News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२५ मा एप्पलको आइफोन १६ विश्वमै सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन बनेको छ।
भर्खरै सकिएको अंग्रेजी वर्ष २०२५ मा विश्व स्मार्टफोन बजारमा नयाँ उत्साह पैदा भयो । अनुसन्धान संस्था काउन्टरप्वाइन्ट रिसर्चले सार्वजनिक गरेको ग्लोबल ह्यान्डसेट मोडल सेल्स ट्र्याकर रिपोर्टअनुसार यो वर्ष विश्व स्मार्टफोन बजारमा एप्पलले आफ्नो आधिपत्य कायमै राख्न सफल भएको छ ।
रिपोर्ट अनुसार सन् २०२५ मा एप्पलको आइफोन १६ विश्वमै सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन बनेको छ । अर्को रोचक त के भने यो गतवर्ष विश्वमा सबैभन्दा धेरै बिक्री भएका टपटेन स्मार्टफोनमध्ये ७ वटा त आइफोन नै परेको छन् । बाँकी ३ स्थान चाहिँ सामसुङका ग्यालेक्सी फोनले कब्जा गरे।
सामसुङको ग्यालेक्सी ए१६ फाइभ जी सन् २०२५ मा सबैभन्दा धेरै बिक्ने एन्ड्रोइड फोन बनेको छ ।
उता चिनियाँ स्मार्टफोन ब्राण्डहरूको प्रदर्शन भने सन्तोषजनक रहेन । किनकि सन् २०२५ को टपटेन स्मार्टफोनको सूचीमा एउटा पनि चिनियाँ स्मार्टफोन पर्न सकेन।
स्मार्टफोन बजारमा यसलाई महत्वपूर्ण परिवर्तनको संकेतका रूपमा लिन सकिने विश्लेषकहरूको भनाइ छ।
यी हुन् सबैभन्दा धेरै बिक्री हुने शीर्ष १० स्मार्टफोन
१. एप्पल आइफोन १६
२. एप्पल आइफोन १६ प्रो म्याक्स
३. एप्पल आइफोन १६ प्रो
४. एप्पल आइफोन १७ प्रो म्याक्स
५. सामसङ ग्यालेक्सी ए१६ ५जी
६. सामसङ ग्यालेक्सी ए०६ ५जी
७. एप्पल आइफोन १७
८. एप्पल आइफोन १५
९. सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा
१०. एप्पल आइफोन १६ई
काउन्टरप्वाइन्टको रिपोर्ट अनुसार यी शीर्ष १० डिभाइसहरूले सन् २०२५ को कुल स्मार्टफोन बिक्रीमा करिब १९ प्रतिशत हिस्सा ओगटेका छन् । यसले स्मार्टफोन बजारमा अत्यधिक केन्द्रीकरण भएको देखाउँछ।
एप्पलको सफलता र आइफोन १७ को लोकप्रियता
रिपोर्टमा उल्लेख भए अनुसार सन् २०२५ मै बजारमा आएको आइफोन १७ सिरिजले निकै राम्रो बिक्री रेकर्ड कायम गर्न सफल भएको छ । खासगरी यसको पहिलो पूर्णत्रैमासिक अवधि (अक्टोबर–डिसेम्बर) मा आइफोन १७ सिरिजको बिक्री पुरानो सिरिजको आइफोनको तुलनामा १६ प्रतिशत अधिक रह्यो।
अर्कोतर्फ आइफोन १६ ई मोडलले जापान र अमेरिकी बजारमा राम्रो प्रतिक्रिया पायो।
किन परेनन् चिनियाँ ब्रान्ड ?
सन् २०२५ मा विश्वमा सर्वाधिक बिक्री हुने टपटेन स्मार्टफोनको सूचीमा कुनै चिनियाँ ब्रान्ड नदेखिनुको पछाडि केही कारणहरू छन् । विश्लेषकहरूका अनुसार एकातर्फ चीनमा सहुलियतयुक्त तथा सुपथ मूल्यका उपकरणहरूको बीचमा उच्च प्रतिस्पर्धा हुनु र अर्कोतर्फ प्रिमियम स्मार्टफोनमा एप्पल र सामसुङकै बलियो स्थिति उत्पन्न हुनुले गर्दा स्थानीय चिनियाँ ब्राण्डका स्मार्टफोनले बजारमा अपेक्षाकृत प्रभाव जमाउन सकेनन् ।
अनि यो नियति निरन्तर रूपमा पछिल्ला चारवर्ष दोहोरिएको छ । विश्लेषकहरूका अनुसार एप्पलको ससक्त ब्रान्ड पर्फर्मेन्स र सामसङमा चाहिँ प्रिमियमसँगै सुपथ मूल्य तथा मध्यम मूल्यस्तर सम्मका फोनहरुको विकल्पहरूले गर्दा यी दुई ब्राण्डले स्मार्टफोन उद्योगमा लामो समयदेखि राज गरिरहेका छन् ।
एजेन्सी
प्रतिक्रिया 4