+
+
Shares

आबै, ‘खेलाऊ बज्यै नाति’

एक दिन आबैको थैलीबाट आइसी १०० रुपैयाँ चोरेर नजिकको पसल चौरे बाजेकोमा साट्न गएँ । बाजेले मलाई फकाएर घर ल्याए र पैसा सहित मलाई आबैसमक्ष बुझाए ।

पवन थापा ‘ जोय’ पवन थापा ‘ जोय’
२०८२ माघ १९ गते २०:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले आफ्नो आमाको जीवन संघर्ष र माया समेटेर सामाजिक पितृसत्ताविरुद्धको उनको संघर्षलाई स्मरण गरेका छन् ।
  • लेखकले हजुरआमको निधनपछि उनको सम्झना गरेका छन् ।

फूल की ख़ुशबू, हवा की चाप, शीशे की खनक
कौन सी शय है जो तेरी ख़ुश-बयानी में नहीं
– परवीन शाकिर

गाउँघरतिर भनिने गरिन्छ– सपनामा आफ्नो मान्छे मरेको देख्यो भने उसलाई थाहा नदिए उसको आयु बढ्छ, थाहा दिए आयु घट्छ । मैले मेरो सपना कहिल्यै आबैलाई भनिनँ ।

सानो छँदा हेरेको कुनै नेपाली सिनेमा सम्झन्छु । एक बच्चा पात्रलाई अन्य अभिभावकले आफ्नो आमा यो संसारमा नरहेको बताउँछन् । म त्यस बखत झस्किन्थेँ– ‘ मेरो आबैले पनि संसार छाडे भने म के गर्ने ? कोसँग सुत्ने ? भोक लाग्यो कसलाई भन्ने ? घाँस/दाउरा काटेर ल्याएर कसलाई देखाउने ? गाईबाख्रा चराएर ल्याएर कसलाई देखाउने ? सुनको भात (आटो) मा सिन्की खाँदा पिरो भयो भने कसलाई दङ्ग्याउने ? केही कुरामा चित्त नबुझे भुइँको धुलोमा कसलाई देखाएर पल्टीपल्टी रुने ? कहाँ खोज्ने आबैलाई ?’ त्यस रात म आबैको हातलाई बेस्सरी अठ्याएर सुतेको थिएँ…।

आबैको पुसै ग्राम पञ्चायतको मुखिया । दुदु बाजेको कान्छी श्रीमती । घरकी माइली बुहारी । मुखियाको घरमा हरदम पाहुनापाछा । आबैका हातले आराम पाउँदैनथे । भान्सा, चोटाकोठा, गोठ, जंगल जताततै आबैका गोडाहरू सक्रिय हुन्थे । अहिले बुझ्दा लाग्छ, आबैलाई बाजेले विवाह प्रेमपूर्वक जीवन काट्न होइन कि एक कामदारको रूपमा र सन्तान उत्पादनको निमित्त गरेका थिए, जसले घरको पूरा व्यवस्था सम्हालोस् ।

आबै विवाह गरेर बिजु पश्चिम सुर्खेत आएपछि जेठी सन्तानको रूपमा मेरी आमालाई जन्माइन् । लगत्तै माइली, साइली, काइली र केही समयपछि कान्छी सन्तानलाई जन्म दिइन् । कान्छी छोरी जन्मने बेला छोरी मात्र जन्माएको कारण आबैलाई खाने भाँडाकुँडा समेत नदिई घरदेखि छुट्ट्याइएको थियो । उहाँ आफ्ना चार छोरी लिएर बद्दिचौरमा झुप्रो बनाएर बस्नुभयो। त्यहीँ जन्माइन् आफ्नी कान्छी छोरी । म पनि पछि त्यही घरमा जन्मेँ।

 

म धेरै बुझ्दिनँ आबैले पुसैदेखि कति अपहेलित भइन् । गाउँलेहरू भन्छन्, ‘त्यो समयमा फुपू र सौताले थोरै दुख्ख दिए खोतेनी माइलीलाई !’ उनको त्यो दुख्ख बद्दिचौरदेखि मध्य सुर्खेत सरेपछि झन् पहाड भएर अग्लियो । एक्ली आमा, हेर्नुपर्ने पाँच छोरी । आफू निरक्षर भए पनि आबै छोरीहरूलाई पढाउनुपर्छ भन्नेमा कुरामा सचेत थिइन् । आफूले सक्दो दुःख गरेर तत्कालीन सामाजिक चेतनाको ‘छोरीलाई पढाउन हुँदैन, विवाह गरिदिनुपर्छ’ भन्ने भाष्यदेखि माथि उठेर छोरीहरूलाई पढाइन्, जसले गर्दा मैले पनि अक्षर चिन्न मौका पाएँ ।

