अक्सिजन बिना जीवन असम्भव छ, तर यसको महत्व हामी प्रायः बिरामी भएपछि मात्र बुझ्छौं । बढ्दो वायु प्रदूषणका कारण वायुमण्डलमा अक्सिजनको मात्रा घट्दै जाँदा धेरै मानिस अक्सिजन सपोर्टमा निर्भर हुन थालेका छन् ।
यस्तो अवस्थामा सामान्य मानिसको अक्सिजन लेभल कति हुनुपर्छ ? कहिले अक्सिजन मास्क वा सिलिन्डर आवश्यक पर्छ ? धेरै अक्सिजन पनि हानिकारक हुन्छ ? यी प्रश्नहरूको जवाफ फोक्सो तथा दमरोग विशेषज्ञ डा. नवीनकुमार मिश्र यसरी दिन्छन् ।
मानिसको सामान्य अक्सिजन लेभल कति हुनुपर्छ ?
सामान्य व्यक्तिमा अक्सिजन स्याचुरेसन (SpO₂) ९५–९७ प्रतिशतसम्म हुनुपर्छ । पल्स अक्सिमिटरबाट नाप्दा ९५ देखि ९७ प्रतिशत भए पर्याप्त मानिन्छ ।
सामान्य व्यक्तिमा अक्सिजन स्याचुरेसन (SpO₂) ९५–९७ प्रतिशतसम्म हुनुपर्छ । पल्स अक्सिमिटरबाट नाप्दा ९५ देखि ९७ प्रतिशत भए पर्याप्त मानिन्छ ।
९७ प्रतिशतभन्दा माथि हुनु अझ राम्रो हो। यो स्तरले शरीरमा पर्याप्त अक्सिजन पुगिरहेको संकेत गर्छ । तर यो उचाइमा पनि निर्भर गर्छ; उचाइमा जाँदा अक्सिजनको दबाब कम हुँदै जान्छ ।
कुन अवस्थामा अक्सिजन सपोर्ट (मास्क वा सिलिन्डर) आवश्यक पर्छ ?
दीर्घरोगीहरू (दम, फोक्सोको समस्या, मुटु सुन्निएको, रगत बाक्लो भएको आदि) मा SpO₂ ९० प्रतिशतभन्दा कम भएमा अक्सिजन सपोर्ट आवश्यक पर्छ ।
सुत्दा सास फेर्ने मांसपेशीहरू कम सक्रिय हुने भएकाले राति झन् बढी आवश्यकता पर्छ । यदि ९० प्रतिशतभन्दा कम छ र सास फेर्न गाह्रो भइरहेको छ भने चिकित्सकको सल्लाहमा अक्सिजन दिनुपर्छ ।
सामान्यतया कम्तीमा १५ घण्टा, सकेसम्म २४ घण्टा दिनुपर्छ । तर यो आफैंले होइन, कारण हेरेर मात्र दिनुपर्छ, जस्तै: निमोनिया, दम आदि)। दमका बिरामीमा लक्ष्य ९०–९२ प्रतिशत हुन्छ ।
अक्सिजन लेभल कम भएपछि कुन स्तरलाई गम्भीर मानिन्छ ?
९० प्रतिशतभन्दा कमलाई संवेदनशील वा गम्भीर मानिन्छ । यस्तो अवस्थामा तुरुन्त चिकित्सकीय ध्यान चाहिन्छ, किनकि यो दम मात्र नभई निमोनियाजस्ता कारणले पनि हुन सक्छ । ९० प्रतिशत मुनि गएमा मुटु, मस्तिष्कलगायत अंगहरू प्रभावित हुन थाल्छन् ।