+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
विराटनगर किंग्स 2025
0/0
Shares

रङहरूमा रागिनी : सर्प, त्रिशूल र सूर्य (भिडियो)

उनको एउटा कलाकृति ३५ लाख रुपैयाँसम्म पनि विक्री भएको छ । अन्य त कतिकति ! तर उनी लोभी छैनन् ।

सापेक्ष सापेक्ष
२०८२ मंसिर २० गते १०:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रागिनी उपाध्यायले १९७९ मा काठमाडौंमा आफ्नो पहिलो एकल कलाप्रदर्शनी गरेकी थिइन्, जसको उद्‌घाटन कुलपति लैनसिंह बाङ्देलले गरेका थिए।
  • उनले १९८६ मा काठमाडौं फर्किएर तत्कालीन महारानी ऐश्वर्यले उद्‌घाटन गरेको प्रदर्शनीमा ४५ चित्र राखिन् र सबै विक्री भए।
  • रागिनीले कला मार्फत सामाजिक र राजनीतिक विषयवस्तुहरूलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै ७० भन्दा बढी एकल प्रदर्शनी गरिसकेकी छिन्।

त्यसबेला बीपी कोइराला ६५ वर्षका थिए । वृद्ध शरीर भए पनि उनको सक्रियतामा कुनै कमी आएको थिएन । राजनीतिबाहेक कला, साहित्यमा उनको झुकाव छँदै थियो । त्यो समय २० वर्षकी रागिनी भारतको लखनऊ कला तथा शिल्प महाविद्यालयमा ललितकला अध्ययन गर्दै थिइन् । हरेक वर्ष विश्वविद्यालयको दुई महिना गर्मी विदा मिल्थ्यो ।

त्यो समय उनी काठमाडौं आइरहेकी हुन्थिन् । १९७९ सालमा पनि त्यसैगरी काठमाडौं आएकी थिइन् । अन्य वर्षहरूभन्दा त्यो वर्ष उनका लागि विशेष थियो । किनकि नक्सालको बालमन्दिरस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आफ्नो पहिलो एकल कलाप्रदर्शनी गर्दै थिइन् । जसको उद्‍घाटन तत्कालीन कुलपति लैनसिंह बाङ्देलले गरेका थिए।

त्यसै प्रदर्शनीमा उनले पहिलेदेखि चिनजान विपी कोइरालालाई निमन्त्रणा दिएकी थिइन् । बीपी चाबहिल बस्थे । बिहानको खानापछि उनी नक्साल जान ज्ञानेश्वरको बाटो लागे । बुढ्यौली उमेरमा पुगेका बालकृष्ण समको बसाईं ज्ञानेश्वर नै थियो ।

दूरीका हिसाबमा ज्ञानेश्वरबाट कलामन्दिर नजिकै थियो । समलाई बीपीले रागिनीको प्रदर्शनी हेर्न जाऔं भनेर प्रस्ताव राखे । समलाई प्रदर्शनीको निमन्त्रणा थिएन ।तर पनि सम दौरासुरुवाल लगाएर बीपीसँगै कलामन्दिर पुगे ।

कला क्षेत्रमा भर्खर पाइला चाल्दै गरेकी गरेकी रागिनीका लागि बीपी र समको उपस्थितिको महत्व कम्ता थिएन । त्यस समयको बखान गरेर अझैं थाक्दिन् उनी । दुर्भाग्यवस् ! उक्त कलाप्रदर्शनीको केही समयपछि नै बीपी र समको निधन भयो ।

आज रागिनी त्यो समयका बीपी‍को उमेरमा छिन् । १९८२ सम्म आइपुग्दा रागिनीले विश्वविद्यालयको पढाइ सक्काइसकेकी थिइन् । उनी नेपाल नफर्किएर लखनऊबाट दिल्ली ‍पुगिन् ।

त्यहाँ उनले दुई वर्षसम्म आर्टिस्ट कर्नर ललित कला एकेडेमीमा तीन वर्षसम्म प्रिन्ट मेकिङ सिकिन् । त्यसपछि मात्र १९८६ सालमा काठमाडौं फिर्ता भइन् । त्यसै साल तत्कालीन राजा विरेन्द्रको जन्मोत्सवको अवसरमा उनले कला प्रदर्शनी गरिन् । जसको उद्‍घाटन तत्कालीन महारानी ऐश्वर्य गरेकी थिइन् ।

