७ माघ, जनकपुरधाम । धनुषा क्षिरेश्वर नगरपालिका-६ दुर्गा टोलका मुकिम मन्सुरीले जिन्दगीको ४१ वर्ष गुजाराका लागि भारतमा बिताए । त्यसैले अहिलेसम्म भोट हाल्ने मौका नै पाएनन् ।
यतिबेला उनी देश आएका छन् । यही बेला चुनाव परेको छ । जिन्दगीकै पहिलो भोट हाल्ने मौका पाएका मन्सुरी चुनावलाई लिएर खासै उत्साहित भने देखिएनन् । ‘भोट हाल्न मन नै छैन,’ उनले भने, ‘नेता भनेका सबै उस्तै हुन्, नयाँ पनि पुराना पनि ।’
वैदेशिक रोजगारीमा जानेहरूमध्ये सबैभन्दा धेरै धनुषा जिल्लाकै छन् । आफ्नै गाउँठाउँमा रोजगारीको अवसर नभएपछि र जीवन चलाउने अरू उपाय नभेटेपछि यहाँका नागरिकले वैदेशिक रोजगारीलाई विकल्प बनाएका हुन् ।

तिनैमध्येका मन्सुरीले जिन्दगीको उर्वर समय भारतमा बिताए । मतदान गर्नै पाएनन् । यसपालि पनि आशावादी देखिएनन् । ‘जसले रोजगारीको एजेन्डा ल्याउँछ, उसको बारेमा सोच्न सकिन्छ,’ उनले भने, ‘नयाँले केही गर्छन् कि !’
धनुषा-४ नेपाली कांग्रेस र नेकपा एमालेका हेभिवेट नेताहरूको क्षेत्र हो । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री महेन्द्र यादव र नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठका बीचमा प्रतिस्पर्धा भइरहने यस क्षेत्रमा यसपालि पनि उनीहरू नै मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । उनीहरूको प्रतिस्पर्धा मंगलबार मनोनयन गर्न जाँदाको तामझामबाट नै सुरू भएको छ ।

गत मंसिरमा सकिएको महाधिवेशनबाट पार्टी उपमहासचिव पदमा पुनः निर्वाचित महासेठ र पुस अन्तिममा नेपाली कांग्रेसले विशेष महाधिवेशन गर्दा त्यसको विपक्षमा रहेका यादव दुवैको निर्वाचन क्षेत्रको प्रभाव संघको राजनीतिसँग सम्बन्धित छैन । त्यसको छनक उम्मेदवारी दर्तामा पनि देखिएको थियो ।
कांग्रेस नेता महेन्द्र यादवले टिकट पाउने-नपाउने माघ ५ गते साँझसम्म पनि अत्तोपत्तो थिएन । किनभने, उनी कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा पक्षका सहमहामन्त्री थिए, विशेष महाधिवेशनलाई स्वीकार गरेका पनि थिएनन् । पार्टी सभापति गगन थापाको हस्ताक्षरमा उनले टिकट पाएपछि धनुषा-४ का कांग्रेस कार्यकर्ता भने उत्साहित देखिए ।
महासेठ आफ्नो क्षेत्रमा एमालेका नेता-कार्यकर्ताहरूलाई एकीकृत गर्नसक्ने नेताका रूपमा मानिन्छन् । उनी आफ्नो क्षेत्रका एमाले नेता-कार्यकर्ताका लागि सर्वस्वीकार्य जस्तै हुन् । त्यसैले नियमित मतदाता र आफ्ना कार्यकर्ताहरूको मत पाउन यी दुवै नेताले संघर्ष गर्नुपर्ने छैन ।
आम मतदाताहरूको मन भने फरक छ । पुराना नेताहरूले नगरेका पुरानै कामको फेहरिस्त पनि तयार पारेका छन् मतदाताले ।
क्षिरेश्वर नगरपालिका-६ कि ३२ वर्षीया सम्झना लुईंटेल सुधारको एजेन्डा बोकेर आउने नेता नै आफ्नो रोजाइमा पर्ने बताउँछिन् । ‘गाउँमा विकास छैन, शिक्षामा सुधार छैन,’ सम्झनाले भनिन्, ‘यसपटक जसले टोलटोलमा सुधारको एजेन्डा बोकेर आउँछ भोट त्यतै जान्छ ।’

उनले पुराना नेताहरूले कुरा मात्रै गरेर गएकाले अब नयाँ रोज्ने मनस्थितिमा आफू रहेको पनि बताइन् ।
श्रीपुरका ६५ वर्षीय भुवनेश्वर महतो भने नदी कटान र अवैध गिटी-बालुवा उत्खनन कम गर्ने एजेन्डा जसले ल्याउँछ, उसैलाई भोट हाल्ने बताउँछन् ।
‘गाउँमा आधाभन्दा धेरै ट्याक्टरवाला छन् । खोलामा दिनरात कटान छ । यो समस्या समाधान गर्ने उपाय जसले ल्याउँछ उसैलाई भोट हाल्ने हो,’ महतोले भने, ‘नयाँले ल्याउछन् कि !’

