चुनावको मुखमा राजनीति छिटो-छिटो परिवर्तन भइरहेको छ । जेनजी विद्रोहपछि नयाँ ध्रुवीकरण भएको छ । यतिबेला धेरै प्रश्न उठिरहेका छन् । नयाँ शक्ति भनिएकाहरू साँच्चै नयाँ छन् कि पुराना प्रवृत्तिलाई नै निरन्तरता दिइरहेका छन् ? एमालेको आन्तरिक लोकतन्त्र किन कमजोर भयो ? कांग्रेसभित्रको रुपान्तरणलाई कसरी हेर्ने ? महिलाको राजनीतिक सहभागिता किन घट्यो ? सामाजिक सञ्जालमा फैलिरहेको झुटा सूचनाबाट भोटर कसरी बच्ने ? चुनावपछि के हुन्छ ?
यिनै विषयमा राजनीतिकशास्त्री सुचेता प्याकुरेलसँग अनलाइनखबरका बसन्त बस्नेतले कुराकानीको संम्पादित अंश :
तपाईं राजनीति शास्त्री हुनुहुन्छ । पोलिटिक्समा साइन्स थपिएको छ । नेपालमा अथवा बाहिर हेर्दाखेरी, कहिलेकाहीं मान्छे भावनात्मक रूपमा यति उत्तेजित हुन्छ कि यो साइन्स हो कि होइन भन्ने प्रश्न उठ्छ । मान्छेले साइन्स भन्ने बित्तिकै प्योर साइन्समा जोड्छन् । सामाजिक विज्ञान र प्योर साइन्सको फरक हाँगा छ। राजनीति खासमा शास्त्र हो कि होइन ?
पोलिटिक्स साइन्स होइन । पोलिट्स भनेको आर्ट अफ पर्सुएशन हो – आफ्नो सोचतिर ढाल्ने कला । तर पोलिटिकल साइन्स चाहिँ गभर्नेन्सको एउटा कर्नरस्टोन हो, एउटा खम्बा । पोलिटिकल साइन्समा साइन्स किन आयो भन्दा, पोलिट्स भनेको खाली मान्छेलाई आकर्षित बनाएर भोट गराउन लगाउने मात्र होइन । त्यसपछिको चार-पाँच वर्षको काम हो ।
पब्लिक सेक्टरमा पैसा कम हुन्छ – फिस्कल डर्थ । ट्याक्सपेयरबाट आएको सीमित पैसाबाट धेरै काम गर्नुपर्ने हुन्छ । त्यसको लागि साइन्टिफिक हिसाबले अघि बढ्नुपर्छ । नीति बनाउनुपर्छ, र त्यो नीति जसको लागि बनाइएको छ, ठ्याक्कै त्यो टार्गेटमा लाग्नुपर्छ ।
त्यसको लागि तथ्याङ्क, प्रोजेक्सन र क्याल्कुलेसन चाहिन्छ । त्यो साइन्टिफिक नभएर हुँदैन । भनेपछि पोलिटिकल साइन्स किन भयो भने-निर्वाचन अघिको पर्सुएशन र निर्वाचनपछिको साइन्टिफिक म्यानेजमेन्टको समिश्रणलाई पोलिटिकल साइन्स भनिएको हो ।
प्रमिस र डेलिभरीको तादात्म्य मिल्नुपर्यो । तर त्यसमा धेरै समीकरण छ । एथिकल हुनुपरर्यो । पर्सुएशन पनि एथिकल हुनुपर्यो, किनभने यो जनहितको लागि गरेको कुरा हो । तर आजकल डार्क आर्ट धेरै प्रयोग भएको देखिन्छ । डार्क आर्ट भनेको के हो ?