छोरीहरू स्कुल त जान्थे तर जहिले स्कुलको पोशाक, पुस्तक र फिस उनीहरूको बाधक बन्थ्यो । श्रीमानले नहेरेपछि खर्च आउने स्रोत थिएन । अलिअलि अन्नपानी र रक्सी बेचेको पैसा हुन्थ्यो । त्यही पैसाले छोरीहरूलाई पोशाक, पुस्तक र फिस जोड्न मद्दत पुग्थ्यो । त्यही मुस्किलहरूको सामना गर्दै बिते आबैको जीवनका बहुसंख्यक पलहरू।

आबै एक आदिवासी एकल महिलाले भोग्नुपर्ने हरेक बाधा–अवरोध छिचोल्दै आफू र छोरीहरूलाई गिद्धे नजर लाउने अल्लारेहरूबाट बचाउँदै समाजको पितृसत्तालाई आँखा जुधाउन सक्ने बनाइन् । आबैकै प्रेरणाले होला, मेरी माइली र साइली छ्यामा अर्थात् आबैकी माइली र साइली छोरी गाउँमा आफैँ हलो जोतेर बाली लगाएर किसानी कर्मलाई पुरूषवादी भाष्यदेखि बदल्न मद्दत गरे (अझै पनि बालीनाली लगाउन श्रम दिएर पुरूष नै खोजिन्छ) । बाजेले जमिन त दिए, पुर्जा दिएनन् । आबै, साइली र कान्छी छोरीले आफ्ना श्रीमान् र बुबासँग सजिलै जमिनको हक नपाएपछि अदालतसम्म धाई आफ्नो हक खोसेरै छाडे। शायद यही विद्रोही चेत ममा पनि सरेको छ ।

म आबैलाई पर्खिनै रहेको छु । आशा छ अब आउने तिहारमा म त्यहीँ वर्ष बाह्रको हुनेछु। साथीहरूसँग भैली खेलेर भोकाएर थकित भई घर फर्कँदा आबै पुरानो घरको भान्सा कोठामा सेलरोटी हालिरहेकी हुनेछिन्।

आफ्नो कोखबाट छोरा नजन्मिएर वा त्योभन्दा पनि बढी कुनै स्वार्थ नगासिएर होला आफूभन्दा बढी मलाई सपार्न लागिन् । आफ्नो हातमा मलाई समाई आकाशतिर उडाउँदै ‘छाक्कुन नाकुन छाक्कुन’ भन्दै नचाउँथिन् । म आबैको बुलाकी हेर्दै नाचिदिन्थेँ। यसरी आबैले मलाई खेलाएको देखेर छिमेकीहरू खिसी गर्दै भन्थे— ‘खेलाउ, बज्यै, नाति।’

कहिल्यै कापी र कलम नसमाएको एक खस्रो कृषकको हातले मेरो कलिलो हात समाउँदै ‘क’ लेख्न सिकाइन् । सिँदुरे गोरु र चौली गाईलाई माया गर्न सिकाइन् । गाँजलु बाख्रीलाई माया गर्न सिकाइन् । चल्लेनी माउलाई माया गर्न सिकाइन्। काले कुकुरलाई माया गर्न सिकाइन् । यसरी अन्न, बोटबिरुवा, बाली र माटोसँग प्रेम गर्न सिकाइन् । मभित्र करुण भाव जगाइन्।

आबै जहाँ-जहाँ जान्थिन्, मलाई पनि साथमै लैजान्थिन् । कसैको बिहेमा अथवा तीजमा माइत, दिदी भेट्न थारी, बहिनी भेट्न सदरमुकाम र स्वाउले । म आबैको नजोडिएको अङ्ग थिएँ । न मलाई छाडेर आबै एक्लै कतै जान सक्थिन्, न म एक्लै आबैबिना घरमा बस्न सक्थेँ । म आबैलाई एक्लै उभिएर नागरिकताको फोटोसमेत खिच्न दिदैनथेँ।

