल्यै भन्न गाह्रो छ। तर केपी ओली त्यहाँबाट जितेर आउनुहुन्छ।

त्यसो भए धनुषादेखि झापासम्मै यसपटक नयाँ शक्तिहरूले तपाईंहरूलाई ठूलो चुनौती दिएको महसुस गर्नुभएको छ ?

हामीले त्यस्तो कुनै चुनौती महसुस गरेका छैनौँ। म तपाईंलाई एउटा कुरा स्पष्ट भनिदिऊँ, मधेश र कोशी प्रदेशमा उहाँ (बालेन शाह) आबद्ध रहेको पार्टीले प्रत्यक्षतर्फ खाता खोल्न सक्दैन। समानुपातिकतर्फ पहिलाभन्दा केही बढी मत ल्याउलान्, तर प्रत्यक्षमा जित्ने अवस्था छैन।

त्यसो भए आजको दिनमा तपाईंको निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धी चाहिँ को हो त ? तपाईंले कसलाई चुनौती ठान्नुभएको छ ?

यहाँको मुख्य प्रतिस्पर्धी भनेको कांग्रेस नै हो। मधेशका प्रायः सबै क्षेत्रमा हाम्रो प्रतिस्पर्धा कांग्रेससँगै छ। हामीले कतै पनि रास्वपालाई आफ्नो प्रतिद्वन्द्वी ठानेका छैनौँ। एमाले र कांग्रेसको बीचमा नै प्रतिस्पर्धा छ।

तपाईंले अघि इतिहासको कुरा गर्नुभयो। तर आम बुझाइ के छ भने, इतिहासको आधारमा नेताहरूले पाउनुपर्ने लाभ र दिनुपर्ने नेतृत्व दिइसक्नुभयो। अब वर्तमानको ‘स्पिरिट’ अनुसार चल्ने नेतृत्व चाहिन्छ भनेर युवा पुस्ताले माग गरिरहेका छन्। उनीहरू भन्छन्– राजनीति अब इतिहासले मात्र चल्दैन, वर्तमान बुझ्ने र भविष्य देखाउन सक्ने हुनुपर्छ। अधिकांश मतदाता पनि यही युवा समूहका छन्। ती मतदातालाई तपाईं के भन्नुहुन्छ ?

हाम्रो भावी पुस्ता युवा नै हो र उनीहरूलाई राजनीतिक रूपमा सचेत गराएर सङ्गठित गर्नैपर्छ, चाहे त्यो एमालेले होस् वा कांग्रेसले। तर, युवाका नाममा वा ‘काम गर्न सक्छु’ भन्ने नाममा जसरी परिवर्तनका कुरा उठाइँदै छन्, ती कतिपय कुरा नितान्त गलत छन्।

म एउटा उदाहरण दिन्छु। हाम्रा देशमा अहिले यस्ता उम्मेदवारहरू पनि छन्, जसले नेपालमा सेना वा प्रहरीको जरुरी छैन, आंशिक रूपमा मात्रै राखौँ भनिरहेका छन्।

यस्तो सोच कहाँबाट आयो ? भोलि सेना नहुँदा देशको स्थिति के होला ? संसारका शक्तिशाली राष्ट्रहरूले आफ्नो सेनालाई झन् बलियो बनाउँदै लगेका छन्, तर यहाँ सांसद नै भइसकेका व्यक्तिहरू ‘सेनामा धेरै खर्च भयो, नराखौँ’ भन्दै सेनालाई कमजोर पार्ने कुरा गर्दै छन्। के यस्ता कुराले नेपालको राष्ट्रियतालाई खतरामा पार्दैन र ?

दिनप्रतिदिन हाम्रा जग्गाजमिन थिचोमिचो भइरहेका छन्। के ती नयाँ भनिनेहरूले आजसम्म यसबारे बोलेका छन् ? न संसदमा बोलेका छन्, न मिडियामा। केही नेताहरू किन र कुन परिस्थितिमा जेल परे वा उनीहरूले के–के गरे भन्ने कुरा कसैबाट छिपेको छ र ? भोलि त्यस्तै व्यक्तिहरूको हातमा देशको शासन प्रणाली गयो भने हाम्रो देशको भविष्य के होला ?

पत्रकार मित्रहरू, संविधानले तपाईंहरूलाई राज्यको एउटा अङ्गका रूपमा स्वीकार गरेको छ। देश रहे मात्र तपाईं–हामी रहन्छौँ। नेपालमा मात्र होइन, संसारभरि नै केही यस्ता तत्त्वहरू हुन्छन्, जो विदेशीको इसारामा आफ्नो देशलाई कमजोर पार्न खोज्छन्।

भारतकै कुरा गरौँ, त्यहाँ कस्मिरको विवाद छ। हाम्रै देशमा लिम्पियाधुरा, कालापानी र सुस्तामा सीमा विवाद छ। यही धनुषामा पनि दिनप्रतिदिन सीमा मिचिने र बोर्डर लाइन घट्ने क्रम जारी छ। यी मुद्दाहरूलाई अहिलेसम्म दृढताका साथ कसले उठाएको छ? केवल नेकपा एमालेले। र, नेपाली जनताले यो कुरा राम्ररी बुझेका छन्।

म तपाईंलाई यही धनुषा–४ को एउटा दृश्य सम्झाउन चाहन्छु। जनकपुर आउँदै गर्दा सडक पूर्वाधार निकै राम्रो देखिन्छ। तर, त्यही मुख्य बाटोबाट मात्र एक किलोमिटर भित्र छिर्ने हो भने बस्तीहरूको अवस्था निकै दयनीय छ। त्यहाँका मान्छेहरू चरम अभाव र कष्टमा बाँचिरहेका छन्। तपाईं तीन पटक सांसद र पटक–पटक मन्त्री भइसक्नुभएको व्यक्ति, फेरि अर्को कार्यकालका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। तपाईंको नजर चुनावका बेला मात्र ती बस्तीमा पर्छ कि अरू बेला पनि पुग्नुहुन्छ ?