यो झुटको खेती छ – राजनीति भन्ने बित्तिकै जुन एउटा विषाक्त वातावरण बनाएको छ, त्यो आर्टलाई डार्क आर्ट भनिन्छ । दोस्रो-तेस्रो शताब्दी ईसापूर्वमा चाणक्य कौटिल्यले सामदाम दण्डभेदको कुरा गरे । तर त्यो मध्यकाल थियो । मानवता विकास भइसकेपछि हामी त्यो प्राइमल मानवबाट माथिल्लो तहमा उठ्नुपर्ने हो । तर फेरि प्राइमलमा खसेजस्तो छ ।

अहिले सोशल इन्क्लुजनको फर्मुला, लुपहोल प्रयोग गरेर जातीय पृष्ठभूमि वा लिङ्गलाई कसरी मिसयुज गर्ने, ल्याउने बेलामा एउटा कुरा देखाउने तर भित्र आफ्नै मान्छे ल्याउने – यस्तो डार्क आर्टमा अहिलेका नयाँ राजनीतिज्ञहरू माहिर भएका छन् ।
नयाँ पार्टीले पनि गर्यो कि यस्तो ?
पुरानोबाट सुरु भयो, नयाँले पनि टिपे । माहोल यही हो । हाम्रो इकोसिस्टम यही नै हो । हामी यहाँबाट सिक्ने-सिकाउनेको होडबाजी जस्तो छ अहिले । नयाँ पार्टी भन्दा नयाँ पात्र आए र नयाँ पात्रले पुरानै प्रवृत्तिलाई निरन्तरता दिए ।
दुईटा घटनाबाट आजको छलफल अगाडि बढाऔं । पहिलो – राष्ट्रिय स्वतन्त्र पार्टी र बालेनको बीचमा सहकार्य भयो, जसमा कुलमान घिसिङ पनि जोडिनुभयो । तपाईंले त्यो लामो नजान सक्छ भन्नुभएको थियो । साँच्चै दुई-तीन दिन बित्न नबित्दै ब्रेक भयो । दोस्रो – जेनजी विद्रोह । तर ये पहिलेको क्रान्तिहरू जस्तो प्रभाव देखिएन । पाँच-सात दिनमै ब्याक टु नर्मल भयो । तर ठूलो प्रभाव नेपाली कांग्रेसमा देखियो । यो सकारात्मक हो ?
जेनजी बिद्रोहपछि, यत्रो विद्रोह त भयो तर परिवर्तन खै ? भन्नेजस्तो कुरा मनमा खेलिरहेको थियो । खै, कहाँ देखियो त परिवर्तन भन्ने लागिरहेको थियो । केही दिनमै ब्याक टु नर्मल भएजस्तो भइसकेको थियो । त्यही समयमा कांग्रेसभित्र परिवर्तन देखियो । त्यसैले मलाई सकारात्मक लाग्छ ।
कतिपयले पार्टी कब्जा गरे भनेका छन् । तर पार्टी कब्जा भन्ने पर्सेप्सनमा फरक पर्छ । युवा पुस्ताले भन्न सक्छ – हाम्रो पार्टी २०-३० वर्षदेखि कुनै एउटा गुटको कब्जामा थियो । देउवा वा केपी ओलीको कब्जामा भएको देखिएन, तर अर्कोले वैधानिक ढंगले मतदाताको संख्या पुर्याएर आएकोलाई कब्जा भन्नु इन्फोर्समेन्टकै कुरा हो ।
बाहिरबाट हेर्दा एउटा इम्पास जस्तो, एउटा टेम्प्लेटमा फसेको जस्तो देखिन्थ्यो नेपाली काँग्रेस । धेरैले होप नै छोडिसकेका थिए – नेपाली कांग्रेसमा अब काम छैन भनेको जस्तो । तर चेन्ज भयो । भित्र सम्भावना जीवित छ भन्ने आश देखियो, एउटा फ्लिकर आयो । नत्र डेड पार्टी जस्तो भइसकेको थियो ।
कांग्रेस भित्र लामो समयसम्म डिसेन्ट राख्ने प्रयास भइरहेको थियो । डिसेन्ट राख्न पाइन्छ तर त्यसले नीति नियममा प्रभाव केही पनि राख्दैन भन्ने थियो। तर, डिसेन्ट राख्दै गयो भने त्यसले परिणाम दिनसक्छ भन्ने ठाउँ हो यो ?
यसमा बाहिरको माहोल र भित्रको माहोल मिल्न गयो । राजनीति शास्त्रमा हामी लेभल्सको कुरा गर्छौं – व्यक्तिगत लेभल, संगठनात्मक लेभल र देशको लेभल । संगठनात्मक लेभल र देशको लेभल दुवैमा डिसेन्ट हुँदा तालमेल मिलेर परिणाम आयो ।
कांग्रेस बदलिसक्यो कि बदल्ने प्रक्रिया आरम्भ भएको हो ?