आबैलाई राखिएको प्रादेशिक अस्पतालमा पुग्दा आधा रात भइसकेको थियो । आबैको अप्रेसन भइसकेको थियो । होश अझै आएको थिएन । डाक्टरले भनेअनुसार पाँच प्रतिशत बाँच्ने मौका भएको काइली छ्यामाले बताइन् । छ्यामा आफूलाई सम्हाल्न खोजिरहेकी थिइन् । मैले आफूलाई सम्हाल्न खोजेँ, सकिनँ । अस्पतालको एक कुनामा गएर म पनि रोएँ । म रुन थालेपछि छ्यामाहरूले मलाई सम्हाल्न खोज्नुभयो । म भने रोइ नै रहेँ छ्यामाहरूको बीचमा बसेर, जसरी सानोमा आबै मलाई छाडेर सदरमुकाम जाँदा छ्यामाहरूसँग सुत्न नमानेर रुन्थेँ ।

कुनै समय एक जना मित्रले कोटेश्वरको डाँडामा चिया पिउँदै भनेकी थिइन्, ‘ पवनजी, तपाईं मर्दा रुने कोही छ ? ‘मैले मुस्कुराउँदै भनेको थिएँ, ‘आबै।”

बिहान डाक्टर आएर मस्तिष्कमा रगत जमेकाले होस आउने सम्भावना नरहेको र आईसीयूमा राख्नुको कुनै फाइदा नरहेको बताए । सानोमा बिठ्याइँ गरेर अरूले लखेट्दा आबैको काखमै गएर लुक्थेँ । मलाई लाग्थ्यो- यो संसारमा मेरो आबैभन्दा अरू कोही छैन, आबैभन्दा बलियो पनि कोही छैन, राजेश हमालभन्दा पनि बलियो। जब ती बलिया नारी आईसीयूमा अन्तिम सास फेरिरहेकी थिइन्, मैले आफूलाई निकै कमजोर ठानेँ, एक्लो ठानेँ।

डाक्टरले अप्सन दिए – ‘अन्तिम धड्कन छ, कृत्रिम सास दिएको छौँ । यतिकै राख्नु भनेको उहाँलाई झनै गाह्रो बनाउनु हो । पैसा मात्र खर्च हुन्छ । परिवारले फैसला गर्नुहोस् ।’

म आत्तिएँ । कतै नराम्रै बज्रिएजस्तो लाग्यो । हातखुट्टा लुला भए, शरीरबाट सबै तागत बिलायो, मस्तिष्कले काम गर्न छाडेजस्तो भयो । के गर्ने, के नगर्ने । चारैतिर अन्धकार भएजस्तो लाग्यो । आफन्तहरू आउन थाले । परिवारको सहमति भयो । आजै घर लगेर आफन्तलाई खबर गर्ने । मेरो स्वर दबिएको थियो । मैले दबिएको स्वरले विरोध जनाउन खोजेँ– ‘मेरो आबैलाई यहाँ केही नगर । अस्पतालमा होइन, म आबैलाई घरको किमुको बोटमुनि लगेर सुताउन चाहन्छु, जहाँ आबैले मलाई सँगसँगै किमुको बोटलाई पनि मायाले हुर्काएकी थिइन् ।’

किमु फल्ने हरेक सिजनमा मेरो पैताला किमुको रङले सजिन्थ्यो । मेरो पैतालासँग किमुको रङसित रङ्गिनु बाहेकको अर्को विकल्प थिएन। मैले पछि पनि आबैको पैताला रङ्गिएकै देखेको थिएँ। सधैँझैँ एक दिन आबै मलाई ढाडमा बोकेर गाईबाख्रा चराउन जंगल लैजानुभयो। जमिन भिरालो भएकाले बाख्रा सम्हाल्न गाह्रो पर्थ्यो। त्यसमाथि मलाई बोकेर उकालो ओरालो गर्दा झनै कठिन पर्थ्यो ।

 

भुइँमा झार्दा म रुने भएकाले आबै मलाई बोकेरै कठिनतासाथ बस्तु फर्काउन भिरालो जमिनमा तेर्सै हिँड्दै गर्दा ढुङ्गामा खुट्टा अल्झेर लड्नुभयो । एकछिनसम्म उठ्न सक्नुभएन । म चिच्याएर रोएँ । आबै केही समयपछि उठ्नुभयो र आफ्नो दाहिने हात समाइरहनुभयो । केही समयपछि मलाई बुई चढाएर घरतिर आउनुभयो । पछि थाहा भयो आबैको त हात भाँचिएको रहेछ ।

