+
+
Shares
संगीत :

नेपालको संस्कृति र पहिचानमा एआईको डरलाग्दो आक्रमण

गीत संगीतका लागि आइरहेका एआई एपहरूले वास्तवमै नेपाली संगीत उद्योगलाई झस्काएको टिप्पणी हुन थालेको छ ।

रामजी ज्ञवाली रामजी ज्ञवाली
२०८२ माघ २८ गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली संगीत उद्योगमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले मौलिकता संकट र रोजगार संकट निम्त्याएको छ।
  • गायिका ज्योति मगरले एआईले बनाएको गीत गाउन अस्विकार गरिन् र प्रविधिको दुरुपयोगप्रति चेतावनी दिइन्।
  • संगीतकार विशाल निरौलाले एआईले नेपाली सांगीतिक पहिचान हराउने खतरा देखाएको उल्लेख गर्नुभयो।

करिब डेढ महिनाअगाडि, अर्थात २६ डिसेम्बर २०२५ मा चर्चित गायिका ज्योति मगरलाई फोन आयो ।

फोनमा उनलाई एउटा गीत गाउन प्रस्ताव गरिएको थियो । तर के भयो भने, त्यो गीत एआईद्वारा तयार गरिएको थियो ।

अब उनलाई तयार भइसकेको त्यस गीतमा आफ्नो आवाज दिनुपर्ने थियो ।

ज्योति मगरका अनुसार फोनमा भनिएको थियो, गीत भाइरल हुने खालको छ र एआईले बनाएको हो ।

ज्योतिले तुरुन्तै जवाफ दिइन्,  ‘म सरस्वतीको भक्त हुँ । एआईले चोरी गरेका पुराना सर्जकका मेलोडी म गाउन सक्दिनँ ।’

फोन काटियो ।

बिहानै आएको त्यो प्रस्ताव ज्योतिले अस्विकार गरिन् ।

किन ?

ज्योति भन्छिन्,  ‘मेरो नैतिकताले प्रविधिको दुरुपयोग गर्न र क्षणिक भाइरलका लागि काम गर्न अनुमति दिदैन ।’

केहि हप्ता अघिकै अर्को कुरा..

चर्चित संगीतकार तथा गायक विशाल निरौलालाई अमेरिकाबाट एकजना क्लाइन्टको फोन आयो । फोनमा भनियो,  ‘एउटा गीत बनाएको छु । ठ्याक्कै त्यस्तै बनाइदिनुपर्छ । शब्दमा मात्र थोरै परिवर्तन गर्नुपर्नेछ । म्युजिकका लागि आवश्यक बाजा थप्ने र त्यस्तै खालको आवाजमा गीत गाउने जिम्मेवारी तपाईंको हो ।’

ज्योति मगर, विशाल निरौला जस्ता कलाकार, संगीतकार र रेकर्डिङ स्टुडियो सञ्चालकलाई आजकाल यस्तै किसिमका प्रस्ताव लगातार आउने गरेका छन् ।

यसले देखाउँछ कि, नेपालको गीत संगीतमा अब गायक–गायिका र संगीतकर्मीहरूले अनावश्यक झण्झट र प्रविधि दुरुपयोगको चुनौती सामना गर्न थालेका छन् ।

कुनै समय नेपाली संगीत भनेको साधनाको फल थियो । एक गीत तयार हुनुअघि त्यसका पछाडि महिनौंको अभ्यास, असफलता, आर्थिक अभाव, सामाजिक दबाब र भावनात्मक संघर्ष लुकेका हुन्थे ।

शब्दहरू जीवनका भोगाइसँगै फुर्थे । धुनहरू अनुभूतिको गर्भबाट जन्मन्थे । गाउँको उकालीओराली लय बन्थ्यो । र, त्यो लयमा स्वर भरेपछि कलाकारको आत्मा बोकेर श्रोतासम्म पुग्थ्यो ।

तर, प्रविधिको छलाङसँगै यो यात्रामा एउटा नयाँ पात्रको प्रवेश गरेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) ले अन्य क्षेत्रलाई जसरी प्रभावित बनाउँदैछ, त्यसैगरी संगीत उद्योगमा पनि प्रभाव जमाउन सुरु गरेको छ ।

आफूले भन्न खोजेको केही शब्द, कस्तो बाजा प्रयोग गर्ने, कुन शैलीको गीत चाहियो । यी सबै कुरा मोबाइलमा टाइप गरेर पठाएको दुई मिनेटमै पूरा हुन्छ ।

यो सुविधा हो कि खतरा ?

