१९ माघ, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे सोसल मिडियामार्फत फैलिने मिथ्या सूचनाविरुद्ध अनलाइनखबर र नेपाल फ्याक्टचेकबीच सहकार्यको सहमति भएको छ।
निर्वाचन अवधिमा फैलिने गलत तथा भ्रामक सूचनाको तथ्यजाँच गरी सही सूचना आमनागरिकसम्म पुर्याउने उद्देश्यसहित यो सहकार्य भएको हो। नेपाल फ्याक्टचेकका परियोजना प्रमुख उज्ज्वल आचार्य र अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले सोमबार सहमति पत्रमा हस्ताक्षर गरे ।
‘मिथ्या सूचनाले नेपाली समाज, राजनीति तथा विशेषगरी निर्वाचन प्रक्रियामा पार्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने सहकार्य भएको हो,’ दुवै संस्थाले भनेका छन् ।
निर्वाचनजस्तो संवेदनशील समयमा गलत सूचनाले लोकतान्त्रिक अभ्यासमा गम्भीर असर पार्न सक्ने भएकाले त्यसविरुद्ध सचेत पहल आवश्यक रहेको जनाइएको छ।
सहमतिअनुसार नेपाल फ्याक्टचेकले अनलाइनखबरका लागि निर्वाचनसम्बन्धी सोसल मिडियामा भाइरल भएका मिथ्या सूचनाको तथ्यजाँच गर्नेछ । अनलाइनखबर र हिमालय टिभीले ती तथ्यजाँच सामग्री प्रकाशन तथा प्रसारण गर्नेछन्। आवश्यकता अनुसार दुई समाचारकक्षबीच अन्य सामग्रीको तथ्यजाँचमा समेत सहकार्य हुनेछ ।
नेपाल फ्याक्टचेकले निर्वाचनका सन्दर्भमा मिथ्या सूचनाको मात्रा बढ्दै गएको र यसले नेपाली समाज, राजनीति तथा निर्वाचन प्रक्रियामा नकारात्मक असर पार्न सक्ने खतरा देखिएको जनाएको छ।

मिथ्या सूचनाविरुद्ध समग्र समाजको एकताबद्ध प्रयास आवश्यक रहेको उल्लेख गर्दै विशेषगरी सूचना प्रवाहमा स्थापित मूलधारका मिडियाको भूमिका अपरिहार्य बनेको बताइएको छ ।
अनलाइनखबरले मिथ्या सूचनाविरुद्ध लड्न प्रतिबद्ध रहेको सन्देश दिन र तथ्यजाँच कार्यलाई थप प्रभावकारी बनाउन यो सहकार्य गरेको जनाएको छ । नेपाली आमनागरिकलाई मिथ्या सूचनाको नकारात्मक प्रभावबाट जोगाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा छ ।
नेपाल फ्याक्टचेक डट ओआरजी सन् २०२० को मार्चमा स्थापना भएको हो । सोसल मिडियामा भाइरल हुने सामग्रीहरूको तथ्यजाँच गरी नागरिक, समुदाय, समाज, देश र लोकतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने मिथ्या सूचनाको पहिचान र सत्यतथ्य प्रवाह गर्ने उद्देश्यका साथ यो संस्था सञ्चालनमा आएको हो ।
सेन्टर फर मिडिया रिसर्च–नेपाल र नेपाली भाषाको पहिलो ब्लग माइसंसारको संयुक्त प्रयासमा सञ्चालनमा रहेको नेपाल फ्याक्टचेक डट ओआरजी अन्तर्राष्ट्रिय तथ्यजाँच सञ्जाल (आईएफसीएन) को हस्ताक्षरकर्ता नेपालको एकमात्र तथ्यजाँच संस्था हो।
प्रतिक्रिया 4