एक दिन आबैको थैलीबाट आइसी १०० रुपैयाँ चोरेर नजिकको पसल चौरे बाजेकोमा साट्न गएँ। बाजेले मलाई फकाएर घर ल्याए र पैसा सहित मलाई आबैसमक्ष बुझाए । आबैले मलाई सम्झाइन्– ‘काले, पैसा चोर्नु हुँदैन । मैले नदेखे पनि भगवानले देखिराखेका छन् । अब नचोर्नु है ।’

मैले टाउको नाइँमा हल्लाएँ।

मलाई कसैले केही भने आबै रक्षाकवच बनेर उभिन्थिन् । गाउँमा कसैको बगैँचाको फल प्राकृतिक रूपमा खसे पनि बगैँचा मालिक मलाई दोष लगाउन आउँथ्यो । आबै उसलाई झपारेर पठाउँथिन् । म अझै सम्झन्छु एक गाउँकी महिलाले ‘यस्ता विनाबाउका छोराले हाम्रो समाज बिगार्छन्’भनेर मेरो अपमान गरेकी थिइन् । त्यो खबर एक कान दुई कान हुँदै मेरो आबैको कानसम्म पुग्यो । आबै आफूमा भएको शक्ति लगाएर ती महिलालाई प्रतिरोध गरिन्।

त्यो रात मैले आबैलाई सोधेको थिएँ– ‘आबै, बाउ भयो भने के हुन्छ ?”

आबै मलाई काखमा लिएर अबेरसम्म रोइरहेकी थिइन्। त्यसपछि मैले यो प्रश्न आबैलाई कहिल्यै सोधिनँ। साथीहरूबाट पनि यही विषयमा धेरै पटक अपमानित भएँ, तर आबैलाई कहिल्यै भनिनँ किनकि म आबैलाई रोएको हेर्न चाहन्नथेँ।

आबै अक्सर कपाल कोरेरै बस्थिन्। कालो कपालमाथि कालै डोरी झुन्ड्याउँथिन्। निलो गुन्यू र ढाकाको चोली लगाउँथिन्। कम्मरमा पटुकी, पटुकीको छेउमा झुन्डिएको हुन्थ्यो खुर्पेटो, खुर्पेटोभित्र आसी। मलाई याद छ आबैको गुन्यू समाउँदै कक्षा एकमा भर्ना हुन गएको दिन।

स्कुलले अभिभावक बोलाउँदा प्रतिनिधित्व गर्न आबै आउँथिन्। आबै स्कुल गेटदेखि भित्र पस्दा मेरो मनोबल उच्च हुन्थ्यो। घरमा म आबैलाई ‘क, ख, रा’ कण्ठस्थ पारेर सुनाउँथेँ। आबै मख्ख पर्थिन् र मेरो शिरमा हात राख्दै भन्थिन्– ‘म बुढी भएपछि तँ ठूलो हुन्छस् अनि मलाई पाल्छस् नि, मोरा ?”

म लजाउँदै वर्णमालातिर हेरेर भन्थेँ– ‘पाल्छु हुँ…’

‘अल्छी छस्, के काम गरेर पाल्छस् ?’भनेर सोध्दा म भन्थेँ– ‘कुचोले घर बढारेर पाल्छु ।’

आबै मख्ख हुँदै ओठ बंग्याउँथिन् अनि कुरौनी र भातको मार खान दिन्थिन् ।

कान्छी छ्यामा आबैलाई देखाउँदै चिढ्याएर भन्थिन्– ‘यही मेरो ममी हो।’मैले जवाफ दिन्थेँ– ‘तपाईंको ममी हो, मेरो आबै हो ।’

आबैलाई घरमा ल्याउँदा छिमेकी सबै जम्मा भइसकेका थिए। साइली छ्यामा अचेत अवस्थामा थिइन् । सबै छरछिमेकी आबैलाई अन्तिम पटक भेट्न आएका थिए । आबैलाई घरको बीचको कोठामा राखियो । निस्फिक्री निदाइरहेकी आबै छिमेकीहरूसँग गफ गर्न उठिनन्, छोरीहरूलाई सम्झाउन उठिनन्, मलाई ‘बाबु आयौ’ भन्दै माया गर्न उठिनन्। आबै सुतिरहिन् आफ्नै पक्की घरमा जुन घर उनले इँटा–इँटा जोडेर वर्षौँ लगाएर बनाएकी थिइन् ।

एक हप्ता अगाडि आबैसँग फोनमा कुरा हुँदा आबैले भनेकी थिइन्– ‘बाबु, मलाई भेट्न आउँदैनौ ? म त अब तिमीले भेट्न नपाउँदै मर्छु होला ।’