प्रक्रिया भर्खर आरम्भ भएको हो । बदलिसक्यो कि भन्न अहिले परिपक्व नहोला ।

बालेन र रास्वपाका सहकार्यलाई कसरी हेर्नुभएको छ ?
बालेन एउटा फेनोमेनन जस्तो गरेर आउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसलाई क्यापिटलाइज गरेर आफ्नो फोल्डमा लिएर आयो । तर बालेन फ्याक्टरले रास्वपामा कसरी इम्प्याक्ट गर्छ ? अहिले बालेन एउटा फेनोमेनन लिएर मात्र आउनुभएको छ । अब रास्वपामा उहाँको उपस्थिति कस्तो हुन्छ । त्यो शक्ति कत्रो हुन्छ भनेर हेर्न बाँकी नै छ ।
अहिले पोलिटिकल कन्ज्युमरिजम, पपुलिजम बढेको छ । बाहिर र नेपालमा पनि । पोलिटिकल कन्ज्युमरहरूलाई के चाहिन्छ ? मैले फर्केर आएपछि देखें – यहाँ नागरिकहरूलाई स्टेकहोल्डर भनेर भनिन्छ । स्टेकहोल्डर भनेको पब्लिक स्फियरमा प्रयोग हुने शब्द होइन, तर पपुलराइज गरिएको छ । यो डेभलपमेन्ट सेक्टरले पनि गरेको हुनसक्छ ।
भोटरलाई पनि कन्ज्युमरिज्मकै आँखाले हेर्ने इम्प्लिसिट फ्यासन छ । पोलिटिकल कन्ज्युमरहरू के चाहन्छन् ? यिनै प्रभावले ‘बालेन पपुलर छ, भोटरले बालेन चाहन्छन्, त्यसैले रास्वपाले बालेन अनबोर्ड गर्यो भन्ने पनि लाग्छ । यो कन्ज्युमरिज्मलाई नै फिड गर्दै जाने हो भने, टेरेन अफ मेजोरिटी हुन्छ कि के हुन्छ भन्न सकिंदैन ।
संगठनको शक्ति एकातिर थियो, व्यक्तित्वको बलबाट अर्को व्यक्ति आइसक्नुभयो, उहाँहरूको बीचमा मेलमिलाप भयो । तर रास्वपा भनेको जसको विचार नै बन्न बाँकी छ – त्यो पार्टी बनेको तीन वर्ष मात्र भयो । त्यो पार्टीको स्वरूप के हुन्छ, राम्ररी परिभाषित नहुँदै बालेनसँग एक्य भएको छ । उहाँहरूले देश बनाउने भन्नुहुन्छ, तर कसरी बनाउने भन्ने अस्पष्ट भएको भन्न मिल्छ ?
लोकतन्त्रमा सार्वभौमिकता हुन्छ । हामीले आफ्नो प्रतिनिधिमार्फत् त्यो अगाडि बढाउँछौं । प्रतिनिधि कस्तो हुन्छ ? हामीले जसरी सोच्छौं, जसरी अपरेट गर्छौं, हाम्रो भिजन-मिसन अनुरूपको मान्छे हुनुपर्छ । तर त्यो भइरहेको छ कि छैन भन्ने ठूलो प्रश्नचिह्न छ ।
प्रतिनिधि छान्नलाई धेरै उत्तर चाहिन्छ । त्यो कहाँ उभिएको छ, कसरी सोच्छ, उसको फिलोसफिकल धरातल कहाँ छ ? यी सबै हामीलाई थाहा हुनुपर्छ । अहिले केही पनि थाहा छैन । ये महेलमा भोटर कसरी छान्छ आफ्नो प्रतिनिधि ? कुन सतहमा बसेर ? यो ठूलो प्रश्नचिह्न हो ।
२०६४ सालमा प्रचण्डहरू बाहिर आए, २०७४ मा ओली-प्रचण्डको जुगलबन्दीलाई अनुमोदन गरियो – आर्थिक समृद्धिको वाचा गर्यो भने । २०७९ मा कांग्रेसतिर भोट गयो । अहिले चाहिँ दुईटा कुरा छ – नेगेटिभ भोटतिर जाने र युफोरिक भएर रातारात परिवर्तन हुन्छ भनेर सोच्ने । भोटरले कसरी निर्णय गर्छ ?