यही प्रश्नले अहिले नेपाली संगीत उद्योगलाई सबैभन्दा कठिन मोडमा पुर्‍याएको छ ।

हामीले प्रविधि राम्रोसँग सदुपयोग गर्न सक्यौं भने यो ठिकै हो, नराम्रो होइन । ४ दिन लाग्ने काम एआईको सहायताले १ घण्टामै फाइनल गीत क्लाइन्टलाई दिन सकिन्छ । मुख्य कुरा हो, एआईलाई सन्दर्भका रूपमा प्रयोग गर्ने । तर, जस्ताको तस्तै गीत युट्युबमा राख्न थालियो भने, त्यो गलत हुन्छ । अर्को कुरा, जसलाई मन लाग्यो त्यसले गीत बनाउने कुरा होइन । यसलाई रोक्न सकिँदैन । त्यसैले, प्रविधि सही तरिकाले प्रयोग गर्ने तरिका अबको विकल्प हो ।

– योगेश गाजी, गायक

कतिपयले गीत–संगीत उद्योगमा एआईको दबाबलाई स्वीकार्य ठान्छन् भने कतिपयले यसलाई गलत मान्छन् ।

आजकाल, एआई आधारित प्लेटफर्महरू– सुनो, उडिओ, बोमाई जस्ता दर्जनौं टुलहरूले गीत बनाउने प्रक्रिया अत्यन्तै सजिलो बनाइदिएका छन् ।

लिरिक्स, धुन, भोकल, सबै एउटै फ्रेममा केही मिनेटमै तयार हुन्छ । सतहमा हेर्दा यो प्रविधि अद्‍भूत लाग्छ । तर भित्र पस्यो भने, एउटा गहिरो डर देखिन्छ,  के हामी साँच्चिकै सिर्जना गरिरहेका छौं कि केवल उत्पादन निकालिरहेका छौं ?

संगीत उद्योगका केही जानकारहरूले भनेका छन्, एआईको बढ्दो प्रयोगले गीत–निर्माणमा ओरिजिनालिटीको संकट गहिरिँदै जाने डर छ । संगीतमा सबैभन्दा ठूलो कुरा मौलिकता हो ।

तर एआईले सिक्ने आधार भनेको पुराना हजारौं गीत, धुन र संरचना हो, र त्यसबाट नयाँ उत्पादन निकाल्ने हो ।

यसको अर्थ एआईले दिने नयाँ धुन कतै न कतै पहिले सुनेकै जस्तो लाग्न सक्छ, भाव कतै न कतै मिलेको र जुधेको महसुस हुन सक्छ । यसले भविष्यमा संगीत उद्योगमा समस्या सिर्जना हुने सम्भावना देखाउँछ ।

त्यसो त आजकल, नेपाली बजारमा बज्ने कतिपय नयाँ गीतहरू सुन्दा एउटै स्वाद, एउटै संरचना र लय जस्तै लाग्न थालेको कुरा पनि उठ्न थालेको छ । यो संयोग मात्र होइन, यो प्रविधिको साइड इफेक्ट हो भन्ने कुरा धेरैले बुझिरहेका छैनन् ।

सबैभन्दा खतरनाक कुरा के भने, यदि भोलि कसैले ‘यो धुन हाम्रो गीतसँग मिल्यो’ भन्यो भने र अन्तर्राष्ट्रिय स्तरमा दाबी गर्‍यो भने, नेपाली स्रष्टा कानुनी रूपमा कति सुरक्षित छन् ? यसको जवाफ अहिले कसैसँग स्पष्ट छैन ।

खासमा, एआईको बढ्दो प्रयोग म स्वीकार गर्दिनँ । किनभने यसले नेपालको मौलिकता, रहन–सहन र सांगीतिक शैलीलाई समानान्तर बनाउँदै जाने जोखिम छ र हाम्रो मौलिकता हराउने खतरा पैदा गर्छ ।

सजिलो र छिटो गीत तयार हुने भए पनि, यो विशेषगरी संगीतकारलाई असर गरिरहेको छ । मौलिक भाका एआईमा हाल्दा, त्यो मौलिकता हराउने चुनौती हुन्छ । हाम्रो समाजको स्वदेशी फ्लेवर र सांगीतिक पहिचान हराउँदै जान्छ ।

एआईले बनाएको गीत सुरुवातमा सहज पनि लाग्ने र युनिक सुनिन्छ, राम्रो लाग्न सक्छ । तर संगीतमा मर्म र आत्मा ल्याउन एआईले सक्दैन । संगीतकारले आफ्नै शब्द र भावनालाई सृजनामा परिणत गर्नुपर्छ । आफ्नो माहोल, अनुभव र संवेदनालाई केवल एआईमा भरोसा गर्दा अब हाम्रो भविष्य के हुने ? त्यसैले, यदि नेपाली मन र नेपाली पन झल्काउनेहो भने ओर्जिनल क्रियसन गर्न जरुरी छ ।

– विशाल निरौला, गायक तथा संगीतकार

एआईले सबैभन्दा पहिले प्रहार गर्ने वर्ग भनेका संघर्षरत संगीतकर्मी हुन् । सिजनल म्युजिसियन, ब्याकग्राउन्ड स्कोर बनाउने युवा कम्पोजर, नयाँ गीतकार र डेमो सिंगरहरूको रोजगार अहिले लगभग चौपट भएको छ । ठ्याक्कै तथ्यांकमा भन्न सकिँदैन, संगीत उद्योगभित्रै आश्रित दर्जनौं व्यक्तिहरू यसबाट प्रभावित हुने कुरा चाहिँ पक्का छ ।

