+
+
Shares

दल र उम्मेदवारका चुनावी खर्चको सीमा के आधारमा तोकिएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २५ गते १८:४४

२५ माघ, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने चुनावी खर्चको सीमा तोकेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार, निर्वाचनको प्रचारप्रसार तथा बैंक खाता संचालन व्यवस्थापन कार्यविधिमा दल र उम्मेदवारले गर्न पाउने खर्चको सीमासम्बन्धी व्यवस्था छ । यो कार्यविधि यही माघ २० गते निर्वाचन आयोगबाट स्वीकृत भएको हो ।

निर्वाचन आयोगबाट स्वीकृत भएसँगै कार्यान्वयनमा आएको छ । विगतका निर्वाचनमा पनि खर्चको सीमा थियो । २०७९ साल असोज ३१ गते राजपत्रमा प्रकाशित गरेर त्यसबेला खर्चको सीमा सार्वजनिक गरिएको जिसीले जानकारी दिए ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि राजनीतिक दल र उम्मेदवारले खर्च गर्न पाउने सीमा तोकिएको छ । सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरक–फरक खर्च सीमा निर्धारण गरिएको छ ।

आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नम्बर १, ३, ६, ७ र ८ छन् ।

खर्चको सीमाअनुसार देशभरका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख बराबरको खर्च गर्न पाउनेछन् । ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख खर्च गर्न पाउँछन् ।

आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख खर्च गर्न पाउँछन् ।

उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने हुन्छ ।

यो चुनावी खर्चको सीमाको आधार के हो ?

जवाफमा निर्वाचन आयोगका साहायक प्रवक्ता जिसी भन्छन्, ‘सम्बन्धित निर्वाचन क्षेत्रमा कायम रहेको मतदाता संख्या हो । यसले ६० प्रतिशत क्यारी (प्रतिनिधित्व) गर्छ । सम्बन्धित निर्वाचन क्षेत्रमा कायम रहेको मतदान केन्द्र अर्को आधार हो । यसले २० प्रतिशत क्यारी गर्छ । सम्बन्धित निर्वाचन क्षेत्रको क्षेत्रफल (आकार)ले २० प्रतिशत क्यारी गर्छ ।’

उनका अनुसार यी तीन आधारमा बिभिन्न कलस्टर बनाइएको छ । त्यसआधारमा कति खर्च गर्न पाउने भनेर तय गरिएको हो ।

समानुपातिक तर्फको निर्वाचनको हकमा केही फरक छ । सम्बन्धित दलले कति जना उम्मेदवार समानुपातिक तर्फको बन्दसूचीमा कायम राखेका छन् । त्यस बमोजिम हरेक उम्मेदवार बराबर दुई लाख खर्च गर्न पाउने गरी खर्चको सीमा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?