अहिले जेनजी विद्रोहको माहोल छ । विद्रोहपछि राजनीतिक अपेक्षा असाध्यै उच्च हुन्छ । भोटरमाथि ठूलो आश हुन्छ । पहिलाका चुनावमा भन्दा यसपटक सबैभन्दा धेरै अशा बढेको देखिन्छ । तर अहिले अलिकति दूरदर्शिता नभएको जस्तो देखिन्छ – भोट बटुल्ने र सरकारमा जाने, त्यसपछि देखाएगा भन्ने कुरा छ । सरकारमा गएपछि डेलिभर गर्न सक्छौं कि सक्दैनौं भन्ने होमवर्क गरिसकेको छ जस्तो पाइँदैन ।
चुनावले सबै समस्या समाधान गर्छ भनिन्छ । तर चुनावले सबैथोक समस्या समाधान गर्छ भनेर सोच्नु भने फेरि निराशामा जाने खतरा हुन्छ । चुनावपछिका दिनहरू कस्ता होलान्?
चुनाव हाम्रो लागि एकदम महत्त्वपूर्ण छ – विद्रोहपछिको चुनाव हो । म्यान्डेट खसेको अवस्था छ, फ्रेश म्यान्डेट चाहिन्छ । म्यान्डेटले लेजिटिमेसी ल्याउँछ । तर चुनाव मात्र सबै कुरा होइन । चुनावपछि कस्तो सरकार बन्छ ? मेजोरिटी सरकार बन्छ कि माइनोरिटी ? गठबन्धन कसरी हुन्छ ? फेरि प्रोब्लेमेटिक गठबन्धन बन्यो भने ? त्यहाँ नीतिहरू कस्ता आउँछन् ? कसले सपोर्ट गर्छ ? सबै कुरा छ । अहिलेको अवस्थामा चुनाव भयो भने निकास पाउँछौं भन्न अलिकति बढी आशावादी हुन्छ । किनभने यत्रो उथलपुथल भएको छ, आश यति माथि हाइटेन भएको छ । तर गर्ने काम, सदन, व्यवस्था केही पनि चेन्ज भएको छैन ।
एमालेको चुनाव अभियान यसपालि अलिकति मोडेस्ट जस्तो देखियो। किन?
एमालेमा लोकतन्त्रको कल्चर अलिकति कमजोर भएको देखिन्छ । एउटा मान्छेको प्रभुत्व, एउटा गुटको प्रभुत्व छ । ग्रुप थिंक, इन्डोक्ट्रिनेसन देखिन्छ । भित्र द्वन्द्व र डिसेन्ट पनि छ, तर त्यसलाई सधैं दबाइन्छ । सफलतापूर्वक दबाइन्छ । लोकतन्त्रको लागि लड्ने एक्टर नै अलोकतान्त्रिक भयो भने, त्यो लोकतन्त्र कतिको सफल हुन्छ ?
पहिला एमाले आन्तरिक लोकतन्त्रमा अब्बल मानिन्थ्यो । कांग्रेसभन्दा पनि अगाडि । किन एकाएक झर्यो ?
ओलीजीको प्रवृत्ति अलिकति लोकतान्त्रिक देखिँदैन । अल्पसंख्यकहरू, महिलाहरूको बोली आयो भने अन्देखा गरिदिने, अरूको विचार सुन्ने पेसेन्स नदेखाउने । यस्तो लिडरशिपले आफूलाई लोकतान्त्रिक छु भनेर भन्दा मान्छेले पत्याउँदैनन् । ओलीजीले क्रिटिकली आफूलाई इभालुएट गर्नुपर्ने बेला आएको छ ।

पार्टीले महाधिवेशनमा यो कुरालाई समीक्षा गरेन ?