प्रविधिको सहजता मात्र होइन, रोजगारको सवाल पनि एउटा सवाल हो । पहिले नै कमजोर संरचना भएको नेपाली संगीत उद्योगमा, एआईले मान्छेलाई विस्थापन गर्न थालेको संकेत देखिन थाल्नु पक्कै ठीक नहोला ।

नेपालमा संगीतकर्मीहरू आज पनि रोयल्टीका लागि लडिरहेका छन् । कपिराइटको कार्यान्वयन कमजोर छ, डिजिटल अधिकारबारे स्पष्ट नीति छैन । त्यसमाथि एआई–जेनरेटेड कन्टेन्टको सवाल थपिँदा स्थिति अझ जटिल बन्दैछ ।

एआईले बनाएको गीतको मालिक को ?

भोलि विवाद परे कसले जिम्मा लिने ?

यी प्रश्नहरूको जवाफ न कलाकारसँग छ, न कुनै संस्थासँग । यसैले, नेपाली गीत–संगीतलाई अनेक लफडाबाट जोगाउन यो विषयलाई अब खुलाएर उठाउनु जरुरी भएको विज्ञहरू बताउँछन् ।

एआईले सांस्कृतिक पहिचानमाथि खतरा बढाएको कतिपय जानकारको धारणा छ । सांस्कृतिक पहिचान भनेको हाम्रो भाषा, भूगोल, इतिहास र भावनाको अभिव्यक्ति हो ।

लोकगीत, दोहोरी, राग, मादल, सारंगी– यी सबैले हाम्रो माटोको स्वाद बोकेका छन् । तर, एआईबाट बनाइएका गीतहरू प्रायः ग्लोबल साउन्डमा आधारित हुन्छन् ।

त्यसैले, आजकाल गीतहरू सुन्दा अन्तर्राष्ट्रिय जस्तो लाग्छ । अनि नेपालीपन हराउँदै जाने क्रमको सुरुवात भएको छ । यदि यही क्रम चलिरह्यो भने, भविष्यमा नेपाली संगीतको पहिचान के हुने हो ?

सम्भवतः अब यो विषयमा वृहत्त रूपमा छलफल उठाउन जरुरी छ ।

म त अचम्म मानिरहेकी छु । पछिल्लो समय एआईबाट बनाइएका गीतहरूमा आवाज दिन भनेर मलाई केही कलहरू आइरहेका छन् । तर मलाई त, हाम्रो क्रियसनको प्राकृतिक प्रक्रिया जस्तो लाग्दैन । जब हामी कन्सेप्ट क्रियट गरेर गीत गाउँछौं र त्यसका लागि मेहनत गर्छौं, त्यसको मज्जा फरक हुन्छ । गीत तयार भएपछि सुन्दा, मेहनतको मूल्य र सन्तुष्टि नै अलग महसुस हुन्छ । म विश्वास गर्छु, हामीले सकेसम्म एआईको प्रयोग यो उद्योगमा घटाउनुपर्छ । सुरुवात भएकाले पनि होला मानिसहरू रमाइरहेका छन् । तर त्यो भ्रम हो ।
– आस्था राउत, गायिका

नेपाली संगीत उद्योग पुनः मौलिक गीत, आफ्नै लय र स्वाभाविक आवाजतर्फ फर्किनुपर्ने चौतर्फी आवाज सुनिएपनि सार्वजनिक रूपमा कसैले मुख खोलेका छैनन् ।

तर, अब सार्वजनिक रूपमा यसलाई एउटा मुद्दाको रूपमा उठाउन जरुरी छ । किनभने, गीतको वास्तविक शक्ति त्यसको आत्मामा हुन्छ ।

यदि आत्मा नै हरायो भने, बाँकी रहने कुरा केवल ध्वनि मात्र हो ।

आत्मा बिनाको ध्वनि भनेको प्राण बिनाको शरीर हो । गीत संगीतका लागि आइरहेका एआई एपहरूले वास्तवमै नेपाली संगीत उद्योगलाई झस्काएको टिप्पणी हुन थालेको छ ।

पछिल्लो समय एआई प्रयोग गरेर गीत बनाउने क्रम जसरी बढिरहेको छ, त्यो सरासर गलत दिशातर्फ गएको छ । यो केवल प्रविधिको प्रयोग मात्र होइन, बरू नेपाली संगीतमा भइरहेको एक प्रकारको साइबर आक्रमण जस्तै हो । खै हाम्रो आफ्नै लय ? खै हाम्रो मौलिकपन ? खै हाम्रा कथा र भावअनुसारका धुनहरू ? एआईको प्रयोग रोक्न नसकियला । तर, बढ्दो प्रयोग हामी आम नेपाली संगीतप्रेमी र व्यवसायीका लागि खासै राम्रो कुरा होइन ।

-सुबास रेग्मी, म्युजिक व्यवसायी

लेखक
रामजी ज्ञवाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?