+
+
Shares

काठमाडौं-७ : १० वर्षपछि आफ्नै चिह्नमा भोट हाल्दै कांग्रेस, ३ पूर्व जनप्रतिनिधिसँग भिड्ने

संविधान सभाका दुई निर्वाचन २०६४ र २०७० सालको निर्वानपछि काठमाडौं–७ मा कांग्रेसले आफ्नो दलको उम्मेदवार उठाएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते २०:०६

१९ माघ, काठमाडौं । काठमाडौं–७ मा प्रमुख चार दलमा तीनवटाले पूर्व जनप्रतिनिधिलाई उम्मेदवार बनाउँदा कांग्रेसले नयाँ अनुहार अघि सारेको छ ।

नेपाली कांग्रेसबाट प्रमोदहरि गुरागाईं, एमालेबाट प्रकाश श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गणेश पराजुली र नेपाली कम्युनिस्ट पार्टीबाट बसन्त मानन्धर यस क्षेत्रका उम्मेदवार छन् ।

कांग्रेसले उम्मेदवार बनाएका गुरागाईं पहिलोपटक चुनावी प्रतिस्पर्धामा छन् । रास्वपाका उम्मेदवार पराजुली विघटित प्रतिनधि सभाका सदस्य थिए भने एमालेका श्रेष्ठ र नेकपाका मानन्धर प्रदेश सभाबाट राजीनामा दिएर प्रतिस्पर्धामा उत्रेका हुन् ।

यो क्षेत्रमा १७ दल र १० स्वतन्त्र गरी २७ उम्मेदवार छन् । प्रमुख शक्तिका रुपमा परिचित चार दलमा कांग्रेस र रास्वपाबाट गैर नेवार उम्मेदवार छन् भने एमाले र नेकपाबाट नेवार समुदायका उम्मेदवार छन् ।

पहिलोपटक चुनावी प्रतिस्पर्धा गरेका रास्वपाका गणेश पराजुलीले अघिल्लो चुनावमा यस क्षेत्रमा जितेका थिए । निर्वाचन प्रचारका लागि सम्पर्क कार्यालय धमाधम खोलिरहेका पराजुलीले चुनावी नारा ‘भ्रष्टचार होइन, जवाफदेहिता हाम्रो प्रतिबद्धता’ बनाएका छन् । ४६ वर्षीय पराजुलीले स्नातक तह सम्मको अध्ययन गरेका छन् ।

२०७९ सालको निर्वाचनमा रास्वपाका उम्मेदवार पराजुलीले ८ हजार ७४३ मत ल्याएका थिए । पराजुलीसँग एमालेका उम्मेदवार श्यामकुमार घिमिरे पराजित भएका थिए । दोस्रो स्थानको मत पाएका घिमिरेले ६ हजार ८०० मत पाउँदा माओवादी केन्द्रको उम्मेदवार मानुषी यमि भट्टराईले ६ हजार ६३ मत सहित तेस्रो स्थानमा थिइन् । समानुपातिकमा सबै भन्दा बढी प्राप्त गरेको रास्वपाले १० हजार ५८८ मत प्राप्त गर्दा एमालेले ६ हजार २९९,  कांग्रेसले ५ हजार ४० मत पाएको थियो ।

कांग्रेसमा पहिलोपल्ट आफ्नै उम्मेदवारलाई मतदानको अवसर

यो निर्वाचनमा कांग्रेसका शुभेच्छुकले १० वर्षपछि पहिलोपटक आफ्नो पार्टीको उम्मेदवारलाई मत प्रदान गर्ने अवसर पाएका छन् ।

संविधान सभाका दुई निर्वाचन २०६४ र २०७० सालको निर्वानपछि काठमाडौं–७ मा कांग्रेसले आफ्नो दलको उम्मेदवार उठाएको छैन । २०७४ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारलाई समर्थन गरेको थियो ।

यसअघिको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार रहेकी मानुषी यमि भट्टराईलाई कांग्रेसले सघाएको थियो । दुईपटक भएको संविधान सभा चुनावमा कांग्रेसले दोस्रो स्थानको मत प्राप्त गरेको थियो । दुवैपटक प्रमिला सिंह डंगोललाई कांग्रेसले उम्मेदवार बनाएको थियो । संविधान सभाको दुवै निर्वाचनमा उनी दोस्रो स्थानको मत प्राप्त गरेकी थिइन् ।