गरेको जस्तो लागेन । गरेको भए यस्तो हुँदैनथ्यो होला । त्यहाँ पनि गहकिलो मान्छेहरू छन्, तर उनीहरूको आवाज अगाडि नै आउँदैन । उनीहरूको रिजनिङलाई सिरियसली लिइँदैन ।
ओलीले गम्भीर टिप्पणी गर्नुभएको छ – अहिले जे भइरहेको छ बाह्य शक्तिको इशारामा भइरहेको छ, चुनावपछि हामी नेपालीकै सरकार बनाउँछौं । यसलाई कसरी हेर्नुभयो ?
हाइपर ग्लोबलाइज्ड संसारमा बाह्य शक्ति परिचालन हुँदैन भन्न मिल्दैन । हाम्रो जियोपोलिटिकल स्पेस पनि त्यस्तै छ, स्ट्रटेजिक हिसाबले पनि त्यस्तै छौं । जियोपोलिटिकल स्ट्रटेजी नेपालमा लागू हुँदैन भन्न मूर्खता हुन्छ ।
तर अहिलेसम्म जुन गतिविधि गरे – एमालेले, कांग्रेसले, माओवादीले । जुन भ्रष्टाचार, स्क्यान्डल देखियो, त्यसबापत हामीले गल्ती गर्यौं भन्ने महसुस पनि नदेखाउनु ठूलो कमजोरी हो ।
प्रचण्ड र माधव नेपालले नेपाली कम्युनिस्ट पार्टी बनाउनुभएको छ । उहाँहरूलाई कसरी हेर्नुभयो ?
रिफर्म्युलेट भएको देखिन्छ । अहिले भर्खरको सुरुवाती चरण छ । चुनावमा कस्तो गर्नुहुन्छ, संगठनको रूपमा कसरी अगाडि बढ्नुहुन्छ, त्यसमा भर पर्छ । अहिले टिप्पणी गर्ने डेटा नै छैन ।
तर ट्र्याक रेकर्डलाई हेर्दा, पुस्तान्तरणको प्रश्न त्यहाँ पनि प्रबल रूपमा उठेको छ । नेताहरू एउटै जेनेरेसनका हुनुहुन्छ । नयाँ पात्र पनि गाँसिएका छन् । उहाँहरूको पर्स्पेक्टिभलाई कतिको सिरियसली लिइन्छ, हेर्न बाँकी छ ।
यो सरकारका चार मन्त्री विषयमा कुरा गर्दा उहाँहरु बीचमै हिँड्दिनुभयो । तर चुनाव चाहिँ सहि समयमा सहि तरिकाले हुने नै भयो ?
हुन्छ भन्ने आश छ । पुनर्स्थापनाको बहस चलिरहेको सुन्नुभएको छ । यथास्थितिवादीहरूलाई ठूलो आश छ, पुस पनि भइरहेको छ। तर मेजोरिटी विलको कुरा गर्दा, चुनाव हुन्छ नै जस्तो लाग्छ । पेसिमिस्ट भएर बोल्दा पनि ६०-४० हुन्छ नै ।
अझै पनि दस्तावेज आएको छैन ।आएको छैन । भनेपछि भोटरलाई जुन डेटा र इन्फर्मेसन चाहिन्छ, त्यो हातमा छैन । मिसइन्फर्मेसनले घेरिएको अवस्थामा राम्रो भोटर भएर ड्युटी निभाउने भन्ने कुरामा प्रश्नचिह्न छ । किनभने भोटिङ एउटा ड्युटी हो ।

यो लाइ, मिसइन्फर्मेसन, डिसइन्फर्मेसन र फेक चिजहरूबाट बचेर आफ्नो उम्मेदवार छान्ने, विचार सुन्ने- यो अबको चुनावको चुनौती नै हो ।
यसको लागि स्थानीय एनजीओ र प्ल्याटफर्महरूले पार्टीको दस्तावेज र उम्मेदवारको म्यानिफेस्टो म्याच गर्छ कि गर्दैन, पहिलाका वाचा कतिको पूरा भए जस्ता कुरा यस्ता कुरा अगाडि ल्याइदिए भोटरलाई सजिलो हुन्थ्यो ।
महिलाको राजनीतिक सहभागितामा कस्तो अवस्था छ? राजनीति पुरुषकेन्द्रित क्षेत्र भयो भन्ने लाग्दैन ?