रानीले नै उद्‍घाटन गरेपछि त्यस प्रदर्शनको व्यापक प्रचार भयो । खबर रेडियो नेपाल र गोरखापत्रले महत्वका साथ प्रकाशन, प्रसारण गरे । १५ दिनसम्म चलेको प्रदर्शनीमा उनले ४५ वटा चित्र राखेकी थिइन् । अन्तिम दिनसम्ममा ती सबै विक्री भए ।

एउटा कलाकारका लागि त्यो स्तरको प्रदर्शनी एक सपना बराबर हो । २७ वर्षकै उमेरमा रागिनीको सपना विपनामा परिणत भएको थियो । प्रदर्शनीमा कला विक्री हुनु मात्र पनि ठूलो कुरा थिएन । त्यहाँबाट अवसरका नयाँ ढोका खुल्नु रागिनीका लागि निकै महत्वपूर्ण बन्यो ।

त्यसै प्रदर्शनीको जगमा उनले बेलायतमा प्रिन्ट मेकिङको कोर्स गर्न फेलोसिप पाइन् । त्यहाँबाट उनका नयाँ आयाम फैलिए । ग्राहक बढाउने अवसर पनि पाइन् ।

यसअर्थमा आजसम्म ७० बढी एकल कला प्रदर्शनी र दर्जनौं पटक सामूहिक कला प्रदर्शनी गरिसेकी रागिनीका लागि यी दुई प्रदर्शनी खास छन् । प्रमाण त उनको बखान नै हो । तर त्यसभन्दा बढी भक्तपुरको बालकोटमा रहेको उनको घरको बैठक कोठामा सजाइएका फोटाहरू आफैँ बोल्छन् ।

गत भदौको जेनजी आन्दोलन पछि रागिनीले बनाएको चित्र ।

बाहिरबाट चिन्नेहरूले रागिनीलाई कठोर, मुद्दामा स्थिर र कडा मान्न सक्छन् । तर उनको कोमलता नदेख्नेहरूलाई के थाहा, उनी कति प्रेमिल, कति भावुक र कति दयालु छिन् । तर समाजमा यस्तो साङ्लो छ, यस्तो पर्दा छ– जसले गर्दा उनको प्रेम कतै रोकिदिन्छ । छेकिदिन्छ । तर कला मन कहाँ रोकिन्थ्यो र !

उनी आफैं आफूलाई निडर, स्पष्टवादी र न्यायप्रिय मान्छिन् । वृश्चिक राशिलाई आंशिक कारण पनि मान्छिन् । तर काम र प्रस्तुतिमा आफ्नो व्यक्तित्व नरिवल जस्तै बाहिरबाट कडा र भित्रबाट कमलो भएको उनको भनाइ छ ।

विशेषत: रागिनीलाई चिनाउने भनेको उनका कलाकृति हुन् । उनी आफैंमा सशक्त प्रतिकात्मक कलाकार हुन् । त्यहीकारण हिन्दू कथन र प्रतीकहरूको प्रयोग गरी उनले समसामयिक विषयवस्तुहरूलाई क्यानभासमा उतार्छिन् ।

भनौं, उनले प्रतीकहरूलाई आफ्नो भाषा बनाउँछिन् । त्यसैले त प्रतिकवाद नै उनको पहिचान बनेको छ । समाजमा कहिने कथ्यलाई आफ्नो औजार बनाएकी छिन् । कालान्तरमा उनका चित्रमा आउने मिथकीय पात्रहरूले उनलाई पृथक बनाएको छ । रङको कुरो जो रह्यो । ती त उनको लय भइहाले । तिनलाई उनले आफ्नो भावना, भनाइ र सोच व्यक्त गर्न प्रयोग गर्छिन् ।

टाइमलाइनमा रागिनी उपाध्यायको उतारचढाव

 

यी कुराहरूमा उनी यति अभिसप्त छिन कि, आफूले लगाउने टीकामार्फत पनि सन्देश दिन थालिन् । अनि त टीका उनको पहिचान र जीवनशैलीको अभिन्न अङ्ग बन्यो । यही कारण रागिनीको कुरा गर्दा उनले निधारमा लगाउने टीकाको प्रसंग छुटाउनै मिल्दैन । रागिनीका अनुसार उनले हालसम्म तीन प्रकारका विशेष टीका लगाएकी छिन् ।

ती प्रत्येकको प्रतिकात्मक अर्थ छन् :

सर्प

सुरुमा उनले दुईवटा सर्पको टीका लगाउँथिन् । उनी सर्पहरूलाई इच्छाहरूको प्रतीक मान्छिन् । उनको बुझाइमा इच्छामा विष हुन्छ, जुन चरम अवस्थामा पुगेपछि घातक हुन्छ । तर त्यसबाट औषधि पनि बन्न सक्छ ।

