+
+
Shares

जब मापसे गरेका श्रीमान्‌ले तीन महिने छोरो निमोठे…

रक्सीको नशामा श्रीमानले कुटिरहन्थे । कमला आफ्नो भागको दु:ख सम्झेर सहन्थिन् । डेढ महिनाअघि खुट्टै भाँचिदिए । त्यो पनि सहिन् । गत बुधबार काखबाट टिपेर भुइँमा पछारी श्रीमानले ३ महिने छोरोको हत्या गरेपछि कमला झनै विक्षिप्त छिन् ।

अनिल खत्री अनिल खत्री
२०८२ माघ १९ गते २१:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको इस्मा गाउँपालिका–२ को छल्दीटारीमा ४६ वर्षीय सन्तबहादुर मुखियाले तीन महिनाको छोरोको हत्या गरेका छन्।
  • सन्तबहादुरले मादक पदार्थ सेवन गरेर श्रीमतीसँग झगडा हुँदा आवेगमा आएर नवजात शिशुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
  • हत्या पछि नवजात शिशुकी आमा कमला विक्षिप्त अवस्थामा छिन् र आर्थिक अभावका कारण भाँचिएको खुट्टाको उपचार गर्न पनि सकिरहेकी छैनिन्।

१९ माघ, गुल्मी । देशभर चुनावको माहोल छ । नेताहरू गाउँगाउँ पुग्न थालेका छन्, गाउँले पनि चियाचौतारोमा भेला भएर चुनावकै चर्चा गरिरहेका छन् ।

तर, गुल्मीको इस्मा गाउँपालिका–२ को छल्दीटारीको दृष्य फरक छ ।

गत बुधबारको एक घटना, जहाँ आफ्नै बाबुले आफ्नौ काखमा रहेको नजवात शिशुलाई भुइँमा पछारेर हत्या गरे यसपछि सिंगो गाउँ शोकमा छ ।

यो हृदयविदारक घटनाले छल्दीटारी मात्र होइन, गुल्मी सदरमुकामका मानिसहरूको मन पनि बेचैन बनाएको छ ।

घटना गराउने ४६ वर्षीय सन्तबहादुर मुखिया प्रहरी हिरासतमा छन् ।

उनले आफूले मादक पदार्थ सेवन गरेर श्रीमतीसँग झगडा गर्दा आवेगमा आई घटना गराएको स्वीकार गरेको प्रहरीको भनाइ छ ।

यता, काखको सन्तान क्रुर श्रीमान‌्को हातबाट गुमाउनुपरेपछि श्रीमती कमला विक्षिप्त छिन् ।

स्थानीयहरूका अनुसार सन्तबहादुर मादक पदार्थ सेवन गरेर प्राय:जसो श्रीमतीसँग झगडा गरिरहन्थे । गालीगलौज मात्र होइन, कुटपिट नै गर्थे । निरन्तर शारीरिक र मानसिक हिंसा खेपिरहँदा पनि उनी श्रीमान्सँगै थिइन् ।

तीन महिनाअघि छैटौं सन्तानको रूपमा छोरो जन्मियो । परिवारले उनको नाम सुवास राखे । सायद, ठूलो भएर परिवारको सुकीर्ति राख्ला भन्ने ठानेर उनको नाम सुवास राखियो । तर, हुर्कन पनि नपाई आफ्नै बाबुले कलिलैमा निमोठिदिए ।

सुत्केरी श्रीमतिमाथि पनि सन्तबहादुरले कुनै दयामाया देखाएका थिएनन् । डेढ महिनाअघि कुटेर श्रीमतीको खुट्टा नै भाँचिदिएका थिए । एकातिर आर्थिक अवस्था कमजोर थियो, अर्कोतिर श्रीमानबाट हेरचाहको आशा पनि थिएन, कमलाको खुट्टाको उपचार अस्पतालमा हुन पाएन । गाउँघरको परम्परागत विधि अपनाउन बाध्य भइन् ।

तीन महिनाकी सुत्केरी उनी भाँचिएकै खुट्टा लिएर घरधन्दा गरिरहेकी थिइन् ।

गत बुधबार पनि सधैंजस्तै सन्तबहादुर रक्सी पिएर घर आए । सामान्य विषय निकालेर श्रीमतिसँग भनाभन सुरु गरे । भनाभन बढ्दै जाँदा रिसले आगो भएका सन्तबहादुरले आफ्नै काखमा रहेको तीन महिने छोरो भुइँमा पछारे ।

त्यो अवोध बालकको तत्क्षण प्राण गयो । कमला मुर्छा परिन् । सुवासकी जेठी दिदीले छिमेकी गुहारिन् । र, हस्तीचौर प्रहरी चौकीमा खबर गरिन् ।

घटनास्थल पुगेको प्रहरीले सन्तबहादुरलाई नियन्त्रणमा लियो र अनुसन्धान अगाडि बढायो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी गंगाबहादुर सारुले मादक पदार्थ सेवन गरेर घटना गराएको सन्तबहादुरले बयान दिएको जानकारी दिए । उनलाई  नियन्त्रणमा राखेर प्रहरीले अनुसन्धान तथा मुद्दा अभियोजनको प्रक्रिया अघि बढाइरहेको छ ।

यता, छल्दीटारीमा नवजात शिशुकी आमा कमला विक्षिप्त अवस्थामा छिन् । काखको सन्तान गुमाएको पीडा एकातिर छ, अर्कोतिर पाँच सन्तानको लालनपालनको अभिभारा थपिएको छ । आर्थिक अवस्था यति जर्जर छ कि भाँचिएको खुट्टाको उपचारका लागि अस्पताल जाने अवस्थासमेत छैन ।

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?