सत्ताको खेल पुरुषको खेल हो भनेर ठानिएको छ । महिला हुँदैन, महिला खाली दिनुपर्ने-देखाउनुपर्ने मुख मात्रै हेर्ने भन्नेजस्तो भएको छ । यो खेल पुरुषकै खेल हो । यहाँ रामायणको कुरा हुन्छ – भाइको कुरा । तर लोकतन्त्र रामायण होइन । लोकतन्त्रमा महिला-पुरुष बराबर पहुँच हुनुपर्छ ।
अहिले युवा जेनेरेसनमा पनि ‘मेरो भाइ कतै गए भने म भरत भएर सिंहासन सम्हाल्छु’ भन्ने कुरा सुनिन्छ । यो भाइ-भाइको मात्र कुरा हो । राम-राज्यको कुरा हो । लोकतन्त्रमा खाली पुरुषले आफूलाई राम वा भरत भनेर हेरिरहनु ठीक होइन । यो सिम्बोलिक ढंगले भनेको होला, तर त्यसले सोच जनाउँछ ।
प्रत्यक्षतर्फमा यति थोरै महिला उम्मेदवार किन ?
पुरुषले सत्ताको खेल मेरो खेल हो भनेर ठानेको हुनाले । महिला हुँदैन भन्ने मान्यता छ । ३३% भनिएको छ, तर पहिलो चुनावभन्दा घटेको छ । इन्डिपेन्डेन्ट महिलाको संख्या बढेको छ – अघिल्लो निर्वाचनमा १५० थियो, अहिले १६० ।
लोकतन्त्र ओझेलमा परेको होइन, किनभने राजनीति मेरो पनि हो, पब्लिक स्फियर मेरो पनि हो भन्ने ओनरशिप महिलामा छ । तर एजेन्सी पाएका छैनन् । राजनीतिक पार्टीमा एजेन्सी नभएर इन्डिपेन्डेन्ट उम्मेदवार बन्दैछन् ।
पुरुषकेन्द्रित पार्टीले पावर समातेर राखिरहेको छ, ‘मैले दिन्छु, मैले आउट गर्छु’ भन्ने मनोवृत्ति छ । ५१% जनसंख्या भएको देशमा यसो गर्दा प्रतिनिधित्वको मुद्दा कतिको सुल्झिन्छ ? कलेक्टिभली राम्रो गर्यौं भने, ५०-५१% जसरी जनसंख्या छ, त्यसरी प्रतिनिधित्व दियौं भने कलेक्टिभली स्ट्रङ हुन्छौं, पार्टीको लेजिटिमेसी बढ्छ । तर यो सोचाइ नभएको देखिन्छ ।
नागरिकहरूले के गर्नुपर्छ ? हाम्रा सबै गतिविधि मोबाइलमा आइपुगे । उम्मेदवार पनि फोनमा देखिन्छ । एउटा स्वाइपले चुनावमा के हुन्छ भन्ने गाइड गर्ने सम्भावना छ । ट्रुथ र लाइकको बीच सानो रेखा छ । एआईले के-के गरेको छ ? मिसइन्फर्मेसन र डिसइन्फर्मेसनबाट कसरी बच्ने ?
यो निर्वाचनको फिलोसफीमै गाँसिएको कुरा हो । निर्वाचन भनेको ग्रीक सिटी-स्टेटमा सुरु भयो, जहाँ एउटा पुरुषले आफूलाई मनपर्ने नीतिमा ढुङ्गा हालेर भोट गर्थे ।
मोडर्न स्टेट निर्वाचन नभएर हुँदैन । त्यसमा भोटर रासनल एक्टर हो – डेटा चाहिन्छ । आधुनिक राज्यमा इन्फर्मेसन चाहिन्छ । सबै डेटा कलेक्ट गरेपछि भोटरले आफ्नो भिजन-मिसन पूरा गर्ने प्रतिनिधि छान्छ ।
तर मिसइन्फर्मेसन र डिसइन्फर्मेसन आयो भने, त्यो इन्टायर निर्वाचन फर्मुला नै वर्क गर्दैन । त्यसबाट बच्न सिधै दस्तावेजहरूमा फोकस गर्यो भने – उम्मेदवारको क्याम्पेन म्यानिफेस्टो, पार्टीको दस्तावेज – राजनीतिक नोइजलाई कटाउन सकिन्छ ।
प्रतिक्रिया 4