मेरो निर्वाचन क्षेत्र मात्र होइन, समग्र मधेश प्रदेश र देशमै भौतिक पूर्वाधारको क्षेत्रमा एमाले सत्तामा हुँदा जुन स्तरको फड्को मारिएको छ, त्यो अभूतपूर्व छ।

चुनावका बेला मात्र होइन, हामी निरन्तर जनताको अवस्था बदल्न क्रियाशील छौँ। भौतिक विकासले नै बिस्तारै मान्छेको जीवनस्तरमा परिवर्तन ल्याउने हो।

महेन्द्र राजमार्ग बन्दा म जन्मेको पनि थिइनँ। म पहिलो पटक भौतिक पूर्वाधारमन्त्री हुँदासम्म पनि देशभरिका सडकहरूको अवस्था जस्ताको तस्तै थियो। तर आज हेर्नुस्, मेचीदेखि महाकालीसम्म कस्तो काम भइरहेको छ। ८ लेन, ६ लेन र ४ लेनका सडकहरू सामान्य भइसकेका छन्। पहिले नभएको ‘कन्सेप्ट’ अहिले हामीले ल्याएका छौँ।

जङ्गली जनावरको ओहोरदोहोरका लागि धेरै ठाउँमा ‘अन्डरपास’ र ‘ओभरपास’ पुलहरू बनाउँदै छौँ। सुरुङमार्गको कुरा गर्नुहुन्छ भने, नागढुङ्गा सुरुङमार्गको शिलान्यास मेरै पालामा भएको हो, जुन प्रचण्डजी र मैले संयुक्त रूपमा गरेका थियौँ। सिद्धबाबा सुरुङमार्गको सुरुवात पनि मेरै पालामा भयो। अहिले तपाईंले जति पनि ठूला सडकहरू देख्नुभएको छ, ती सबै २०७४ साल पछाडिका हुन्।

तर विकास भनेको बाटो मात्रै त होइन नि ! बाटोबाट एक किलोमिटर भित्रका बस्तीमा यस्ता मान्छे छन्, जसले निःशुल्क स्कुल हुँदाहुँदै पनि आफ्ना सन्तानलाई विद्यालय पठाउन सकिरहेका छैनन्। ठूला बाटो देखाएर हामीले ती गरिब र विपन्नका आधारभूत समस्यालाई ढाकछोप त गरिरहेका छैनौँ ?

हामीले बाटो मात्र देखाएका छैनौँ। हामीले कृषिमा सुधार ल्याएका छौँ। हामीले प्रत्येक विद्यालयको स्तरोन्नति पनि गरेका छौँ। गाउँमा अस्पतालहरू पनि बनेका छन्।

शिक्षाको क्षेत्रमा पनि हामीले ठूलो फड्को मारेका छौँ। हिजो जहाँ एउटा उच्च मावि थिएन, आज त्यस्ता दुर्गम ठाउँमा पनि विद्यालयहरू पुगेका छन्। धनुषा क्षेत्र नं. ४ मात्र होइन, म आफैँ पढेर आएको क्षेत्र नं. १ र २ को अवस्था पनि निकै सुधारिएको छ। हो, सिँचाइमा भने हामीले चाहेजस्तो उपलब्धि हासिल गर्न सकेका छैनौँ, जसका विभिन्न प्राविधिक र भौगोलिक कारणहरू छन्।

मैले सबै विकास भइसक्यो भन्न खोजेको होइन, तर २०७४ सालअघिको तुलनामा हामीले स्पष्ट फड्को मारेका छौँ। हामीले सडक मात्र बनाएका छैनौँ, वैज्ञानिक कृषिको आधार तयार पार्ने, स्तरीय शिक्षाका लागि स्कुलहरूको स्तरोन्नति गर्ने र गाउँ–गाउँमा अस्पताल एवं स्वास्थ्य चौकीहरू बनाउने काम गरेका छौँ। जनताले यी परिवर्तन नदेखेका होइनन्, देखेकै छन्।

तपाईंले भन्नुभएको एक किलोमिटर भित्रको अभावको प्रसङ्गमा कहाँको हो मैले थाहा पाइनँ।

धनुषाकै बटेश्वरको कुरा गरेको हो। त्यहाँ अभाव छ नि ?

बटेश्वरको कुरा गर्नुहुन्छ भने त अहिले त्यो एउटा अर्धसहरी गाउँपालिका भइसकेको छ। त्यहाँ साना–ठूला उद्योगधन्दाहरू सुरु भएका छन्। बटेश्वरमा अहिले टायल कारखानादेखि अन्य कलकारखानाहरू सञ्चालनमा छन्।

कुनै पनि सडक हिजोको जस्तो जीर्ण स्थितिमा छैनन्, पुलपुलेसाहरू बनेका छन्। हाइस्कुलहरू स्तरोन्नति भएका छन्। प्रसूतिगृहदेखि ठूला अस्पतालहरू धमाधम निर्माण भइरहेका छन्। तपाईं आफैँ गएर हेर्न सक्नुहुन्छ, बटेश्वरको स्थिति पहिलेभन्दा निकै सुध्रिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?