त्रिशूल

पुरुषप्रधान कला क्षेत्रमा महिला कलाकारहरूले सामना गर्नुपरेका चुनौतीहरू देखेर दिक्क भएकी उनले त्रिशूलको टीका लगाउन थालिन् । त्रिशूलमार्फत उनले महिलाको शक्ति देखाउन खोजेकी थिइन् ।

सूर्य

२०१६ मा नेदरल्याण्ड्समा पढ्दै गरेकी छोरीलाई मेनिन्जाइटिसका कारण गुमाएपछि उनले एक वर्षसम्म कुनै टीका लगाइन् । छोरीको सम्झनामा ‘शिवता लभ फाउन्डेसन’ बनाइसकेपछि उनले सूर्यको टीका लगाउन सुरु गरिन् । प्रकाश र आत्मज्ञानको अर्थ दिन उनले सूर्यको टीका लगाउन थालिन् । त्यसयता उनले यही टीका नै लगाइरहेकी छिन् ।

यसरी क्यानभासको दुनियाँभन्दा बाहिर पनि प्रतीक, आकार र रङमार्फत आवाज ओकलिरहेकी रागिनी वैचारिक कलाकार हुन्। उनले कुनै आकृति हेर्दैमा चित्र कोर्दैनन् । उनलाई घटनाले छुनुपर्छ । त्यसमा उनी केकसरी सन्देश दिन सकिन्छ, घोत्लिन्छिन् । र, चित्रमार्फत एउटा ठोस सन्देश दिन खोज्छिन् ।

कुनै चित्र बनाउनुअघि उनको गृहकार्य नै प्रतीकहरूको प्रयोगमार्फत सन्देश दिनुमा पर्छ । त्यो आकार, त्यो आकृति दिमागमा आएपछि उनी तुरुन्तै स्केच कोर्छिन् । यो प्रक्रिया जहाँ जतिबेला पनि हुन सक्छ । त्यसको ठेगान हुँदैन ।

प्राय: उनले आफ्ना चित्रको खेस्रा डायरीमा कोरिरहेकी हुन्छिन् । त्यसलाई क्यानभासमा उतार्न उनको घरमै स्टुडियो छ । जहाँ बेलाबेला विदेशी कलाकारहरू समेत आएर बस्ने पनि गर्छन् । त्यही नै रागिनीले प्रायः दिउँसोको समयमा काम गर्छिन् । उनी रातमा भने काम गर्दिनन् ।

बुबाको सन्देशलाई लिएर रागिनीले बनाएको चित्र ‘लेट देम बार्क, आई गो माई वे’ (उनीहरूलाई भुक्न देउ, म आफ्नो बाटो हिँड्छु) । यो चित्र उनले विक्रीमा राखेकी छैनन् ।

यही प्रक्रियामार्फत उनले सयौं चित्रहरू कोरेकी छिन् । दशकौं यो करियरमा उनले कति चित्र बनाइन्, त्यसको हेक्का छैन । उनले हरेकजसो प्रमुख राजीतिक घटनाक्रममाथि चित्र बनाएकी छिन् । चाहे त्यो देशमा घटेको होस् या विदेशमा । यदि त्यहाँ मावनता दमन भइरहेको छ भने उनको रङ स्वत: पोखिन्छ। प्रश्न निस्किरहेका छन् ।

विक्री ? सायद यसको पनि उनीसँग लेखाजोखा छैन । उनको एउटा कलाकृति ३५ लाख रुपैयाँसम्म पनि विक्री भएको छ । अन्य त कतिकति ! तर उनी लोभी छैनन् । त्यसकारण त रागिनी उपाध्याय कला फाउन्डेसन र शिवता लभ फाउन्डेसनमार्फत समाज सेवा गरिरहेकी छिन् । र, प्रतिफलमा उनलाई नजिताहरू पनि मिलिरहेको छ ।

आजकल रागिनीलाई वर्तमान समाजमा फैलिएको नकारात्मक राजनीति र अस्थिरताले पिलोल्छ । ती उनको चित्रको विषय भए पनि चरम हुँदा जे नजिता निस्कन्छ, उनलाई त्यसको चिन्ताले पोल्छ । कलाकारको धर्ममार्फत उनी त्यसबारे बोलिरहेकी त हुन्छिन् । तर अब भावी पुस्ताको मानसिक स्वास्थ्यका लागि भएपनि सबैले सकारात्मक सोच र सत्यलाई प्राथमिकता दिनुपर्ने उनी बताउँछिन् ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?