१० वर्षपछि यस क्षेत्रमा उम्मेदवार बनाएको कांग्रेसले पूर्व प्राध्यापकलाई अघि सारेको छ । उनी सरस्वती क्याम्पसका पूर्व प्राध्यापक हुन् । विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका गुरागाईं नेविसंघका पूर्व नेता समेत हुन् । महामन्त्री प्रदीप पौडेल नेविसंघको अध्यक्ष रहँदा गुरागाईं उपाध्यक्ष थिए । ५१ वर्षीय गुरागाईंले स्नातकोत्तर तहको अध्ययन सकेका छन् ।

गुरागाईं ‘विवेकशील मतदाता, जवाफदेही नेतृत्व’ नारा तय गरेर मतदाताकहाँ पुगिरहेका छन् । विशेष महाधिवेशन मार्फत बदलिएको कांग्रेसले परिवर्तन, रुपान्तरण र पुस्तान्तण गर्ने प्रतिवद्दता सहित गुरागाईं चुनावी मैदानमा छन् ।

उम्मेदवारको आकांक्षी रहेका सविन तामाङ नै निर्वाचन परिचालन समितिको संयोजक भएर कांग्रेसको चुनावी प्रचारको नेतृत्व गरेका छन् ।

गत निर्वाचनमा यस क्षेत्रमा दोस्रो शक्ति रहेको एमालेबाट प्रकाश श्रेष्ठ उम्मेदवार बनेका छन् । २०७४ र २०७९ सालमा बागमती प्रदेश सभा सदस्य बनेका श्रेष्ठ मन्त्री पनि बनेका थिए । काठमाडौं–७ को (२) मा ५ हजार २१८ मत सहित जितेका उनी उद्योग र कृषि मन्त्री बनेका थिए । नागार्जुनका ४७ वर्षीय श्रेष्ठले स्नातक तहसम्मको अध्ययन सकेका छन् ।

लगातार दुईपटक प्रदेश सांसदबाट जितेका श्रेष्ठलाई सांसदको पदावधि बाँकी रहँदै राजीनामा गरी संघीय सदनमा ल्याउने प्रयत्न एमालेले गरेको छ ।

दुईपटक प्रदेश सभामा निर्वाचित, मन्त्री हुँदा उल्लेखनीय कार्य गरेको आधारमा संघको उम्मदेवार हुन सम्भव भएको श्रेष्ठ बताउँछन् ।

प्रदेश सरकारको कृषि र उद्योग मन्त्री बागमतीका सबै जिल्लामा उल्लेखनीय कार्य गरेको श्रेष्ठले दाबी गरे । प्रदेश मन्त्री हुँदा गरेका कार्यको आधारसहित थप योजना अघि सार्दै चुनावी प्रतिस्पर्धामा आएको श्रेष्ठले बताए ।

सार्वजनिक जग्गा संरक्षण, भित्रि शहरलाई सांस्कृतिक शहर बनाउने योजना, एकीकृत सहरी विकास लगायतका आफ्ना चुनावी एजेण्डा भएको श्रेष्ठले बताए ।

नवगठित दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पनि प्रदेश सभा जितेका व्यक्तिलाई उम्मेदवार बनाइएको छ । नेकपाबाट उम्मेदवार बनेका वसन्त मानन्धरले तत्कालीन एकीकृत समाजवादीबाट काठमाडौं–७ (क) बाट ५ हजार ८६६ मत सहित निर्वाचित भएका थिए । ५४ वर्षीय मानन्धरले स्नातक तहको अध्ययन गरेका छन् ।

यस क्षेत्रमा काठमाडौं महानगरपालिकाको वडाहरू १६, १७, १८ र २५ नागार्जुन नगरपालिकाको १, २ र ३ र तारकेश्वर नगरपालिकाको ३, ४ र ५ नम्बर वडा पर्दछन् । यीमध्ये सर्वाधिक मतदाता काठमाडौं महानगरपालिकाको वडा–१६ मा छन् । यस क्षेत्र चार उम्मेदवारमध्ये तीन जनाको लागि संयोग वडा यही बनेको छ । यस वडामा रास्वपाको केन्द्रीय कार्यालय पनि पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?