News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी चित्रकार रिक कमिङ्सको जीवन र कला यात्रालाई समेटिएको \'रिसोर्सेस इन क्याओस\' शीर्षकमा कला प्रदर्शनी काठमाडौंको नेपाल आर्ट काउन्सिलमा हुने भएको छ।
१९ माघ, काठमाडौं । अमेरिकी चित्रकार रिक कमिङ्स (१९४९–२०२५)को जीवन र कला यात्रालाई समेटिएको विशेष कला प्रदर्शनी काठमाडौंमा हुने भएको छ । ‘रिसोर्सेस इन क्याओस’ शीर्षकमा आगामी शनिबारदेखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा कला प्रदर्शनी हुन लागेको हो ।
आयोजकका अनुसार विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर उक्त कला प्रदर्शनी गरिन लागेको हो । कार्यक्रमले क्यान्सरसँगको व्यक्तिगत संघर्ष र समुदायमा यसबारे सचेतना फैलाउने लक्ष्य राख्ने बताइएको छ ।
लामो समयदेखि नेपाललाई आफ्नो कर्मथलो बनाउँदै आएका कमिङ्सको गत वर्ष निधन भएको थियो । प्रदर्शनीमा उनैले पाँच दशकको अवधिमा सिर्जना गरेका करिब ५० वटा छानिएका कलाकृतिहरू प्रदर्शनी गरिने भएको हो ।
आयोजक टोलीका क्युरेटर राहुल महर्जनका अनुसार कमिङ्स तेल रङ, ग्वाश (पानीमा घुल्ने रङ) र मिश्रित माध्यमबाट चित्रहरू बनाउँथे । उनका चित्रहरूमा काठमाडौंका सडक कुकुरहरूको अवस्था र पशुपक्षीप्रतिको दया भाव झल्किन्छ।
प्रदर्शनीबाट संकलित रकमको केही हिस्सा क्यान्सर रोगीहरूको सहयोगका लागि खर्च गरिने आयोजकले जानकारी दिएका छन् । साथै प्रदर्शनी अवधिभर विद्यार्थीहरूका लागि विशेष शैक्षिक सत्र, साउन्ड हिलिङ र विभिन्न अन्तर्क्रियात्मक कार्यक्रमहरू समेत गरिने आयोजकले जनाएका छन् ।
प्रतिक्रिया 4