१० फागुन, डोल्पा । आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा हिमाली जिल्ला डोल्पामा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।
प्रतिनिधि सभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको डोल्पामा शान्तिपूर्ण मतदान सुनिश्चित गर्न नेपाली सेनाले नियमित गस्तीलाई तीव्रता दिएको हो ।
भौगोलिक रूपमा अत्यन्तै विकट, सडक पहुँच नपुगेका र कठिन हिमाली भू–भाग भएका क्षेत्रहरूमा प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न सेनाले घोडाको प्रयोग गरेर गस्ती सुरु गरेको छ ।
विशेषगरी माथिल्लो डोल्पाका दुर्गम मतदान केन्द्रहरूमा पुग्न र सुरक्षा प्रणालीलाई मजबुत बनाउन यो उपाय अपनाइएको सुलीगाड स्थित संग्राम शार्दुल गुल्मका गुल्मपति हरीश शाहीले जानकारी दिए ।
‘माथिल्लो डोल्पाका अधिकांश भूभागमा हिउँ छ, सडक सञ्जालको पहुँच छैन,’ उनले भने, ‘हिउँले गस्ती गर्न समस्या हुने भएपछि घोडाको प्रयोग गरेर भएपनि गरिरहेका छौं ।’
माथिल्लो डोल्पाको अधिकांश क्षेत्रहरूमा कठोर मौसम, उकालो ओरालो भू–भाग र सुरक्षाकर्मीहरूलाई धेरै स्थानमा पैदल गस्ती गर्न असहज हुने भएपछि घोडा प्रयोग गरिएको उनले बताए ।
घोडाको प्रयोगले दुर्गम मतदान केन्द्रहरूसम्म समयमै पुगेर सुरक्षा अवस्था अनुगमन गर्न र आवश्यक परे तत्काल प्रतिक्रिया दिन सहज बनाएको उनले बताए ।
सेनाले गस्तीका क्रममा मतदान केन्द्रहरूको भौतिक अवस्था, सुरक्षाको संवेदनशीलता र सम्भावित जोखिमहरूको मूल्याङ्कन गर्नुका साथै स्थानीय बासिन्दामा सुरक्षा प्रत्याभूति दिलाउने जनाएको छ ।
तल्लो डोल्पामा पनि सेनाले नियमित गस्तीलाई निरन्तरता दिएको छ । स्थानीय नागरिकहरूलाई निर्भय भएर मतदान प्रक्रियामा सहभागी हुन प्रेरित गर्नु पनि गस्तीको मुख्य लक्ष्य रहेको सेनाले जनाएको छ ।
प्रतिक्रिया 4