धनुषा-४ मा २०७४ र २०७९ को निर्वाचन एमालेका रघुवीर महासेठले जितेका थिए । दुई पटक निरन्तर जित्दा महासेठले यो क्षेत्रको लगभग सबैजसो ठाउँमा पक्की सडक विस्तार गरेका थिए ।
‘महासेठ नभएको भए हाम्रो सबै क्षेत्रमा बाटो पुग्दैनथ्यो, तर उहाँले गरेको जम्माजम्मी त्यही एउटा काम हो । जनताको अरू सुखदु:खमा उहाँ साथमा हुनुभएन,’ एक एमाले कार्यकर्ताले भने, ‘यसपटक धेरैले नयाँ भनेका छन् ।’
भेटिएकामध्ये धेरैको मनस्थिति समानुपातिकमा भए पनि रास्वपमा मत हाल्ने भन्ने थियो । तर उनीहरूले पार्टीको नाम स्पष्टसँग भन्न भने सकिरहेका थिएनन् ।
धेरैको आकर्षण प्रधामन्त्रीको समेत उम्मेदवार भनेर झापा-५ बाट प्रतिस्पर्धा गरिरहेका बालेन शाहप्रति थियो । ग्रामीण भेगमा भेटिएका अधिकांशले रास्वपालाई ‘बालेन शाह’ पार्टी भनेर नै उच्चारण गरिरहेका थिए ।
धनुषाको बटेश्वर गाउँपालिका-२ खोरियासीतापुरका सुचित सिंह विगतमा निरन्तर मत दिएका नेताले जितेर गएपछि अपेक्षित काम र व्यवहार नगरेको भन्दै पुराना अनुहारप्रति असन्तुष्ट सुनिए । यसपटक नयाँ र वैकल्पिक शक्तिलाई मत दिने उनी बताउँछन् ।
‘विगतमा दुई पटक मत दिएर जिताएका नेता एक दिन घरमा आएनन् । कहिल्यै हाइहेल्लो समेत गरेनन् । सडक बाटो बाहेक क्षेत्रमा अपेक्षित काम पनि गर्न सकेनन्,’ उनले निराशा पोखे, ‘हामीलाई नै नचिन्ने र काम पनि नगर्ने नेतालाई अब मत दिन्नँ । नयाँलाई अवसर दिनुपर्छ ।’

धनुषा-४ मा यसअघि दुई पटक उम्मेदवार बने पनि यादवले जित निकाल्न सकेका छैन । गत निर्वाचनमा पाँचदलीय गठबन्धनबाट प्रतिष्पर्धा गरे पनि यादवलाई महासेठले पराजित गरे । यसपटक उनी विना गठबन्धनको सहारामा एक्लै निर्वाचन लड्दैछन् ।
यद्यपि, उनीहरूबीचको प्रतिस्पर्धा भने निकै कडा थियो । २०७९ को उक्त चुनावमा महासेठले यादवलाई १२४ मत अन्तरले पराजित गरेका थिए । महासेठ ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा यादवले ३२ हजार ११२ मत पाएका थिए ।
तेस्रोमा जसपाका उम्मेदवार महाजन यादवले ५ हजार २१२ र चौथोमा कैँची छापका स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतोले ४ हजार ३४३ मत पाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सञ्जयकुमार यादवले १ हजार १२१ मत पाउँदा अन्यले दलका उम्मेदवारले हजार मत कटाउन सकेनन् ।
त्यसअघि २०७४ को निर्वाचनमा महेन्द्रलाई महासेठले २ हजार ५४१ मत अन्तरले पराजित गर्दै जित हात पारेका थिए । महासेठले २२ हजार ५३२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्दी महेन्द्रले १९ हजार ९९१ मत पाएका थिए । तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार महाजन यादवले १९ हजार ६६२ मत प्राप्त गरेका थिए ।
कांग्रेसबाट जितेका डा. रामवरण यादव प्रथम राष्ट्रपति बनेपछि महासेठ २०६५ को संविधानसभा उपनिर्वाचनमा धनुषा-५ बाट जितेर संसदीय राजनीतिमा इन्ट्री गरेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा राष्ट्रपतिपुत्र चन्द्रमोहन यादवसँग उनले पराजय भोग्नुपर्यो ।

तर, यसपालि महासेठ र यादवको प्रतिस्पर्धामा नयाँ उम्मेदवारहरूले पनि टक्कर दिने देखिन्छ ।
यससँगै नयाँ अनुहारको रूपमा नेपाली कम्युनिस्ट पार्टीबाट सञ्जयकुमार महतो र राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजकिशोर महतो छन् । यहाँ जसपा नेपालबाट कृष्णचन्द्रप्रसाद साह उम्मेदवार बनेका छन् । उनी २०७९ को निर्वाचनमा नेपाल लोकतान्त्रिक पार्टीबाट उम्मेदवार भई २०४ मत पाएका थिए ।

यो क्षेत्रमा जनमत पार्टीबाट इन्द्रजीतकुमार यादव उम्मेदवार छन् ।
धनुषा-४ मा बटेश्वर गाउँपालिका र लक्ष्मीनिया गाउँपालिका, मिथिला नगरपालिकाको ४ नम्बर बाहेक सबै वडा, क्षिरेश्वरनाथ नगरपालिकाका ८ र ९ बाहेक सबै वडा, मिथिला विहारी नगरपालिकाका १,३,४ र ५ बाहेक अरू वडा तथा जनकपुरधाम उपमहानगरपालिकाका ९, १३, १४, १९, २१ र २२ वडा पर्छन् ।
तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4