आबै हरेक पटकको फोनवार्तामा यसरी नै भावुक हुँदै आँसु झार्थिन्। म घर आउँदा उनी सबै बिर्सेर मलाई स्याहार्न लागिपर्थिन् र भन्थिन्– ‘त्यहाँ खान नपाएर दुब्लायौ।’उनको नजरदेखि टाढा हुँदा म जहिल्यै दुब्लो नै रहेँ, त्यही सानो पवन नै रहेँ।

म घर छाड्दा हरेक पटक आँसु झार्दै आफ्नो गुन्यूमा कोचिएको थैलीबाट केही पैसा निकालेर दिँदै भन्थिन्– ‘त्यो बिरानो सहरमा नजा, बाबु। त्यहाँ कसले पाल्छ ? पकाएर खान पनि ढङ्ग छैन तिम्रो। यहाँ मेरो वृद्ध भत्ता आउँछ।’आबै मलाई हरेक किसिमले फकाउन खोज्थिन् जसरी सानोमा भिक्षु (समनर) नहुनको लागि फकाएकी थिइन्, थाइल्यान्ड नजा साइकल किनिदिन्छु भन्दै फकाएकी थिइन्।

गाउँमा टिनको छाना हाल्नु भनेको वर्गीय हिसाबले माथि उक्लिनु हो। छिमेकी बाजे आबैका कान्छा देवरले पुर्ख्यौली घरमा खर फालेर टिनजस्ताले छाएको देखेर मैले सोधेको थिएँ– ‘आबै, हाम्रो घर कहिले टिनले छाउने हो ?”

आबै मलाई मसार्दै जवाफ दिनुहुन्थ्यो– ‘टिन राख्यो भने त गर्मीमा घामले पोलेर घरमा बस्नै मिल्दैन। मङ्सिर–पुसमा शीत परेर रुझाउँछ ।’

मेरो अवोध चेतनाले भ्याएसम्मको उत्तर पाएर सन्तुष्ट हुन्थेँ।

म घाँसदाउराको भारी बोकेर घरअगाडि उभिएर आबैलाई बोलाउँथेँ । आबैले देखेर ‘स्याबास, मेरो नातिले काम गर्छ’नभन्दासम्म भार बोकेर उभिई नै रहन्थेँ।

त्यस रात लामो समयपछि आबैको छेउमा सुतेँ। सबै छ्यामाहरू आबैको छेउमा सुते। त्यस रात आबै बोलिनन्। बिहान हुँदा पनि ढ्यालो बालिनन्, आगो फुकिनन्, रेडियो नेपाल बजाइनन्। आबैले उठेर मलाई मसारिनन्, ‘काले, सिरक ओढ’भनिनन्। बिहान भयो, अँध्यारो गयो, तर मेरो सम्पूर्ण उज्यालो लगेर गयो, साहस लगेर गयो, इख लगेर गयो, प्रिय मान्छे लगेर गयो, मेरो आबै लगेर गयो।

आबै बिरामी हुँदा ‘देवता आयो’भनेर काम्दा म निरङ्कारी गीत पढ्दै किताबले छ्याउँथेँ—

‘सुन सुन ए दिदी भाइ, भोलिको छैन है जीवनलाई

जीवनको छैन है भर, बुझेमा आफ्नो नै को छ र ?’

यत्ति पढेपछि आबै ठीक हुन्थिन्। पानी माग्थिन्, मैले पानी ल्याएर दिन्थेँ। मेरो टाउको मसार्दै भन्थिन्–’म मरेपछि तँ नै होला मेरो क्रिया गर्ने ?’

म अवाक् भएर उभिन्थेँ।

आबैका देवताहरू किसिम किसिमका थिए । विना रूपका, आदिवासी देवता जो मकै चढाउँदा र अन्नबाली स्याहार्दा मात्र आबैको सम्झनामा आउँथे।

केही छिमेकी कुरा गर्दै थिए– ‘खोतेनी माइली निकै सुखद गइन्, छोरीहरूलाई व्यवस्थित गरेर गइन्, झुप्रो थियो पक्की घर बनाइदिएर गइन् ।’ केही सन्तान/आफन्त मर्मुरिएका थिए– छोरा छैन, छोटो क्रिया गर्दा हुन्छ, पूरा बार्न पर्दैन, छोरीहरूले तीन दिन बारे पुग्छ। केहीले भने– ‘ नातिले क्रिया गर्छु भनेको छ ।’आबैको छेउमा बसेकी छोरीहरूले आमाको क्रिया कपाल फालेर आफैँ गर्ने निर्णय गरे। जेठा (टेक) मामा, जसलाई जन्म जेठी बजैले दिइन् तर कर्म मेरी आबैले दिइन्, कान्छी आमाको क्रिया गर्ने निर्णय लिएर काला पहाडदेखि आइपुगे।

