२० माघ, काठमाडौं । काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यका लागि २९ जना उम्मेदवार छन् । २९ जनामध्ये २५ जना पुरुष छन् भने महिला उम्मेदवारको संख्या चार मात्रै छ ।
जबकि, यो निर्वाचन क्षेत्रमा पुरुषभन्दा महिला मतदाता धेरै छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष मतदाता २३ हजार २३७ (४७.९२ प्रतिशत) र महिला मतदाता २५ हजार २५२ (५२.०८ प्रतिशत) रहेका छन् ।
महिला मतदाता धेरै भए पनि उम्मेदवारमा पुरुष नै अधिक छन् । २९ जना उम्मेदवारमा १६ जना दलीय उम्मेदवार छन् भने १३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसबाट प्रबल थापा, नेकपा एमालेबाट मोहनराज रेग्मी, नेपाली कम्युनिस्ट पार्टीबाट मेनुका भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रन्जु न्यौपाने उम्मेदवार छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्प्रपा)ले रविन्द्र मिश्रलाई उम्मेदवार बनाएको छ । मिश्र यसअघिका दुई वटा निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार थिए ।
यो क्षेत्रमा जनता समाजवादी पार्टी नेपालबाट प्रकाश नायजु, नेपाल मजदुर किसान पार्टीबाट रमिला ज्याख्व (सुवाल), प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सविन सिग्देल, श्रम संस्कृति पार्टीबाट समिर लामा तामाङ, मितेरी पार्टी नेपालबाट राजकुमार लिम्बु उम्मेदवार छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले धनराज शाहीलाई उम्मेदवार बनाएको छ । उज्यालो नेपाल पार्टीबाट मंगलाल श्रेष्ठ उम्मेदवार छन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपालबाट इन्द्रप्रसाद श्रेष्ठ, नेपाल जनसेवा पार्टीबाट अर्जुनबहादुर शाही, समावेशी समाजवादी पार्टीबाट सुरेन्द्र पाण्डे, जनादेश पार्टीबाट कमल सुवेदी उम्मेदवार रहेका छन् ।
स्वतन्त्र उम्मेदवारको संख्या १३ छ । जसमा असिममान सिंह बस्न्यात, कमल कोइराला, किरण शाह, कुशल खत्री, कुमार शाही, राजु भुजेल, रमेशप्रसाद जोशी, राजकुमार बजगाईं, शान्ति श्रेष्ठ, शम्भु पोखरेल, सागर जोशी, सुरेन्द्रप्रसाद ढकाल र संगीत बम रहेका छन् ।
प्रतिक्रिया 4