म सानोमा कसैको मलामी छुटाउँदिनथेँ। आबै भन्थिन्– ‘मेरो काले सबैको मलामी गएर मेरो लागि मलामी कमाउँछ।’

म मख्ख पर्थेँ। म मलामी गएर फर्किँदा घरमा केही न केही लिएर आउँथेँ कहिले सिमेन्टको ब्लक, कहिले कुकुरनीसँगै उसका छाउराछाउरी ।

मलाई मान्छे बाहेकका अन्य प्राणीहरू पनि निकै मायालु लाग्छन्। यो गुण आबैबाटै सरेको हुनुपर्छ। मैले घरमा ल्याएका जीव,निर्जीव वस्तुहरूलाई आबै निकै मायाका साथ जतनले राख्थिन् जुन अझै पनि छन्। आबैले मैले बटुलेको हरेक जीवित,निर्जीवत सबैथोक जतनले राखिदिन्थिन् ।

एक वर्षअघि कान्तिपुरको शनिबारीय परिशिष्टाङ्क ‘कोसेली’मा मेरो राउटे सम्बन्धी फोटोफिचर प्रकाशित भएको थियो। स्थानीय शिक्षक कमल सरमार्फत त्यो पत्रिका आबैको हातसम्म पुग्यो । आबैले खुसी हुँदै, ‘मेरो नाति पत्रिकामा आएको छ’भन्दै गाउँमा ढोल नै पिटिछिन् । त्यो पत्रिका अन्तिम समयमा पनि आबैको सिरानीमै थियो।

एक दिन आबैले कमल सरलाई फकाउँदै भन्नुभएको रहेछ– ‘बाबु, मेरो काले चुनाव लड्छु भनेर सारै रहर गरेको छ, एक भोट दिनु होला है।’ सम्भवत: आबै सुर्खेतमै वैकल्पिक राजनीतिक शक्तिलाई भोट हाल्ने पहिलो व्यक्ति भइन्। मलाई भोट हाल्ने पहिलो व्यक्ति पनि आबै नै भइन्।

म यो स्मृति लेखिरहँदा बेलाबेला झस्किरहेछु। मेरो चेतन मनले आबै भौतिक रूपमा नरहेको स्वीकार गर्न नसकिरहेको बेला अवचेतन मनले क्षणिक स्वीकार गरेर मलाई राहत दिइरहेको छ। अब मलाई ती अवचेतनका क्षणिक पलहरू मन पर्न थालेका छन्, जसका हरेक क्षण म आबैको छाँयामुनिको शीतलतामा हुन्छु।

म आबैसँग अन्तिम क्षणहरूमा साथमा रहन नपाएकोमा पछुताउँदै मर्मुरिन्छु। म घर गएको बेला हरेक दिन उहाँको समाधिस्थलमा गएर केही पल बिताउँछु। आबैलाई सम्झन्छु, आबैले बाँचेको जीवन सम्झन्छु, छोरीहरू हुर्काउन गरेको सङ्घर्ष सम्झन्छु, आफूले श्रीमान्बाट कत्ति पनि नपाएको मायाप्रेम ममा समर्पण गरेको सम्झन्छु, आबैसँग चित्त दुखाएको पल सम्झन्छु, सानोमा मैले बिठ्याइँ गर्दा सम्झाएको सम्झन्छु, आफू पुरानै कपडामा रमाएर मलाई तिहारमा कपडा किनिदिएको सम्झन्छु, आटो खान फकाएको सम्झन्छु, सानो सानो कुरामा पुलपुल्याएको पल सम्झन्छु र पर्खन्छु।

म आबैलाई पर्खिनै रहेको छु। आशा छ अब आउने तिहारमा म त्यहीँ वर्ष बाह्रको हुनेछु। साथीहरूसँग भैली खेलेर भोकाएर थकित भई घर फर्कँदा आबै पुरानो घरको भान्सा कोठामा सेलरोटी हालिरहेकी हुनेछिन्। आँगनभरि किमुको दाना खसेर आँगन रङ्गीन बनाउनेछ। म त्यही किमुको दाना किच्दै, खाली खुट्टा, आबै भएतर्फ दौडने छु…।

लेखक
पवन थापा ‘ जोय’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?